Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसंकट समाधानको मूल समस्या

संकट समाधानको मूल समस्या


नेपालको राष्ट्रिय राजनीति दिन प्रतिदिन झन्झन् संकटतर्फ उन्मुख भइरहेको छ । तर समाधानको ठोस प्रयत्न भने कतैबाट पनि हुन पाइरहेको छैन । यसको एउटै कारण हो मूल समस्या तर्फ कसैको ध्यान पुगिरहेको छैन । जबसम्म मूल समस्या के हो ? त्यसको ठिक पहिचान (चिनारी) नहुँदासम्म समाधानको अपेक्षा गर्न सकिन्न ।

एउटा सबैले देखेको, भेटेको, भोगेको, बुझेको तथ्य उदाहरणबाट कुरो थालौँ । हामी अमेरिकालाई खुब गाली गर्छौँ । नगरेर पनि धर छैन । उसले आफ्नो चीन विरोधी ‘एमसीसी पास’ लादन जुन अपमान र बेइजती गर्यो त्यसमा एक स्वाभिमानी नेपालीले गाली नगरी आफूलाई थेग्नै सक्दैन । एमसीसी सम्झौतामा हस्ताक्षर गर्दा नेपालको अर्थमन्त्रीको समकक्ष (प्रोटोकल)मा प्रोजेक्टको दोश्रो तहको अफिसरबाट हस्ताक्षर गराएको थियो । कहाँ अर्थमन्त्री कहाँ दोश्रो तहको अफिसर ? हेप्नु र बेइजतीको पनि एउटा सीमा हुन्छ । नेपालमै ‘हस्ताक्षर’ भएर उसको राजदूतले सम्म हस्ताक्षर गरेको भए सन् ५०को नेपाल भारत असमान सन्धीसँग सम्म नजिर लिन सकिन्थ्यो । सन् ५०को सन्धिमा नेपालका तर्फबाट श्री ३ महाराज प्रधानमन्त्रीले हस्ताक्षर गरेका थिए भने भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूतले गरेका थिए । त्यो नगरेर अमेरिकाले त नेपालको अर्थमन्त्रीलाई आफ्नै राजधानी बोलाएर दोश्रो तहको कर्मचारी समकक्ष ठिङ्गाइदियो । संसारका अगाडि नेपाललाई शिर ठाडो गरेर आँखा जुधाउन लाजमर्दो पारिदियो ।

यसैपनि सन् ५०को खुला सीमा (भारतीय बेरोजगारहरूको बाढी) लादिएको ‘नेपाल भारत असमान सन्धी’ पुनर्मुल्याड्ढन हुन पाएर बीपीको भाषामा नेपाल ०७ साल यता जहिलेसुकै पनि संकट (खासगरी राजनीति आर्थिक) र अनपेक्षित दुर्भाग्य झेल्दै आउनु परेकोमा ‘एमसीसी पास’ लादिएपछि यता त झन्कठपुतली सरकार नाङ्गो फिल्मी शैलीको अराजकता प्रदर्शन भएर स्वघोषित सय दुई सय भीसीका दावेदार प्रा.डा. राजनीतिक विश्लेषकहरू प्रा.डा. सुरेन्द्र केसीदेखि कृष्ण खनालसम्म लोकराज बरालदेखि पूर्व भीसी केदारभक्त माथेमासम्म सारा बौद्धिक जमातलाई आकाशतिर हेरेर टोल्हाइरहने अवस्थामा पुर्याइदिएको छ । सय टनसम्म भारवाहान फाइटर प्लेन नेपालको धर्तीमा पटक–पटक (राज्यसत्तालाई नै गिन्ती थाहा छैन, होइन भने आम नेपालीले हिसाब राखी हाल्दथ्ये) ल्यान्डिङ गरेको छ र यो त भएन भनेर अदालतमा मुद्दा लिएर जाँदा भन्छ ‘एमसीसी नेपालको संविधान र कानुनभन्दा माथि छ’ । अनि त्यसको वकालतमा स्वर्णीम वाग्ले, गगन थापा, कुमान घिसिङ जस्ता आदि इत्यादिका एउटा ठूलो जमात ऋषि धमलाको रिपोर्टस क्लब र विजयकुमार पाण्डेको दिशानिर्देश या भनौँ १२ भाई मिडियाका माइक समाएर घोक्रो सुक्नेगरी घाँटीको नसा फुलाइरहेका, तर्साइरहेका हकारीरहेका सार्वजनिक भएपछि एमसीसी नेपालको संविधानभन्दा माथिको मानेर राजदूत, सांसद, मन्त्री आदि इत्यादि चट् पार्न सहमत हुन नसक्ने बिचरा निमुखा बौद्धिक जमातलाई आकाशतिर हेरेर टोल्याउन सिवाय के बाँकी रहन्छ र । अदालतले निषेध गरेको कुलमानको हेटौंडा डोजरमा सबै बौद्धिकको ‘वाक्य बसेको’ एउटा उदाहरण हो ।

यहाँसम्मको विवरणबाट हामीलाई अमेरिकाको विरोधमा गाली गर्न र धारेहात लगाएर अहोरात्र सरापिरहनु परेको अपरिहार्यता त प्रस्ट हुन्छ । तर के हामीले अमेरिकाले हामीलाई यस हदसम्म हेप्न, बेइज्ज्त र थिचो मिचो गर्न पाउनसक्नुको खास कारण मूल समस्या के हो ? भन्नेतर्फ कहिल्यै उत्तर खोज्ने प्रयास गरेका छौँ ? मलाई लाग्छ छैनौँ । अनि ‘मूल समस्या’ पहिचान नभइ ‘समाधान’ न आउने प्राकृतिक प्रकृति नै हो ।

म एकदशक अघि अमेरिकाको राष्ट्रपतिको चुनावमा आमरूपमा हेपिने गरिएका काला जातिबाट हुर्केका वाराक ओवामाले गोरा अमिरिकन माझ भाइरल शैलीको लोकप्रिय हिलारी क्लिन्टनलाई पराजित गरेर राष्ट्रपति भएका एक रिपोर्ट पढिरहेको थिएँ । अमेरिकाको इतिहासमा कालाजाती (वर्ण)बाट प्रथम राष्ट्रपति उनले काला गोरा सबै अमिरिकी समक्ष भोट माग्दा एउटा स्ट्रङ वाचा गरेका रहेछन् । तस्कर, माफिया, भ्रष्टाचारी मिलेर स्विसबैंकमा थुपारेका श्रोत नखुलेका कालोधन थुतेर राष्ट्रिय अर्थतन्त्र उकास्न काम गर्छु भनेका रहेछन् । अमेरिकी जनताले ओवामाको यो वाचालाई पत्याएर जिताइदिए । नभन्दै राष्ट्रपति भए पछिको पहिलो काम नै त्यही गरे । राज्यसत्ताको आडमा तस्कर, माफिया, कालोबजारियाहरूको भरिया बनेर देश लुटेर जनता ठगेर स्विसबैंकमा कालोधन थुपार्ने नमकहराम भ्रष्टाचारी कर्मचारी नेताका सारा सम्पत्ति थुतेर राष्ट्रिय ढुकुटीमा ल्याउने काम गरे । उनको यो कामबाट आम अमेरिकी जनता मात्रले आदर इज्ज्त गरेनन् कि संसारभरिका नेपालजस्ता देश बेचेर जनता लुट्ने राज्यसत्ता झेलिरहेका जनताले अनुकरणीय उदाहरणको पाठ्यक्रम बनाएका छन् ।

मलाई ओवामाको राष्ट्रपति हुँदा वखतको क्रियाकलापले भन्दा उनले रिटायर लाइफमा देखाइरहेका दिनचर्चाले बढी आकर्षित गर्यो । वेलायति उपनिवेश समाप्त भएर लेनिनको कस पनि टुक्रा टुक्रा भएको पृष्ठभूमिमा संसारको सबैभन्दा शक्तिशाली राष्ट्र मान्यता पाएको अमेरिकाको (अहिले त एकसमयको भन्ने भइसकेको छ) राष्ट्रपति भने पछि बाँचुन्जेल र अब्राहम लिंकन जस्ताहरूको त मृत्युपछि पनि चर्चा, चासो, उत्सुकता पाठ्यक्रम उपलब्ध भइरहेकै हुन्छ । वाराक ओवामा कहिले साइकल चढेर तरकारी बजारमा मोलभाउ गरिरहेका, कहिले विश्वविद्यालयका क्लासहरूमा आफ्नो अनुभव सुनाएर देशका कर्णधार पुस्ताहरूलाई भविष्यको बाटो मार्ग दर्शन गरिरहेका भेटिन्छन्दे/खिन्छन् । ओवामाको यो दिनचर्या देखेर पढेर मलाई अमेरिकाले हामीलाई हेपेको दाश र नोकरलाई गरेको जस्तो व्यवहार गरेको ‘मूल समस्या’ को एउटा झिल्को देखिएको जस्तो नवजागरण अनुभूत भयो । समाचार भाइरल रूपमा छ्यापछ्याप्ती आइरहेको थियो कि पूर्व राष्ट्रपति रामवरण यादवले राजधानीमा पाँचतारे शैलीको निजी महल हुँदाहुँदै त्यसलाई व्यापारी प्रयोजनको भाडामा लगाएर आफू बस्ने घर भाडाका लागि राज्यकोषबाट मासिक दुई लाख कुम्ल्याइरहेका छन् । भाडाको महल मर्मत सम्भारदेखि अरु सुरक्षालगायतका राज्यकोष अपचलनको त हिसाब गरेर साध्यै छैन । उपचार खर्च मात्रै खड्ग ओली (तीन करोड ६५ लाख) पछि डाक्टर साहेबकै नाम अगाडि आउँदो रहेछ । सुजता कोइराला, रामचन्द्र पौडेलदेखि अर्जुननरसिंह केसी (गगन थापाका ससुरा)सम्म कांग्रेस, एमाले, राप्रपा, मधेशवादी दललगायतका मन्त्री, सांसद, केन्द्रीय सदस्य भएकाहरूले विगत दुई दशकको अवधीमा मात्र तीन अर्ब ८८ करोड उपचार खर्च (फर्जि बिल)उडाएका रहेछन् । तीन करोड पनि जनसंख्या ननाघेको गरिबी ८३ प्रतिशत खाद्य पदार्थलगायत उपभोग्य वस्तु विदेशबाट आयात भएर विहान बेलुका धान्नुपरेको पिछडिएका ग्रामीण वस्तीमा सिटामोल नपुगेर मृत्यु झेलिरहनु परेको देशको राज्यसत्ताका सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति भएकाहरूले यत्रो ठूलो धनराशि (एउटा ठूलो साधन सम्पन्न आधुनिक अस्पताल बन्न सक्ने राज्यकोष) उपचारका नाममा फर्जी बिल बनाएर लुटतन्त्रलाई संस्थागत गर्नु । यो हदसम्मको सोच, समझ र नियतलाई कुनै पनि हालतमा राजनीतिको परिभाषाभित्र राख्न मिल्दैन । त्यसैकारण नै ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामको १२ बुँदे ०७२ को संविधानलाई मनपरितन्त्र, लुटतन्त्र, तस्कर, माफिया विचौलिया तन्त्र’ नामको सर्वसम्मत संज्ञा थेगो व्यापक स्थापित भएको हो ।

पूर्वराष्ट्रपति ओवामाको सन्दर्भमा पूर्व राष्ट्रपति रामवरण यादवको नाम किन उदाहरणमा लिएको भने म उनलाई ०४८ सालको गिरिजा मन्त्रीपरिषद्मा (१५ जेठ) स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ति पाएका दिनदेखि राम्रोसँग चिन्दछु । त्यसवखत गिरिजा कांग्रेसमा उनको हैसियत गणेशमानजीले ‘दुधेवालक’ को संज्ञा दिनुभएका गिरिजा क्याविनेटका अर्थमन्त्री महेश आचार्यको अह्राउ–पह्राउ सम्हाल्नु थियो । मन्त्री हुनुअघि महेश आचार्यले मलाई सात हात परैदेखि ‘रेवती दाई जय नेपाल’ भन्दै झुम्मिने गरेको र महेशको फोन गराएर उनीसँग भेट गरेको अनुभवले राज्यमन्त्री भनेको स्तर मलाई त्यसैवखतदेखि थाहा भएको हो । जनकपुरमा सहिद सरोजप्रसाद कोइरालाकी बिधुवा मैयादेवीकोे घरमा आवत–जावत बास हुनेगरेको नाताले र रामवरण र मैयादेवीका बीच राम्रो न्यानो सम्बन्ध भएका कारण उनलाई म राज्यमन्त्री हुनु अघिदेखि पनि जान्दै÷चिन्दै आइरहेको पनि हो । प्रचण्डको राष्ट्रपति बनाउने प्रलोभनमा परेर गिरिजा गणतन्त्रमा जान तयार भए । जब पछि गणतन्त्र लादेर राष्ट्रपति हुनेबेला आइसकेपछि प्रचण्डबाट गिरिजाले धोका पाउँदा कागतालीले उछिट्टीएर रामवरण (गिरिजाको अन्धभक्त) राष्ट्रपति हुनपाएका (नयनबहादुर खत्री– प्रधान न्यायधीश १० वर्ष, चीनको राजदूत चार वर्ष, राष्ट्रिय मानव अधिकार आयोगका साढे छ वर्ष संस्थापक अध्यक्ष) भनेर आम पाठ्यक्रम ग्रासरुटसम्मै पुगिसकेकै छ । के रामवरण यादवले राष्ट्रपतिबाट रिटायर भएपछि ओवामाले जस्तै आफ्नो दिनचर्यालाई सम्मानजनक लोकप्रिय बनाउन सक्दैन थिए ? अवस्य सक्दथ्ये । उपाधीका डाक्टर न भएर मेडिकल डाक्टर थिए । दिनमा चारजनाको नाडी छामेरै इज्जत र सम्मानपूर्वक जीवन निर्वाह गर्न सम्भव थियो । दुईचार बिघा जमिन भएकै भनेर उनले आफँै भन्ने गरेकै हुन् । कृषि प्रधानमुलुकको अवकाश प्राप्त राष्ट्रपति भैंसी पालन माछा पालनमा नमुना प्रस्तुत गरेर भारतका पूर्वराष्ट्रपति अब्दुल कमालले कमाएको जस्तो इज्जत प्रतिष्ठा कमाउन उनलाई कस्ले रोक्न सक्दथ्यो ? ‘राष्ट्रपति हुनु त रामवरण जस्तो’ कहलिन ‘नियति’ले त पूरै साथ दिएको थियो तर प्रारब्धले ठगेको ‘नियत’ साथ दिएन । खोटो सोच, समझ, नियतले देखाएको बाटो हिडेपछि समयले खोजेको विचारधारा र मागले छिछि र दुर्दुर् गरेर १७ हजार भन्दा बढी माओवादीका प्रेतात्माहरूले रातभरी सपनामा कपाल लुछेर सुत्न नदिने र दिनभरी विपनामा तीन करोड नेपालीले धारेहात लगाएर सरापिरहने रामवरणले आफैं रोजेर अपनाएका दिनचर्यामा ओवामाको अनुकरणको अपेक्षा कल्पनाको पनि ठाउँ रहेन ।

यसरी अमेरिकाले सहनै नसक्ने गरी हेपेको, नोकर र दासलाई जस्तो व्यवहार गरेको ‘मूल समस्या’ माथि तुलनीय ओवामा र रामवरणको दैनिकी सोच, समझ, नियतको फरकमा लुकेको छ । जबसम्म यो फरकमा लुकेको खोटो सोच, समझ, नियत नवजागरणमा छिनोफानो हुन्न तबसम्म राजसंस्था ल्याएर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आए पनि स्थायी समाधानको ‘मूल समस्या’ यथावत रहने पक्का छ । भन्न खोजेको ‘मूल समस्या’ पहिचानमा पहिलो ध्यान दिऊँ । अस्तु ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x