Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमहिला सशक्तीकरण र पशुपालन

महिला सशक्तीकरण र पशुपालन


डा. केदार कार्की
नेपालको समग्र राष्ट्रिय अर्थतन्त्रमा पशुपालन क्षेत्रका साथै कृषि क्षेत्रको नै महत्वपूर्ण भूमिका रहेको छ । कृषि क्षेत्रको एउटा महत्वपूर्ण क्षेत्र पशुपालन हो । ग्रामीण क्षेत्रमा रहेका पूर्ण बेरोजगार तथा अर्ध बेरोजगारलाई पशुपालन क्षेत्र भरपर्दाे रोजगारी श्रृजना गरेको छ । यस क्षेत्रमा हुने विकासले महिला सशक्तीकरणमा ठूलो योगदान पु-याएको छ । पारिवारिक कृषि खेती प्रणाली भएको हाम्रो मुलुकमा पशुपालन कृषिको अभिन्न अंग रहिआएको छ । पशुपालन क्षेत्रमा महिलाको सहभागिता ऐतिहासिक कालदेखि निरन्तर रहिआएको छ ।

सांस्कृतिक, सामाजिक, भौगोलिक पर्यावरणको अवस्थाअनुसार पशुपालनका पद्धति फरक पर्न सक्छन् । तर, जहाँ समय पशुपालन कार्यमा पशुहरूको हेरचाह अनि व्यवस्थापनमा महिलाको भूमिका केन्द्रबिन्दुमा नै रहने गरेको पाइन्छ । ग्रामीण अर्थतन्त्रमा महिलाहरूले उल्लेखनीय योगदान गर्ने गर्दछन् । विश्व खाद्य तथा कृषि संगठनको तथ्यांकअनुसार विश्वको जनसंख्याको ४९ दशमलव चार प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्दछन् ।

नेपालको सन्दर्भमा भने यो जनसांख्यिक तथ्यांक ७० प्रतिशतको हाराहारीमा भेटिन्छ । ग्रामीण क्षेत्रका अधिकांश क्रियाशील उमेरका जनशक्ति वैदेशिक रोजगारी तथा निकटका सहरी औद्यौगिक क्षेत्रमा श्रमका लागि पलायन हुने हाम्रो जस्तो परिवेशमा ग्रामीण कृषि तथा पशुपालनको सबै व्यवसाय प्रक्रिया कामको जिम्मेवारी ग्रामीण महिलाको काँधमा भर परेको छ भन्दा अन्यथा नहोला ।

यद्यपि कृषि प्रणालीअनुसार यिनीहरूको आबद्धता र योगदान फरक हुन सक्छ । कृषि तथा पशुपालन क्षेत्रका विविध खाले कार्यमा महिलाको सहभागिता भने परिवारमा भू–स्वामित्वको आधारमा फरक पर्न सक्छ । यस्ता भूमिकामा कामदारदेखि व्यवस्थापकसम्मको हुन सक्छ । सम्पूर्ण कृषिजन्य उत्पादनमा महिलाले कुल श्रमको ५५ देखि ६६ प्रतिशत औसत योगदान पु-याउँदछन् । औसतमा महिलाले प्रतिदिन नौ दशमलव नौ घण्टा तथा पुरुषले पाँच दशमलव आठ घण्टा दैनिक कृषि क्षेत्रबाट हुने सकल आम्दानीमा महिलाको योगदान ५० प्रतिशत हुनु गर्दछ ।

भौगोलिक क्षेत्र कृषि तथा पशुपालन प्रणालीका क्रमअनुसार महिलाको सहभागिता तथा योगदान फरक हुन सक्छ । तर, पनि तिनीहरूको ब्याड राख्नेदेखि बाली भित्र्याउने तथा उत्पादन प्रसोधनजस्ता कार्यमा केन्द्रीय भूमिकामा श्रम खर्च गरेका हुन्छन् । सामान्यतया आदिवासी जनजाति समुदायका पारिवारिक स्थितिमा महिलामा निर्णय लिने क्षमता बढी हुने गर्दछ । किनभने पारिवारिक आयआर्जनमा तिनको योगदान बढी हुने गर्दछ ।

महिलामा बढ्दो भू–स्वामित्व, शिक्षा, आर्थिक श्रोतसम्मको पँहुच, ग्रामीण रोजगारीको अवसरले कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादकत्वमा वृद्धि हुनुका साथै खाद्य सुरक्षाको सुनिश्चिता आर्थिक समृृद्धि हुनुका साथै खाद्य सुरक्षाको सुनिश्चिता आर्थिक समृृद्धि हुनुका साथै खाद्यसुरक्षाको सनिश्चिता आर्थिक समृद्धि हुनुका साथै खाद्यसुरक्षाको सुनिश्चिता आर्थिक समृद्धि तथा सामाजिक कल्याण तथा सुरक्षाको ग्रामीण क्षेत्रमा अनुभूति गराउँछ । कृषिमा लैङ्गिक समानता, महिला सशक्तीकरण कृषि तथा पशुपालन क्षेत्रको विकास तथा खाद्य सुरक्षाको प्रत्याभूतिका लागि महत्वपूर्ण मानिन्छ ।

फिरन्ते एवं मिश्रित कृषि प्रणालीमा पशुपालन क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ, खासगरी उच्च तथा मध्य पहाडी क्षेत्रमा । धेरै मुलुकहरूमा पशुपालनलाई कृषिको महत्वपूर्ण पुँजी मानिन्छ, साथै आयआर्जनको प्रमुख स्रोतका साथै धन आयआर्जन र सञ्चयको माध्यम तथा आकस्मिक आपतविपतका बेला दरिलो भरथेग गर्ने आर्थिक आधार पनि ।

घोडा, खच्चर, ऊँट, भेडा, च्याडग्रा, गोरु, राँगाजस्ता पशुहरू, जोत्ने गाडा तान्ने भारी बोक्ने, जमीनको सरसफाई तथा पारवाहनको लागि शक्तिको रूपमा प्रयोग गरिन्छ । दुध, अण्डा, मासुको रूपमा मानव स्वास्थ्यको लागि आवश्यक प्रोटिन आपूर्ति गर्नुका साथै पशुपन्छीबाट बालीबोट, बिरुवा, तरकारी बारीका लागि महत्वपूर्ण प्राङ्गारिक मल पनि उपलब्ध हुने गर्दछ । यसैले पशुपालन क्षेत्रको विकास हुँदा ग्रामीण अर्थतन्त्र पनि सबल हुने गर्दछ । जसले गर्दा ग्रामीण क्षेत्रमा ग्रामीण अर्थतन्त्रको विकास पनि हुन पुग्छ । जसको प्रभावमा ग्रामीण गरिबी न्यूनीकरणमा सहयोगी भूमिका निर्वाह गर्न सक्छ ।

ग्रामीण महिलाले पशुपालनका विविध कार्यक्षेत्र, पशुलाई दाना आहार दिने पशु प्रजनन गराउने, स्वस्थ्य सेवा तथा अन्य पशुपालनजन्य व्यवस्थापकीय कार्यमा उल्लेखनीय प्रत्यक्ष योगदान पु-याउने गर्दछन् । पशुपालन तथा यस क्षेत्रको विकासमा महिलाको संलग्नता विश्वव्यापीरूपमा लामो परम्परादेखि रहिआएको मानिन्छ । महिलाहरू पशुपालनमा सधनरूपमा संलग्न हुने हुँदा यस क्षेत्रले महिलाको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भुमिका खेल्दछ ।

ग्रामीण क्षेत्रमा महिलाहरू पशुपालनका विभिन्न कार्यमा बिहानदेखि साँझसम्म अनवरतरूपमा संलग्न हुने गर्दछन् । यिनीहरूले पशुहरूको हेरचाहमा घरका पुरुष तथा केटाकेटीसँग जिम्मेवारी बाँटफाँड गर्दछन् । पशुपालनका केही खास काममा पुरुषभन्दा महिलाको संलग्नता बढी हुने गर्दछ । खासगरी महिलाहरू, कुखुरा पालन, बंगुर पालन, बाख्रापालन, दुधालुपालन तथा घरभित्र बाँधेर पालेका जनावरको हेरचाहमा बढी संलग्न हुने गर्दछन् । जब पशुपालन क्षेत्रको परिवारका सदस्यबीच कामको बाँडफाँड हुन्छ । पुरुषको भागमा पशुको गोठ निर्माण गर्ने, चरणमा पशु चराउन लैजान तथा महिलाहरू शारीरिक प्राकृतिक अवस्थामा बाहिर हिँडडुल गर्न नसक्ने अवस्थामा पशुजन्य पदार्थको बजारमा बिक्री गर्नेजस्ता काम पर्दछ ।

दुध, फुल, जिउँदो कुखुराको बिक्री वितरण गर्ने काममा महिलाको दह्रो दख्खल हुने गर्दछ । यो अवस्था सामाजिक परिवेश तथा भौगोलिक अवस्थाअनुसार तलमाथि हुन सक्छ । तर, प्रायजसो पुरुषहरू ठूला पशु गाई, भैँसी, घोडा, खच्चड, ऊँटजस्ताको बिक्री वितरणमा संलग्न हुन्छन् भने, भेडा, बाख्रा, बंगुर, कुखुरा, खरायोजस्ता साना जनावरको बिक्री वितरण तथा आर्थिक कारोबारमा भने महिलाको अधिपत्य बढी हुने गर्दछ ।

जुन सामाजिक परिवेशमा भू–स्वामित्वमा पुरुषको एकाधिकार हुन्छ । त्यस्ता समुदायमा पशुधन व्यवसाय महिलाको लागि आकर्षक पेशा मानिन्छ । जुन हाम्रो आफ्नो परिवेशमा पेवाको रूपमा परम्परादेखि प्रचलनमा छ । पशुपालनबाट प्राप्त हुने आयआर्जनमा महिलाको पूर्ण एकाधिकार स्थापित रहेको हुन्छ ।

यद्यपि स–साना इकाइमा गरिएको पशुपालन तथा व्यावसायिक पशुपालन क्षेत्र तथा पशुपन्छीजन्य उत्पादनको व्यापारिक बिक्री वितरणमा महिलाको सहभागिता प्रत्यक्षरूपमा हाम्रो आफ्नो परिवेशमा कमै अभिलेखीकरण गरिएको पाइन्छ । यद्यपि पशुपालन व्यवसायमा महिलाको यथेष्ट सहभागिता हुँदाहुँदै पनि तिनको योगदानको न्यून मूल्याङ्कन गरिएको स्थिति छ ।

अब गरिबी निवारण तथा महिला सशक्तीकरणमा पशुपालनको भूमिकाको महत्व स्थापित गर्ने बेला आएको छ । आर्थिकरूपमा सशक्तीकृत महिला नै समतामूलक समाजका प्रतीक अनि आधार हुन् भन्ने बेला आएको छ । कृषि क्षेत्रमा पशुपालनका लागि महिलाको सकृय सहभागिताको लागि उनीहरूलाई महिलाकै हैसियतमा भू–स्वामित्वको पहुँच, वित्तीय स्रोतसम्मको पहुँच एवं पशुपालनका नवीन प्रविधि एवं बजार व्यवस्थापनका सीपमूलक अध्ययन, तालिमको नीतिगतरूपमा व्यवस्था गरिनुपर्ने अपरिहार्य देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया