Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसस्तो लोकप्रियताको नाममा दशैँखर्चको चर्चा

सस्तो लोकप्रियताको नाममा दशैँखर्चको चर्चा


भरतबहादुर विष्ट
संसद् सचिवालयले सबै सांसदहरूको खातामा दशैँभत्ता जम्मा गरिदियो । देश महामारीको चपेटामा छ, जनता उक्त महामारीको शिकार बनिरहेका छन् । सरकारले लामो समय देशलाई लकडाउन गर्दा मानिसका दैनिकी बदलिएको छ । रोजगारी गुमाउनु परेको छ, आम्दानीका स्रोत बन्द भएका छन् । रोजगारीको लागि विदेशिन बाध्य भएका नेपालीहरू, त्यहाँ स्थिति देशहरूमा रोजगारी गुमाउनु परेको छ ।

किसानले समयमा मल नपाएर वर्षेबालीको उत्पादनमा ह्रास आउने निश्चित छ । दूरदराजका जनता भोकमरीमा पर्ने निश्चित छ । आज दशैँको मुखमा रोगले भन्दा भोकले मर्ने चिन्ताले मुग्लाल लानेको लर्को सिमाना देख्न सकिन्छ । यस्तो अवस्थामा तिनै जनताका प्रतिनिधित्व पार्टीहरू, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, संबैधानिक निकाय, सुरक्षा निकाय, प्रदेश सरकार, स्थानीय निकाय यतिबेला आफ्ना नागरिकले पाएको पीडाप्रति संवेदनशील हुनुपर्छ । लाजै पचाएर दशैँ भत्ता लिन पुगे ।

तलबभत्ताको कुरा होइन, जिम्मेवारी र नैतिकताको सवाल हो । जनताको प्रतिनिधित्व गर्नेहरू बाह्रै महिना तीन सय ६५ दिन जनताप्रति उत्तरदायी हुनुपर्छ । जनताप्रतिको जिम्मेवारी पनि मौसमअनुसार फेरबदल हुनुपर्ने ? कस्तो विचित्र है । अघिपछि हुसुहुसु नितोल्ने खाली दशैँको भत्ता फिर्ता गरेर अझै तिनको गुणगान गाउनु पनि मरितुल्य हो । जनप्रतिनिधि जनताको हुने गरिब मजदुर किसान, श्रमजीवी जनताको तिरेको करबाट भ्रष्टाचार गर्न लाज नमान्ने अनि १०।२० हजार दशैँ भत्ता कुन्सा ठूलो कुरो भयो र ? वाइडबडी न्यारोबडी, बुढीगण्डकी, एनसेल, सुरक्षा प्रीन्टिङप्रेस, यति, ओम्नी, आयल निगम जग्गा खरिद, बालुवाटार जग्गा काण्ड पुराना लाउडा, टनकपुर पञ्चेश्वर परियोजना, सुन तस्करी, आदिमा भ्रष्टाचार नगरेको भए दशैँ खर्च किन फिर्ता गर्नु पर्थ्यो र ?

कानुनले तोकेको खाइपाइ खाइरहेका तलबभत्ता खायौं, बाँकी जनताको कामप्रति देशलाई हानिनोक्सानी पु¥याउने भ्रष्ट कार्य नगरौं । आफ्नो सस्तो लोकप्रियताको निम्ति देखावटी भ्रम सिर्जना गर्ने कार्य नगर्दा उचित होला । के दुनियाँलाई थाहा छैन र ? राजनीतिलाई आजीवन पेसा अपनाएको अकूत सम्पत्ति जोरजाम गरेको । हवाइ चप्पल हालेर काठमाडौँ छिरेका अहिले काठमाडौँमा ठूल्ठूला महलमा विलासी जीवन जिउने हैसियत कहाँबाट प्राप्त भयो ? नेपाली जनतालाई उल्लु बनाउने चेष्टा कसैले नगरेको हुन्थ्यो कि ? राजनीतिलाई पेसा अपनाउने त्यहीँबाट आएको तलबभत्ता नखाने अनि के खान्छन् ? तलबभत्ता खाएको आपत्ति होइन, भ्रष्ट नगर, सुशासनको माध्यमद्वारा कानुन राज्यको प्रत्याभूति गराऔं । देशको सर्वोपरि हितका लागि जनताको काम गर्ने तलबभत्ता किन नखाने ? अनावश्यक नचाहिने चर्को जनताको ढाड भाचिने गरी, देशलाई कंगाल बनाउने गरी नखाऊ मात्रै भनेको हो ।

उता स्वकीय सचिवको तलबभत्ता आफ्नो खातामा जम्मा गराउने उदाहरणका लागि २० हजार मासिक छ, भने उसलाई १० हजारमात्र दिने बाँकीको १० हजार आफू खाने सांसद मन्त्री पनि यिनैमध्येका होइनन् र ? धेरै चुरिफुरी गरेको कुरा सजिलैसँग बुझ्न सकिन्छ । काठमाडौँ घर हुनेले पनि घरभाडा लिने गरेको पनि यिनैमध्येका हुन् क्यारे । राज्यकोषबाट अनधिकृतरूपमा इन्धन खर्च, भ्रम भत्ता, उपचार खर्च लिने, विदेशका महँगा हस्पिटलमा उपचार गर्ने, रातो पासपोर्ट दुरूपयोग गर्ने यिनै भित्रका मानिस होइन र ? हात्तीका चपाउने दात र देखिने दात फरक हुन्छन्, यो साना केटाकेटीलाई पनि थाहा छ । झुन्ड, रमिते, सुसारे गुलामीहरूको जयजयकार गरेर तमासा देखाउनुको कुनै औचित्य छैन । मुखमा रामराम बगलिमा छुरा । नेपाली जनताको मुटुमा पत्थर राखेर हास म राजाको जयजयकार गर भन्नुजस्तैः हो ।

बीबीसीमा काम गर्ने पत्रकार रविन्द्र मिश्रको आयस्रोत खोज्ने, अमेरिकामा बसेर आफ्नो मिहिनेत लगनशील बुद्धि विवेकले पौरख गरी पछि आफ्नै देशमा केही गरेर खाने चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई उसको आर्थिक स्रोत पारिवारिक पृष्ठभूमिदेखि उनलाई फसाउनलाई दुरुत्साहन, दुराग्रह, दुराचारको मुद्दा लगाउने, भ्रष्टाचारविरोधी अभियान्ता ज्ञानेन्द्र शाहीलाई कति पटक कुटपिट गरे जेल कोच्ने, अर्का अभियान्ता नेपाल सरकारका कर्मचारी प्रेम सञ्जेललाई आफ्नै कार्यलयकी महिला कर्मचारी घुस खान दिएन भनेर हातपात गरेको ताजै होइन र ? प्रेम सञ्जेलले के त्यस्तो अपराध गरेका रहेछन् ? अनि ती महिलालाई किन बर्खास्त गरिएन ? टीभी पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्न बाध्य पारेको भनेर भिडियो बनाउने, प्रहरीकै अग्रसरतामा उक्त भिडियो बाहिर सामाजिक सञ्जालमा ल्याउने काम कसको ?

रवि लामिछानेलगायत जजस्का नाममै किटान गरेर आत्महत्या गर्नुभन्दा अघि शालिकराम पुडासैनीले बोलेका छन्, पुडासैनीलाई बोल्न लगाउने को ? अनि अदालतले रवि लामिछाने दोषी होइनन्, भन्ने फैसलापछि त्यस्तो साजिस घटना घटाउने उनलाई आत्महत्या गर्न बाध्य पार्नेको छानबिन खै ? स्पष्ट मर्नुभन्दा पहिला किन रवि लामिछानेको कारण आत्महत्या गर्दैछु, भनेका होलान् ? त्यो भन्न लगाउने को होला ? उक्त मुद्दा फासफुस भैसकेको होला कि नाइँ ? फौजदारी कसुर ऐनमा बिनाआरोप आरोपितलाई जानकारी नदिइ गिरफ्तार गर्न पनि पाइँदैन, यदि गिरफ्तार गरिहाले पनि थुनामा राख्न पाइँदैन, जबसम्म ऊ दोषी करार हुँदैन । तर रवि लामिछानेलाई तुरुन्तै कार्यकक्षमा प्रहरी घुसेर घिसारेर रवि लामिछानेलाई प्रहरीले गिरफ्तार ग-यो । सिधा कुरा जनतासँग कार्यक्रमको माध्यमद्वारा देशमा भैरहेका अनियमितता ठूल्ठूला भ्रष्टाचारका काण्डदेखि बलात्कार श्रमशोषण, सरकारी निकायमा हुने भैरहेका, हैरानी ढिलासुस्ती, जनताले भोग्नुपरेका कठिनाइबारे बोल्दा जनतालाई न्याय पाएको महसुस गरे । त्यसैबाट रवि लामिछाने उनको टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमको लोकप्रियता बढ्दै गयो ।

वैदेशिक रोजगारीको नाममा ठगिएका दलालबाट ठगिएका मानव बेचबिखन जस्ता अपराधीले विदेशमा लगेर बेचिएका चेलीबेटीको उद्धारदेखि नियन्त्रण रोकथाम, त्यस्ता मानव तस्करीका जालो पत्तालाई त्यसको भन्डाफोर समेत गरे । वैदेशिक रोजगारीमा हुने ठगी एक एक कामको लागि भनेर लाग्ने उता अलपत्र पार्ने, मानव तस्करीदेखि प्राकृतिक स्रोतको अनाधिकृत तस्करी, दोहन, विकासका नाममा हुने अनियमित भ्रष्टाचारको भन्डाफोर, समाजमा हुने गरेका चोरी डकैती, बलात्कार अनि गुन्डागर्दीका बारेमा सम्बन्धित निकायले वास्ता नगर्दा सिधा कुरा जनतासँगको माध्यमद्वारा ती हेपिएका न्याय नपाएका निमुखा नागरिकलाई, सरकारको भन्दा रवि लामिछानेको भरोसा लाग्न थाल्यो ।

सरकार सरकारका निकाय निकम्मा हुने एउटा कार्यक्रमका माध्यमबाट यत्रो लोकप्रियता कमाउनु देखेर इर्ष्या, डाहा हो । रवि लामिछानेजत्तिकै काम पनि राज्य गर्न नसक्नु डाडुमा पानी तताएर मार्नु समान हो । लोकप्रियता कमाउनेले उदाहरणीय काम गरेर प्रख्याती कमाउनु नि ? जनताले त्यसै वा वा गरेका हुँदैन । तपाईंको वा ! वा ! गर्ने त तपाइँको वरिपरि घुम्ने झुन्ड बथान मात्रै हुन । पब्लिक फिगरसँग चल्नु भनेको अरिंगालको गोलोमा ढुंगा हान्नुसरह हो । भ्रष्ट कुहिएको मक्किएको दुर्गन्धित वस्तु वरिपरि भयो भने सम्पूर्ण समाजमा गाउँ देशमा त्यसबाट हुने संक्रमण फैलिन्छ ।

कोभिड १९ को कहरमा सक्नेले सकेजति गच्छेअनुसारको कोरोना राहत कोषमा रकम जम्मा गरे । मानवीयताका नाताले मानिसको जीवन नै रहँदै भने धनसम्पत्ति पैसाको के अर्थ राख्छ र ? हो, यसैमध्ये पूर्वराजा ज्ञानेन्द्र शाहले दुई करोड राहतस्वरूप कोभिड नियन्त्रण कोषमा जम्मा गरे । अनि झोले भ्रष्ट नालायक के भन्छन् त्यो दुई करोड कसरी दियो त्यसको स्रोत के हो ? रे ! ल अब भन्नुहोस्, तत्कालीन युवराज ज्ञानेन्द्र नेपालका ठूला व्यापारी हुन अहिले पनि छन् । राजा त विशेष परिस्थितिमा हुन गएका हुन् । राजा हुने रोलक्रम उहाँको होइन । राजा महेन्द्रका माहिलो छोरा हुन् । राजाको जेठो छोरा सन्तानले मात्रै नेपालको राजा हुन पाउने शाहवंशीय परम्परा रहिआएको थियो । संवैधानिक व्यवस्था पनि तदअनुरूपको थियोे । राजा वीरेन्द्रको वंश विनाशपछि राजा हुन पुगे । नत्र मन्दिरका मूर्ति चोरीको आरोप लगाउनेहरू नै उहाँको आयस्रोत खोजेको हो जस्तो लाग्छ ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भनेजस्तै २०४६ यता सबै पूर्ववर्तमान प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, सरकारी उच्च ओहदामा बस्नेहरूको एक अधिकार सप्पन्न आयोग बनाई निष्पक्ष छानबिन गरौं । सांसद मन्त्रीको तलबभत्ताले गाउँमा सानो बुकरो बस्नेहरूले काठमाडौँमा यत्रा महल कसरी बनाउन सके भन्ने, अति महत्त्वपूर्ण विचार संसदको रोस्ट्रममा उभिएर माग गर्नुभयो । डा. भट्टराईको उक्त विचारलाई सारा नेपाली जनताले ताली बजाए । खै त संसदले सरकारले उक्त विषयलाई महत्त्व दिएको ? हिम्मत छ भने तपाइँको सम्पत्तिको स्रोत स्वतन्त्र आयोग खुलाउन सकिन्छ ? अहिले दशैँ खर्च फिर्ता गरेर पुग्दैन । तलबभत्ता किन खाएको भन्ने होइन त्यो तलबभत्ता खाएबापत जनताले के पाए भन्ने मात्र हो । बा सांसद छ भनेर श्रीमती, छोराछोरी काठमाडौँ डेरा लिएर बस्छन् अनि उता बा सस्तो लोकप्रियताको नाममा दशैँभत्ता फिर्ता गर्दा छोराछोरीले खालान ? अर्को स्रोत त केहीँ छैन भने ।

भोकभोकै काम गर भन्नु पनि शोषण हो । स्वच्छ छविका साथ निष्ठापूर्वक देश र जनताको पक्षमा काम गर । तोकिएको तलबभत्ता सेवा सेवासुविधा लिनु कुनै आपत्तिको विषय भएन । तलब पनि खाने भएभरको सुविधाको भोग गर्ने, सार्वजनिक सम्पत्ति स्रोतको दोहोन गर्ने, अनियमितता गर्ने, भ्रष्टाचार गर्ने ठूल्ठूला काण्ड मच्चाउने । त्यतिबेला किन जनताको याद आउँदैन ? आज मानिस अस्पतालमा उपचार नपाए दिनदिनै मृत्यु भैरहेको छ । सरकार छ वा छैन, अत्तोपत्तो देखिँदैन । खाली आज यति संक्रमण भए यतिको मृत्यु भयो भन्ने तथ्य सार्वजनिक गर्नुलाई आफ्नो ठूलो दायित्व निभाएको जस्तो गर्दा कताकता नरमाइलो लाग्छ, साह्रै दुःख लाग्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया