Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअर्थमन्त्रीको जिम्मेवारी ओलीतिर, छाया अर्थमन्त्री डा. खतिवडा नै

अर्थमन्त्रीको जिम्मेवारी ओलीतिर, छाया अर्थमन्त्री डा. खतिवडा नै


नन्दलाल खरेल
धेरैलाई लागेको हुनसक्छ अर्थमन्त्रीको बिदाइ भयो, अब उद्योग, व्यापार, पुँँजी बजारमा नयाँ नीति आउनेछ र उद्योगी, व्यवसायी तथा सेयरधनी तथा ब्रोकरमा केही रक्तसञ्चार हुनेछ । तर त्यो भ्रम मात्र हुनेछ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ यिनै डा. युवराज खतिवडाले नै पर्दा पछाडि रहेर छाया अर्थमन्त्रीको रूपमा अर्थमन्त्रीको बागडोर सम्हाल्न पुग्नेछन् ।

निवर्तमान अर्थमन्त्री डा. खतिवडा नै मुलुकको अर्थतन्त्रसम्बन्धी नीति निर्माणमा फेरि हाबी हुने प्रस्ट संकेत देखिएको छ । छाया अर्थतन्त्र चलाई मिलिभगतमा प्रशस्तै धन आर्जन गर्न सफल अर्थमन्त्रीलाई पुनः छाया अर्थमन्त्रीको जिम्मेवारी पाउनुले मुलुकको अर्थतन्त्रको गम्भीर दोहन र नेपाली जनतालाई गम्भीर धोका हो भन्न सकिन्छ ।

विज्ञको रूपमा कहिलएका प्रधानमन्त्री ओलीका अति विश्वसनिय पात्र २०७४ साल फागुन २५ गते सपथ लिँदै गर्दा उद्योग, व्यवसायी तथा आमजनता समेत खुसी देखिथ्यो । तर उनको ३० महिने कार्यकालमा अर्थतन्त्रलाई उनले जनताको अपेक्षाअनुसार सुधार गर्न सकेनन् ।

डा. युवराज खतिवडाले न राजस्व उठाउन सके न पुँजीगत खर्च समयमै कार्यान्वयन गर्न सफल भए । बरु उल्टै बजेट समीक्षामार्फत बजेटको आकार हरेक वर्ष घटाए । त्यति मात्र होइन उनी आउनेबित्तिकै सेयर बजार अनुत्पादक क्षेत्र हो भने, त्यहाँदेखि सेयर बजार ओरालो लागेको छ । डा. युवराज खतिवडा पार्टी संरचनाको प्रयाप्त सहयोगबिनै अर्थमन्त्रीको अढाइवर्षे कार्यकाल सम्पन्न गरेका छन् । नेपाली कांग्रेसका नेता महेश आचार्यपछिका लगातार तेस्रो पल्टसम्म बजेट ल्याउन पाउने दोस्रो भाग्यमानी अर्थमन्त्री हुन् डा. खतिवडा । पहिलो बजेट ल्याएपछि अलोकप्रिय बजेट ल्याएको भन्दै पार्टीमा उनको चौतर्फी आलोचना समेत भएको थियो ।

डा. युवराज खतिवडाले आफू अर्थमन्त्री भएको एक महिनामै श्वेतपत्रमार्फत बडो फुर्तीका साथ सरकारी ढुकुटी रित्तिएको भन्दै अर्थतन्त्रका जोखिम सार्वजनिक गरेका थिए । ढुकुटी रित्याउन अघिल्लो सरकारको मात्र दोष हो भन्ने उनको त्यसबेलाको आशय थियो । उनले त्यसबेला भनेका थिए, ‘हाम्रो अर्थतन्त्रको ठूलो दुर्भाग्य बढ्दो व्यापारघाटा हो ।’

श्वेतपत्रमा विगत २५ वर्षमा व्यापारघाटा ४२ गुणाले बढेको देखाएका थिए । तर उनको पहिलो कार्यकालमै त्यसबेलाको बजेटको आकार १३ खर्ब १५ अर्बलाई उछिनेर, १३ खर्ब २१ अर्ब पुगेको थियो । यो उनको लागि पहिलो गाँसमै ढुंगो भनेझैँ भएको थियो । श्वेतपत्र निकालेको २९ महिनापछि पनि त्यसमा उल्लिखित अर्थतन्त्रको आधारभूत नापनक्सामा कुनै तात्विक भिन्नता आएको छैन । अर्थतन्त्र सुधार हुनुको सट्टा झन्झन् जर्जर बन्दै गएको छ ।

डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाए पनि पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन नसक्दा ओलीले उनलाई जोगाउने प्रयास गर्दा गर्दै पनि सकेनन् । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेसँगै डा. खतिवडाको ‘च्याप्टर’को अन्त्य भएको हो ।

दोस्रो कार्यकालको अन्तिम मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री खतिवडाले आफूले अर्थतन्त्र सुधार्न धेरै काम गरेको सुनाएका थिए, आफू अर्थमन्त्रीबाट बाहिरिनुअघि । यद्यपि देशको ढुकुटी रित्तिएको चालू खर्चलाई राजस्वले धान्न नसक्ने गरी आयस्रोत खुम्चिएको, गरिबी बेराजगारी झन् बढिरहेको बेला सबै सूचक सकारात्मक रहेको बताउँदै आफ्नो साढे दुईवर्षे कार्यकालको र आफ्नो कार्यसम्पादनको बचाउ गरे, जुन कुरा सामान्य अर्थतन्त्रमा जिज्ञासा राख्ने जोकोहीले पनि सजिलै पत्ता लगाउन सक्थे ।

कोभिड १९ का कारण वैदेशिक व्यापारमा आएको संकुचनले व्यापार घाटाको सूचकांक देखाएर आफ्नो कार्यकालको उपलब्धि हो भन्नसम्म भ्याए । जनतालाई भोको राखेर आयात घटेको कुरालाई उपलब्धि मान्नु ज्यादै हास्यास्पद कुरा हो ।

अर्थमन्त्री युवारज खतिवडा अर्थमन्त्री हुँदासम्म आइपुग्दा प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको थियो भने उनले अर्थमन्त्री पद छोड्दा ४२ हजारभन्दा बढी राष्ट्रप्रतिको ऋण दायित्व बढेको छ । यो विषयमा अर्थमन्त्री मौन छन् । त्यस्तै गरेर पुँजी बजारको दुरावस्थाको बारेमा पनि उनीले केही चर्चा गरेनन् ।

कोरोना महामारीले अर्थतन्त्र संकट उन्मुख भएको बेला आर्थिक वृद्धिदर ७ प्रतिशत हुने घोषणा गरे । तर हाम्रो आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रस्ट देखिएको छ । त्यति मात्र होइन उनको समयमा ‘छाया अर्थतन्त्र’ झन् बढेर गयो । कम्युनिस्ट सरकारको अर्थमन्त्री भएर पनि आमूल परिवर्तनको दिशा कम्युनिस्ट आर्थिक प्रणालीका केही सिद्धान्तहरूलाई लागू गर्नुको सट्टा उनले दलाल पुँजीवादी अर्थनीति लागू गर्दै साम्राज्यवाद र पुँजीवादी देशहरूकै इशारामा काम गरी औद्योगिक क्षेत्रलाई संकतग्रस्त बनाए ।

आम जनताले आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत हुनुभन्दा अघि स्वास्थ्य संकट, आर्थिक संकट, रोजगार संकट र व्यावसायिक संकटबाट पार पाउने आसा गरे पनि ‘घुमीफिरी रुम्जाटार’ भनेझैँ उही निरन्तरतामा निवर्तमान अर्थमन्त्री डा. खतिवडाले रुमल्लिएको बजेट ल्याएका थिए । अर्थतन्त्रलाई चलायमान बनाउन डा. खतिवडाले पटक्कै सकेनन् ।

कोभिड १९ को कारण मुलुकमा सबैभन्दा बढी रोजगारी हुने क्षेत्रहरू उद्योग, व्यापार, यातायात, पर्यटन, शैक्षिक विकास निर्माण आदि अहिले कोरोनाको कारणले नराम्ररी प्रभावित भएका छन् । त्यति मात्र होइन वैदेशिक रोजगार समेत नराम्ररी प्रभावित भएको छ । वैदेशिक रोजगारको सूचकमा संकुचन मात्रै आएको छैन कि गाँस, बास र कपासको अलावा स्वास्थ्य र शिक्षामा समेत गम्भीर संकट पारिरहेको छ । ‘नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब’ले गरेका अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुुक देखिएको अध्ययनले देखाएको छ । यस्तो जटिल अवस्थामा मुलुक अर्थमन्त्रीविहीन छ । यो जिम्मा प्रधानमन्त्रीले नै सम्हालेका छन् ।

प्रधानमन्त्री भनेको मन्त्रीहरूको पनि टाउके मन्त्री हुन् । उनी मन्त्रीहरूको नाइके हुन् । प्रधानमन्त्रीले आफूलाई कार्य गर्न सजिलो पर्नेगरी कानुनको परिधीमा रही उनले देशको सञ्चालन गर्न मन्त्रीहरू नियुक्त गर्छन् । अर्थ मन्त्रालय भनेको महत्वपूर्ण मन्त्रालय हो । यही मन्त्रालयको अगुवाइ देशको राजस्व उठ्छ र त्यो आवश्यकताका आधारमा बजेटले निर्दिष्ट गरेको क्षेत्रमा रकम विनियोजन हुन्छ ।

मुलुकले महामारीको संकट सामना गरिरहेको बेला त्यो मन्त्रालयको काम प्रधानमन्त्रीले आफैँ गर्नु ज्यादै लज्जाको विषय हो । पार्टी र संसद्भित्र थुपै्र एकसे एक व्यक्ति हुँदाहुँदै पनि आफैँमा त्यो मन्त्रालय राख्नु रहस्यको विषय हो । त्यो मन्त्रालायको काम भूमिगत हिसाबबाट निवर्तमान अर्थमन्त्रीलाई नै दिनु ज्यादै लज्जाको विषय हो । यसले के अर्थ लाग्छ भने उपयुक्त मौकामा पुनः डा. युवराज खतिवडालाई नै प्रधानमन्त्रीले अर्थमन्त्रीमा ल्याउने उपयुक्त खोजीमा त छैनन् भनी शंका गर्ने प्रशस्त ठाउँ छ ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा परीक्षण अर्थात् टेस्टेड भइसकेका अर्थमन्त्री हुन् । उनीलाई पुनः अर्थमन्त्रीमा ल्याउनु भनेको देश उल्टो यात्रामा हिँडाउनु हो । त्यति मात्र होइन पार्टीमा फेरि कचिङ्गलको बीउ रोप्नु हो । अर्थमन्त्री प्राविधिक व्यक्ति तथा व्युरोक्रायट्स हुन् उनको विगत हेर्दा । अर्थमन्त्री नियुक्त गर्दा अर्थ र राजनीति दुवैै क्षेत्रको ज्ञान भएका व्यक्तिलाई दिनु उपयुक्त हुन्छ । यस कार्यमा प्रधानमन्त्रीले निःस्वार्थ ढंगले काम गर्न गरुरी छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’को संकल्पसहित प्रधानमन्त्री ओलीले सपथ लिएपछि डा. युवराज खतिवडालाई नियुक्त गरेपछि अर्थतन्त्रमा जिज्ञासा राख्ने व्यक्तिहरू तथा पक्षहरू धेरै खुसी थिए । तर ३० महिनापछि उनको बिदाइमा ती खुसी व्यक्ति तथा सरकारवाला व्यक्तिहरूलगायत आम जनता खासै दुःखी देखिएनन् ।

विकास बजेट खर्च गर्न नसक्ने प्रवृत्ति, अस्थिर नीति, सुस्त आर्थिक वृद्धि, वित्तीय अनुशासनहीनलगायत चुनौतीसँग जुध्न उनले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने आम अपेक्षा थियो । तर दुई तिहाइ नजिकको शक्तिशाली सरकारको अर्थमन्त्रीको रूपमा औसत सुधार समेत गर्न सकेनन् । संविधान निर्माणपछि राजनीतिक स्थायित्व पाएको मुलुकमा उत्साहपूर्ण रूपमा लगानी आकर्षण गर्न सक्नुपथ्र्यो । बरु उल्टो डा. खतिवडाले एकपछि अर्को गर्दै ल्याएका कर र नियमनसम्बन्धी नीतिहरूले लगानीकर्ताको आत्मविश्वास कमजोर भयो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया