Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानव जीवनमा पानीको महत्व र यसको प्रयोग

मानव जीवनमा पानीको महत्व र यसको प्रयोग


टेकराज पन्थी
साधारण देखिने तर अत्यन्त महत्वपूर्ण रहेको पानीलाई धेरैलाई चिनाउन पर्दैन । पल–पलमा अति आवश्यक भएको हामी सबैलाई थाहा नै छ । हामीले पानी प्रयोग कसरी गरेका छौं र पानीको कमी हुँदा के असर पर्दछ भन्ने धेरैलाई थाहा नहुन सक्छ । थाहा नभई प्रयोग गरेको पानीबाट करिब ७० प्रतिशत रोग पानीकै कारणबाट हुने गर्दछ । विश्व स्वास्थ्य संगठनको अनुसन्धानबाट समेत पुष्टि गरिसकेको छ ।

बजारमा वितरण हुने विभिन्न प्रकारका पानीहरूमा उत्पादन मिति र समय समाप्त हुने मिति स्पष्ट उल्लेख हुनुपर्दछ । कतिपय पानीका जार वा बोतलमा त्यस्ता विषयलाई ध्यान दिइएको पाइएको छैन जसले गर्दा मानव जीवनमा आफैँले आफैँलाई रोगहरू निम्त्याइरहेका छौँ । तसर्थ प्राणी जगतको जीवनलाई ख्याल गरेर पानीको प्रयोग गरेर र नियामक निकायबाट प्रभाभकारी अनुगमन हुनु जरूरी छ । पानी कमी हुँदा हुने समस्या र पानीबाट हुने फाइदालाई गम्भीररूपमा मनन गर्न सकियो भने हाम्रो जीवन केही हदसम्म स्वस्थ रहन सक्छ ।

शरीरमा पानी कमी भएको लक्षणहरू :
टाउको साह्रो गरी दुख्छ : टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन । अहिले त टाउको दुखे पनि कोरोनाको शंका मनमा उत्पन्न हुन्छ । तर त्यसो होइन त्यसको कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौं भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ ।

केही खानासाथ तत्काल भोक लाग्छ : बढी तिर्खा लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्ट्याउन सक्दैन । त्यसैले भर्खरै खाना खाएको छ भने पनि भोक लागेको जस्तो हुन्छ । यदि कहिले यस्तो भयो भने पानी पिउनुपर्छ । भोक लागेजस्तो हुने समस्या आफैँ हटेर जान्छ ।

धेरै थकान महसुस हुने : जब मानिसले आफूलाई चाहिनेजति पानी पिउँदैन, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले आफूलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ । चिन्ता समेत बढाउँछ ।

काममा ध्यान जाँदैन : दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द वा सुस्त हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन । एकाग्र भएर केही सोच्न सकिँदैन ।

छाला सुक्खा हुन्छ : चलिरहेको मौसमविपरीत प्रायः मानिसको छाला सुक्खा रहन्छ, बारम्बार ओठ फुट्ने हुन्छ भने त्यसको कारण पानीको कमी हो । यदि मानिसले नरम र सुन्दर छाला चाहन्छ भने आवश्यकताअनुसार प्रशस्त पानी पिउनुपर्छ । पानीको कमीले गर्दा छालालाई खराब बनाउँछ ।

पिसाब पहेँलो हुने : मानिसले पिसाब फेर्दा पहेँलो आयो भने पिसावको खराबी भयो भनेर आत्तिने गर्दछन् । पिसाब फेर्दा दिनमा कम्तीमा दुई पटक पिसाब कस्तो छ भनेर हेर्नुपर्छ र दुवैपटक हल्का पहेँलो छ भने त्यो ठिकै हुन्छ । तर, धेरै पहेँलो छ भने पक्कै पनि पानीको कमी भएको हुन्छ । त्यसैले पानी प्रशस्त पिउन भुल्न भएन ।

एसीडीटी बढ्छ : एसीडीटी बढेको छ, दिसामा कब्जियत छ, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण प्रशस्त मात्रामा पानी पिउनुहुँदैन । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

धढ्कन बढाउँछ : यदि आफ्नो मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो । त्यसलाई ख्याल गरेर पनि पिउनु पर्दछ ।
चक्कर लाग्ने वा अचानक डराउने : अचानक चक्कर आउने केरै कारण हुन सक्छ, कहिलेकाहीँ औषधिको कारण, निद्रा नआउनेलगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

श्वास गनाउने : यदि शरीरमा पानीको कमी भइरहेको छ, शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक व्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ ।

मुख सुक्खा रहन्छ : प्रायः मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्ने बित्तिकै पानी पिउनुपर्छ । कहिलेकाहीँ कतिपय औषधि खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन ।

मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ : पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।
शरीरमा पानीको कमी हुँदा देखिने असरहरू

१. सास गनाउने : हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौँ । कामको दौरानमा बोल्दा जब आफ्ना सहकर्मीहरू परपर सर्छन् अनि मात्रै आफूलाई महसुस हुन्छ कि पानी पिउन भुलेको र आफ्नो सास आफूलाई गनाइरहेको हुन्छ ।

२. शारीरिक क्षमतामा कमी : शरीरमा पानीको मात्रा कम हुँनासाथ शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ भन्ने विज्ञहरूको भनाइ र अनुसन्धानबाट पत्ता लागेको छ ।

३. सुख्खा छाला : छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रसस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नु पनि उत्तिकै जरुरी हुन्छ ।

४. ड्राइभिङ क्षमतामा असर : फिजियोलोजी एण्ड विह्याभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्णरूपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।

५. थकान : शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यति मात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरू पनि थकित हुने गर्छ ।

६. खराब मुड : शरीरमा पानीको मात्रा कम हुनुको असर शारीरिक रूपबाट मात्र नभई मानसिक रूपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने, अल्छी हुने, काममा केन्द्रित हुन नसक्ने र दुखिरहने गरेको पाइन्छ ।

७. शरीर चिसो बनाउँछ : रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मदत गर्छ । पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।

८. आँखा धमिलो हुने र तिर्मिराउने : पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउँछ ।

९. टाउको दुखाइ : चिकित्सकहरूका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब–जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस् सम्भवत टाउको दुखाइ हराएर जान्छ ।

१०. कब्जियत गराउँछ : आन्द्रामा पचेका खानाहरू पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनुभएको छ भने आन्द्रामा भएका वस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउँछ ।

प्रशस्त पानी पिउँदा हुने फाइदाहरू
१. शारीरिक क्रियाकलापमा चाहेअनुरूप सहभागी र बिनाथकान सम्पन्न गर्न प्रशस्त पानी पिउनु जरुरी हुन्छ ।
२. मस्तिष्कलाई चुस्त, स्फूर्त राख्न र मानसिक कार्यलाई छिटो छरितो बनाउन पानी
पिउने गर्नुपर्दछ ।
. टाउको दुखाइ कम गर्न, निको पार्न र दुखाइ कम गर्न पानीको महत्वपूर्ण भमिका हुन्छ ।
. यदि पेटको कब्जियतको समस्याले सताइरहेको छ भने प्रशस्त पानी पिउने गर्दा कब्जियतको समस्या समाधान हुन्छ ।
५. मिर्गौलामा हुने पत्थरी हटाउन तथा हुन नदिन प्रशस्त मात्रामा पानी पिउनु जरुरी हुन्छ ।
. पानी प्रशस्त पिउनाले शरीरको मेटाबोलिज्म प्रक्रिया बढ्न जान्छ र यसले शरीरको तौल घटाउन मदत गर्छ ।

कुन समयमा कति पानी पिउने
१. बिहान उठ्नेबित्तिकै खालि पेटमा एकदेखि दुई गिलास पानी पिउनु राम्रो हुन्छ । त्यसमा मह र कागती मिसाएर पिउँदा झन् राम्रो हुन्छ ।
२. खाना खानु एक वा आधा घन्टाअघि एक गिलास पानी पिउनु राम्रो हुन्छ । यसले तपाईंलाई भोक लागेको कम गराउँछ । जसले तौल बढ्न पाउँदैन र पाचन शक्तिलाई पनि बढाउँछ ।
. यदि खाना खाँदा तिर्खा लाग्छ भने त्यसबीचमा पानी पिउनु हुँदैन । यस्तो बेलामा दही या सलाद खाँदा राम्रो हुन्छ । पानी पिउने बानी छ भने तत्काल छाडेको राम्रो हुन्छ ।
. यदि अफिसमा काम गर्दागर्दै थकान भएको महसुस भएको छ भने खाजा खानुको सट्टा एक गिलास पानी पिउँदा, तत्काल जिउमा स्फूर्ति आउँछ ।
५. बिहान, दिउँसो साँझ र राति क्रमशः पानी कम पिउँदै जानु राम्रो हो ।
६. यदि दैनिक व्यायम गरिन्छ भने व्यायाम सुरु गर्नुपूर्व र गरिसकेपछि सक्दो पानी पिउनु राम्रो हुन्छ ।
. यदि बिरामी हुनुहुन्छ, गर्भवती हुनुहुन्छ या स्तनपान गराउने आमा हुनुहुन्छ भने सामान्य अवस्थाभन्दा बढी पानी पिउनुपर्छ । यस्तो समयमा कम्तीमा एक दिनमा १० गिलास पानी पिउनुपर्छ ।

एक दिनमा कति पानी पिउने ? पानी स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा अब हामी सबैलाई थाहा भइसक्यो । तर कतिबेला कति मात्रामा पानी पिउने भन्नेकुरा सबैलाई थाहा नहुन सक्छ । चिकित्सकहरूले सामान्य त प्रत्येक दिन ठूलो गिलासको आठ गिलास पानी पिउन सल्लाह दिने गर्दछन् तर त्यो पानी कतिबेला पिउनुपर्छ भनेर बताएका हुँदैनन । तर हामीले केही विज्ञसंग यसबारेमा कुरा गरी पानी पिउने ठीक समयको बारेमा जानकारी लिने कोसिस गरिएको छ ।

पानी कतिबेला पिउने ? बिहान उठ्नासाथ एक गिलास, विहान उठनासाथ एक गिलास पानी पिउनु राम्रो हुन्छ । यसले शरीरका अंगहरूलाई क्रियाशिल बनाउँछ । विज्ञहरूका अनुसार विहानको खाजा खानुअघि नै पानी पिउन सकियो भने शरीरका विषाक्त पदार्थ शरीरबाट निकाल्न सहज हुनेछ ।

खाना खानुभन्दा पहिले एक गिलास : खाना खानुभन्दा आधा घण्टा पहिले नै कम्तीमा एक गिलास पानी पिएको राम्रो मानिन्छ । यसले पाचन प्रणालीलाई सहयोग पु-याउने विज्ञहरू बताउँछन् ।

खाना खाएपछि एक गिलास : खाना खाएपछि करिव १५ मिनेटपश्चात् एक गिलास पानी पिएको राम्रो यसले शरीरको पाचन शक्तिलाई थप सहयोग पु-याउँछ । तर अति पहिला र अति पछिचाहिँ नपिएको राम्रो ।

नुहाउनुभन्दा अघि एक गिलास पानी पिएको राम्रो : हामीले नुहाउनुअघि एक गिलास पानी पिउँदा रक्तचापको स्तर ठिक हुन जान्छ । यसैले नुहाउनुअघि पनि एक गिलास पानी पिएको राम्रो मानिन्छ ।

सुत्नुअघि एक गिलास पानी पिउनु राम्रो : सुत्नुभन्दा अघि एक गिलास पानी पिउँदा रातिको समयमा शरीरमा हुनेवाला पानीको नोक्सानको पूर्ति हुनसक्छ । त्यसैले सुत्नुअघि एक गिलास पानी पिएको राम्रो मानिन्छ । तर विज्ञहरूले यो पनि भनेका छन् कि शरीर, वातावरण, र कामअनुसार पनि पानी पिउने मात्रा र समय फेरबदल गर्न सकिन्छ । जस्तैः कडा शारीरिक परिश्रम गर्ने व्यक्तिका लागि ८ गिलास पानी पर्याप्त नहुन सक्छ ।

धेरै चिसो पानी पिउनुका बेफाइदा : गर्मी मौसममा तिर्खा मेटाउन चिसो पानी पिउन सबैलाई मन पर्छ तर धेरै चिसो पानी पिउनु शरीरका लागि नकारात्मक असर पर्न सक्छ । गर्मी मौसममा प्राय सबैको घरमा फ्रिजमा राखिएको पानी पिउने चलन हुन्छ यसले शरीरलाई फाइदाभन्दा बेफाइदा बढी गर्छ । कोरोना भाइरसबाट सुरक्षित रहन ठिक्क तातो पानी पिउँदा राम्रो मानिन्छ ।

१. धेरै चिसो पानी पिउनाले रक्तनलीहरू खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । यसले खानेकुरा राम्रोसँग पच्दैन र आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।
. फ्रिजमा राखेको चिसो पानी तथा बरफहरूको सेवन गर्नाले मुटुको धड्कनमा असर पार्छ यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ ।
३. धेरै चिसो पानी पिउनाले शरीरमा अनावश्यकरूपमा ऊर्जा खर्च हुन्छ जसले खानेकुरामा भएका पोषक तत्व शरीरले सबै प्राप्त गर्न सक्दैन ।
४. धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरूमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ ।
फ्रिजको चिसो पानी सिधै पिउनु हुँदैन
गर्मीको समयमा मानिसहरू प्रायः फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सिधै पिउँदा शरीरलाई हानी पु-याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ । फ्रिजको पानी सिधै पिउँदा यस्तो हुनसक्छ :

वजन बढाउँछ : खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिज्ममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ ।

घाँटीको संक्रमण : धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्रायः टन्सिलको समस्या देखिने गरेको छ ।

शरीरको तापक्रममा असर गर्छ : शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ । तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।

मुटुको गति कम पार्छ : जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुनसक्छ । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ ।
पाचन प्रक्रियामा असर : बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्व पनि मिल्दैन ।

यसरी पानीलाई हामीले सही तरिकाले प्रयोग गर्न सकेमा यसका धेरै फाइदाहरू छन् । पानीको महत्वलाई बुझेर सही प्रयोग भएमा शारीरिक तन्दुरूस्ती मात्र होइन शक्ति पनि प्रदान गर्दछ । आज विश्वमा महामारीको रूपमा फैलिएको कोरोनाको सन्त्रास पनि पानीको समुचित प्रयोगबाट कमी गराउन सकिन्छ । त्यसैले सफा र शुद्ध पानी हाम्रो जीवन हो जीवनको रक्षा पनि पानीबाट हुन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया