Techie IT
×
गृहपृष्ठविचारआर्थिक समृद्धिमा सुन्तला खेती

आर्थिक समृद्धिमा सुन्तला खेती


विश्वनाथ खरेल
मुलुकको अर्थतन्त्रको मूल आधार कृषि क्षेत्र हो । यसमा पनि फलफूल खेतीले कुल गार्हस्थ्य कृषि उत्पादनमा फलफूल तथा मसला बालीको योगदान सात दशमलव शून्य चार प्रतिशतभन्दा बढी रहेको अनुमान छ । सुन्तलाको खेती गर्दा धेरैजसो पाखाबारी, भिरालो र कान्लाहरूमा बगैँचा स्थापना गरेको पाइन्छ जहाँ सिंचाइको सुविधा हुने पनि धेरै कम सम्भावना हुन्छ । बगैँचा स्थापना धेरैजसो भिरालो र कान्लाहरूमा गरिने हुँदा वर्षाको पानीले गर्दा माटोको माथिल्लो भाग जुन माटोमा खाद्य तत्व धेरै हुन्छ । त्यो माटो नै बगाएर लैजाने हुँदा एक त कम उर्वराशक्ति भएको जग्गामा बगैँचा स्थापना गरेको छ भने अर्को छोटो समयमा बढी वर्षाको पानीले माटोमा रहेको खाद्यतत्व समेत बगाएर लैजाने हुँदा बिरुवाहरूमा खाद्यतत्वहरूको कमी भई बिरुवाको वृद्धि राम्रो नहुनु र कृषक दाजुभाइले मलजल तथा गोडमेल गर्ने चलन कम भएको हुँदा बिरुवाको वृद्धि नभई बिरुवा रोगग्रस्त भई बगैँचा ह्रास हुन जान्छ ।

मुलुकमा सुन्तलाजात फलफूल खेती मध्यपहाडी भागको आठ सयदेखि १५ सय मिटर उचाइको पाखा बारीमा गरिन्छ । सुन्तलाजात फलफूल खेतीमा सिंचाइ भनेको वर्षा (असार/साउन) महिनाको पानी मात्र हो । नेपालको हावापानीअनुसार मंसिर महिनादेखि रङ्ग् चढ्न थाली माघ फागुनभित्र फल टिपिसकिन्छ । फल टिपिसकेपछि अर्को वर्षको राम्रो उत्पादनको लागि मलजल गर्नुपर्ने हुन्छ । सामान्य चलनचल्तीअनुसार सुन्तलाजात फलफूल बगैँचामा माघ फागुनमा मल दिने गरिन्छ । तर, मल दिने समयमा बगैँचा सुख्खा भई बिरुवाको वरिपरि खन्दा पनि बुङबुङ धुलो उड्ने गर्छ । यस्तो माटोको अवस्थामा रसायनिक मल दिएर पनि बिरुवाले लिनसक्ने अवस्था हुँदैन ।

जवसम्म सिंचाइ गरिँदैन प्राङ्गरिक मल दिँदा पनि बिरुवाको वरिपरि खन्दा माटोमा भएको चिस्यान उडेर नजाओस् भन्नको लागि बिरुवाको वरिपरि खनी सक्नेबित्तिकै प्राङ्गरिक मल दिई मल्चिङ गर्नुपर्छ वा एक पल्ट पानी परेपछि वा सिंचाइ दिएर मात्र प्राङ्गरिक/रसायनिक मल दिएमा मात्र बिरुवाले मल बिरुवाले मल लिन सक्ने अवस्था हुन्छ । सुन्तलाजात फलफूल बगैँचा ह्रासबाट जोगाई बढी आर्थिक लाभ लिने हो भने बगैँचाको वार्षिक कार्यतालिकाअनुसार सम्पूर्ण कार्य गर्न आवश्यक हुन्छ । ठाउँअनुसार पुस/माघ महिनाको अन्तसम्ममा सम्पूर्ण फलहरू टिपी सकेर आवश्यकताअनुसार बिरुवाको काँटछाँट गर्नु पर्ने हुन्छ । तर, पतझड फलफूल बिरुवाको जस्तो धेरै काँटछाँट गर्नु पर्दैन । रोग किरा लागेको, सुकेको, ऐँजेरु पलाएको हाँगाहरू र तल फेदबाट पलाएको चोर हाँगाहरू साथै बिरुवाको बेलाबेलामा हेर्नु पर्ने हुन्छ ।

मुलुकको चालू आर्थिक वर्ष २०७२/०७३ मा फलफूल उत्पादन गत वर्षको तुलनामा १० दशमलव छ प्रतिशतले वृद्धि भई १० लाख ९६ हजार मेट्रिक टन हुने अनुमान गरिएको छ । यसैगरी फलफूल लगाएको क्षेत्रफललाई अध्ययन गर्ने हो भने सात दशमलव पाँच प्रतिशतले वृद्धि भई एक लाख १९ हजार एक सय १४ हेक्टर पुग्ने अनुमान छ । व्यावसायिक केरा खेती बढ्दै गएको कारणले गर्दा सुन्तलाको क्षेत्रफलमा कमी आएको भए पनि उत्पादन नघटेको एकातिर छ भने अर्कोतिर स्याउ र आँपको उत्पादन बढेको कारण कुल फलफूल उत्पादन बढ्ने अनुमान सम्बन्धित क्षेत्रले गरेको पाइन्छ ।

यसको साथ साथै वार्षिक १५ सय हेक्टरमा सुन्तलाजात फलफूलको क्षेत्र विस्तार हुने गर्दछ । तर वार्षिकरूपमा सुन्तला जात फलफूल बगैँचाको कति हेक्टर ह्रास हुँदै जाँदै छ भन्ने यकिन तथ्यांक भने कतै उल्लेख गरिएको पाइँदैन । मुलुकको सबै भौगोलिक क्षेत्रको अवलोकन गर्दा खेती तराई, पहाड र हिमाली क्षेत्रमा उपयुक्त जलवायु भएको ठाउँमा सुन्तला खेती हुने गरेको पाइन्छ । साना खाले कृषकहरूको लागि थोरै पुँजीमा खेती गर्न सकिने यो व्यवसाय केही वर्षयता आएर निकै मौलाएको छ । स्वदेशमा नै सुन्तलाको बढ्दो क्षेत्र विस्तार हुन थालेपछि छिमेकी मुलुकहरूबाट सुन्तला आयात नगन्यरूपमा मात्र आयात हुनेगरेको पाइन्छ ।

अन्त्यमा भन्नुपर्दा सरकारले विसं. २०७४–२०८४ लाई फलफूलको दशक बनाउने भनेको छ । पहाडी भेगको प्रमुख फलफूल सुन्तला रहेको र सुन्तला उत्पादनमा लाखौँ किसान आबद्ध भएको सन्दर्भमा सुन्तलालाई राष्ट्रिय पहिचान पाएको फलफूल बनाउन सम्बद्ध पक्षहरू लागिपरेका देखिन्छन् । त्यसको लागि सुन्तलाका बोटहरू स्वस्थ हुनुपर्छ । बोटलाई स्वस्थ र दानालाई ठूलो पार्न प्राविधिक निगरानी चाहिन्छ । त्यसका लागि जिम्मेवार संस्था र कार्यक्रमहरूबीच तालमेल हुनुपर्छ । कृषि विकास मन्त्रालयको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७२/७३ मा २६ हजार दुई सय ४८ हेक्टर जमीनमा सुन्तला खेती गरिएको र एक लाख ४६ हजार छ सय ९० टन उत्पादन भएको देखिन्छ ।

अघिल्ला वर्षहरूको दाँजोमा क्षेत्रफलमा वर्षेनी वृद्धि हुँदै समग्रमा सुन्तला उत्पादन बढेको भए पनि प्रति हेक्टरका हिसाबले उत्पादन दर केलाउँदा पहिलेभन्दा घटेको छ । आव २०६९/७९ मा एक हेक्टर (२० रोपनी) जमीनमा नौ दशमलव छ टन सुन्तला उत्पादन भएकोमा २०७२/७३ मा ९ टन मात्र भएको छ । कुल फलफूल खेतीको क्षेत्रफललाई अवलोकन गर्ने हो भने आर्थिक वर्ष २०७२/७३, आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७०/७१ मा क्रमशः इक लाल १९ हजार एक सय १४, एक लाख १० हजार आठ सय दुई र एक लाख १० हजार ८६ हेक्टरमा रहेको अनुमान सम्बन्धित क्षेत्रले गरेको छ ।

त्यस्तैगरी फलफूलको कुल उत्पादनतर्फ अध्ययन गर्ने हो भने पनि आर्थिक वर्ष २०७२/०७३, आर्थिक वर्ष २०७१/०७२ र आर्थिक वर्ष २०७०/०७१ मा क्रमशः १० लाख ९६ हजार सात सय ७४, नौ लाख ९१ हजार नौ सय ७८ र नौ लाख ६५ हजार ४४ मेट्रिक टन उत्पादन भएको अनुमान गरिएको छ । त्यस्तै गरी फलफूल खेतीको उत्पादकत्वमा मध्यनजर गर्ने हो भने माथिका उल्लेखित आर्थिक वर्षहरूमा क्रमशः नौ हजार दुई सय ७०, १० हजार छ सय २२ र आठ हजार सात सय ६६ किलोग्राम प्रतिहेक्टर भएको अनुमान छ । यसर्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७२/०७३ मा २६ हजार दुई सय ४८ हेक्टर जमीनमा सुन्तला खेती गरिएको र एक लाख ४६ हजार छ सय ९० मेट्रिक टन उत्पादन भएको देखिन्छ ।

हाम्रो देशमा अघिल्ला वर्षहरूको दाँजोमा क्षेत्रफलमा वर्षेनी वृद्धि हुँदै समग्रमा सुन्तला उत्पादन बढेको भए पनि प्रतिहेक्टरका हिसाबले उत्पादन दर केलाउँदा पहिलेभन्दा घटेको छ । आर्थिक वर्ष २०६९/०७९ मा एक हेक्टर जमीनमा नौ दशमलव छ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा २०७२/०७३ मा नौ मेट्रिक टन मात्र भएको छ । यसको साथसाथै सुन्तला मात्र नभई कागती, जुनार, निबुवालगायत अमिलो जातका फलफूलको उत्पादकत्व केलाउँदा पनि यस्तै ओरालो लागेको तथ्यांक फेला पर्छ । आर्थिक वर्ष २०६४/०६५ मा अमिलो जातका फलफूल उत्पादन प्रतिहेक्टर ११ दशमलव ३७ मेट्रिक टन रहेकोमा त्यसपछि लगातार दुई वर्ष क्रमशः ११ दशमलव २९ मेट्रिक टन, ११ दशमलव ३२ मेट्रिक टन रह्यो । २०७२/०७३ मा त यो आठ दशमलव ७९ मेट्रिक टनमा ओरलो लागेको अनुमान गरिएको छ ।

यो वर्ष सुन्तलाको उत्पादन बढेको अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरूको रहेको छ । जसमा बजारमा सुन्तलाको बढ्दो मागको कारणले गर्दा सुन्तलाको मूल्यमा भने घटेको पाइएको छैन । तर, यसको मूल्य वृद्धि नै भएर गएको छ । मुलुकसँग सिमाना जोडिएको कतिपय भारतीय व्यापारीहरूले घर–घरमा आएर सुन्तला किनेर लगेको पाइएको छ । सीमा क्षेत्रहरूमा समेत नेपाली सुन्तला खरिद गरी भारतीय बजारमा बिक्री वितरणको लागि गएको सम्बन्धित क्षेत्रले बताएको छ ।

हाल बजारमा सुन्तलाको भाउ प्रतिकिलो ६० देखि ८० रुपियाँ पर्ने गरेको छ । अहिले आएर नेपाली बजारमा सुन्तलाको प्रशस्त माग भएको कारणले गर्दा यो मागलाई यहाँको उत्पादनले भरथेग गर्न नसकेको कारणले गर्दा पनि मूल्यमा कमी नभएको सम्बन्धित क्षेत्रका अधिकारीहरूको भनाइ रहेको पाइन्छ । सुन्तला खेतीको विकास तथा विस्तारको लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग जुटाउने कार्यमा कृषि विकास तथा पशुपन्छी मन्त्रालयले बेलैमा बिचार पु¥याइदिने हो भने यस क्षेत्रमा लाग्ने किसानहरूको जीवनस्तर उकास्नको लागि यो व्यवसायले निकै नै मदत पु-याउनेछ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया