
मानिसको हरेक काममा अनुशासन आवश्यक छ; तर खानामा अनुशासनको आवश्यकता अझै बढी छ । नराम्रो र जथाभावी खानपानले पेट, पाचन, मुटु, कलेजो, मस्तिष्कदेखि लिएर सम्पूर्ण शरीरलाई हानि पुर्याउन सक्छ । त्यसैले हामी सबैले खानामा नियमितता र समयको पालना गर्नुपर्छ । बिहान, दिउँसो र राति निश्चित समयमा भोजन गर्ने बानीले पाचन शक्ति मजबुत बनाउँछ । शरीरलाई ऊर्जा चाहिन्छ र स्वस्थ रहन खानपानको अत्यन्तै ठूलो भूमिका छ । मानिसको जीवन स्वास्थ्य र अनुशासनमा गाँसिएको हुन्छ । हरेक दिनका काम, व्यवहार र बानीहरूको जरा स्वस्थ जीवनशैलीमा टेकेर बसेको हुन्छ । जीवनलाई सुखमय, ऊर्जावान र दीर्घकालीन बनाउने मूल आधार भनेकै मानिसले कस्तो खान्छ भन्ने कुरामा निर्भर रहन्छ । हाम्रो शरीर पनि खानपानको अनुसार नै हुन्छ, त्यसैले खानेकुरामा अनुशासन र सचेतता अनिवार्य हुन्छ । स्वस्थ भोजन केवल पेट भरिने माध्यम मात्रै होइन; यो जीवन जिउने आधार पनि हो ।
नियमित समय मिलाएर भोजन गर्ने
नियमित समयको भोजनले शरीरलाई व्यवस्थित बनाउँछ । असामान्य र अनियमित रूपमा खाइने भोजनले ग्यास्ट्रिक, अपचन जस्ता समस्या निम्त्याउँछ । त्यसैले हरेक दिन समयमै खाना खाएर स्वस्थ बन्नुपर्छ ।
अत्यधिक भोजन नगर्ने र शरीरअनुसारको भोजन गर्ने
शरीरको वजन र कामअनुसारको खाना खानुपर्छ । आजकल धेरैजसो रोग अत्यधिक खाना र अस्वस्थ खानाले नै निम्त्याएका हुन् । मोटोपना, मधुमेह, उच्च रक्तचाप, फ्याटी लिभर—अधिक भोजनका कारण नै उत्पन्न हुन्छन् । पेटको तीन भागमध्ये एक भाग मात्र भोजनले भरिनुपर्छ भन्ने मान्यता छ; एक भाग पानी र एक भाग खाली राख्नुपर्छ भन्ने आयुर्वेदिक सिद्धान्त आज पनि उत्तिकै प्रभावकारी छ । साथै प्रत्येक मानिसको शरीर, उमेर, काम र स्वास्थ्य अवस्था फरक हुन्छ । जसको शारीरिक श्रम धेरै छ उसलाई बढी क्यालोरी चाहिन्छ; कार्यालयमा बसिरहनेलाई त्यति धेरै भोजन आवश्यक नपर्न सक्छ । रोगी, बालक, वृद्ध, गर्भवती—सबैका लागि छुट्टाछुट्टै भोजन उपयुक्त हुन्छ ।
समयअनुसार भोजनको छनोट गर्ने
कुन बेला के खाने भन्ने विचार गरेर खानुपर्छ । बिहान हल्का, पच्न सजिलो र ऊर्जामूलक भोजन; दिउँसो आवश्यक क्यालोरीयुक्त भोजन; र राति हल्का र कम भोजन गर्ने बानी स्वास्थ्यका लागि उत्तम मानिन्छ । राति ढिलो गरी मासु, भात, चिल्लो वा भारी भोजन सेवन गर्दा शरीरले पचाउन नसक्ने भएकाले थकान, निद्रा नलाग्ने, मोटोपना, पेट दुख्ने समस्या देखिन सक्छ र निद्रामा पनि समस्या आउँछ ।
स्थानअनुसार भोजन गर्ने
धान फल्ने ठाउँमा चामलको भात खाने भने मकै फल्ने ठाउँमा पिठोका परिकार खाने चलन उपयुक्त हुन्छ । स्थानअनुसार उपलब्ध हुने ताजा, स्थानीय र जैविक खाना स्वास्थ्यका लागि उत्तम हुन्छ । स्थानीय भौगोलिक अवस्थाबाट प्राप्त खाद्य पदार्थहरूले शरीरमा छरितोपन, प्राकृतिक ऊर्जा र आवश्यक पोषक तत्त्व प्रदान गर्छन् । नेपालको पर्वत, पहाड र तराई क्षेत्रको उत्पादनअनुसार खाना खानुपर्छ र परम्पराअनुसार परिकार बनाएर खानुपर्छ ।
खाना र पानीको मात्रा मिलाएर खाने
खाना खाँदा पानीको न्यूनतम मात्रा प्रयोग गर्नुपर्छ । अधिक पानीले पाचन रस पातलो बनाउँछ र पाचन प्रक्रिया कमजोर हुन्छ । तर कम पानीले शरीर निर्जलीकरण हुन्छ । त्यसैले सन्तुलन आवश्यक छ— भोजनको आधा घण्टा अघिदेखि आधा घण्टापछि पानी सेवन गर्नु उपयुक्त मानिन्छ ।
मौसमअनुसार फलफूल र तरकारी खाने
नेपाल हरेक किसिमका फलफूल र तरकारी फल्ने देश हो । गर्मीमा पानीयुक्त तरकारी— काँक्रो, टमाटर, करेला; जाडोमा गाजर, रायो, चम्सुर साग, चुकन्दर; वर्षामा कन्दमूल जस्तै सकरखण्ड, पिँडालु—यस्ता भोजनले शरीरलाई तागत दिन्छ, रोग प्रतिरोधात्मक शक्ति बढाउँछ र मौसमअनुसार शरीरमा सन्तुलन कायम राख्ने कामसमेत गर्छ ।
खानेकुरा नफाल्ने बानी
विश्वमा धेरै मानिस खाना नपाएर भोकमरीमा छन्, त्यसैले खाना फाल्नु केवल आर्थिक हानी होइन, यो नैतिक दृष्टिकोणबाट पनि गलत हो । आफू मितव्ययी बनौँ, घरमा आवश्यक मात्र खाना पकाऔँ, बाँकी खाना बाँडेर खाने बानी अपनाऔँ । बरु खाना नपाउनेलाई बाँड्ने बानी बसालौँ ।
मुख र दन्त स्वास्थ्यमा ध्यान दिने
मुखबाट नै रोगको उत्पत्ति हुन्छ । खाना खाएपछि मुख सफा नगरेका कारण दाँतमा कीरा लाग्ने, दाँत दुख्ने, गिजा सुन्निने समस्या धेरैमा देखिन्छ । राम्रो दन्त स्वास्थ्यले पेट र समग्र स्वास्थ्य पनि जोगाउँछ । दाँत अस्वस्थ भएमा अनुहार पनि राम्रो देखिँदैन र रोगको घर बन्छ । खाना खाएपछि मुख सफा नगर्दा दाँतमा बोसो र चिनीका अंशहरू टाँसिन्छन् । यसले कीरा लाग्ने, दुर्गन्ध आउने र दन्त समस्या बढाउने गर्छ ।
रोगअनुसार भोजन छनोट गर्ने तथा सलाद, फलफूल, अन्न, साग–पात र नट्स समावेश गर्ने
आफ्नो रोगअनुसारको भोजन गर्नुपर्छ । मधुमेह भएकाले चिनी र गुलियो भोजन घटाउनुपर्छ, रक्तचाप भएकाले नुन, चिल्लो र तारेको कम गर्नुपर्छ, एलर्जी भएकाले सावधानी अपनाउनुपर्छ । शरीरलाई हेरी, रोगलाई बुझी, भोजनको मात्रा र प्रकार मिलाउनुपर्छ ।
सन्तुलित भोजनमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स र फाइबर सबै हुनुपर्छ । सलादले पाचन सुधार्छ । फलफूलले भिटामिन र मिनरल्स दिन्छ । अन्नले ऊर्जा दिन्छ । साग–पातले क्याल्सियम र आइरन पूर्ति गर्छ । नट्सले स्वस्थ बोसो प्रदान गर्छ ।
अत्यधिक चिया–कफी नपिउने र प्रशोधित खानेकुरा कम गर्ने
कफी र चिया शरीरका लागि राम्रो भए पनि अत्यधिक चिया–कफीको क्याफिनले मुटुको धड्कन बढाउने, निद्रा बिग्रने, पेट दुख्ने समस्या ल्याउने हुनाले मापदण्डमा मात्रै सेवन गर्नुपर्छ ।
तारेको, चिल्लो र मसलेदार खाना कम गर्ने तर प्रोटिनयुक्त भोजन समावेश गर्ने
अत्यधिक तारेको र चिल्लो खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुन्छन् । धेरै तेल, मसला, नुनयुक्त खाना र चिसो पेय पदार्थहरूले मोटोपना, रक्तचाप बढाउने खतरा र आलस्य ल्याउँछन् । त्यसैले खाना पकाउने तरिका स्वास्थ्यअनुकूल बनाउनुपर्छ । कतिपय कुरा उसिनेर खाने, कतिपय उमाल्ने, हल्का फ्राइ गर्ने, ग्रिल गर्ने गरेमा स्वास्थ्यकर भोजन बन्छ ।
अत्यधिक तारेको भोजन हानिकारक हुन्छ । कागती पानी, मह–पानी, ग्रीन टी, मुला, स्याउ जस्ता प्राकृतिक खानेकुराले शरीर शुद्ध गर्छन् भने दाल, अण्डा, दही, गेडागुडी, मासु, सोयाबिन जस्ता प्रोटिनले शरीरको विकास, मांसपेशी बलियो बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् ।
बिहानको खाजा कहिल्यै नछोड्ने र राति भारी खाना नखाने
बिहान नुहाइ–धुवाइ गरी हल्का योग, ध्यान र व्यायाम गरेपछि बिहानको भोजन शरीरको ऊर्जा हो । यसले ध्यान, शक्ति, पाचन र मानसिक क्षमता बढाउँछ । राति हल्का भोजनले शरीरलाई आराम दिन्छ, पेट हलुका राख्छ र निद्रा राम्रो हुन्छ । सधैँ साँझ छिटो खाना खाने बानी बसाल्नुपर्छ । बासी तथा बिग्रन लागेको खाना खाँदा पेटका रोग सक्रिय हुन्छन् । ताजा खाना पच्न सजिलो र पोषक हुन्छ, पेटका रोग लाग्दैनन् ।
आफू पनि ठिक्क खाने बानी अपनाउने र अरूलाई जबर्जस्ती नखुवाउने
खाना जीवनधारणको आधार हो । तर अत्यधिक खाना रोगको कारण बन्छ । आफू पनि ठिक्क खाने र अरूलाई पनि अनावश्यक रूपमा धेरै खान बाध्य पार्नु हुँदैन । सुत्केरीलाई आवश्यकअनुसार, श्रमिकलाई कामअनुसार खाना चाहिन्छ भने बसिरहनेलाई कम क्यालोरी नै पर्याप्त हुन्छ । अनुभव र अवस्था बुझेर खानाको व्यवस्था गर्नुपर्छ ।
पानीजन्य बाहिरी खानेकुरा नखाने
नेपालमा बाहिरी खानेकुरा धेरैजसो बासी, झिँगा बसेको र खुला स्थानमा राखिएको हुन्छ । लस्सी, चिसो पेय, जुस, बरफ–गोला जस्ता पानीजन्य खाद्यपदार्थ स्वच्छ नहुन सक्छन् । यस्ता खानेकुराबाट झाडापखाला, टाइफाइड जस्ता रोग फैलिन सक्छन्, त्यसैले यस्ता खानेकुराबाट टाढा रहनुपर्छ ।
धेरै पोलिएको वा डढेको खाना नखाने र भोजनपछि मुख सफा गर्ने
अत्यधिक पोलिएको वा डढेको खानाले क्यान्सर–कारक पदार्थ उत्पादन गर्न सक्छ । यस्ता खाना स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन् ।
खाना राम्ररी चपाएर खाने, भोजनपछि हिँडडुल गर्ने र राति ढिलो भोजन नगर्ने
खाना राम्ररी चपाउँदा पाचन सहज हुन्छ । भनिन्छ, एक गास ३३ पटक चपाएर खानुपर्छ । खाना खाएपछि हल्का हिँडडुल गर्नु अत्यन्त लाभदायक हुन्छ । यसले पाचन सुधार्छ, ग्यास रोक्छ, निद्रा सहज बनाउँछ । सुत्नुभन्दा कम्तीमा तीन घण्टा अघि भोजन गर्नु उत्तम हुन्छ ।
मैदाजन्य खानेकुरा कम सेवन गर्ने
मःमः, चाउमिन, नूडल्स, चिप्स, बिस्कुट, ससेज जस्ता मैदाजन्य खानेकुरा कम सेवन गर्नुपर्छ । अत्यधिक प्याकेट खाद्यपदार्थ स्वास्थ्यका लागि ठूलो खतरा हुन् । आकर्षक देखिने तर पोषणहीन खानेकुरा स्वास्थ्यको सबैभन्दा ठूलो शत्रु हो ।
पानी पर्याप्त मात्रामा पिउने
शरीर र अवस्थाअनुसार दिनमा ७–८ गिलास पानी आवश्यक हुन्छ । यसले शरीर हाइड्रेट राख्छ, छाला स्वस्थ बनाउँछ र पाचन सुधार्छ । तर केही रोगमा पानीको मात्रा सीमित गर्नुपर्ने हुन सक्छ ।
चिनी घटाउने र नुन सन्तुलित राख्ने
अत्यधिक गुलियो, मिठाइ, केक, चिनी मिश्रित पेय र कोल्ड ड्रिंकले मोटोपना, मधुमेह र दाँत बिगार्छ । प्राकृतिक मिठासयुक्त फलफूल स्वास्थ्यका लागि उत्तम हुन्छ । नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । दिनमा पाँच ग्रामभन्दा बढी नुन खानु हुँदैन ।
फाइबरयुक्त भोजन बढाउने
सागसब्जी, पूर्ण अन्न, दाल र फलफूलले पाचन सुधार्छ, पेट सफा राख्छ र कोलेस्ट्रोल घटाउँछ ।
खाना खाने बेलामा मोबाइल, टिभी र तनावबाट टाढा रहने
आजकल मोबाइलको लत धेरैमा देखिन्छ । तनावको अवस्थामा भोजन गर्दा शरीरले राम्रोसँग पचाउन सक्दैन । जस्तो वातावरण, त्यस्तै ऊर्जा खानामा जान्छ । त्यसैले रमाइलो र शान्त वातावरणमा खाना खानुपर्छ ।
घरमै पकाएको भोजन प्राथमिकता दिने र नियमितता कायम गर्ने
घरको खाना स्वच्छ, सुरक्षित र पोषक हुन्छ । एकैपटक धेरै खानुभन्दा दिनमा ४–५ पटक सानो मात्रामा भोजन गर्दा पाचन राम्रो हुन्छ । निरन्तर रूपमा सन्तुलित खाना खानुपर्छ ।
इन्द्रेणी आहार (रेनबो डाइट) अपनाउनु राम्रो हुन्छ—रातोमा गाजर, हरियोमा साग, पहेँलोमा केरा, बैजनीमा चुकन्दर, सेतोमा दही र दूध जस्ता विविधता भएको भोजनले शरीरलाई स्वस्थ बनाउँछ ।
स्वस्थ भोजनको समग्र प्रभाव
अन्त्यमा भन्नुपर्दा, स्वस्थ भोजनले जीवनको गुणस्तर परिवर्तन गर्छ । रोगमुक्त बनाउँछ । खानामा अनुशासन अपनाउन सके व्यक्तिगत र पारिवारिक जीवन दुवै सुखी बन्छन् र कार्यक्षमता बढ्छ ।
हरेक १५ दिनमा एक दिन ब्रत बसेर हल्का र स्वस्थ भोजन गर्दा शरीरलाई अनावश्यक तत्व हटाउन मद्दत मिल्छ । स्वस्थ भोजनले ऊर्जा, तन्दुरुस्ती, मानसिक क्षमता बढाउँछ र दीर्घकालीन रोगबाट जोगाउँछ । मुटु स्वस्थ रहन्छ, रक्तचाप सन्तुलित हुन्छ, छाला र कपाल चम्किलो बन्छ, पाचन प्रणाली बलियो हुन्छ र रोग प्रतिरोधात्मक शक्ति बढ्छ ।
नियमित रूपमा रक्तचाप, चिनी, कोलेस्ट्रोल र तौल जाँच गर्ने बानीले पनि खानपान मिलाउन सहयोग गर्छ । साथै भान्सा, भाँडाकुँडा सफा राख्दा खाना स्वच्छ हुन्छ र संक्रमणबाट बच्न सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति
- भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु
- गरिब बस्तीको जनजीवन अत्यधिक चिसोले कष्टकर
- जापानले एसियामा ५ वर्षभित्र १९ अर्ब डलरका परियोजना सञ्चालन गर्ने
- श्रीलंकालाई आईएमएफको २ करोड डलर बढी सहायता
- लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नर पौडेलको राजिनामा
- सिद्धार्थ बैंक र नेपाल सोसल बिजनेसबीच युवा उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य
- नेपाल क्लियरिङ हाउसको १४औँ वार्षिक साधारणसभा
धेरैले पढेको
- भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोगदाताको आकर्षण देखिएन
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु

















तपाईको प्रतिक्रिया