Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रदूषणमुक्त पशुपति क्षेत्र आजको आवश्यकता

प्रदूषणमुक्त पशुपति क्षेत्र आजको आवश्यकता


डा. माधव अधिकारी
नेपालको कुनाकाप्चामा रहेका मठमन्दिरहरुको सुरक्षाको प्रश्न मात्र होइन, हिन्दूहरुको आस्थाको प्रतीक श्रीपशुपतिनाथ वरिपरि पनि फोहोरमैलाको चाप बढ्दो छ । पशुपति क्षेत्र विकास कोषको स्थापना र कोषले आफ्ना तर्फवाट आजसम्म जे–जस्ता सफाइसम्बन्धी प्रयासहरु हुँदै छन्, ती पर्याप्त नभएको तथ्यले बताउँछ । । यसको मूल कारणमा उक्त क्षेत्रमा आगमन हुने पर्यटक, धर्मावलम्बी, साधुमहन्त तथा स्थानीय बासिन्दाहरुमा जनचेतना एवं नैतिक जिम्मेवारीको अभाव र स्वयं पशुपति क्षेत्रमा सबैभन्दा बढी भीडभाड महाशिवरात्रि, हरितालिका तीज, बाला चतुर्दशी, सोमबार, बिहीबार र शनिबार तथा अन्य पर्वहरुमा भक्तजनहरुको विशेष घुइँचो रहेको हुन्छ ।

परम्पराअनुसार अन्तिम संस्कार यस क्षेत्रमा नै हुन्छ । सो कार्यमा विभिन्न किसिमको फोहोर मैला अव्यवस्थित निष्काशन गरिन्छ । साथै यस पवित्र क्षेत्रमा पूजाआजापछि छरिन जाने टपरी, फूलमाला तथा पोलिथिन झोला आदिको फोहोरलाई नियमित उचित तरिकाबाट हटाउने र तिनलाई उपयुक्त प्रविधिबाट तह लगाउने व्यवस्था हुन नसक्दा पवित्र मन्दिर साथै वागमती नदीवरिपरिको वातावरण अपवित्र मात्र होइन, त्यसबाट दर्शनार्थीहरु—पर्यटकहरुमा समेत प्रतिकूल असर पर्न गएको छ । अतः त्यस क्षेत्रमा उपयुक्त सरसफाइ व्यवस्था गर्न आवश्यक छ ।

यस्तो अवस्था सिर्जना हुनुको कारण, अक्षम प्रविधि, जनसहभागिताको कमी, जनताको न्यून आर्थिक स्थिति, विज्ञलाई पाखा, पुरानै स्वार्थमा पूर्ण कार्य, व्यवसायमूलक शिक्षाको अभाव, दीर्घकालीन योजनाको अभाव, संस्थागत विकासको अभाव, उपकरणको सही प्रयोग नहुनु, तथ्यांक अनुगमन र अध्ययनको अभाव, स्थानीय निकाय विच समन्वयको अभाव, उचित पुरस्कार र दण्डको ब्यवस्था नहुनु, वातावरण सुधार्न प्रतिबद्धता र प्राथमिक निर्धारण अझै नभएको, फोहोरमैलालाई स्रोतको रुपमा परिचालन गर्ने दृष्टि नभइसकेको, जिम्मेवारी तथा अनुशासनको कमी भएको देखिन्छ ।

पशुपतिक्षेत्रमा सरसफाइको स्थायी र प्रभावकारी व्यवस्था, पर्यटक, तीर्थयात्री र स्थानीय बासिन्दाहरुको आवश्यकताअनुरुप स्वास्थ्य सुविधा, उपलब्ध गराइएका सरसफाइ र स्वास्थ्य सुविधामा जुन सहयोग जुटाई निरन्तरता, संकलित क्षेत्रको सरसफाइमा सम्बन्धित वडा नपाको जनशक्ति र साधनको उचित परिचालन, संकलित फोहोरमैला बायोग्यास र कृषियोग्य मल तयार पार्ने, धार्मिक आस्थावान् महानुभावहरुलाई सरसफाइ गर्न मौका प्रदान गर्ने, पशुपति क्षेत्र विकास कोष, गुठी संस्थान र नपाले साझेदारी पूर्ण सरसफाइ कार्यक्रम, गैरसरकारी संघ÷संस्था आदिलाई अनुदान रकम दिई सरसफाइ सेवा पूर्ण उत्तरदायी वहन गर्न सक्षम तुल्याउने जस्ता प्रक्रिया अपनाउन सकिन्छ ।

विश्वरुप मन्दिर, मृगस्थली, रामघाट, पन्ध्र शिवालय पर्यटक, आर्यघाट, राजराजेश्वरीघाट, सूर्यघाट, शान्तितीर्थघाट, कैलाश, गौशाला चोकदेखि भुवनेश्वर हुँदै पशुपतिनाथको पश्चिम ढोका, पञ्चदेवल र वरपरका क्षेत्र वनकाली, ओरालोदेखि वन गणेश हुँदै भकुण्डो टोल, कारपार्क, चार शिवालय, भुवनेश्रीदेखि आर्यघाट, उमा कुण्ड मित्रपार्क, ओरालोदेखि गुह्येश्वरी, किराँतेश्वर, इटपाखा, जयवागेश्वरी क्षेत्र, भण्डारखाल देवउद्यान, तिलगङ्गा, वागमती, रामघाट र रामन्दिर क्षेत्रमा पनि सरसफाइको उपयुक्त व्यवस्था गर्न, तिनको नियमित सरसफाइबाट जम्मा हुने फोहोरमैला व्यवस्थापन प्रक्रिया, बायोग्यास उत्पादन, शौचालय आदिको समुचित प्रबन्ध र सञ्चालनमा महानगरपालिका (स्थानीय), सम्बन्धित गुठी, स्थानीय जनता, राजनीतिक पार्टी, स्वयंसेवक, प्रहरी, पुजारी, महन्त, व्यापारी—चन्दा दाता पशुपति क्षेत्र विकास कोष र निजी तथा गैरसरकारी संस्था विद्यालयहरुको सक्रिय सहयोग आवश्यक पर्दछ ।

पशुपति क्षेत्रमा र सडक क्षेत्रमा फोहोरमैलामा खानेकुरा रहने हुनाले छाडा कुकुर, गाई, साँढे, बाँदर आदिले उक्त खानेकुरालाई छरी फोहोर गर्ने भएकोले त्यसको उचित व्यवस्था गर्नुपर्दछ । २–३ घण्टाभित्र नै सो फोहोर उठाएर आन्तरिक निष्काशन स्थलतिर लैजाने प्रबन्ध हुनुपर्दछ । पशुपति क्षेत्रका व्यावसायिक बासिन्दाहरु, भक्तजनहरु, दर्शनार्थीहरु, पर्यटकहरु र माग्नेहरुलाई समेत उचित ठाउँमा फोहोरमैला जम्मा गर्नुपर्ने धारणाको विकास गर्नुपर्नेछ । फोहोरमैला वर्गीकरणअनुसार भाडा राख्ने व्यवस्था राख्नुपर्दछ । पशुपति क्षेत्रमा फोहोरमैलाको प्रकृतिलाई हेर्दा झण्डै तीन चौथाइ फोहोर कम्पोस्टिङ्ग सकिने र एक चौथाइ कम्पोष्ट गर्न नसकिने देखिन्छ । कम्पोस्टिङ्ग गर्दा पशुपति क्षेत्रको प्रााविधिक रुपले उपयुक्त स्थानमा प्रयोग गरी बोटबिरुवालाई त्यही मल प्रयोग गर्न सकिन्छ ।

कम्पोस्टिङबाट बायोग्यास समेत निकाल्न सकिने र बाँकी कम्पोष्ट नहुने फोहोरमैला थप आयआर्जनको स्रोतको रुपमा बेचबिखन गर्न सकिन्छ । अतः दीर्घकालीन फोहोरमैला समस्या समाधानका लागि पशुपति क्षेत्रभित्रै श्लेषमान्तक वनमा धार्मिक फोहोरमैलाको अन्तिम निष्काशनसम्म गर्न सकिन्छ । यसबाट पशुपति क्षेत्र विकास कोषलाई थप आयआर्जन हुनुको साथै धार्मिक आस्था समेत बची पशुपति क्षेत्रकै फोहोरमैलाको अन्तिम समस्या समेत समाधान हुनेछ । पशुपति क्षेत्रका बासिन्दा, भक्तजन, तीर्थयात्री प्रत्येकले सरसफाइसँगै सार्वजनिक शौचालय समेत अभाव भएको परिप्रेक्ष्यमा भएको शौचालयबाट पनि प्रतिव्यति दुईदेखि पाँचसम्म शुल्क लिइने कारणले गर्दा थप समस्या आएको छ । अतः शौचालयको मर्मत सुधार, निःशुल्क शौचालयको व्यवस्था गर्ने र केही शौचालयहरु आवश्यकताअनुसार थप गर्नुपर्ने देखिन्छ ।

पशुपति क्षेत्र अझै पनि वातावरण प्रदूषणमुक्त छैन । यस क्षेत्रमा कामै नभएको भने होइन । त्यसैले पशुपति क्षेत्रलाई प्रदूषण तथा फोहोरमैलाबाट मुक्त गराउन नागरिक चेतना फैलाउने, राजनैतिक स्वार्थ त्याग्ने, योग्य तथा दक्ष जनशक्तिको व्यवस्थापन, वातावरणसम्बन्धी काम गर्ने कर्मचारी संघ/संस्थाको स्पष्ट व्यवस्था हुने गरी कानुन बनाउने, उचित तालिमको व्यवस्थापन, सही तथ्यांक राख्ने, फोहोर घटाउने, मानव स्रोत र साधनको विकास, पशुपति क्षेत्र विकास कोषले दीर्घकालीन फोहोरमैलासम्बन्धी योजना बनाउने स्रोत र साधनको प्रभावकारी प्रयोग, फोहोरमैला व्यवस्थासम्बन्धी साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लानुपर्दछ । साथै पशुपति क्षेत्रभित्रको अन्य मठमन्दिर, देवल स्वच्छ, वातावरण, स्वस्थ तथा गुणस्तरीय जीवन आजको आवश्यकता हो भन्ने कुराको विकास गर्नुपर्दछ । यो नै नेपाल र सबै नेपालीको नैतिक जिम्मेवारी एवम् समयको माग हो ।

फोहोरमैला व्यवस्थापन संस्थागत गर्नुपर्ने हुन्छ । साथै यससम्बन्धी महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, गुठी संस्थानले प्राथमिकता साथ दर्शनार्थीहरुको जनचेतना, साझेदारी आदि कार्यक्रम गर्नुपर्ने आवश्यक छ । पशुपति क्षेत्रमा अनियोजित क्रियाकलाप रोकी आवश्यक वातावरण सुधारका कार्यक्रम अवलम्बन गर्नुपर्ने साथै पशुपति क्षेत्रजस्तो धार्मिक स्थानमा प्राङ्गारिक मलको उत्पादन गरी सरसफाइ सेवा प्रभावकारी बनाउन सम्बन्धित महान पा., पशुपति क्षेत्र विकास कोष, गुठी, पर्यटक, दर्शनार्थी, स्थानीय बासिन्दा, विद्यार्थीहरु, क्लब, संघ/संस्था र भजनमण्डली समेतको सक्रिय सहयोग र सहभागितामा नै निर्भर गर्दछ । यसको लागि सबैभन्दा पहिलो सफाइको निश्चित दूरगामी र प्रभावकारी योजना तर्जुमामा ध्यान दिनुपर्ने देखिन्छ ।

अर्काेतिर स्थानीय बासिन्दा र भक्तजनहरुलाई निश्चित योजनाअनुरुप सुसूचित र उत्प्रेरित गर्नुपर्ने आवश्यकता हुन्छ । यसरी गरिने व्यवस्थाको प्रभावकारिताको लागि आर्थिक स्रोतको व्यवस्था पर्ने हुँदा पशुपति क्षेत्र विकास कोष काठमाडौँ महानगरपालिकाले योजना कार्यान्वयको सुरुदेखि नै आर्थिक स्रोतको व्यवस्था मिलाई स्रोत परिचालन गर्नुपर्दछ । पशुपति क्षेत्रमा प्रवेश गर्ने समस्त भक्तजन पर्यटक आदिको सुविधा र यस क्षेत्रको स्वास्थ्य वातावरणका लागि गरिने व्यवस्थापनको सफलता पूर्णतः उल्लिखित समुदायहरुमा नै निर्भर रहने हुँदा एकातिर यस समूहमा व्यापक प्रचारप्रसार गरी सक्रिय जनसहभागिता जुटाउने प्रयत्न गरिनुपर्दछ भने निश्चित नियमको उल्लङ्घन गर्नेलाई तत्काल दण्ड जरिवानाको व्यवस्था गर्न पनि आवश्यकता देखिन्छ ।

यसका लागि पशुपति क्षेत्रका सम्पूर्ण घर, पसल, पर्यटक र दर्शनार्थी आदिले निष्काशित फोहोरमैला अनिवार्य रुपमा नै तोकिएको उचित स्थानमा निष्काशन गर्न, आ-आफ्नो घर वा पसल वरिपरि प्रत्येक घरधनीले नियमित सरसफाइको व्यवस्था गर्नुपर्ने, कसैबाट कुनै पनि प्रकारको फोहोरमैला फ्याँक्न नपाउने सडक वा कुनै पनि सार्वजनिक स्थानमा फोहोर गर्न र निर्माणसम्बन्धी सामग्री थुपार्न नपाइने, पशुपति क्षेत्रमा विज्ञापन सामग्री, पोष्टर वा प्रचार तोकिएको थानबाहेक टाँस्न नपाइने, दाहसंस्कारपछि निस्किने खरानी, दाउरा तथा अन्य फोहोरलाई उचित व्यवस्थापन गरिनुपर्ने, माथि उल्लेख गरिएका नियमहरु उल्लंघन गर्नेमाथि तुरुन्त कारबाही चलाउन र अपराधको प्रकृति हेरी दण्ड जरिवानाको हद तोक्ने व्यवस्था पशुपति क्षेत्र विकास कोष र सम्बन्धित महानगरले मिलाउने र साधारण फोहोरमैलाको संकलनको उद्देश्यले फोहोर फाल्न राखेका भाँडामा फोहोरबाहेक अन्य कुनै पनि कानुनविपरीत पदार्थहरु राख्न नपाइने गरिनुपर्दछ । यसरी प्रभावकारी सरसफाइका लागि समुचित प्रचार—प्रसार र दण्ड जरिवाना समेतको व्यवस्था गरेर प्रभावकारी रुपमा योजना कार्यान्वयन गरी पशुपति क्षेत्रलाई प्रदूषणमुक्त बनाउनु आजको आवश्यकता हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया