Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोनापछि आन्तरिक पर्यटनलाई कसरी ब्युँझाउने ?

कोरोनापछि आन्तरिक पर्यटनलाई कसरी ब्युँझाउने ?


लक्ष्मण सिटौला
आजको दिनसम्म दुई करोड ६५ लाख मानिसहरू कोरोना महामारीबाट संक्रमित भइसकेका छन् । यतिबेला विश्व नै आतङ्कित छ । मानिसले मानव जीवनको इतिहासमै सबैभन्दा दुःखद वर्षका रूपमा २०१९ लाई सम्झिने छन् । अबका दिनहरूमा नेपालको आर्थिक जीवन र अर्थोपार्जनका क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने कुराको बहस अत्यन्तै जरुरी छ । आउँदो केही वर्षसम्म नेपाल घुम्न आउने पर्यटकको संख्या शून्यप्रायः हुनेछ ।

यो अवस्थामा हामी आफैँ आन्तरिकरूपमा कसरी उठ्न सकिन्छ र आर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने बारेमा सोचेर समयमै योजना बनाउनु जरुरी छ । नेपाली अर्थतन्त्रलाई मुख्यत रेमिट्यान्स र पर्यटन व्यावसायले धानेको थियो । अब केही वर्ष यी दुवै क्षेत्र मुर्झाउने अवस्थामा छन् ।

बाह्य पर्यटनको सट्टा अब आन्तरिक पर्यटनलाई मजबुत बनाउनु जरुरी छ । रेमिट्यान्समा कमी आउने भएपछि त्यस्को विकल्पको रूपमा नेपाली उत्पादनलाई निर्यातउन्मुख बनाई राष्ट्रको आम्दानी बढाउनु जरुरी छ । हाइड्रोपावरलाई चलायमान बनाई भारत र बंगलादेशलाई बिजुली बेचेर डलर आम्दानी गर्न सकिन्छ । कोरोनामा पनि चलायमान बनाउन सकिने क्षेत्र भनेको हाइड्रोपावर नै हो । देशमा भइरहेका र बन्दै गरेका हाइड्रोपावर प्रोजेक्टहरूलाई सामाजिक दूरी कायमै गरेर पनि निर्माण सम्पन्न गर्न सकिन्छ ।

अन्य उद्योगहरू बन्दका अवस्थामा जहाँ एकान्तमा रहेर भिडभाड नहुने प्रकृतिको व्यवसायलाई महत्व दिन जरुरी छ । जिन्दगी अब पुरानै लयमा फर्केला त ? पृथ्वीको यो असीमित सौन्दर्य फेरि पुरानै धुनमा गुन्जिएला त ? लाखौँ मानिसहरूले कोरोनाको कारण पृथ्वी छोडेर टाढाको यात्रामा गैसके नफर्किने गरेर । पृथ्वी हाम्रो पहिलो घर हो । दोस्रो घर अनन्तताको यो ब्रह्माण्ड । जहाँ मानिस र अरु जलचर थलचर प्राणीहरू एकआपसमा मिलेर बसेका छन् ।

यतिबेला मानिस धेरै दुःखी बनिरहेको अवस्था छ । आफ्नै आँखाअगाडि उसले आफ्ना आफन्तजन भकाभक गुमाइरहेको अवस्था छ । एउटा अनिश्चितकालीन युद्ध भइरहेको छ सुक्ष्म भाइरस र मनुष्यबीच । आजसम्मको यो सात महिने युद्धमा कहीँ भाइरसपक्षले जितेको छ कतै सुन्दर मनुष्यले जितेको छ ।

कोरोनापछिको यो ८ महिनाको अवधिमा मानिसहरू लकडाउनमा बस्दाबस्दा निरस र वाक्क भएका छन् । सामाजिक दूरी कायम गरेर आन्तरिक भ्रमणमा खुला गरिने खालको प्याकेज यदि स्थानीय सरकारले नै ल्यायो भने यसबाट अवश्य नै नेपालको अर्थव्यवस्थालाई पुरानै लयमा फर्काउन सकिन्छ । अब कोरोनासँगै मानिसहरू पनि गतिशील हुनुको विकल्प छैन । सधैं हात बाँधेर बसियो भने मुख पनि बाँधिन्छ पेट पनि बाँधिन्छ । हामी अब पुरानो लयमै नफर्किकन सुख छैन । मानिसहरू अब विदेश होइन स्वदेश घुम्न लालयित छन् । आन्तरिक पर्यटनलाई चलायमान बनाइयो भने आर्थिक गतिविधि बढ्छ र यस्ले नेपाली अर्थतन्त्रमा परिणाममुखी परिवर्तन ल्याउँछ ।

नेपाल विविध धार्मिक सामाजिक सांस्कृतिक परम्पराले सम्पन्न छ । यही विविधता देख्न हेर्नको लागि आन्तरिक पर्यटन जरुरी छ । नेपाल एक हिसाबले खुला विश्वविद्यालय नै हो । यहाँ हेर्नलायक नदीनाला, पहाडी झर्ना, ताल तलैया, गुफा, मन्दिर, सामाजिक रहनसहन र विविध जनजातिका आ–आफ्नै परम्पराहरू छन् । यसको अवलोकन, अध्ययन र अनुसन्धान हुनु जरुरी छ । यो अध्ययनलाई अझै गहिरिएर भन्नुपर्दा कल्चरल डिप्लोम्यासी भनिन्छ । हाम्रो यहाँ कल्चरल डिप्लोम्यासीको प्रवर्द्धन गर्नु जरुरी छ । कोरोनाको यो कठिन परिस्थितिलाई मध्यनजरमा राखेर कल्चरल डिप्लोम्यासीको विकास गर्नु जरुरी छ ।

इतिहासमा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायणले पनि कल्चरल डिप्लोमेसीको भरपुर उपयोग गरेका थिए । दुई संस्कारको मिलन बिन्दु, दुई रीति र संस्कृतिको पहिचानले गर्दा नै राज्यभित्र रहेको सांस्कृतिक विविधताको बारेमा थाहा हुन्छ । होमस्टेको माध्यमबाट राज्यभित्र रहेका दुई फरक संस्कृतिबीच अनुघुलन हुन्छ । आज विश्वभरि जातीय पहिचानको कुरा उठिरहेको बेला पर्यटन प्रवर्द्धनका माध्यमबाट पनि आ–आफ्नो सांस्कृतिक पहिचानको किरण संसारभर छर्न सकिन्छ ।

पश्चिमी देशहरूमा इको टुरिज्म र कल्चरल डिप्लोम्यासीसम्बन्धी धेरै कामहरू भएका छन् । पर्यटकहरूले अनलाइन र इन्टरनेटका माध्यमबाट आफूले घुमेका देश र स्थानका बारेमा प्रशस्त बयान गर्न थाले । यसबाट पनि ती देश र स्थानका बारेमा प्रचारप्रसार हुँदै गयो । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चढेपछि मात्रै हाम्रो देश र हाम्रा हिमालहरूको प्रशस्त प्रचारप्रसार भयो र नेपाललाई विश्वले चिन्न थाले । हाम्रो देशका बारेमा हामी आफैँले केही भन्न सकेका रहेनछौँ, जति नेपाल घुम्न आउने विदेशीहरूले भने । नेपालका बारेमा हाम्रा कुराहरू अनलाइनका माध्यमबाट धेरैलाई थाहा हुँदै गयो ।

अहिले विश्वका मानिसहरू सहर होइन गाउँ घुम्न चाहन्छन् । सबैलाई सहर वाक्क लाग्न थालेको छ । सहरमा रोग छ । मानिसहरू स्वार्थी छन् । सहर हेर्न र देख्न झिलिमिली भए पनि सहरीयाहरूको मन त्यति नै अँध्यारो हुन्छ भन्ने कुरा अब सबैले बुझ्न थालेका छन् ।

मानिस स्वभावले नै शान्ति र आरामसँग प्रकृतिको नजिक रहेर बाँच्न चाहन्छ । त्यसैले पनि ऊ सिमेन्टको जंगल होइन हिमाल, पहाड, नदीनाला, ताल, तलैया, सिमसार र ग्रामीण जीवनमा बाँचेका मानिसहरूको एक रहस्यमय जिन्दगीका बारेमा बुझ्न चाहन्छ । गाउँघरको सामान्य जिन्दगी अहिले पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ ।

अहिले गाउँघरको होमस्टे एउटा त्यस्तो माध्यम बन्दै छ कि यसले तपाईंलाई प्रकृति र सामाजिक ग्राम्य जिन्दगीको बारेमा अनुघुलित हुन सिकाउँछ । ‘होमस्टे’ अंग्रेजी नाम हो यसलाई नेपालीकरण गर्दा ‘घर बास’ भन्ने शब्द प्रयोग गर्न सकिन्छ तर होमस्टे शब्द नै बढी प्रचलित भइसकेको छ । हामीले कोरोना अघि नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर राखेर थुप्रै काम गरेका थियौं ।

हामी नेपाली आफूलाई प्राकृतिकरूपमा सम्पन्न भन्छौँ तर उभिरहेको सगरमाथा र सुतिरहेको तराई हेर्न मात्रै कोही आउँदैनन् । अब लुम्बिनी र सगरमाथाको मात्रै विज्ञापनले विदेशीलाई आकर्षण गर्न सकिन्न । विदेशीहरू केही फरक चाहन्छन् । उनीहरूको बसाइलाई लम्ब्याउन सहरकेन्द्रित देवीदेउताको मन्दिर मात्रै पर्याप्त छैन ।

अब विदेशी पाहुनालाई सहरमा होइन गाउँमा पठाउनु पर्छ । अब सहरको विज्ञापन होइन गाउँको विज्ञापन गर्नुपर्छ । गाउँ नै नेपाल हो भन्ने कुरा बुझाउन सक्नुपर्छ । गाउँ भन्नासाथ होमस्टेको कुरा आइरहेको छ । अझ कोरोनापछि सहर असाध्य संवेदनशील दुर्घटना निम्तिन सक्ने स्थानको रूपमा विकसित हुने सम्भावना छ ।

अब नेपाल घुम्न आउने पर्यटकहरू सोल्टी र अन्नपूर्णको सुविधाजन्य कोठामा होइन गाउँलेले बनाएको खरको छानोमा रात बिताउन चाहन्छन् । गाउँलेको भान्सामा जे–जे पाक्यो त्यही खान चाहन्छन् । गाउँलेको जीवन संस्कृति हेर्न चाहन्छन् । सहरको डिस्कोथेमा होइन गाउँलेको आँगनमा नाच्न चाहन्छन् । पर्यटकको रोजाइ अब ठमेल होइन हिमालय वरपरका पहाडी धरातलमा उभिएका घरगोठ आँगन पर्न पर्नेछन् । त्यही बसाइ नै होमस्टे हो । यही नै होमस्टेको परिभाषा हो ।

सिमेन्टको आलिसान भवन निर्माण गरी सहर केन्द्रित पाँचतारे होटेलको फजुल संख्या बढाउनेतर्फ सरकारले ध्यान दिनु बेकार हो अब । अबका पर्यटकलाई गाउँ जान प्रेरित गर्नुपर्छ राज्यले किनकि गाउँमा बेरोजगारीको संख्या अत्यधिक छ । गाउँका युवाहरूलाई खाडी मुलुक जानबाट रोक्नका लागि ग्रामीण पर्यटन र होमस्टे सञ्चालनमा सरकारले ध्यान दिनु जरुरी छ ।

नेपालको आकर्षण नै ग्रामीण पर्यटन हो यसो भयो भने अवस्य पनि विदेशी पाहुनाहरूले केही नयाँ अनुभूति गर्नेछन् । पर्यटकलाई पशुपति र स्वयम्भू मात्रै देखाएर काठमाडौँ ठमेलको गल्लीमा मात्रै अल्मलाउनु अब गाह्रो हुनेछ र यो कुरा अब पुरानो भैसकेको छ । नेपाल घुम्न आउने प्रायः विदेशीहरू आर्थिकरूपमा त्यति धेरै सम्पन्न हुँदैनन् । उनीहरू थोरै पैसामा धेरै अवलोकन गर्न चाहन्छन् । धेरै दिन नेपाल बस्न चाहन्छन् । पर्यटकको बसाइ लम्ब्याउने हो भने ग्रामीण पर्यटन र गाउँका होमस्टेहरूमा उनीहरूलाई बस्ने प्रबन्ध मिलाउनु आवश्यक भैसकेको छ । कोरोनाले गाउँ धेरै सुरक्षित छ भन्ने सन्देश दिएको छ । किनभने गाउँमा आफैँ सामाजिक दूरी कायम हुन्छ ।

अब नेपाल घुम्न आउने प्रायः विदेशीहरू यहाँको सामाजिक, आर्थिक र राजनीतिक गतिविधि अध्ययन गरेर मात्रै आउँछन् र पो ठमेलमा एउटा पित्तलको बाला किन्दा आधा–आधा घन्टा मोलमोलाई गर्छन् । कहाँ सस्तो खाना खान पाइन्छ भनेर असन इन्द्रचोक र सोह्रखुट्टेको गल्ली चाहार्दै हिँड्छन् ।

थोरै पैसामा धेरै सुविधा खोज्नेखालका विदेशी पर्यटक नेपाल घुम्न आउने हुनाले ग्रामीण पर्यटन र होमस्टे स्थापनाका लागि सरकारले अनुदान र उत्प्रेरणाको भूमिका निभाउनु जरुरी छ । अबका दिनमा मिलेसम्म पर्यटकहरू काठमाडौँको बसाइलाई छोटो पार्छन् । सिधै भन्नुपर्दा पर्यटकका लागि काठमान्डौँ ट्रान्जिट प्वाइन्ट मात्रै हो । यो अवस्थामा हामीले ग्रामीण पर्यटन र होमस्टे सञ्चालनका आधारशिला खडा गर्नु जरुरी छ ।

निजीस्तरबाट सञ्चालनमा आएका होमस्टे, रिसोर्ट र ग्रामीण इलाकामा खोलिएका होटेलहरूलाई सहुलियत ऋण र करमा समेत छुट दिएर उनीहरूको व्यापारिक मनोबललाई राज्यले उठाउनु जरुरी भैसकेको छ ।

निजीभन्दा पनि साझेदारीमा खोलिएका ग्रामीण होमस्टेहरू मौलाउन जरुरी छ । उनीहरूलाई आन्तरिक पर्यटकबाट पनि प्रशस्त आम्दानी हुनसक्छ । नेपालीहरूले अब विदेश होइन स्वदेश घुम्न पर्छ र आफ्नै राष्ट्रको आन्तरिक पर्यटनलाई मौलाउने मौका दिनुपर्छ । आफ्नो आम्दानीको निश्चित रकम घुम्न र मनोरञ्जनका लागि छुट्याउन थाल्नुले पनि नेपालको आन्तरिक पर्यटन पहिलेको भन्दा पछिल्लो समय मौलाउन थालेको थियो ।

नेपालीहरूको आयस्रोत र प्रतिशतका आधारमा वार्षिक आम्दानी पनि हजार डलरभन्दा माथि पुगिसकेको छ । यसकारण पनि ग्रामीण पर्यटन विस्तारै मौलाउदै गएको छ । अबको केही वर्षपछि नेपाली आफैँले आफ्नो आन्तरिक पर्यटन व्यापार एक्लैले धान्नेछ । निजी तवरले खोलिएका अधिकाम्श होमस्टे सञ्चालकहरू अवश्य खाली बस्नुपर्नेछैन । गाउँलेसँग रमाइलो गर्ने, उहाँहरूले पकाएर दिएको खाने । स्थानीय सस्कृतिसँग परिचित हुने, गाउँका खेतबारीमा फलेका अर्गानिक खाना खाने र संस्कृति आदानप्रदान गर्ने कुरा होमस्टेसँग सम्बन्धित छ ।

होमस्टे भन्नासाथ नै गाउँसँग सम्बन्धित ग्रामीण पर्यटन बुझिन्छ । अहिले सामुदायिक होमस्टेलाई अझै राम्रो व्यवसायका रूपमा लिइन्छ किनभने यसमा समूहको लगानी हुन्छ । व्यवस्थापन पनि राम्रो हुने र आएका सबै पाहुनालाई समेत राम्रो केयर पुग्ने हुन्छ । कोरोना अघि नेपालमा आन्तरिक पर्यटनले एकप्रकारको गति लिइसकेको थियो । कोभिड मात्रै भनेर अब हात बाँधेर बस्नु हुन्न । अब जुर्मुराउनु पर्छ । उठाउनु पर्छ आन्तरिक पर्यटनलाई र अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया