Techie
विचार

सरकार र आमाबाबु सावधान !

कुशमलता सिंह
गुच्चा, डण्डीबियो, बाघचाल, कबड्डी, चुङ्गी, गट्टा, च्याम्पटी, सात–ढुङ्गा, घ्वाइँ, इन्टुमिन्टुजस्ता परम्परागत खेलहरू हराएर गए । वर्तमान पुस्ताका बालबालिकाहरू यस्ता आँगन–खेल (आउटडोर गेम) खेल्न छोडिसकेका छन् । यसअघिका बालकबालिकाहरू घरबाहिरका परम्परागत तथा सामूहिक खेलहरूमा स्वस्फूर्त रुचि राख्ने गर्थे । हुर्किने त्यस्तो प्राकृतिक वातावरण आज क्रमशः हराउँदै गएको छ ।

आजका बालबालिका र किशोर–किशोरी मोबाइल फोनमा सर्वसुलभ २३ वटा खेलमध्ये कुनै न कुनैमा एकोहोरिएका छन् । यिनमा अल्टोज अडिसे, एङ्ग्री बर्डस्, बल्ज्, बबल्स् बिचसागा, क्यान्डीक्रश, कलररोड, क्रसीरोड, फ्ल्यापी डङ्क, फोर्टनाइट, गार्डेनस्केप, ज्योमेट्री ड्यास, माइन क्राफ्टलगायतका खेल छन् ।

कतिपय खेल ल्युमोसिटी, म्याथवर्क आउट, आई डेटिक, आदि दिमागको दक्षता बढाउने खालका पनि मानिन्छ । तर यस्ता खेलमा भन्दा ध्वंसात्मक र हिंसात्मक किसिमका मोबाइल खेलमा बालबालिकाहरू एकोहोरिएका छन् । एकोहोरिएका मात्र होइन, नयाँ पुस्ताका होनहार सन्ततिहरू दुर्व्यसनी नै हुन थालेर लाखौँ आमाबाबुको चिन्ताको विषय बन्न पुगेका छन् ।

बालबालिकाको प्राकृतिक माहोलमा हुर्कने र त्यहीअनुरूपको मनोविज्ञानको विकास हुनुपर्ने बेलामा ‘पब्जी’जस्ता खेल, बालमस्तिष्क बिगार्ने साधनको रूपमा विकृत उपभोग भइरहेको छ ।

यस्ता खेलउपर सरकारले अध्ययन, मूल्यांकन, नियन्त्रण, नियमन गरेर अभिभावकलाई सचेत गराएको पाइँदैन । स्थिति यतिसम्म खराब हुँदै गएको देखिन्छ, ‘पब्जी’ (प्लेयर अननोन ब्याटल ग्राउन्ड)जस्ता मोबाइल खेलमा मग्न भएको १०/८ वर्षको बालबालिकालाई त्यस्ता खेलमा नलाग्न र आफ्नो काममा लाग्न आमाबाबुले सल्लाह दिँदा अति क्रुद्ध हुन्छ । अति गरेपछि मोबाइल सेट नै खोसिदियो भने सम्झाउ नै नसक्ने गरी रुवावासी र विद्रोह गर्छ । यो आज धेरै घरपरिवारको पीडा भइरहेको छ ।

पब्जी खेलकै कारण धेरैवटा आपराधिक घटना भइसकेको, खेल्नेहरूमा मानसिक विकृति र डिप्रेसन बढाउनेसम्मका जोखिम बढ्दै गएका छन् । विद्यालयहरूले पनि अनिवार्यरूपमा आफ्ना बालबालिकालाई यस्ता खेलको खतरा र भविष्यमा भोग्नुपर्ने असरबारे बताएर होसियारी अपनाउन सचेत गराउनुपर्ने हो, जुन भइरहेको छैन ।

पहिले ‘पोकेमोन गो’ खेल हिंसात्मक मानसिकता, आक्रामक, हठी र सृजनात्मक कार्यमा मन नलाग्नेजस्ता मानवीय खराबीको कारक भएपछि प्रतिबन्ध लगाउनु परेको थियो । पब्जी त्यस्तै खराबीको स्रोत भइरहेको छ । यसबाट के सहर, के गाउँ, सर्वत्र कुलतले ढाकिसकेको छ । दुव्र्यसन र कुलतकै कारण अपराधहरू बढिरहेका छन् । कार्यसम्पादनमा ह्रास आउनु यस खेलको ज्वलन्त समस्या हो ।

मानसिक र दिमागी क्षमतामा समेत गम्भीर प्रभाव देखिँदै छन् । कतिसम्म भने बालबालिका वा किशोर किशोरीको सुत्ने तरिका, निद्रा र सपना पनि बिथोलिन थालेको, अध्ययनहरूले देखाएका छन् । बालबालिकामा आक्रामक र छिटै रिसाइहाल्ने स्वभाव बढ्दै जानुमा पब्जीलगायतका खेल स्रोत बनेको पाइन्छ ।

सन् २०१८ देखि विश्व स्वास्थ्य संगठनले यस्ता खेललाई स्वास्थ्य समस्याका कारकको रूपमा मान्न थालेको छ । अब चाँडै नै नेपाल पनि यस्ता खेल, दुव्र्यसनी तथा अनुत्पादक जनसमुदाय फैलाएर मुलुकको बोझकारूपमा व्यहोर्नुपर्ने जोखिमबाट गुज्रिरहेको छ । सबभन्दा बढी चल्तीमा भएको घातक ‘पब्जी’ खेलका दुष्परिणामहरू लाखौं अभिभावकहरूले अनुभव गर्नुभएको हुनुपर्छ ।

पुस्तक पढ्न वा लामो लेख्न आदि सिर्जनशील कार्यमा मनै नलाग्ने, कक्षामा बसेको बेलामा पनि पब्जीजस्ता खेलमा नै ध्यान गइरहने, खाने बेलामा पनि खानेकुरातिर ध्यान नदिएर मोबाइलकै स्क्रिनमा मग्न हुने, घरबाहिरका शारीरिक खेलमा रुचि नलाग्ने हुन थलालेको छ ।

बढ्दो उमेरका सन्ततीमा मोटोपन, शारीरिक स्वास्थ्य समस्या, आफन्तसँग बोल्न, हेलमेल तथा सम्बन्ध बनाउन, जीवन–जगतलाई हेर्न, चिन्तन र सिर्जना गर्नमा भन्दा मौका मिल्नासाथ पब्जी खालका खेलमा लागि हाल्ने, बालबालिका वा किशोर किशोरीको स्वभाव, व्यवहार, मनोविज्ञान, चालचलनमा एकदमै नकारात्मक प्रभाव देखापर्न थालेको र यस्तो प्रवृत्ति अति नै बढ्दै गएकोले अब नेपाल सरकारको लागि पनि चिन्ता र समाधानको विषय हुनुपर्छ । एकपटक नेपाल प्रहरीले पब्जी खेललाई प्रतिबन्ध लगाउने प्रयास गरेको थियो ।

यससम्बन्धी प्रचार–प्रसार गरेर जनसमुदायलाई सचेत गराउने प्रयास पनि गरेको थियो । तर अदालतले त्यो प्रयासलाई किन रोक्यो, कारण अस्पष्ट छ । मोबाइल फोनको सेवा र सुविधा विस्तारसँगै यसको रंगीन तथा मनोरञ्जनात्मक पक्षबारे मौका छँदै सोचविचार पु¥याउनुपर्ने उति नै जरुरी भइसकेको छ ।

बालबालिकाको जीवन र भविष्य बर्बाद बनाउने यस्ता खेलहरूलाई देशभरि प्रतिबन्ध लगाइएन भने वर्तमान पुस्ता पङ्गु, अनुत्पादक र बोझ साबित हुन अब बेर लाग्ने छैन । भयावह बन्दै गएको पब्जी खेलको समस्यामा सरकारले नियन्त्रण गर्न सकेमा लाखौं परिवार तथा अभिभावकमा असाधारण हर्ष छाउने थियो । (लेखिका पर्यटन व्यवसायी, समाजसेवी हुन्)

यो पनि पढनुहोस