Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसांस्कृतिक प्रबलीकरण र युवा बैँस

सांस्कृतिक प्रबलीकरण र युवा बैँस


लक्ष्मण सिटौला
बैँस सम्हाल । जसरी फूलका लहराहरू आफैँ सम्हालिन्छन् । जसरी नदीहरू आफैँ सम्हालिन्छन् । किनारालाई भत्काउँदै हिँड्ने भए ती महासागर कहिले पुग्थे होलान् ? हेर त माथि सूर्य पनि त सम्हालिएको छ नि । नत्र तातोले डढेर उहिल्यै मरिसक्थ्यौँ हामी ।

जूनकीरीले सबै उज्यालो कहाँ एकैपटक खन्याएकी छ ? र त ऊ सधैँ बलिरहेकी छे । सधैँ छर्नुपर्छ ज्योति भन्छे जुनकीरी । सधैँ बल्नुपर्छ भन्छ सूर्य । सधैँ बग्नुपर्छ भन्छन् नदीहरू । सधैँ बहनुपर्छ भन्छ शीतल हावा । सधैँ माया गरिरहनुपर्छ भन्छिन् आमा । तिमी भने आफ्नो जवानीको उभारलाई थाम्न नसकेर जे जे मन लाग्यो त्यही बोल्दै हिँडिरहेछौ । तिम्रो आदेश मान्ने कसले अहिले ? तिमी आफ्नो उल्का पिण्ड खसाल्न खोज्दै छौ मानव बस्तीमा । त्यसैले यहाँ सधैँ बुद्धात्माको अभाव अनुभूति गरिरहेछ समाज । सबैभन्दा सम्हालिएका एउटा सत्पुरुष बुद्धलार्ई प्रतिपल सम्झिन्छु म । सबै सबै बिर्सिन्छु म । तर बुद्ध कहिले बिर्सिन सकिनँ ।

यसो नगर, उसो नगर भन्ने आदेश त हिजो हिटलर, पोलपोट, इदी अमिन अनि आयतोल्ला खोमेनीहरूले पनि दिएकै हुन् । नामको भोकमा भाइरल हुन रहर लाग्नेहरूले त सामाजिक सञ्जालमा आफ्नो अर्धनग्नता प्रदर्शन गरिरहेकै छन् नि । हिजो किन रामले सबरीको जुठो बयर खाए ? हिजो किन कृष्णले गोपीहरूलाई पवित्र माया गरे । हिजो भारी सभामा किन कृष्णले द्रौपतीको लाज रक्षा गरे ? सबै पुरुष कौरव कहाँ हुन्छन् र ? अनि सबै स्त्री पनि सीता कहाँ हुन्छन् र ? आफ्नो संस्कार बदल्ने निहुँमा अर्काको आयातित संस्कारको खोल ओढाउने अनि समाज परिवर्तन भयो भनेर भ्रममा रमाउने हो भने एकदिन तिमी र तिम्रो सत्व खोज्न युरोप र अमेरिकाको म्युजियममा चहार्नुपर्ने हुन्छ ।

हरेक देशको आफ्नो परिचय हुन्छ, आफ्नै जातीय रंग हुन्छ, आफ्नै संस्कार संस्कृति जीवन कलेवर हुन्छ आफ्नै खालको भूगोल र सामाजिक विविधता हुन्छ । वास्तवमा यही पृथक पहिचानबाट नै त्यो देश संसारको एक मात्र हुन्छ । नेपालले विश्व जगतमा आफ्नो अलग पहिचान केले बनाएको छ भन्दा यहाँको सांस्कृतिक परम्पराले नै हो । नेपालको अतुलनात्मक सांस्कृतिक परम्परालार्ई मास्नुपर्छ भन्ने देशका केही पश्चिमी पिछलग्गु युवाहरू लागेका छन् । कोही भन्दै छन्् तीज हरितालिका नमान । कोही भन्दै छन् तीजमा व्रत नबस, श्रीमान् नमान । कोही भन्दै छ दशैँ तिहार नमान यो बाहुन जातिले मान्ने चाडपर्व हो ।

विगत केही वर्षदेखि लगातार नेपालको संस्कृतिमा हमला भइरहेको छ । त्यो गर्ने को त भन्दा जसले पश्चिमीहरूको हण्डी खाइरहेको छ । यी अझै पश्चिमी जगतबाट शिक्षित भएका युवा जगत हुन् । गीतको नाउँमा गीत बिगारेर गाउने । भाषाको नाउँमा नेपाली भाषालाई बिगार्ने अंग्रेजीकरण गर्ने, परम्पराका नाउँमा पुरातन संस्कारमाथि धावा बोल्ने काम अहिलेका युवाहरूले गरिरहेका छन् । यी सबै काम बैँसको दुरूपयोग गर्ने नेपाली नौजवानको हो । ती बैँसको अन्धतामा के गरिरहेछु भन्ने तिनीहरू स्वयंलार्ई नै थाहा हुँदैन । अब नेपालको संस्कृतिलाई प्रबलीकरण गर्नु जरुरी भैसकेको छ ।

साँच्चै नेपाललार्ई जोगाउने हो भने लगातार नेपालको संस्कृतिमाथि भैरहेको बज्रप्रहार रोक्नुपर्छ । हाम्रो नेपाली संस्कारमाथि लगातार एकपछि अर्को हमला भैरहेको छ । संस्कृति जति पुरानो भो त्यति नै यसले आफ्नो गरिमा बोकेको हुन्छ । केही युवाहरूलार्ई पश्चिमीहरूले पैसा दिएर नेपाली संस्कृतिमाथि लगातार हमला गर्न लगाइरहेका छन् । त्यस्ता देशद्रोही विभिषणहरूलाई देश निकाला गर्नुपर्छ । नेपाल जस्तै भएर बाँच्नुपर्छ अनन्त । नेपाल हिमालयको काखमा अवस्थित विविध धर्मसंहिताले परिपालित परिसम्पोषित परिमिलित भएको देश हो ।

यहाँ राई किराँतहरूको मुन्धुमदेखि बुद्धको पञ्चशील अनि हिन्दुहरूको शैव सिवत्वको आदिम इतिहास अनन्तदेखि फर्किँदै आएको छ । यहाँ फेरि रामलाई वनबास कटाउने बुद्धलार्ई भारत धपाउने खेल हुँदैछ, होशियार ! आजको युवा बैँसले भलै उन्मत्त भएर तिनको बैँसको दुरूपयोग गर्दैछ पश्चिमीहरूले । नेपालमा त्यसो हुन दिइने छैन । दशैँ ढुक्कले मानिन्छ, तीजमा व्रत आनन्दले बसिन्छ । तिहारमा दिदीबहिनीको हातको टीका ढुक्कले लगाइन्छ ।

बैँसले भरिएको शरीरलार्ई सम्हाल्नु जरुरी छ । किनभने आज नेपाली संस्कृतिमाथि बिचलन ल्याउने काम प्रायः युवाहरूले गरिरहेका छन् । बैँस ऊर्जा हो । बैँस जवानी हो । बैस त वैसाख हो । बैँस हराभरा पूर्णताउन्मुख कलकल किरण हो । बैँसमा फूलहरू फुल्छन् । धरती हरियो हुन्छिन् । पालुवा पलाउछन् हागाहरूमा । मन्जरीमा माहुरी आएर बस्छे । कोपिलामय देखिन्छ यो जगत । रमाइलो लाग्छ मनको तारमा धरतीको झङ्कार मिल्दा । बैँस जवानीको उभार हो । बैँस निर्मल पानीले भरिएको हिमताल हो । हिम चट्टान फोरेर बाहिर उम्किन खोज्छ निर्मल धारा । तर सम्हालेर राख्छे लहरौँ लाख धारालाई धरतीले र फुटदैन हिमताल हम्मेसी । हिमताल फुटेको बहुत कम सुन्नमा आउँछ । किनभने प्रकृतिमा पनि अनुशासन छ । यो चराचर जगत सारा अनुशासनमा आबद्ध छ । जुन पुर्णिामामा मात्रै पूर्ण उदाउँछे । उसले कुर्नुपर्छ आफ्नो बैँस देखाउन तीस रात । बैँस आवेग होइन यो त शुभकर्मका लागि प्रकृतिले दिएकी बल हो । यो सम्प्राप्ती हो । यो भविष्यका लागि चाहिने बलको सञ्चिति पनि हो ।

बैँस सम्हाल्न मै हुँ भन्ने सिकन्दरहरूलाई पनि हम्मेहम्मे पर्दोरहेछ । विश्व चर्तित अलेक्जेन्डर महानले पनि बैँसलाई सम्हाल्न नसकेर सयौं स्त्रीहरूको प्रेममा फसे र रक्सीको नसामा झुमे । फलतः ३३ वर्षकै उमेरमा दुखान्त अन्त्य भएको थियो उनको । एउटा सामान्य मानिस पनि बैँसले मातेको हुन्छ । तर बैँस ऊर्जा हो । यो ऊर्जाको सापेक्षित ढंगले उपयोग भयो भने जो कोही व्यक्ति यो दुनियाँबाट अजर अमर भएर बिदा हुन्छ । बैँस आफैँ भियग्रा हो । बैँसले निहुरिन जान्दैन । बैँसले सम्झौता देख्दैन । बैँस त त्यो शक्ति हो जसको उभारमा सम्पूर्ण जगतको उन्नति झल्किरहेको हुन्छ ।

तिमी बैंसको प्रवेगलाई दुरूपयोग गर्छौ । संसारका नियोजित विध्वंसहरू बैँसको दुरूपयोग हो । बैंस त कोमल किरणजस्तै कल्लोल हुनुपर्ने हो, तर बैँस निरिह नारीको यौन शोषणमा प्रयोग हुन्छ भने तिम्रो त्यो बैँस बैँस नभएर बलेर निभेको कोइला हो । बैँस ताकत हो । बैँस जोस हो । बैँस आँट हो । बैँस फुर्ती हो । तर किन मानिसहरू प्रकृतिको यो सुन्दर मुस्कानलार्ई घृणित कार्यमा प्रयोग गरिरहेछन् ?

बैँसकै कारणले हो हिजो दुर्योधनले द्रौपदीलाई जुवाको खालमा वेश्या भनेको । बैँसकै कारणले हो हिजो हिटलरले ६० लाख यहुदीलाई एउटै चिहानमा पुरेको । हिटलरको यातना शिविरमा मृत मानिसहरूको जुत्ताको थुप्रो अझैसम्म छन् । त्यो सब शक्तिको उन्माद थियो । बैँसको दुरूपयोग थियो ।

बैँस शक्तिको अर्को रूप हो । त्यही बैँस हो नि हिजो भगवान बुद्धमा पनि आयो र त्यही बैँस हो भियतनामका होचिमिन्हमा पनि आयो । त्यही बैँस हो युगान्डाका इदी अमिनमा पनि आयो तर उनी मानिसका मासु खान्थे । त्यही बैँस हो ओसामा बिन लादेनमा पनि आयो तर त्यही बैँस हो भारतका गान्धीजीमा पनि आएको थियो ।

बैँस, यो त उन्नतिका लागि खोलिएको सुमार्ग हो । यो त निर्माणका लागि हालिएको पुल हो । यो त अगाडिको कठिन जिन्दगी देखाउने ऐना हो । यो हो बैसाखी सपना । जीवनपारि तिम्ले थुप्रै पटक हेमन्त शिशिरको सामना गर्नुपर्छ है भनेर दिएको बाटोखर्च पो हो त बैँस । तर के थाहा तिमी बैँसलार्ई उन्मादमा बदल्छौ भन्ने ? के थाहा तिम्रो लागि बैँस सडकमा हिँड्ने नारीलार्ई जिब्रो पडकाउनमा खर्च हुन्छ ? के थाहा तिम्रो बैँस कसैको अपहरण र डन भनेर चिनिनुमा खर्च हुन्छ । के थाहा तिम्रो बैँस ओठको लिपिस्टिकमा मात्रै अनि सुडौल तिघ्रा र नितम्ब देखाएर भाले पुरुषको नजर आफूतिर आकर्षण गर्नमा मात्रै खर्च हुन्छ ? के थाहा तिम्रो बैँस अबैध सन्तानलाई तुहाएर मार्न अहिलेका महंगो नर्सिङ होममा गएर टुंगिन्छ भन्ने ।

बैँस जानिएन भने खरबारीमा लागेको आगो हो । यो एकैपटक बल्छ र निस्सार निभ्छ । यसको न्यानोले कसैलाई सेक्तैन । यो सिर्फ ज्वाला हो । खरानी मात्रै रहन्छ जलेर । तर घरको छानो त उदाङ्गो रहन्छ किनभने खरानीले घर छाइँदैन । बैँस जानिएन भने बन्दुकमा भरिएको बारुद हो । सही निसानामा प¥यो भने यो सुरक्षाकवज पनि हो ।

बैँस ऊर्जा हो र मानिस यो ऊर्जाशील समयलाई उपयोगी बनाउनुभन्दा पनि आफ्नो शक्ति प्रदर्शनतिर लाग्छ । बैँसमा मानिस सुबाटोतिर भन्दा पनि कुबाटोतिर बढी आकर्षक हुन्छ । बैँस पोखेर पछुताउनेहरूको भीडमा मैले तिमीलाई कहिले पनि भेट्न नपरोस् । बैँस त शक्ति हो, बैँस त आगो हो, बैँस त झिल्का हो, बल्छ धपक्कै । उज्यालो देखाउने शक्ति दिएको हो भगवान (प्रकृति)ले तिमीलाई, मलार्ई अनि उनीलाई र हामी सबैलार्ई । बैँस भेल हो । भेल शक्तिशाली हुन्छ । किनारा जति सबै बगाएर लैजानी हो भने फेरि कसरी बग्नु र जीवनभरिलाई । किनारा सुरक्षा गर्नुपर्छ वेगले । किनारा भत्काउने होइन भर्नुपर्छ । बाटो त समुद्रसम्म मिसिने राजमार्ग हो तर प्रबेग र आवेगले थुनियो भने जम्नुपर्छ खुम्चिनु पर्छ । जम्नु बासी हुनु हो । बग्नुपर्छ जिन्दगी बग्नैको लागि हो ।

एउटा बैँस देऊ मलार्ई । म तिमीलार्ई सिंगै सिर्जनात्मक जिन्दगी दिन्छु । सिंगो जिन्दगीभन्दा धेरै ऊर्जावान् हुन्छ एउटा बैँस । मीठो हुन्छ बैँस । स्वादिलो हुन्छ बैँस । बैँसमै फुल्छन् धेरै सपनाहरू । वैसाख मेरो जुनेली जीवन । उत्ताउलो भए भने पोखिन्छु म । बैँस मध्याह्न हो । जीवनको सबैभन्दा ऊर्जा उत्फुल्लित पल बैँस । मादमा मोहित म बैँसले झिलिमिली म । के म पनि बैँसमा कुखुराको भालेजस्तै कुर्लिदै, बास्दै, उफ्रिँदै सिउर रातो पारेर पोथी बटुल्दै हिँडूँ ?

जवानी त किराहरूलाई पनि आउँछ । खोइ के गरेर बैँस बोकेर हिँड्ने कमिलाहरूले यहाँ ? खै के गरिर कोइली बाठो भएर, जब बच्चा कोरल्ने फूल पनि कागको गुँडमा गएर पार्छे । बैँस त मखमली किरणजस्तै कलकल हुनुपर्छ । बैँस त शीतल शीतजस्तै कोमल हुनुपर्छ । बैँस त वैसाखजस्तै भरिलो र जुनजस्तै शीतल शान्त कोमल हुनुपर्छ, संयमित र सम्पोषित हुनुपर्छ । तर हाम्रो बैँस भाले खोज्दै रन्थनिएर हिँड्ने पोथी कुखुरीजस्तो पो छ । बैँस उज्यालो हो । यसको आलोकमा बले हिजो बुद्ध, लक्ष्मी बाइ, मिर्जा गालिव, अब्राहम लिंकन, पृथ्वीनारायण, अमरसिंह, भानुभक्त, सीता, भृकुटी, महाकवि देवकोटा, पारिजात र अरु अरु देशभक्त मानवहरू । बैँस सिर्फ तिम्रो जवानीको पानी मात्रै होइन । बैँस सिर्फ तिमीले केटी च्यापेर सडकमा गालाजोडी हिँड्नलार्ई आएको होइन । बैँस सिर्फ सुन्दरता प्रदर्शन होइन । बैँस त हिमालबाट उठ्दै आएको नुतन उज्यालो हो ।

बैँस कुनै वेश्यालयको झ्यालबाट रुमाल हल्लाउन आएको होइन । बैँस त जुनेली आभा हो जसले अन्धकारमा लडिरहेका यात्रीहरूलाई बाटो देखाओस् । बैँस शक्ति हो, यसलार्ई सिर्जनामा रूपान्तरण गर्न सकियो भने यसले मानव जिन्दगीमा धेरै परिवर्तन ल्याउन सक्छ । बैँस केवल जवानी होइन । मानिसहरू जीवनको यति महत्वपूर्ण ऊर्जालाई हिजोआज दुरूपयोग गरिरहेका छन् जसबाट समाजमा नकारात्मक सन्देश फैलिरहेको छ ।

बैँस ताकत हो । यो तागतको उपयोग मानव कल्याणमा उपयोग किन नगर्ने ? यो ताकत सधैँ रहिरहँदैन । समयसँगै बैँसको घाम क्षितिजतिर ढल्किन्छ । यो शक्ति ढल्नुपूर्व नै यसको सदुपयोग गर्न र यो ऊर्जालार्ई भविष्यका लागि सञ्चिति गर्न सक्नुपर्छ । रूपान्तरणबाट मात्रै यसबाट लाभ लिन सकिने हुनाले बल छँदैमा यसको सदुपयोग गरौँ । बैँसलार्ई दोष दिएर गलत कर्म गरेर उम्कनुको परिणाम निकै घातक हुन्छ । समाजमा व्याप्त हत्या हिंसा बलात्कार चोरी छली बैँसकै दुरूपयोग हो । मानिसभित्र रहेको अन्तर्निहित अनन्तः शक्ति पुन्जको स्रोत मानिस आफैँ हो । यो स्रोत भनेको उसको विपुल जवानी हो । यो जवानीले कतिलार्ई बनाउँछ खरानी र कतिलाई बनाउँछ सबको हितको परानी ।

बैँस उन्मत्त खहरे खोलाजस्तो किनारा बगाउन होइन, किनारा सुरक्षा गर्न आओस् । खुट्टा नै भाँचिने गरी लामो हिलजुत्ता लगाएर सडकमा जवानी देखाउँदै हिँड्नेको लागि होइन सादगी जीवन बाँचेर संसारको रक्षा गर्नको लागि आओस् बैँस । तीजका नाउँमा तीन महिनादेखि भोजभतेर खाँदै हिँड्ने र गरिबलाई मिच्दै हिँड्ने प्रवृत्ति पनि यही बैँसकै उपज हो ।

मानिसहरू बैँस देखाउँछन् । वैसाख त हरेक वर्ष दोहोरिन्छ तर प्रकृतिले बैंसको धाक कहिले लगाएन ? हर जिवित प्राणीमा एक पटक बैँस फुल्छ । हरेक बोटबिरुवादेखि मानवीय जीवनमा समेत वैसाख झुल्छ नै, तर यो झुलाइमा मानवले कतिलार्ई रुवायो कि वा कतिलाई हँसायो सुख अमन चैन र शान्ति दिन सक्यो । ऊर्जाको यो असीम ससीम सदुपयोग जीवनको हितका लागि लगाउनुपर्छ न कि उच्छृङ्खलतामा ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया