Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसफल जीवन जिउने आधार

सफल जीवन जिउने आधार


भोला शर्मा
जसरी कृषि उत्पादन बढाउन मल, जल, जमीन, बीउबिजन, हावापानी, गोडमेल आदिको उचित तालमेल मिल्नु पर्दछ, त्यसैगरी सफल मानवीय जीवनयापनका लागि पनि खाने, बस्ने, हिँड्ने, डुल्ने, सुत्ने, उठ्ने आदि सबै क्रियाकलापहरूको तालमेल मिलेकै हुनु पर्दछ । मानिस स्वभावैले चेतनशील र श्रेष्ठतम प्राणी भएकोले ऊ प्राणी जगतको शीर्षस्थानमा रहन्छ । त्यसैले योग्यता, क्षमता र प्रतिस्पर्धाको आधारमा आफ्नो जीवनशैलीलाई कार्य व्यवहारमा रूपान्तरण गर्दै यो एक्काइसौं शताब्दीको ल्याकत युगमा प्रवेश गरेको छ ।

आज मानिस आफ्नो जीवनचक्रमा प्राप्त गरेको समयलाई एउटा प्रयत्नशील तालिकाको रूपमा लिएर संघर्षशील जीवनको सफलतम परीक्षाको दौडमा कुदिरहेको छ । वीपी कोइरालाले भनेझैं मानिस ब्रेडले होइन ब्रेनले सञ्चालन हुन्छ अर्थात् सफल मानिस खानामा होइन सोच, चिन्तन र चेतनामा लिप्त हुन्छ । विवेकशील मगजका आधारमा मानिसले आफ्नो जीवन निरपेक्षतामा होइन सापेक्षतामा जिउँछ । एक–अर्कामा प्रतिस्पर्धाको माध्यमबाट आफूमा अन्तरनिहित क्षमता बृहत्तररूपमा प्रस्फुटन गराएर समाजमा ऊ अब्बल हुन चाहन्छ ।

राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, शैक्षिकलगायत जीवनका हरेक अयामिक परीक्षामा क्रियाशील रहने मानिस सफलताको शिखर चुम्न सक्छ भने आफूूलाई अरुको आशा र भरोसामा राखी लगनशीलतामा कम चाख राख्ने मानिस असफल हुन्छ । योजनाबद्ध ढंगले आफ्नो निर्दिष्ट जीवनशैलीमा जिउने मानिसले बेलायती विख्यात विद्वान हब्सको भनाइ अनुशरण गर्नु पर्दछ । हब्सले भनेका छन्ः ‘यदि मलाई एउटा रुख काट्ने समय ६ घण्टा उपलब्ध गराइयो भने ४ घण्टा म हतियार मात्र उद्याउँछु ।’ यसबाट पूर्वतयारी कार्यसम्पादन सफलताको कडी हो भन्ने शिक्षा ग्रहण गर्न सकिन्छ ।

एला पिलर विल्कासले भनेका छन्ः ‘हाँस्ता तिमीसँग संसारै हाँस्छ, रोयौ भने तिमी एक्लै रुनु पर्छ ।’ वास्तवमा यो भनाइमा अधिकतम सत्यता रहेको अनुभूत गर्न सकिन्छ । पीरमर्का र दुःख कष्टमा साथ र समवेदना दिने कोही हुँदैनन् । सुखसयलमा रेष्टुरेण्ट सयर गर्न पार्टी खुवाउन अफर गर्ने तमाम हुन्छन् । तथापि कोही पनि दुःखमा आत्तिने र सुखमा मात्तिने गर्नु हुँदैन । यो मानवीय दिगो हित र कल्याणका लागि अवश्य उपयोगी मानिन्छ । तसर्थ प्रत्येक दुःखसुखलाई उत्पादनशील उपयोग गर्न सक्नु सफलताको द्योतक हो ।

समय व्यवस्थापनलाई सफलताको पूर्वशर्त मानिन्छ । सबेरै उठ्ने, सबेरै सुत्ने, समयमा खाने, समयमा पुग्ने, समयमै फर्कने, समयमै कार्यसम्पादन गर्ने, औषधि खानेले समयमै औषधि खाने, बिहानीपख नियमित हिँड्ने गर्दा व्यक्तिगत र सार्वजनिक जीवनमा अवस्य सफलता प्राप्त गर्न सकिन्छ । त्यसैगरी परीक्षा दिने विद्यार्थीहरूले समयमै परीक्षा केन्द्रमा पुग्ने, समय सीमाभित्रै प्रश्नहरू हल गरिसक्ने बानी बसाल्नु पर्छ । अन्यथा पुन सोही परीक्षाको परीक्षार्थी बन्नुको विकल्प छैन ।

बाराक ओबामा अमेरीकन राष्ट्रपति हुँदा पनि कुनै औपचारिक कार्यक्रममा समयमै पुग्थे, आफ्नो परिवार लिएर हिउँ खेल्न अनि समुद्रमा पौडी खेल्न पुगेकै हुन्थे तथापि हाम्रो मुलुकका अब्बल दर्जाका व्यक्तिहरू समयभन्दा धेरै ढिलो पुग्दा पनि समय व्यवस्थापनको पाठ पढाउन पछि पर्दैनन् र आफ्नो घरपरिवारलाई समय दिन सक्दैनन् । त्यसकारण ठूला साना सबैले अमूल्य समय सञ्चित गर्न नसकिने हुनाले कामको प्राथमिकीकरणका आधारमा यसको यथोचित व्यवस्थापन गर्न सक्नुपर्छ, कार्यसम्पादनमा भानुभक्तीय भोलिवादको अन्त्य गर्नु पर्दछ ।

वास्तवमा खरावहरूबाट असल, असन्तुलनाट सन्तुलन, प्रभावहीनबाट प्रभावशाली, जटिलताबाट सरल, अनिश्चय र भ्रमबाट निश्चयपूर्ण एवं विवेकशील जीवनयात्रा तय गर्न मानिस सदैव क्रियाशील रहनु पर्दछ । चाल्र्स डार्विनको विकासवादी सिद्धान्तबमोजिम मानिसले आफूूलाई प्रकृतिमा टिकाइराख्न अन्तरनिहित मानवीय ऊर्जाको अत्युत्तम उपयोग गर्न सक्नुपर्दछ । मानिस स्वभावैले असन्तुष्ट प्राणी हो तथापि असन्तुष्टिको लक्ष्मणरेखा तोड्नु हुँदैन ।

भूकम्पको बखत प्राय सबै जनमानसमा देखिएको सहयोग, सद्भाव, सदाचार र समन्वयपूर्ण सरल व्यवहार सदैव जरुरी छ । मै खाऊँ मै लाऊँ … भन्ने स्वार्थी भावनाबाट मानिस सधैंभरि अलग रहनु पर्दछ । राज्यले पनि विधिभन्दा व्यक्ति, नीतिभन्दा नेता, राम्रोभन्दा हाम्रोलाई प्रधानता दिनु हुँदैन । विभेद र विवादबाट सफल र असल शसनको परिकल्पना गर्न सकिँदैन । छेपारोले जस्तो समयअनुसार रंग बदल्ने प्रवृत्तिले कसैलाई क्षणिक व्यक्तिगत लाभ त होला तर त्यसले दीर्घकालमा अवश्य हानि गर्दछ । तसर्थ मानिसले दोहोरो बोली र व्यवहार अन्त्य गरी मानवीय सभ्यता समेत जगेर्ना गर्दै पाइला–पाइलामा सफलताको मार्ग खोल्न विलम्ब गर्नु हुँदैन ।

प्रसिद्ध साहित्यकार शिव कुमार राईले भनेझैं जीवन केवल बशन्त होईन तुषारे शिशिर पनि हो, फुलको कालिन होईन अनी संघर्ष पनि हो । जीवनको गोरेटोमा अनेक घुम्तिका मोडहरू आउँछन् तिनलाई स्वाभाविक रूपमा ग्रहण गरेर चिर्दै अगाडी बढ्न सक्नु महानता हो । जीवनमा सयौं पटक लडिन्छ, लड्नु ठूलो कुरा होईन जती पटक लडे पनि उठ्न सक्नु महानता हो । तसर्थसफल जीवनका लागि सर्वाधिक बुद्धिजिबी प्राणी भएको नाताले मानिसले हरेक प्राणीमा अन्तरनिसहत एक एक वटा प्रतिभाशाली गुण ग्रहण गर्नु बुद्धिमानी हन्छ ।

सिंहको जस्तो शत्रुबाट होशियारी, बकुल्लाको जस्तो गम्भिर ध्यान, गधा जस्तो कार्मठ, काग जस्तो स्फूर्त चनाखो, कोईलीको जस्तो मधुर बोली,गिद्धको जस्तो बिहंगम दृष्टि, कुकुर जस्तो हरदम शतर्क, गाई जस्तो ज्ञानी, घोडा जस्तो कर्तव्यनिष्ठ लगाव, कुखुरा जस्तो सबेरै उठ्ने, चखेवा जस्तो प्रेमी मानिस जीवनका हरेक पहलुहरूमा सफल हुन्छ । असफलता नै सफलताको प्रतिक हो भने झैं लगनशील मानिस एक पटक असफल भएमा अर्को पटक अबश्य सफल हुन्छ । आबस्यकता केबल निरन्तर प्रयत्नको हो सबैले हेक्का राख्न जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया