Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगधितोपत्रबाट फाइदा लिने केही उपाय

धितोपत्रबाट फाइदा लिने केही उपाय


के.बी. बस्नेत
साधारणतया धितोपत्र भनेको लगानी उपकरण हो । यसमा खासगरी सेयर बजारमा लगानी तथा किनबेचका लागि सूचीकृत कम्पनी सेयर, सामूहिक लगानी कोषका एकाइ (म्युचुअल फन्ड युनिट), ऋणपत्र (डिबेन्चर) र नेपाल राष्ट्र बैंक वा सरकारी बचतपत्र र बण्ड पर्दछ । यीमध्ये सेयर र म्युचुअल फण्डका युनिटमा सबैभन्दा बढी जोखिम तथा अनिश्चितता तर लाभांश एवम् पुँजीगत लाभसहितको दोहोरो प्रतिफल प्राप्त गर्ने सम्भावना हुन्छ । यस्तै ऋणपत्र र बचतपत्र वा सरकारी बण्डलाई सुनिश्चित दरमा प्रतिफल प्राप्त हुने तुलनात्मक रुपमा जोखिमरहित लगानी भनिन्छ ।

वस्तुतः सेयर किन्नु भनेको कुनै पनि कम्पनीको व्यावसायिक व्यवस्थापनको बजार, अर्थतन्त्रजस्तै सबै क्षेत्रको जोखिम स्वीकार्नुपर्ने हुुँदा यसलाई सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिन्छ । तर जोखिम वहन र व्यवस्थापन गर्नसक्दा सम्भावित पुँजीगत लाभ र प्रत्येक वर्ष प्राप्त हुनसक्ने लाभांशसहितको दोहोरो प्रतिफल प्राप्त हुनसक्छ । धितोपत्र बजारमा प्रवेश एवं कारोबार गर्न केही तयारी र जानकारी हुनुपर्छ । उक्त बजारमा प्राथमिक र दोस्रोसहितको विभिन्न माध्यमबाट प्रवेश गर्न सकिन्छ । जुन आ–आफ्नो पहुँच र लगानी जोखिम व्यवस्थापन क्षमतामा भर पर्छ ।

कुनै कम्पनी आफैँ वा निष्काशन प्रबन्धक (इस्यु म्यानेजर) मार्फत सोझै लगानीकर्तालाई बिक्री गर्ने सेयर, म्युचुयल फण्ड वा डिबेञ्चर चाहे त्यो प्राथमिक निष्काशन (आईपीओ), थप सार्वजनिक निष्काशन (एफपीओ), हकप्रद लिलामी (अक्सन) समेतलाई प्राथमिक बजार भनिन्छ ।

सामान्यतः आईपीओ तथा एफपीओमा प्रतिकित्ता सेयरको एक सय रुपैयाँ प्रतियुनिट, म्युचुअल फन्डको दश रुपैयाँ र प्रतिएकाइ डिबेन्चरको एक हजार अंकित मूल्य वा प्रिमियमसहित कम्पनीले तोकेको दरमा बिक्री गरिन्छ । न्यूनतम सेयर १० कित्ता, म्युचुअल फन्ड एक सय युनिट र डिबेञ्चर २५ को कारोबार हुन्छ । लिलामीमा राखिएको सेयर अंकित मूल्य वा प्रिमियमसहित तोकिएको शर्तअनुसार हुन्छ ।

लगानीकर्ताहरुले चाहेजति सेयर वा डिबेन्चर प्राथमिक निष्काशनमा सिधै किन्ने अवस्था नहुन सक्छ । दोस्रो बजारमा कारोबारका लागि निष्काशित धितोपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुनुपर्छ र किनबेच गर्ने व्यक्ति वा निकायले कुनै दलाल कहाँ कारोबार खाता खोलेको हुनुपर्छ ।

धितोपत्र किनबेचसम्बन्धी ज्ञान नभएकाहरुले म्युचुअल फन्डका युनिट किनेर वा लगानी व्यवस्थापन सेवा लिएर धितोपत्र बजारमा प्रवेश गर्न सकिन्छ । वास्तवमा विज्ञ समूहबाट लगानी व्यवस्थापन हुने, सर्वजनिक निष्काशन आरक्षण र विभिन्न करमा छुट हुने म्युचुअल फन्डमा प्राथमिक निष्काशन वा दोस्रो बजारबाट थोरै लगानी गरी धितोपत्रबजारबाट फाइदा लिन सकिन्छ ।

धितोपत्र बोर्डबाट अनुमतिप्राप्त मर्चेन्ट बैंकहरुमार्फत प्रदान गरिने पोर्टफोलियो म्यानेजमेन्ट सेवा (पीएमएस)मा भने निश्चित सेवा शुल्क र मुनाफा हिस्सेदारीसहित लगानीकर्ताहरुको तर्फबाट धितोपत्रमा लगानी, जोखिम र प्रतिफल व्यवस्थापन गरिन्छ ।

धितोपत्रमा लगानी तथा कारोबार गर्नका लागि आ–आफ्नो नाममा बैंक खाता, सेयर संकलन गर्न डिम्याट खाता र सीआरएन नम्बर हुनुपर्छ । कुनै पनि धितोपत्रमा आवेदन दिन, किनेको धितोपत्रको भुक्तानी गर्न र बेचेको धितोपत्रको रकम प्राप्त गर्न बैंक खाता खोल्न आवश्यक हुन्छ । धितोपत्र भौतिक रुपमा प्रमाणपत्रको रुपमा प्राप्त नहुन सक्छ । किनिएको धितोपत्र संकलन, दोस्रो बजारमा किनबेच गर्न र कुनै पनि कम्पनीले प्रदान गर्ने बोनसवाहक सेयर प्राप्त गर्न डिम्याट खाता खोल्न जरुरी छ ।

यतिमात्र होइन, अभौतिक नभएको धितोपत्रको नगद लाभांश समेत प्राप्त गर्न नहुने हुँदा डिम्याट खाता खोल्न र त्यसमा आफ्नो बैंक खाता पनि समावेश गर्नुपर्छ । धितोपत्र बोर्डबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र दलाली गरी ७५ वटा डीपी प्रदायकमार्फत डिम्याट खाता खोल्न सकिन्छ । तर प्राथमिक सेयर वा अन्य धितोपत्र निष्काशन वा अनलाइन हकप्रद आवेदन गर्न भने सीआरएन नम्बर आवश्यक छ जुन रकम जम्मा हुने खाता भएको बैंकले प्रदान गर्छ । कसैलाई दोस्रो बजारमा धितोपत्र किनबेच गर्न मन छ भने अनुमति प्राप्त व्यवसायी स्टक ब्रोकर/सेयर दलालको कार्यालयमा गई ग्राहक परिचय (केवाईसी) फारम भर्दै कारोबार खाता खोल्नुपर्छ ।

डिम्याट खाताको प्रमाण, बैंक खाता प्रमाण, तस्बिर र नागरिकताको प्रतिलिपिसहित धितोपत्र दलालको कार्यालयमा गएर कारोबार खाता खोलेपछि विशेष ग्राहक परिचय नम्बर पाइन्छ जुन धितोपत्र कारोबारका लागि प्रयोग गरिन्छ । कसैले एक पटकमा पाँच लाखभन्दा बढीको धितोपत्र किनबेच गर्नुपरेमा स्थायी लेखा नम्बर लिनुपर्छ ।

कसैको डिम्याट खातामा भएको धितोपत्रको जानकारी लिन र बिक्री गरिएको सेयर कम्प्युटर प्रणालीबाट हस्तान्तरण गर्न सीडीएस एण्ड क्लेयरिङ (सीडीएससी) ले उपलब्ध गराउने ‘मेरो सेयर’को सेवा लिन सकिन्छ । योबाहेक डिम्याट खाता खोलिएको डीपी सेवाप्रदायकलाई थप शुल्क ५० रुपैयाँ तिरेर ‘मेरो सेयर’को सुविधा प्राप्त गर्नका लागि पासवर्ड र युजर आईडी पाउन सकिन्छ जसका लागि आफ्नै इमेल ठेगाना हुन जरुरी छ ।

डिम्याट बैंक खाता, सीआरएन नम्बर र कारोबार खाता प्राप्त गरेपछि तोकिएको संस्थामा गएर वा इन्टरनेटका माध्यमबाट आफैँ धितोपत्र कारोबार गर्ने विकल्प हुनेछ । परन्तु प्राथमिक निष्काशनको अवस्थामा कम्पनी वा निष्काशन प्रबन्धकले तोकेका निकायहरु जस्तै सम्बन्धित कम्पनीको कार्यालय, मर्चेन्ट बैंक र वित्तीय संस्थाहरुमा गएर त्यहाँ उपलब्ध फारम भरी धितोपत्र खरिदका लागि आवेदन गर्न सकिन्छ ।

दोस्रो बजारमा कारोबार खाता खोलेको सेयर दलालको कार्यालयमा आफैँ उपस्थित भएर, टेलिफोन वा इमेलबाट आदेश दिएर, अनलाइन सफ्टवेयरमार्फत आफैँले धितोपत्रको किनबेच आदेश दिन सकिन्छ । तर अनलाइन कारोबारका लागि सेयर दलालसँग सम्झौता गर्नुका साथै २५ प्रतिशत रकम धरौटी राखेर प्रयेगकर्ताको नाम र पासवर्ड लिएर इन्टरनेटको माध्यमबाट कारोबार गर्ने वेबसाइट (टीएमएस) मा प्रवेश गरेर मोबाइल वा कम्प्युटरबाट धितोपत्र किनबेच गर्न सकिन्छ ।

यथार्थतः सेयर लगानी जोखिमयुक्त छ किनभने कुनै पनि कम्पनी वा म्युचुअल फण्डले वार्षिक लाभांश दिने कुरा निश्चित हुँदैन । त्यसैले जोखिम व्यवस्थापन गर्न नसके प्रतिफल प्राप्त नहुने मात्रै होइन सेवामा समेत नोक्सान हुन्छ । अतः कुनै पनि धितोपत्रमा लगानी गर्नुअगाडि कम्पनीको व्यावसायिक, व्यवस्थापकीय र कानुनी जोखिमहरु सामना गर्न तत्पर हुनुपर्छ । योबाहेक जोखिम व्यवस्थापनको रणनीति र धितोपत्र कम्पनीको बजार मूल्यको विश्लेषण गर्ने क्षमता हुनुपर्छ ।

दोस्रो बजारमा सेयर किनबेच गर्दा बढी जोखिम हुनाले चातुर्य तथा निर्णयक्षमता हुनुपर्छ । यसो गर्न नसकेमा सेयर थपिँदै जाने र अरुलाई कम मूल्यमा बेच्नुपर्ने अर्थात् कसैले फसाउन थापेको धरापमा पर्ने सम्भावना हुन्छ जसलाई सेयर बजारको भाषामा बुलिस वा बियरिस ट्र्यापमा पार्ने भनिन्छ ।

कुनै पनि सेयर किन्दा तोकिएको अवधिभित्र रकम तिर्ने व्यवस्था, ऋणको किस्ता र ब्याजको व्यवस्था तथा बिक्री गर्दा डिम्याट खातामा बेचिएको सेयर उपलब्ध भएको वा नभएको र तोकिएको अवधिमा दलालकहाँ पुगेको वा नपुगेको निश्चित हुनुपर्छ । सेयर कारोबार मापन गर्ने परिसूचक र बजार मूल्य हेरेर सेयर किनबेच गर्न उपयुक्त हुँदैन । वास्तवमा वैकल्पिक रणनीतिसहित पूर्वतयारी, तुलनात्मक विश्लेषण, रणनीति पुनरवलोकन गरेर निर्णय लिन सकेमात्र धितोपत्र बजारबाट फाइदा लिन सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया