Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगघरेलु रक्सीको ब्रान्डिङ

घरेलु रक्सीको ब्रान्डिङ


कृष्ण अधिकारी
नेपालीका घर आँगनमा महान् चाड दशैं, तिहारलगायतका पर्वहरु भित्रिँदै छन् । परिवारका सदस्य, साथीभाइ जम्मा हुने, घुमफिर गर्ने, मीठो खाने र रमाउने पर्वहरु यसपटक कोरोनाको संक्रमणको भयका कारण विगतजस्तो छैन । सरकारले पनि घरमै बसी पर्व मनाउन भनेको छ । जो जहाँ भए पनि परिवारका सदस्य, नजिकका साथीभाइ र आफन्त भेला भएर मनोरञ्जन र हर्षोल्लासपूर्वक पर्व मनाउनुपर्दछ ।

केही वर्षयता यस्ता पर्वहरुमा तास खेल्ने, रक्सी खाने परिपाटी बढेर गएको छ । विदेशी ब्राण्डका महंगा रक्सीहरु यस्ता पर्वहरुमा निकै खपत हुने गर्दछ । चाडपर्व, पार्टी, सभा सम्मेलन जहाँ पनि रक्सी अनिवार्यजस्तै बनेको छ । तर यस्ता अवसरहरुमा सेवन गरिने रक्सी स्वदेशी नभएर विदेशी ब्राण्डका हुने गर्दछन् र यसलाई मानिसहरुले आफ्नो प्रतिष्ठासँग दाँज्ने गरेको पाइन्छ ।

विश्वका कतिपय देशहरुले विदेशी रक्सीलाई प्रतिबन्ध गरी आफ्नै देशमा निर्मित रकसीको प्रवद्र्धन गरेका छन् । नेपालमा भने वर्षेनी अर्बौं रुपैयाँको रक्सी आयात हुने गर्दछ । स्वदेशमै उत्पादित रक्सीलाई निषेध गरी विदेशी रक्सीलाई प्रश्रय दिनेमा ठूला व्यापारी र उद्योगीहरुको राम्रै चलखेल रहेको पाइन्छ । विदेशी रक्सीको प्रयोग बढेदै जाँदा राष्ट्रिय अर्थतन्त्रलाई कमजोर बनाउने काम भएको छ ।

हामी राष्ट्रियताबारे ठूला कुरा गर्छौँ तर गाउँघरका दिदीबहिनीहरुले तयार गरेको रक्सी सडकमा पोखेर विदेशी रक्सीमा रमाइरहेका छौँ । आफ्नै गाउँघरमा विभिन्न जडीबुटी राखेर उत्पादन गरिएको लोकल रक्सीको सेवनले भने शरीरलाई फाइदा नै पुग्दछ भने स्वदेशी अर्थतन्त्रलाई टेवा पुग्दछ । रक्सी सेवन गर्नु आर्थिक, सामाजिक र स्वास्थ्यको हिसाबले त्यति फाइदाजनक नमानिए पनि विश्वव्यापीरुपमै यसलाई एउटा महत्वपूर्ण पेय पदार्थको रुपमा लिने गरिन्छ । यसको उचित सेवनले हानि गर्दैन भन्ने स्वयं चिकित्सकहरुको तर्क छ । बजारमा पाइने न्यूनस्तरका रक्सीहरुले भने नराम्रो असर गर्दछ ।

रक्सीलाई विश्वकै ५० मीठो पेयपदार्थको सूचीमा सूचीकृत गरिएको छ । अमेरिकी सञ्चार एजेन्सी सीएनएनले ८ मे २०१८ मा प्रकाशित ट्राभल जर्नलमा ‘वल्ड्र्स फिप्टी मोस्ट डेलिसियस ड्रिंक्स’ शीर्षकमा संसारका ५० मीठो पेय पदार्थको सूचीमा रक्सीलाई पनि समावेश गरेको छ । यस जर्नलमा नेपाली रक्सी ४१औँ नम्बरमा परेको छ भने नेपालमा उत्पादन गरिने कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले तुरुन्तै थाहा पाउने र यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि आनन्द दिन्छ भनेर उल्लेख गरिएको छ ।

रक्सी नेपाली संस्कार र संस्कृतिसँग पुस्तौँदेखि जोडिँदै आएको छ । नेपालको कतिपय जाति समुदायमा पूजाआजा, संस्कार, संस्कृति र चाडपर्वको नाममा मदिराको प्रयोगलाई अनिवार्य गरिएको छ । कतिपय समुदायहरूमा बच्चा जन्मदेखि मृत्यु संस्कारसम्मका विभिन्न धार्मिक तथा सांस्कृतिक अवसरहरुमा रक्सी चढाउने, पिउने परम्परा रहेको पाइन्छ ।

नेपालको हिमाली भेगमा बस्नेहरु चिसोबाट जोगिन तथा पहाडमा जाडो भगाउन घरवुना रक्सी पिउँछन् । पहाडमा उकालो र ओरालो गर्दा प्यास मेट्न साथै तराईमा परिश्रम गरेर थकाइ मारिरहँदाको अवस्थामा गलेको शरीरलाई आराम दिन मदिरा सेवन गर्ने चलन रही आएको छ । चाडपर्वमा चिल्लो र गुलियो बढी मात्रामा खाने हुँदा त्यसको असरलाई काट्न पनि जाँडरक्सी पिउनुपर्दछ भन्ने मान्यता छ ।

यसरी रक्सी नेपाली जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदाहुँदै पनि यससम्बन्धी सामाजिक दृष्टिकोणले नराम्रो र कानुनी हिसाबले दण्डनीय गरेका कारण घरेलु रक्सीप्रति गलत मान्यताको विकास गराइएको छ । विश्वमै नेपाली पहिचान बनाउन सफल कोदोको अर्गानिक लोकल रक्सीलाई देशभित्रै उत्पादन, बिक्रीवितरण र सेवन गर्नु गैरकानुनी मानिएको छ ।

जबकि विदेशी रक्सी खुलमखुला आयात, बिक्री वितरण गर्न पाइन्छ । आफ्नै गाउँघरमा बनाइएका अर्गानिक रक्सी पोखेर रसायन हालेका महँगा विदेशी रक्सीमा रमाउने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ । हाम्रा गाउँघरका दिदीबहिनीहरुले उत्पादन गरेका रक्सीलाई पोखेर फाल्ने प्रहरी प्रशासनलाई विदेशी रक्सीको आयातले मुलुक कसरी खोक्रिँदै छ भन्ने चेतना दिनुपर्ने भएको छ । घरबुना रक्सी बनाएर बिक्री गरेको आम्दानीले ती महिलाले घरखर्च, छोराछोरीको पढाइ र उपचार खर्च जुटाउनुपर्ने हुन्छ । कि त तिनलाई रोजगारीको अर्को विकल्प दिनसक्नुप-यो, होइन भने उनको आम्दानीको बाटो बन्द गर्ने अधिकार राज्यलाई छैन ।

सर्वोच्च अदालतले वर्षको छ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न रोक नलगाउनू भनी फैसला गरेको छ । अनुमतिविनाको मदिरा उत्पादन रोक्न माग राखी दायर रिट–निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले ‘चाडबाड, रीतिरिवाज र संस्कृति’का लागि भन्दै मात्रा तोकेको हो ।

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गत माघ ५ मै गरेको फैसलाको असोज दोस्रो साता सार्वजनिक पूर्णपाठमा एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिनू भन्ने उल्लेख छ । यसले एक हदसम्म घरेलु रक्सीलाई केही व्यवस्थित गर्न खोजेको देखिन्छ तर तोकिएको परिणाममा मात्र उत्पादन गर्नुपर्ने प्रावधानले भने व्यावसायिक रुपमा बिक्रीवितरण गरी आयआर्जन गर्न पाउने अधिकार कुण्ठित भएको छ ।

नेपाली घरबुना रक्सी नेपाल भ्रमणमा आउने पर्यटकको एउटा मुख्य रोजाइको विषय हो । नेपाल भ्रमणमा आउँदा उनीहरु यही बनेको रक्सी पिउन चान्छन्, न कि उनीहरुकै देशबाट ल्याइएका रक्सी । हाम्रा गाउँघरमा निर्माण गरिएका होमस्टेहरुमा पर्यटनहरु बस्न रुचाउनुको एउटा कारण त्यहाँ उनीहरुले निर्धक्क कोदोको रक्सी पिउन पाउँछन् । त्यसैले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसक्ने, आफ्नो चिजलाई महत्व नदिने, बेचबिखन गरेर पैसा कमाउन नसक्ने तर विदेशी उत्पादनलाई प्राथमिकता दिने र स्वदेशी पैसा विदेश पठाउँदा बेवास्ता गर्ने प्रवृत्तिमा परिवर्तन हुन आवश्यक छ ।

अब लोकल रक्सीलाई ब्यान्ड होइन, ब्रान्ड बनाउने अभियान सुरु गर्न आवश्यक छ । लोकल रक्सीको प्याटेन्ट राइट लिन अब ढिला गर्नुहुँदैन । भोलि कुनै देशले त्यस्तो अधिकार लियो भने हामी हेरेको हेरै हुनेछौं । नेपालमा वार्षिक दुई खर्बभन्दा बढी रक्सीको आयातमा विदशिने गरेको छ । त्यति पैसाबाट यहीँ नै स्वदेशी रक्सीलाई प्रशोधन गर्ने र राम्रोसँग बोतलिङ र प्याकेजिङ गर्ने हो भने त्योभन्दा बढी मूल्यको रक्सी नेपालबाट विदेश निर्यात गर्न सकिन्छ । यसबाट राज्यले अहिलेभन्दा दोब्बर बढी राजस्व प्राप्त गर्न सक्दछ भने विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी सिर्जना हुन सक्दछ र ग्रामीण आर्थिक गतिविधि चलायमान हुन्छ ।

गरिबका घरमा बनाइएका रक्सी भने पोख्ने गरिन्छ विदेशी मल्टिनेशनल कम्पनीले उत्पादन गरेका र ठूला व्यापारीले भित्र्याएका रक्सीलाई प्रश्रय दिइरहँदासम्म समृद्ध नेपाल हुन सक्दैन । हाम्रो संस्कृति, सामाजिक परिवेश र आर्थिक हिसाबले देशमै उत्पादन हुने रक्सीलाई प्रतिबन्ध होइन, ब्रान्डिङ गरी गुणस्तरीय उत्पादन र निर्यातजन्य वस्तुको रुपमा लिन अब ढिलाइ गर्नुहुँदैन । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया