Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगट्राफिक नियम र सडक दुर्घटना

ट्राफिक नियम र सडक दुर्घटना


न्हुंछेनारायण श्रेष्ठ
नेपालमा विशेषगरी चाडपर्वहरू र चिसो मौसमका समयमा सडक दुर्घटनाहरू बढी हुनेगरेका तथ्यांकहरू ट्राफिक प्रहरीले समय–समयमा सार्वजनिक गरेको पाइन्छ । गएको केही महिनाअघि देखिको दुर्घटनाका घटनाहरू हेर्ने हो भने मुख्यतया चालकको लापरबाही, थोत्रा मर्मत सम्भार नगरी चलाइएका सवारी साधन, लेन अनुशासन पालना नहुनुका साथै तीव्र गति नै मुख्य आधार रहेको देखिन्छ ।

गएको महिना सिन्धुपाल्चोकबाट काठमाडौँ आएको यात्रुबाहक बस अत्यधिक भारका कारण काठमाडौँको शंखरापुरमा दुर्घटना हुँदा ३ जनाको ज्यान गयो भने दोलखाबाट काठमाडौँ आउंदै गरेको यात्रुले खचाखच भरिएको पुरानो बस सुनकोशी नदीमा खस्दा १७ जनाले ज्यान गुमाए । त्यस्तै गरी म्याग्दीको बिमभीरमा मिनीबस दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाए । त्यस्तै गरी सुकेधारामा दुर्घटना हुँदा कलेज हिँडेकी युवतीको घटनास्थलमै मृत्यु भयो ।

बुढानिलकण्ठमा तीव्र गतिमा मापसे गरी चलाइएको कारले सडकपेटीमा हिँडेकी एक महिलाको मृत्यु भयो भने आफ्ना छोरालाई विद्यालय पु-याउन हिँडेका एक अभिभावकले नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अकालमै ज्यान जोगाउन पुगे । गएको महिनामै नेपालगञ्जको कोहलपुरमा एक स्कुले बालिकालाई ठक्कर दिई मृत्यु भएको भन्दै विद्यार्थी, स्थानीयहरूले आन्दोलन गरेका कारण प्रशासनले कर्फ्यू नै लागाउनु प-यो । शुक्रबार मात्रै फोहोर फाल्ने ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको खबरलगायत राजधानीभित्र र बाहिर दिनहँु सडक दुर्घटनाका घटनाहरू घटिरहेका छन् ।

अहिले राजधानीलगायतका विभिन्न स्थानहरूमा हप्ता दिनअघिदेखि घामको मुख हेर्न पाएका छैनन् । तराईमा चिसो बढिरहेका कारण जनजीवन अस्तव्यस्त हुन थालेको छ र सडक दुर्घटनाहरूसमेत बढ्न थालेका छन् । बाक्लो हुस्सुका कारण सवारी साधनहरू समयमै गन्तव्यमा पुग्न सकिरहेका छैनन् । सवारी ऐनअनुसार लामोदूरीका राजमार्गहरूमा दुई जना सवारी चालकहरू राख्ने नियम लागू भएको देखिँदैन । जसका कारण दुर्घटना न्यूनीकरण हुन सकिरहेको छैन । मौसमकै कारण हवाई यातायातसमेत अवरुद्घ हुँदा हुम्ला, जुम्लालगाएतका स्थानहरूमा सुचारु हुन सकिरहेको छैन । चिसो र जाडो मौसमबाट सवारी दुर्घटना न्यूनीकरणका लागि लेन अनुशासन पालना गर्ने, मापसे गरी सवारी नचलाउने, गति नियन्त्रण गरेर सवारी चलाउनेलगायतका ट्राफिक नियमहरू पालना गर्न सकेको खण्डमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

हालैको घटेका केही सडक दुर्घटनाहरूलाई हेर्ने हो भने जथाभावि सडक काट्ने गलत बानीका कारण अनाहकमा बटुवाहरूले ज्यान गुमाउन पुगेका तथ्य चावहिल र भक्तपुरमा घटेका दुर्घटनाले देखाएको छ । त्यस्तै गरी तीव्र गतिका कारण बुढानिलकण्ठ, चितवनमा घटेका दुर्घटनाले प्रस्ट पारिसकेको अवस्थामा सरकारले ट्राफिक जनचेतना कार्यक्रम, प्रहरी मेरो साथीलगायतका कार्यक्रमहरू प्रभावकारी नभएको संकेत गर्दछ । राजधानी काडमाडौँकै कुरा गर्ने हो भने रिङरोडका सडकहरू फराकिलो पारिएको छ तर त्यहाँ पर्याप्त मात्रामा न ट्राफिक लाइट छ, न त ट्राफिक चिह्न, न त ओभरब्रिज नै ।

सडक पार गर्न बटुवाहरूलाई हम्मेहम्मे नै पर्दछ । चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी, बालाजुलगायतका मुख्य चोकहरूमा पनि ट्राफिक लाइटहरू निर्माण हुन सकिरहेका छैनन् । ट्राफिक व्यवस्थापनका लागि खटिएका ट्राफिक प्रहरीले मनलाग्दी तरिकाले सवारी पठाउने कार्य गरिरहेका छन् । जसको उदाहरणका लागि कोटेश्वर र जडीबुटी चोक जाँदा त्यहाँको ट्राफिक व्यवस्थापन कसरी भएको छ सहजै हेर्न सकिन्छ । तर, त्यसो भन्दैमा ट्राफिक प्रहरीको सक्रियता घट्यो, व्यवस्थापन हुन नसकेको भन्न खोजेको पक्कै होइन । ट्राफिक प्रहरीभित्रको कमी कमजोरी ती क्षेत्रबाट हटनु आवश्यक रहेको देखिन्छ । राम्रा नारा र कार्यक्रमहरूले मात्रै सडक दुर्घटना न्यूनीकरण हुन सक्दैन् । जबसम्म सवारी चालकहरूले अनुशासित र ट्राफिक नियमको राम्ररी पालना गर्दैनन् । सडक प्रयोग गर्ने बटुवाहरूले ट्राफिक चिह्नअनुसार राम्ररी बाटो काट्दैनन् तबसम्म दुर्घटना कम हुन सक्दैन ।

केही महिनाअघि ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका सडकहरूलाई साइकल लेन घोषणा ग¥यो । यो कार्य एकातिर स्वागतयोग्य हुँदाहुँदै पनि जावलाखेलबाट कुपण्डोलसम्मको सडकहरूमा साइकल लेन पनि बनायो तर ती सडकहरूमा सधैँ सवारीको जाम हुने गर्दछन् । त्यहाँ ठुला गाडीहरू, मोटर साइकललगायतका सवारी साधनहरू जाममा परिरहेका र गुडिरहेका देखिन्छन् । यहाँ साइकल लेनमा अन्य सवारी चलाउनेलाई ट्राफिक कारबाही भएको देखिँदैन तर त्यही सडकछेउमा लेन मिचिएमा पन्ध्र सयसम्म जरीवाना र एक घण्टाको ट्राफिक सचेतना कक्षा लिनुपर्ने बोर्ड राखिएको छ र लेन मिचिनेबितिकै ट्राफिक प्रहरीले चिट काटिरहेका हामी देख्छौँ भने काठमाडौँको थापाथलीमा त सडक लेन मिच्नेलाई तुरुन्त कारबाही गर्नका लागि ट्राफिक प्रहरीहरू नियालेर बसेको हामी देख्दछौँ ।

ललितपुर महानगरपालिकाले लागू गरेको साइकल लेन लागू हुनका लागि सडक फराकिलो हुनुपर्दछ तर अहिले त्यो अवस्था देखिँदैन । फराकिलो सडक भएका स्थानहरू स्वयं महानगरपालिकाको कार्यालयबाहिर पार्किङ, जावलाखेलको सडकहरूमा पार्किङ राख्ने अनि नयाँ कार्यक्रमकै लागि भनेर साइकल लेन घोषणा गरेर मात्रै पुग्दैन कार्यान्वयन गर्नु पनि उतिकै जिम्मेवार हुनुपर्ने देखिन्छ । ट्राफिक नियम पालना गराउनका लागि ल्याइएका विभिन्न कार्यक्रमहरूलाई नागरिकहरूले पालना गर्नुपर्दछ तर वर्षाको भेलजस्तो कहिले दुवैले हेल्मेट लगाउनुपर्ने नियम, कहिले जथाभावि बाटो काट्नेलाई सडकमै कक्षा र जरिवानाजस्ता कार्यक्रम दिगो रूपमा टिक्नेनन् । अब टिक्ने र नागरिकहरूले पालना गर्नसक्ने खालका कार्यक्रमहरू ल्याउनुपर्ने आवश्यक देखिन्छ ।

हुन त विभिन्न समाचार माध्यमहरूमा आएको समाचारअनुसार लेन अनुशासन मिच्नेलाई पाँच हजार जरिवाना गर्ने ऐन संशोधन हुनलागेको समाचार पनि आएको छ । हालसम्मको सडक दुर्घटनाका कारणहरू हेर्दा कम जरिवानाले भएको पक्कै देखिँदैन यहाँ त चेतना र शिक्षाको अभावका कारण दुर्घटनाहरू भएको देखिन्छ । साँघुरा बाटाहरू, पुराना गाडीहरू, ट्राफिक चिह्नहरूको व्यवस्था नभएर सडक दुर्घटना भएको देखिन्छ । जरिवाना बढी गरेर मात्रै दुर्घटना कम हुने अवश्यै होइन यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।

सडक दुर्घटनाको अर्को कारण भनेको सिन्डिकेट पनि एक हो । सरकारले सिन्डिकेट हटेको जनाए पनि व्यवहारमा लागू हुन सकिरहेको देखिँदैन । यात्रुहरू आफ्नो गन्तव्यमा पुग्नका लागि घण्टौको पर्खनुपर्ने बाध्यता रहेको छ । थोरै सवारी साधन र जसरी पनि जानै पर्ने बाध्यताका कारण क्षमताभन्दा बढी यात्रुहरू रहेका कारण दुर्घटना बढेको सहजै अनुमान लगाउन सकिन्छ । पुराना र थोत्रा गाडीहरू समयमै मर्मत सम्भार नगर्ने बानीले गर्दा यात्रुहरूले अनाहकमा ज्यान गुमाउन पुगेका छन् ।

सरकारले सडकहरूको निर्माण कार्य र समयमै स्तरोन्नति समयमै सम्पन्न गर्ननसक्दा दिनहुँजसो सवारी दुर्घटनाहरू हुने गरेका छन् । सडकहरू जीर्ण, खाल्टाखुल्टी भएका कारण पनि सडक दुर्घटनाहरू बढ्ढै गइरहेका छन् । ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाही ६७ प्रतिशत, यात्रुको गल्तीले ४ प्रतिशत, गलत र जथाभावि ओभरटेकबाट ४ प्रतिशत, तीव्र गतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबडीका कारण ४ प्रतिशत र अन्य कारणहरूमा ६ प्रतिशत रहेको जनाएको छ । ट्राफिक प्रहरीका अनुसार मुख्यतया सडक दुर्घटना हुने प्रमुख कारणहरूमा ट्राफिक नियम पालना नगर्नु, मौसम, सडकको भौतिक अवस्था, यान्त्रिक कारण, मानवीय त्रुटी रहेका छन् ।

नेपालको भौतिक अवस्था हेर्ने हो भने हिमाल, पहाड र तराई मिलेर बनेको छ । हिमाल र पहाडका अधिकांश सडकहरू घुमाउरो, साँघुरो र उहाली, ओराली र घुम्तीहरू रहेका छन् । एउटै पडाडमा धेरै फन्का लगाउँदा चालकहरू थाक्ने र सन्तुलन गुमाउने र साना सडकहरूमा सवारी साधनहरूलाई साइड दिँदा सवारी साधनहरू ठोक्किएर दुर्घटना हुने गर्दछन् भने सडकका मोडहरू, ओराली, उकाली बाटोमा ब्रेकले साथ नदिने, स्टेरिङ नउल्टने कारण पनि दुर्घटना हुने गर्दछ ।

सडकको स्तरोन्नति नभएका ठाउँहरूमा जवर्जस्ती सवारी चलाउनु, पहाडी सडकहरूमा कालोपत्रे नहुनु, धेरै मोडहरू र घुम्तीहरू हुनु र पर्याप्त मात्रामा ट्राफिक संकेतहरू नहुनु, त्यस्ता सडकहरूमा चालकहरूले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाहरू हुनेगरेको छ । सडकमा सवारी साधनअनुसार लेन फरक नहुनु, सडक छेउमा अव्यवस्थित अतिक्रमण गरी बनाइएका संरचनाहरू, जथाभावि पार्किङले गर्दा पनि दुर्घटना भइरहेका छन् ।

सडक दुर्घटना कम गराउने दायित्व सडक प्रयोगकर्ता, सवारी चालक सबैको भएकोले सबै सचेत र सतर्क हुनसकेको खण्डमा मात्रै दुर्घटना न्यूनीकरण हुन सक्दछ । नेपालमा गुड्ने अधिकांश सवारी साधनहरूमा प्रयोग हुने नक्कली र कमसल पार्टपुर्जा, कमसल ल्युब्रिकेन्ट प्रयोगका कारणका अलावा चालकहरूले सवारी चलाउनुपूर्व आफ्नो सवारी साधनको क्लच, ब्याट्री, चक्काको नटहरू, टायरको हावा, पानीको चेकजाँच नगरी सवारी चलाउँदा दुर्घटना हुने गरेको पाइएको छ ।

सवारी ऐन २०४९ मा सवारी साधनहरू परीक्षण गरी चलाउनुपर्ने र निश्चित अवधिपश्चात परीक्षणपछि मात्र सडकमा गुडाउन अनुमति दिनुपर्ने प्रावधान रहे पनि सार्वजनिक तथा निजी सवारी साधनहरू विनापरीक्षण सडकमा चलाइरहेको हामी पाउँदछौँ । राजधानी बाहिरिने र भित्रिने राजमार्गहरूमा जथाभावि ओभरटेक गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि सवारी दुर्घटना हुने गरेको पाइएको छ । तीव्र गतिमा सवारी साधन कुदाउँदा जेब्राक्रसबाट बाटो पार गर्ने सर्वसाधारणहरू, बाटो छेउबाट हिँडिरहेका बटुवाहरू अनाहकमै ज्यान गुमाउन पुगेका छन् ।

नेपालमा हिउँद ऋतुमा विषेश गरी तराईका विभिन्न स्थानहरूमा सडकै नदेखिने गरी लाग्ने बाक्लो हुस्सुका कारण राजमार्ग र सहायक मार्गहरूमा सवारी दुर्घटना हुने गरेका छन् । मौसममा आउने परिवर्तनले गर्दा बाक्लो हुस्सु, शीतलहर र पानी परेको अवस्थामा सवारी गति नियन्त्रण गरी सवारी नचलाउँदा सडकमा चिप्लिएर दुर्घटना हुने तथ्य ट्राफिक प्रहरीले जनाएको छ । सडकमा जथाभाविरूपमा छाडा गाईवस्तु, कुकुर, घरपालुवा जनावरहरू छोड्दा हुस्सु लागेको जाडो समयमा बाटो प्रष्ट नदेखिँदा सडक दुर्घटना हुनेगरेको छ ।

कम उमेरमै सवारी चालक अनुमतिपत्र पाउनु, मोबाइल प्रयोग, अस्वस्थ प्रतिस्पर्धा, देखासिकी, लापरबाहीसँग सवारी साधन चलाउनु, सडकको अवस्थाबारे जानकारी नहुनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारी साधनको बारे प्राविधिक ज्ञान नहुनु, ट्राफिक चिह्नहरू र ट्राफिक नियमको कार्यान्वयन नगर्नु सडक दुर्घटनाको मुख्य कारण हुन् ।

नेपाल सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि सरकार र आम नागरिकहरू बेलैमा सचेत र सतर्क हुनु आवश्यक रहेको छ । कमजोर सडक पूर्वाधार, अनुपयुक्त तथा पुराना सवारी साधन, सवारी चालक र सडक प्रयोगकर्ताको लापरबाही कमगर्नका लागि नेपाल सरकारले ट्राफिक सचेतना कार्यक्रम सबै ठाउँमा लागू गराउँदै विद्यालयस्तरदेखि नै पाठ्यक्रममा समावेश गरी जगदेखि नै ट्राफिक नियमको सन्देश प्रवाह गर्न सकिएको खण्डमा भोलिका दिनहरूमा दुर्घटना कम हुने विश्वास लिन सकिन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी धनीलाई ब्लु बुक दिने, सवारी दर्ता खारेज गर्न सक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्नसक्ने अधिकारको व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता रहेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल सरकारले समयमै ट्राफिक बत्ती, लेन अनुशासनलगायतका व्यवस्था गर्नु अति आवश्यक रहेको देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया