
संसारमा धरै ऊहापोह गरिने विषयहरूमध्ये मन पनि एक हो जसका विषयमा पूर्वीय र पाश्चात्य दुवै जगत्मा धेरै अध्ययन अनुसन्धान भएको पाइन्छ । मन शरीरको त्यो अदृश्य भाग हो जसबाट विचार शक्तिको उत्पत्ति हुन्छ । विचार नै मस्तिष्कको कार्यशक्तिको द्योतक हो । मनलाई आध्यात्मिक र भौतिक दुवै किसिमबाट आ–आफ्नै तरिकाले व्याख्या गरिएका पाइन्छ । पाश्चात्य महान् मनोवैज्ञानिक फ्रायडले चेतन, अचेतन र अर्धचेतन गरी मनलाई तीन किसिममा विभाजन गरेर व्याख्या गरेका छन् भने पूर्वीय आध्यात्मिक जगत्मा मनलाई ‘अन्तःस्करणचतुष्टय’ भनी चार भागमा विभाजन गरेर व्याख्या गरिएको पाइन्छ । यहाँ मनलाई केही आध्यात्मिक तरिकाले बुझ्ने प्रयास गरौँ ।
संसारका हरेक सजीव प्राणीमा दुई हृदय हुने गर्दछ, भौतिक हृदय अर्थात् मुटु र आत्मिक हृदय अर्थात् अन्तः करण । भौतिक हृदय (मुटु)ले शरीरमा रगत सञ्चार गर्ने काम गर्दछ भने आध्यात्मिक हृदयले दया, माया, करुणा, प्रेम आदिको प्रतिनिधित्व गर्ने गर्दछ । भौतिक हृदय प्राणीको केही नियन्त्रणमा हुँदैन, ऊ प्राकृतिक रूपमा आफ्नै गतिमा चलिरहन्छ भने आध्यात्मिक हृदय प्राणीको नियन्त्रणमा हुन्छ । यही आफ्नै नियन्त्रणमा हुने दोस्रो हृदयको नाम नै मन हो । मनलाई नियन्त्रण गर्ने तत्व बुद्धि हो । मानवेतर प्राणीमा विवेक नहुने भएकाले उनीहरूले आफ्नो आध्यात्मिक हृदयलाई केही नियन्त्रण गर्न सक्दैनन् ।
मनलाई विभिन्न कार्यका आधारमा ‘अन्तःस्करणचतुष्टय’ भनी चार भागमा विभाजन गरिएको छ, ‘मन, बुद्धि, चित्त र अहंकार’ । मन अर्थात् अन्तःकरणलाई विभिन्न संकल्प विकल्पहरू गर्ने भएकाले मन, निर्णय गर्ने भएकाले बुद्धि, चिन्तन गर्ने भएकाले चित्त र अहम् अर्थात् घमण्ड गर्ने भएकाले अहंकारका रूपले चिनिन्छ । जसमा मन र बुद्धि, एक पक्ष हो भने चित्त र अहंकार अर्को पक्ष । ज्ञान, मन र बुद्धिको क्षेत्रमा पर्दछ भने भावनाअन्तर्गतका कुराहरू चित्त र अहंकारको समूहमा पर्दछन् । निर्णयको कार्य गर्ने बुद्धिको बासस्थान मस्तिष्क भित्र हुन्छ भने संकल्प विकल्पको कार्य गर्ने मनको बासस्थान हृदयभित्र मानिन्छ । बुद्धि नीति प्रधान हुन्छ भने मन कर्म प्रधान हुन्छ । सृष्टिको सम्पूर्ण काम मनले गर्दछ । काम गर्नु पर्दछ भन्ने कुरा बाहेक मनलाई केही कुरा थाहा हुँदैन । त्यो काम राम्रो होस् वा नराम्रो मनलाई केही चासो पनि हुँदैन तर संसारलाई भने राम्रै काम चाहिन्छ । यसै कारण मनमा बुद्धिको हस्तक्षेप हुनु आवश्यक हुन्छ ।
बुद्धिले निर्णय लिने गर्दछ तर बुद्धि पनि सत्व, रज र तम आदि गुणहरूका कारणले आफ्नो रङ्ग फेरिरहन्छ । त्येसैले बुद्धिलाई योग, ध्यान इत्यादि विभिन्न विधिहरूको अभ्यासबाट सँधै सात्विक बनाइरहनु पर्दछ । सत्वगुण युक्त बुद्धिलाई नै विवेक भनिन्छ । विवेक भनेकै सकारात्मक विचारहरूले भरिएको बुद्धितत्व हो । त्यसैले विवेकद्वारा गरिएको निर्णय सही निर्णय हुने गर्दछ । अतः बुद्धि तत्वलाई विवेक तत्वमा रुपान्तरण गर्नु नै हामी सबैको प्रयास हुने गर्दछ । मनलाई सात्विक बनाउँन सहयोगी उपदेशलाई मन्त्र भनिन्छ भने त्यही मन्त्र जानेकालाई मन्त्री भनिन्छ । वैदिक ऋषिहरूले आफ्नो समाधिबाट गायत्रीमन्त्रको जुन प्रारुप तयार पारे, त्यसको उद्देश्य पनि बुद्धि तत्वलाई विवेक तत्वमा रुपान्तरण गर्नु नै हो । उक्त मन्त्रलाई चार वेद मध्येकै सर्वश्रेष्ठ मन्त्र मानिन्छ । जुन यसप्रकार रहेको छ –
‘ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।’ अर्थात् सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्दर्छौँ । ती परमात्माले हाम्रो बुद्धिलाई सँधै असल मार्गतर्फ प्रेरित गरून् ।
हाम्रो शरीरमा एघार इन्द्रिय हुन्छन् । जसमध्ये मन पनि एक हो । सबै इन्द्रियहरूको नायक इन्द्रिय पनि मन नै हो । त्यसैले हामी अरू इन्द्रियहरूको विषयमा कुरा गर्दा पनि मनसँगै जोडेर कुरा गर्ने गर्दछौँ । जस्तो कि, कान इन्द्रियको विषयमा कुरा गर्नुपर्दा मलाई आज राम्रो संगीत सुन्न कानपर्यो भन्दैनौँ कि मनप¥यो नै भन्दछौँ । यसबाटै पुष्टि हुन्छ कि सबै इन्द्रियको मालिक मन नै हो भनेर । त्यसैले हामीले मनलाई सकारात्मक बनायौँ भने सबै इन्द्रियहरू सकारात्मक तथा ऊर्जावान् हुने गर्दछन् ।
विभिन्न सुख तथा दुःखका साथै बन्धन तथा मोक्षको कारण पनि मन नै हो । विभिन्न विषयमा आसक्त मन दुःख तथा बन्धनको कारण हुन्छ भने संकल्प तथा कामना रहित मन परमसुख तथा मोक्षको कारण हुन पुग्छद । यही कुरालाई यहाँ स्पष्ट पारिएको छ । ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः ।’ –ब्रह्मबिन्दूपनिषद् ,चाणक्य नीति ।
महान् विद्वान् सच्चिदानन्द सरस्वती (खप्तड बाबा) को पठनीय पुस्तक ’विचार विज्ञान’मा पनि मन नै मानापमान तथा सुखदुःखको कारण हो र सद्विचार युक्त मनले नै वास्तविक आनन्द तुल्याउँछ भनेर मनमा सँधै सद्विचारहरूको भण्डार गर्नुपर्ने कुरालाई नै जोड दिनुभएको छ । सबैकुरा बिग्रिएको किन नहोस् हामीले मनलाई ठीक राख्यौँ भने सबै ठीक हुन्छ तर सबैकुरा ठीक हुँदाहुँदै पनि मन सन्तुलित भएन भने सबै बेकाम हुन्छ ।
हाम्रो शरीरमा जस्तोसुकै घातक रोग किन नलागोस् तर हामीले आफ्नो मानसिक चेतना बलियो बनाएर राख्यौँ भने त्यस रोगले हाम्रो स्वास्थ्यलाई त्यति धेरै हानि पुर्याउन सक्दैन । तर सामान्यै रोग नै किन नहोस् औषधि खाएरै पनि मनमा विभिन्न कुरा खेलाएर नकारात्मक सोच्न थाल्यौँ भने त्यसले हाम्रो शरीरलाई नराम्रो असर पुर्याउँछ । यसबाट के स्पष्ट हुन्छ भने हरेक समस्याको बलियो समाधान भनेकै मानसिक चेतना प्रबल बनाउनु हो । भगवान् श्रीकृष्णले पनि भगवद्गीतामा ‘इन्द्रियाणां मनश्चास्मि’ अर्थात् इन्द्रियहरूमा ‘म’ मन हूँ भनेर मनलाई नै उत्प्रेरित गर्नुभएको छ । कुनै पनि कार्य गर्दा मानिसले मनलाई विचलित नबनाई एकाग्रताका साथ दत्तचित्त भएर गर्यो भने जस्तोसुकै कार्यबाट पनि हामीले सफलता प्राप्त गर्न सक्दछौँ । तर जतिसुकै सरल काम होस् चञ्चल मनका साथ गर्यौँ भने हामीले सफलता प्राप्त गर्न सक्दैनौँ । महाभारतमा महर्षि व्यासले कौरवहरूलाई विजयको उपाय बताउने क्रममा पनि यही शिक्षा दिनुभएको थियो । यस विषयमा साहित्यकार मुकुन्दशरण उपाध्यायले आफ्नो महाभारत सूक्तिसुधा नामक ग्रन्थमा यसरी स्पष्ट पार्नुभएको छ–
अल्पायां वा महत्यां वा सेनायामिति निश्चयः ।
हर्षो योधगणस्येको जयलक्षणमुच्यते ।।
अपि पञ्चाशतं शूरा मृद्नन्ति महतीं चमूम् ।। – (महाभारत भीष्म पर्व ३÷७५ र ८३)
अर्थात्
‘सेना धेरै कि थोरै होस् मेरो एस्तो छ निश्चय ।
उत्साहै हुनु हो मुख्य जीतको हेतु वास्तव ।।
पचासैले पनि मार्छन् असंख्य सैन्यको गण ।
धेरै बगालले मात्र जीतिने केहि होइन ।।’
त्यसैले हामीले मनलाई सँधै सफा, स्वच्छ, निर्मल तथा उत्साही बनाइराख्नु पर्दछ । अनावश्यक चिन्ता लिएर मनलाई ग्लानी बनाउनु हुँदैन । नीतिशास्त्रमा यही कुरालाई बारम्बार भनिएको छ– ‘चिता दहति निर्जीवं चिन्ता दहति जीवनम् ।’ अर्थात् चिताले निर्जीवलाई जलाउँदछ भने चिन्ताले सजीवलाई नै जलाउँछ । त्यसैले मनलाई चिन्तामुक्त र ऊर्जाशील बनाई आफ्नो काममा दत्तचित्त भएर लाग्नाले असम्भव कुरालाई पनि सम्भव बनाउँछ । संसारमा हरेक सफल भएका मानिसहरूको सूत्र पनि यही नै हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- उच्च अदालत बुटवलको आदेशपछि रवि लामिछाने रिहा
- तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु
- अन्तिम कारोबार दिन खुम्चियो शेयर बजार
- भेनेजुएलामाथि आर्थिक दबाब बढाउँदै अमेरिका
- रुसको सम्पत्तिबाट युक्रेनलाई आर्थिक सहयोग गर्न इटालीले मानेन
- काठमाडौं र चितवनमा प्रोटोन इमासको ‘एक्सचेन्ज अफर’
- नेसनल घर निर्माण फेस्टको प्रायोजक शिवम् सिमेन्ट
- टेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणमा सहयोग गर्ने
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु

















तपाईको प्रतिक्रिया