Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग‘नेपाल भ्रमण वर्ष २०२०’ र ‘होमस्टे’

‘नेपाल भ्रमण वर्ष २०२०’ र ‘होमस्टे’


लक्ष्मण सिटौला
१९७७ मा अमेरिकी रास्ट्रपति जिमी कार्टरले एउटा संस्था खोलेका थिए । त्यसको नाम थियो ‘फ्रेन्डशिप फोर्स इन्टरनेसनल’ । त्यसको उद्देश्य थियो, आन्तरिक सांस्कृतिक सम्बन्ध स्थापना गरी देशभित्र रहेका र विविध संस्कृतिमा बाँचिरहेका मानिसबीच सहसम्बन्ध स्थापित गराउनु । यसको लागि मुख्य उपाय भनेको आन्तरिक पर्यटन र होमस्टे नै थियो । कल्चरल डिप्लोमेसी (सांस्कृतिक रणनीति) र कल्चरल रिलेसन (सांस्कृतिक सहसम्बन्ध) एउटा यस्तो माध्यम हो, जसको सहयोगबाट राज्यलाई एकताको सुत्रमा समेत बाध्न सकिन्छ ।

इतिहासमा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायणले पनि कल्चरल डिप्लोमेसीको भरपुर उपयोग गरेका थिए । दुई सस्कारको मिलनबिन्दु, दुई रीति र संस्कृतिको पहिचानले गर्दा नै राज्यभित्र रहेको सांस्कृतिक विविधताको बारेमा थाहा हुन्छ । जिमी कार्टरको यो मिसनले गर्दा नै इतिहासमा होमस्टेको अवधारणा जन्मियो । होमस्टेको माध्यमबाट राज्यभित्र रहेका दुई फरक संस्कृतिबीच अनुघुलन हुन्छ । आज विश्वभरि जातीय पहिचानको कुरा उठिरहेको बेला पर्यटन प्रवर्द्धनका माध्यमबाट पनि आ आफ्नो सांस्कृतिक पहिचानको किरण सन्सारभर छर्न सकिन्छ ।

पश्चिमी देशहरूमा इस्वी सम्वत १९९२, १९९४, २००४ र २००८ मा टुरिज्मसम्बन्धी धेरै कामहरू भएका छन् । पर्यटकहरूले अनलाइन र इन्टरनेटका माध्यमबाट आफूले घुमेका देश र स्थानका बारेमा प्रशस्त बयान गर्न थाले । यसबाट पनि ती देश र स्थानका बारेमा प्रचारप्रसार हुँदै गयो । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चढेपछि मात्रै हाम्रो देश र हाम्रा हिमालहरूको प्रशस्त प्रचारप्रसार भयो र नेपाललाई विश्वले चिन्न थाले । हाम्रो देशका बारेमा हामी आफैँले केही भन्न सकेका रहेनछौँ जति नेपाल घुम्न आउने विदेशीहरूले भने । नेपालका बारेमा हाम्रा कुराहरू अनलाइनका माध्यमबाट धेरैलाई थाहा हुँदै गयो ।

अहिले विश्वका मानिसहरू सहर होइन गाउँ घुम्न चाहन्छन् । सबैलाई सहर वाक्क लाग्न थालेको छ । मानिस स्वभावले नै शान्ति र आरामसँग प्रकृतिको नजिक रहेर बाँच्न चाहन्छ । त्यसैले पनि ऊ सिमेन्टको जंगल होइन हिमाल, पहाड, नदिनाला, तालतलैया, सिमसार र ग्रामीण जीवनमा बाँचेका मानिसहरूको एक रहस्यमय जिन्दगीका बारेमा बुझ्न चाहन्छ । होमस्टे एउटा त्यस्तो माध्यम बन्दै छ कि यसले तपाईंलाई प्रकृति र सामाजिक ग्राम्य जिन्दगीको बारेमा अनुघुलित हुन सिकाउँछ । ‘होमस्टे’ अङ्ग्रेजी नाम हो यसलाई नेपालीकरण गर्दा ‘घर बास’ भन्ने शब्द प्रयोग गर्न सकिन्छ तर होमस्टे शब्द नै बढी प्रचलित भैसकेको छ।

‘नेपाल भ्रमण वर्ष २०२०’का लागि नेपाल सरकारले गर्नुपर्ने आन्तरिक गृहकार्य के–के भएको छ र के हुँदै छ, त्यसका बारेमा जनचासो बढिरहेको छ । हामी नेपाली आफुलाई प्राकृतिकरूपमा सम्पन्नशाली भन्छौँ । तर, उभिरहेको सगरमाथा र सुतिरहेको तराई हेर्न मात्रै कोही आउँदैनन् । अब लुम्बिनी र सगरमाथाको मात्रै विज्ञापनले विदेशीलाई आकर्षण गर्न सकिन्न । विदेशीहरू केही फरक चाहन्छन् । उनीहरूको बसाइलाई लम्ब्याउन सहर केन्द्रित देवी/देउताको मन्दिर मात्रै पर्याप्त छैन । अब विदेशी पाहुनालाई सहरमा होइन गाउँमा पठाउनु पर्छ । अब सहरको होइन गाउँको विज्ञापन गर्नुपर्छ । गाउँ नै नेपाल हो भन्ने कुरा बुझाउन सक्नुपर्छ । गाउँ भन्नासाथ होमस्टेको कुरा आइरहेको छ ।

आजकल नेपाल घुम्न आउने पर्यटकहरू सोल्टी र अन्नपूर्णको सुविधाजन्य कोठामा होइन, गाउँलेले बनाएको खरको छानोमा रात बिताउन चाहन्छन् । गाउँलेको भान्सामा जे–जे पाक्यो त्यही खान चाहन्छन् । गाउँलेको जीवन संस्कृति हेर्न चाहन्छन् । सहरको डिस्कोथेमा होइन हाम्रा आँगनमा नाच्न चाहन्छन् । पर्यटकको रोजाइ अब ठमेल होइन, हिमालयवरपरका पहाडी धरातलमा उभिएका घर, गोठ, आँगन पर्न थालेका छन् । त्यही बसाइ नै होमस्टे हो । यही नै होमस्टेको परिभाषा हो । सिमेन्टको आलिसान भवन निर्माण गरी सहर केन्द्रित पाँचतारे होटेलको फजुल संख्या बढाउनेतर्फ सरकारले ध्यान दिएको देखियो ।

अबका पर्यटकलाई गाउँ जान प्रेरित गर्नुपर्छ राज्यले किनकि गाउँमा बेरोजगारीको संख्या अत्यधिक छ । गाउँका युवाहरूलाई खाडी मुलुक जानबाट रोक्नका लागि ग्रामीण पर्यटन र होमस्टे सञ्चालनमा सरकारले ध्यान दिनु जरुरी छ । भिजिट नेपालको आकर्षण नै ग्रामीण पर्यटन भयो भने अवश्य पनि विदेशी पाहुनाहरूले केही नयाँ अनुभूति गर्नेछन् । पर्यटकलाई पशुपति र स्वयम्भू मात्रै देखाएर काठमाडौ ठमेलको गल्लीमा मात्रै अल्मलाउनु अब गाह्रो छ र यो कुरा अब पुरानो भैसकेको छ । नेपाल घुम्न आउने प्रायः विदेशीहरू आर्थिकरूपमा त्यति धेरै सम्पन्न हुँदैनन् । उनीहरू थोरै पैसामा धेरै अवलोकन गर्न चाहन्छन । धेरै दिन नेपाल बस्न चाहन्छन् । पर्यटकको बसाइ लम्ब्याउने हो भने ग्रामीण पर्यटन र गाउँका होमस्टेहरूमा उनीहरूलाई बस्ने प्रबन्ध मिलाउनु आवश्यक भैसकेको छ ।

अहिले नेपाल घुम्न आउने प्रायः विदेशीहरू यहाँको सामाजिक, आर्थिक र राजनैतिक गतिविधि अध्ययन गरेर मात्रै आउँछन् र पो ठमेलमा एउटा पित्तलको बाला किन्दा आधा घन्टा मोलमोलाइ गर्छन् । कहाँ सस्तो खाना खान पाइन्छ भनेर असन, इन्द्रचोक र सोहखु्रट्टेको गल्ली चाहार्दै हिँड्छन् । थोरै पैसामा धेरै सुविधा खोज्ने खालका विदेशी पर्यटक नेपाल घुम्न आउने हुनाले ग्रामीण पर्यटन र होमस्टे स्थापनाका लागि सरकारले अनुदान र उत्प्रेरणाको भूमिका निभाउनु जरुरी छ । अहिले मिलेसम्म पर्यटकहरू काठमाडौँको बसाइलाई छोटो पार्न चाहन्छन् ।

सिधै भन्नुपर्दा पर्यटकका लागि काठमान्डु ट्रान्जिट प्वाइन्ट मात्रै हो । यो अवस्थामा हामीले ग्रामीण पर्यटन र होमस्टे सञ्चालनका आधार खडा गर्नु जरुरी छ । निजीस्तरबाट सञ्चालनमा आएका होमस्टे, रिसोर्ट र ग्रामीण इलाकामा खोलिएका होटेलहरूलाई सहुलियत ऋण र करमा समेत छुट दिएर उनीहरूको व्यापारिक मनोबललाई राज्यले उठाउनु जरुरी भैसकेको छ । अहिले होमस्टे पनि दुई भागमा बाँडिएको छ ।
१. निजी होमस्टे (व्यक्तिगत लगानीमा खोलिएका)
२. सामुदायिक होमस्टे (समूहको लगानीमा खोलिएका)
निजीभन्दा पनि साझेदारीमा खोलिएका ग्रामीण होमस्टेहरू मौलाउन थालेका छन् । उनीहरूलाई आन्तरिक पर्यटकबाट पनि प्रशस्त आम्दानी भैरहेको छ । नेपालीहरू पनि अब देश÷विदेश घुम्न मनपराउन थालेका छन् । आफ्नो आम्दानीको निश्चित रकम घुम्न र मनोरञ्जनका लागि छुट्याउन थाल्नुले पनि नेपालको आन्तरिक पर्यटन पहिलेको भन्दा अहिले मौलाउन थालेको छ ।

नेपालीहरूको आयस्रोत र प्रतिशतका आधारमा वार्षिक आम्दानी पनि हजार डलरभन्दा माथि पुगिसकेको छ । यसकारण पनि ग्रामीण पर्यटन बिस्तारै मौलाउम्दै गएको छ । अबको केही वर्षपछि नेपाली आफैँले आफ्नो आन्तरिक पर्यटन व्यापार एक्लैले धान्नेछ । निजी तवरले खोलिएका अधिकांश होमस्टे सञ्चालकहरू अहिले खाली बस्नु परेको छैन । शुक्रबार र शनिबारको आम्दानीले मात्रै पनि महिनाभरको खर्च धान्न सकिने कुरा उहाँहरू बताउनु हुन्छ ।

गाउँलेसँग रमाइलो गर्ने, उहाँहरूले पकाएर दिएको खाने । स्थानीय संस्कृतिसँग परिचित हुने, गाउँका खेतबारीमा फलेका फुलेका अर्गानिक खाना खाने र संस्कृति आदानप्रदान गर्ने कुरा होमस्टेसँग सम्बन्धित छ । होमस्टे भन्नासाथ नै गाउँसँग सम्बन्धित ग्रामीण पर्यटन बुझिन्छ । अहिले सामुदायिक होमस्टेलाई अझै राम्रो व्यवसायका रूपमा लिइन्छ । किनभने यसमा समूहको लगानी हुन्छ । व्यवस्थापन पनि राम्रो हुने र आएका सबै पाहुनालाई समेत राम्रो केयर पुग्ने हुन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया