Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगभूमि प्रदूषणको कारण, समस्या र समाधान

भूमि प्रदूषणको कारण, समस्या र समाधान


गम्भीर बहादुर हाडा
क्षमताअनुसार जमीनको उपयोग गरेमा बढी उत्पादन हुने र माटोको गुण पनि कायम राख्न सकिने हुँदा उत्पादनमा निरन्तरता आउने हुन्छ । यसमा गहिरोसम्म माटो भएको, सम्म र राम्रो खालको माटो भएको जमीनमा कृषि उपयोगमा ल्याउने, भिरालो जग्गामा आली कान्ला बनाउने वा अन्य उपयोगमा ल्याउने गर्नुपर्दछ ।

भू–स्खलन रोक्ने तटबन्ध आदि गर्ने, विषादी र रासायनिक मलको न्यूनतम मात्रामा प्रयोग गरी प्रांगारिक मलको प्रयोग गर्ने तथा प्लाष्टिक आदि नसड्ने पदार्थहरू मलको प्रयोग गर्ने तथा लगाउनु पर्दछ । मौलिक कृषि प्रविधि कायम तथा प्रवर्द्धन गर्न स्थानीय ज्ञान, सीप र सामग्रीको स्थानीयस्तरमा उपयुक्त अनुसन्धान गरी अभिलेख तयार पार्नुपर्दछ ।

भू–क्षय रोकथामको लागि भिरालो जग्गामा खेती गर्दा माटो पूरा ढाक्ने बाली लगाउनु पर्दछ । जसले गर्दा पानीका थोपा सिधै माटोमा पर्न पाउँदैन र ढिक्का रहेको माटो फुट्न पाउदैन । साधारणतया, वर्षात सुरु हुनुभन्दा पहिले बालीले पूरा जग्गा ढाकेमा भू–क्षय कम हुन्छ । अम्लीय र क्षारीय प्रकृतिका माटोमा आवश्यकता हेरी कृषि चुन वा जिम्समको प्रयोग गरेर त्यसमा सुधार ल्याई माटोको विकृतीकरणबाट बचाउन सकिन्छ ।

भूमिमा कीटनाशक औषधिको प्रयोग कम गर्ने रासायनिक, उर्बरकको सन्तुलित उपयोग गर्ने, पानी जम्नबाट रोक्ने, भूमिको सन्तुलित उपयोग गर्ने गर्नुपर्दछ । विशेषज्ञहरूको भनाइअनुसार भूमि प्रदूषण कम गर्न वा त्यसलाई सुधार्न पहिला भूमि सुधार्ने खालको बाली लगाउनु पर्छ । त्यसपछि रुख, बुट्यान लगाउनु पर्दछ । यस्तो भूमिलाई कृषि कार्य सघन वृक्ष, पानी सङ्ग्रह केन्द्र वा मनोरञ्जन स्थलको रूपमा प्रयोग गर्नु आवश्यक छ । उद्योगबाट निस्केका फोहोर तथा काम नलाग्ने वस्तुहरूको निश्चित थान्को लगाउने प्रयास गर्नुपर्छ । यस्ता पदार्थलाई जलाउँदा विशेष तरिका अपनाउनु पर्छ ।

देशमा खाद्यान्न उत्पादन वृद्धिको क्रम रूपमा कम्पोष्ट मल प्रयोग गर्न कम्पोष्ट मल बनाउने तरिका मात्र होइन प्राकृतिक स्रोतमा प्रतिकूल असर नगर्ने व्यवस्था गरी कसरी अधिकांश बढी कम्पोपष्ट मल बनाउन सकिन्छ सोबारे सम्भाव्यताको आधारमा प्रयास जारी राखिनुपर्ने हुन्छ । यस्तो नीतिगत पक्षको विकास वस्तुतः वनजंगल टाढा रहेकोले कृषकले कसरी आफ्नै जग्गामा उपलब्ध स्रोतबाट कम्पोष्ट मल बनाउने भन्नेतर्फ बढी ध्यान दिने स्थितिको सृजना भएमा धेरै राम्रो हुनेछ । यस उपलब्धबाट वन जंगलमा प्रतिकूल असर नपरी बढी कम्पोष्ट मल तयार हुनेछ ।

यसको साथसाथै खाद्यान्न उत्पादन वृद्धि गर्न जमीन सम्याई सिँचाइ सुविधा समेतमा वृद्धि गर्नु पर्नेछ । फलस्वरूप माटो बग्न रोकिई भू–संरक्षण हुनेछ । भू–प्रदूषण रोक्ने काममा उचित प्रविधिका ज्ञान प्रदान गरी प्रत्येक गाउँ घरमा कम्पोष्ट मल बनाउनु र संरक्षण गराउनु उपयुक्त देखिन्छ । यसको साथसाथै सरकारी पक्षबाट मात्र काम गरेर विकास सम्भव नहुने कुरा निर्विवाद छ । तर जनसहभागिता जुटाउन बनाइने प्रत्येक कार्यक्रम जस्तैः भू–संरक्षण, वन विकास परियोजना, जलाधार व्यवस्थापन आदिमा कृषि प्रणालीसँग प्रत्यक्षरूपमा आबद्ध भएका गतिविधिमा ग्रामीण जनसमुदायलाई भाग लिन जोड दिनुपर्ने खाँचो छ ।

कृषियोग्य जमीनहरूमा रासायनिक मलखाद, कीटनाशक औषधि इत्यादि वैज्ञानिक ढंगले प्राविधिक सरसल्लाह अनुसार उचित तथा चाहिँदो मात्रामा मात्र प्रयोग गर्नुको साथै खेतहरूमा राम्रो ढलको व्यवस्था गरी नाइट्रोजन र फोस्फोरसजस्ता रासायनिक पदार्थहरू र बगाइने उर्बरा माटोबाट हुनसक्ने जल प्रदूषणको रोकथाम वा कम गर्दै जाने हुनुपर्दछ ।

यसको साथसाथै फोहोरमैला जथाभाबी फ्याँक्ने प्रचलन रोक्न फोहोरबाट उच्च कोटीको प्रांगारिक मल बनाउन सकिन्छ र यसको प्रयोगबाट उत्पादन बढाउन सकिन्छ भन्ने चेतना जगाई कम्पोष्ट मल तयार गर्ने अभियान चलाउनु उपयुक्त हुनेछ । देशमा भू–प्रदूषण रोक्न पत्रकार वातावरणविद, विशेषज्ञहरूको टोली वातावरणीय समस्या चर्को रूपमा देखापरेका ठाउँहरूमा गई स्थितिको अध्ययन र समाधानका उपाय खोज्ने कार्य हुनुपर्छ । जनसञ्चार माध्यमहरूले प्रदूषण रोक्नेसम्बन्धी प्रचार सामग्रीलाई प्राथमिकताका साथै प्रकाश, प्रसारण र प्रदर्शन गर्नुपर्छ ।

माटोबाट उपलब्ध हुने बाली बिरुवाका अनि आवश्यक १३ वटा स्वास्थ्य तत्वहरू हुन्छन् । तीमध्ये अधिकांश कृषकहरूले प्रयोग गर्दै आएका मलहरू डीएपी युरिया र म्यूरट अफ पोटासबाट अत्यधिक मात्रामा आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस र पोटास मात्र बिरुवाले पाउँछन् । तरकारी खेती गरिने कृषकहरूले आजकाल वोरोन र मोलिष्डेनमको पनि प्रयोग गर्दछन् । अन्य तत्वहरूको बारेमा कृषकहरू अनभिज्ञ नै छन् भन्दा पनि हुने अवस्था छ ।

मलखादको यस प्रकारको असन्तुलित उपस्थितिले माटोमा विकृति पैदा हुन्छ । माटोमा क्याल्सियम र म्याग्नेसियम कमी हुँदा एल्मुनियम र हाइड्रोजनको मात्रा बढ्न जान्छ र माटो अम्लीय हुन्छ । रासायनिक मल प्रयोगको सुरुसुरुमा एल्मोनियम सल्फेट प्रचलनमा आएको थियो । पछि यसको साटोमा युरियाको प्रयोग बढेको छ । युरिया र एल्मोनियम सल्फेट अम्लियपनामा वृद्धि गर्ने मल हुन् । सिफारिस गरेअनुसारको मात्रामा फस्फोरस र पोटासको साथमा यसको प्रयोग गरेमा अम्लीयपना वृद्धि हुने प्रक्रियामा कमी आउँछ र माटोका गुणहरूमा सन्तुलन कायम गर्छ । अन्यथा माटोको गुणहरूमा सन्तुलन कायम गर्छ । अन्यथा माटोको विकृतीकरण हुन्छ ।

नेपालको गरिबी रोग र भोकको समस्याबाट जुझ्न नयाँ–नयाँ आधुनिक प्रविधि तथा तरिका अपनाउन थालेका छन् । रोगबाट बालीनाली जोगाउन, खाद्यान्नको वृद्धि गर्न विभिन्न रासायनिक पदार्थको प्रयोगले माटो भएका प्राकृतिक तत्वहरूलाई नास पारी प्राकृतिक वातावरणलाई नै खल्बल्याई दिएका छन् । नेपालमा बीउलाई रोप्न अगाडि पारो भएको रासायनिक औषधिमा डुबाएर बीउलाई रोगबाट बचाउनुको साथै बिरुवाहरू तथा प्राणी सबै जीवहरूको स्वास्थ्यमा प्रतिकूल असर पनि पार्दछन् ।

भूमि प्रदूषण हुनाका कारणहरू
. धातु पगाल्दा र त्यसका सानासाना कणहरू यत्रतत्र छरिँदा ।
. विभिन्न उद्योग जस्तोः घागो, कागज, तेल प्रशोधन, राकी र ऊर्जा रासायनिक र मल, फलाम, स्टील, प्लान्ट प्लाष्टिक र स्वर उत्पादन गरिने स्थानहरूका कारणबाट ।
३. आधुनिक कृषि प्रणाली रासायनिक मल, कीटनाशक औषधि आदि नियमपूर्वक प्रयोग गर्नुपर्नेमा अन्धाधुन्दरूपमा प्रयोग गर्दा ।
. दैनिक घरायसी कामकाजको लागि प्रयोग हुँदा निस्केका पदार्थहरू जुठो, सागसब्जीका हुँदा, कसिंगर प्याक गर्ने पदार्थ, खरानी, दाउराको कोइला, धातुका सामानहरू प्लाष्टिक ग्लास आदिजस्ता सामानहरूको कारणबाट पनि भूमि प्रदूषण हुन्छ ।

भूमिको बाहिरी वा भित्री तहको विनाश र प्रदूषणलाई भू–प्रदूषण भनिन्छ । विभिन्न किसिमका कलकारखाना, उद्योग आदिमा रासायनिक पदार्थको प्रयोगपछि जमीनमा फालिने हुनाले तथा सडक, बाटोघाटो, खानी आदि ठाउँहरूमा गरिने उत्खनन् र विष्फोटनले गर्दा भू–प्रदूषण भइरहेको हुन्छ । जसले गर्दा उब्जाउ उर्बर भूमि सुक्खा बजारमा परिणत भइरहेको छ । हाल विश्वमा ७० हजारभन्दा पनि बढी रसायनहरू रहेको र ७० प्रतिशतभन्दा बढी रसायनहरू उपयोगपछि जमीनमा फालिने हुनाले भू–प्रदूषण अत्यधिक मात्रामा बढिरहेको कुरा तथ्यहरूले समेत जनाएको छ ।

जमीन प्रदूषण विश्वमा नै एउटा चुनौतीको रूपमा देखापरिरहेको छ । यसका कारणले जीवजन्तु तथा बोट बिरुवामा विभिन्न किसिमका असरहरू परिरहेका छन् । कतिपय ठाउँमा बहुसंख्यक मानिसहरूले एकैचोटि ज्यान गुमाउन पुगेका छन् । माटो प्रदूषणका कारणले स्थानीय वातावरणमा विभिन्न असन्तुलनहरू देखापर्दछन् साथै कृषि उत्पादनमा पनि सकारात्मक असर पर्न जान्छ । समग्ररूपमा माटो प्रदूषणबाट वातावरण तथा मानव स्वास्थ्यमा पर्नसक्ने नकारात्मक असरलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

जमीनमा मिसिने विभिन्न किसिमका फोहोरहरू जस्तैः सहरबाट निस्किने नसड्ने किसिमका फोहोरहरू आदिले जमीनमा नकारात्मक असर पार्दछन् । यसबाट माटोको उर्वराशक्ति कम हुन्छ । उद्योगधन्दाबाट निस्किने विभिन्न रसायनहरूबाट तथा रासायनिक मलको प्रयोगबाट पनि माटोमा अम्लिय तथा क्षरीय गुण बढ्न जान्छ र जमीनको उर्वराशक्ति क्रमशः घट्दै जान्छ । माटोमा रासायनिक मल, कीटनाशक औषधि, उद्योगबाट निस्कने विभिन्न रसायनहरू तथा सहरहरूबाट निस्कने फोहोरमैलाहरू मिसिएपछि माटोमा अम्लीयपन वा क्षरीयपन बढ्न गई माटो विषाक्त हुन्छ ।

यसबाट माटोमा बस्ने विभिन्न सानासाना जीवनहरू जसले माटो शुद्ध तथा मलिलो बनाउन ठूलो भूमिका खेलिरहेका हुन्छन्, लोप हुँदै जान्छन् । त्यस किसिमको माटो प्रदूषणका कारणले त्यहाँ रहेका बोटबिरुवाहरू पनि मर्छन् । यसरी हुने जैविक विविधताको लोप र विनाशले स्थानीय वातावरणमा असन्तुलन हुन जान्छ । माटोमा विसर्जन गरिने ठोस फोहोरमैलाको कारणले विभिन्न किसिमका रोगहरू महामारीको रूपमा फैलिन सक्छन् । उद्योगधन्दा तथा अन्य गतिविधिबाट माटोमा हुने रासायनिक प्रदूषणका कारणले गर्दा फलफूल तथा अन्य अन्नलगायतका खानेकुराहरूमा विभिन्न विषाक्त रसायनको मात्रा बढ्न जान्छ । त्यस किसिमका खानेकुरा खाएपछि मानिसमा विभिन्न किसिमका रोगहरू लाग्न सक्छन् ।

जमीन प्रदूषण पृथ्वीमा बस्ने सम्पूर्ण जीवजन्तु तथा बोटबिरुवाहरूका लागि हानिकारक प्रदूषण हो । यसले एकातर्फ कृषियोग्य जमीनको विनाश हुन्छ भने अर्केतर्फ विभिन्न किसिमका रोग व्याधिहरू फैलाउन सक्छ । त्यसैले पृथ्वीमा स्वच्छ भूमिको कमी हुन नदिन, कृषिबाट दिगोरूपबाट उत्पादन गरिरहन र विभिन्न रोगहरूको प्रकोपबाट जैविक विविधताको रक्षा गर्न माटोको प्रदूषणलाई नियन्त्रण गर्नु आवश्यक देखिन्छ । माटोको प्रदूषण नियन्त्रणका विभिन्न उपायहरू हुन्छन् ।

तीमध्ये केही महत्वपूर्ण उपायहरूलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
भू–क्षय दुई कारणले गर्दा हुन्छ, पहिलो पानी र दोस्रो हावा यी दुई तत्वले माटोलाई एक ठाउँबाट अर्को ठाउँमा लगेर थुपारिदिन्छन् । त्यसैले जुन बेलामा यी दुई तत्वहरू क्रियाशील हुन्छन् त्यसबेलामा माटोमा विशेष ध्यान पु-याउनुपर्ने हुन्छ । सुख्खा याममा माटो हावाले उडाएर लैजान सक्ने हुनाले यस्तो बेलामा खनजोत गर्न हुँदैन । यस्तो बेलामा थोरै पानीमा हुर्कन सक्ने बोटबिरुवा लगाउनुपर्छ । बोटविरुवाले जमीननजिकको हावाको गति घटाइदिन्छ, जसले गर्दा माटोलाई हावाले उडाएर लैजान सक्दैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया