Techie IT
×
गृहपृष्ठविचारमहाकुलुङ हेरिटेज ट्रेलका लागि पहल गर्ने कि ?

महाकुलुङ हेरिटेज ट्रेलका लागि पहल गर्ने कि ?


निनाम कुलुड. ‘मंगले’
विश्वका कुनै पनि जातजातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । अझ आदिवासी हुनका लागि त पहिलो सर्त नै उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुनुपर्ने हुन्छ । त्यसैले यहाँ उत्पत्ति थलो वंश–परम्परा, आदि अनादि कालदेखि पूर्खाहरूले खाइखेली आएको खोलानाला, वनजंगल, अरुको भन्दा फरक र छुट्टै मातृभाषा, चाडपर्व, रहनसहन, संस्कार, संस्कृति, चालचलन, भेषभुषा, धर्म, जीवनचक्र, परम्परागत कानुन, हामी कुलुङ हौं भन्ने भावना, आफैंभित्र (कुलुङ–कुलुङबीचमै) विवाह गर्ने प्रचलन आदि भएको कुलुङ जातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि ‘महा–कुलुङ’का र कुलुङ जातिबारेमा छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।

विसं २०४६ को राजनीतिक परिवर्तनसँगै आएको खुल्लापन, सूचना, सञ्चार र विज्ञान प्रविधिको विकाससँगै बाहिरी दुनियाँमा राई (खासमा कुलुङ जातिअलग्गै भए पनि ) भनी चिनिन थालेका समुदाय पनि हुन् ‘–कुलुङ ।’ वास्तवमा विसं २०४६ को राजनीतिक परिवर्तन अघिसम्म केही विदेशी तथा स्वदेशी खोज–अनुसन्धानकर्ता तथा लेखकहरू बाहेक धेरै कमले मात्रै ‘महा–कुलुङ’ भूमि र कुलुङ जातिलाई चिन्दथे, जान्दथे भनी भन्न सकिन्छ । जतिले चिन्दथे, जान्दथे –उनीहरूले पनि राई वा

कुलुङ राई भनी चिन्दथे, जान्दथे । तर, अहिले अवस्था त्यस्तो छैन । किनभने, विसं २०६८ को ११औं राष्ट्रिय जनगणनामा कुलुङको जातिको जनसंख्या २८ हजार छ सय १३ र कुलुङ मातृभाषीको संख्या ३३ हजार एक सय ७० सहित छुट्टै जातिको रूपमा तथ्यांकमा आएको छ । त्यसैले यहाँ नेपालका प्राचीन जातिहरूमा पर्ने किराँत महाजातिभित्रका एक जाति, कुलुङ जातिका बारेमा छोटो चर्चा गर्ने प्रयास गर्दै उनीहरूको उद्गथलो ‘महाकुलुङ’ भूमिलाई महाकुलुङ सम्पदा पदयात्रा मार्ग (‘महाकुलुङ हेरिटेज ट्रेल)’को रूपमा पर्यटकीय हिसाबले विकास गर्न किन ढिला गर्ने ? भनी यहाँ एक चर्चा परिचर्चा गरिएको छ । अथवा भनौं छलफल र बहस होस् भनी केही लेख्ने जमर्को गरिएको छ । किनभने विगतमा तत्कालीन श्री ५ को सरकार तत्कालीन नेकपा (माओवादी)बीच चलिरहेको राजनीतिक द्वन्द्वकालमा रसुवामा तामाङ सम्पदा पदमार्ग/तामाङ हेरिटेज ट्रेल निर्माण गरिएको थियो/छ । जुन सफल पनि भएको थियो ।

जे होस्, पूरानो भगौलिक विभाजनअनुसार सगरमाथा अञ्चल (हाल १ नम्बर प्रदेश)को सोलुखुम्बु जिल्लाको उत्तरपूर्वी क्षेत्रको छेस्काम, बुङ, गुँदेल सत्तो (सोताङ), पावै आदि गाविसहरूलाई ‘महाकुलुङ भूमि’ भनी चिनिन्छ । कुलुङ समुदायको जीवनचक्रअनुसार यही पुस १५ गतेदेखि किराँत संवत (यले दोङ ५०८०) सुरु हुँदै छ । कुलुङ समुदायको जीवनचक्रअनुसार पहिलो महिनाको नाम ‘चाक्चाकुर’ हो । जस्तो कि विक्रम संवत्को पहिलो महिनाको नाम वैशाख भनेझैं कुलुङ जीवनचक्रअनुसार यले दोङको पहिलो महिना हो ‘चाक्चाकुर ।’

हुन त महाकुलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन र पर्यटनसँग जोडेर सिंगो ‘महाकुलुङ’ क्षेत्रलाई आर्थिक विकासमा समेटेर लानका लागि महाकुलुङ गाउँपालिका (गापा)को गुँदेलमा आन्तरिक विमानस्थल बनाउका लागि पहल भैरहको छ । फलतः गतवर्ष त्यसका लागि सर्भेको काम र स्थानीयवासीहरूका लागि पूर्वसुसूचित हुने अधिकारका लागि (सूचना निकाल्ने काम)समेत भइसकेको छ । त्यसो त धेरै लामो समयसम्म सडक सञ्जालले नछोएको महाकुलुङ क्षेत्रलाई हाल कच्ची सडकले पनि छोएको छ । जे होस्, कुलुङ जातिभित्रै विभिन्न भाषिका छ । थर र उपथरहरू पनि छ । कुलुङहरू आफ्नै कुलुङ जातिभित्र विवाहवारी गर्ने गर्छन् । बाहिरियाहरूले स्थानीय कुलुङ बुढापाकासँग कुराकानी हुँदा उनीहरूलाई दोभाषे चाहिन्छ । अर्थात् गैरआदिवासीहरूसँग कुलुङ बुढापाकाहरू खस (नेपाली) भाषामा दोहोरो सम्वाद गर्न सक्दैनन् । महाकुलुङ क्षेत्रमा भाषा, संस्कार, रीतिरिवाज, भेषभुषा, रहनसहन, कला, संस्कृति आदि जीवित रहे पनि आधुनिक विकासले भने अपेक्षित गति लिन सकेन ।

महाकुलुङ क्षेत्र किन एकल जातीय बस्ती भयो ? समाजशास्त्रीय भाषामा ‘इन्डोग्यामस’ पनि भनिने कुलुङ जातिको मात्रै एकल जातीय बसोवास कसरी सम्भव भयो, महाकुलुङ क्षेत्रमा ?, नेपालको सन्दर्भमा नृवंशशास्त्री, जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, संस्कृतिविदलगायत अन्य खोज अनुसन्धानकर्ताहरूका लागि खोज अनुसन्धान गर्नका लागि एक रोचक विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै सिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युग चलिरहेको छ । हुन त हाल सुपर सोनिक हुँदै हाइपर सोनिकमा युगमा पुगेको मान्नेहरू पनि कम छैनन् । निश्चय नै विज्ञान प्रविधिले फड्को मारेकै हो ।

तर, सुन्ने मान्छेहरूलाई (खासगरी छूतअछूत मान्ने समाजमा हुर्के/बढेकाहरूलाई) अचम्म लाग्ने विषय के हो भने, केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरू आफैँले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी मालसामानहरू बनाउने गर्थे । जस्तैः शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषिका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरू पनि कुलुङ समुदायभित्रकै विभिन्न थरका कुलुङहरूले नै बनाउँथे । गोक्तुलु, मोरोखु, वारोखु थरका कुलुङहरूले नै त्यस्ता सामग्रीहरू बनाउँथे । तर, कुलुङ जातिमा कामकै आधारमा छुवाछूत गर्ने प्रचलन भने थिएन ।

हुन पनि यस पङ्क्तिकासँगको भेटमा पहिले महाकुलुङ गुदेल गाविसको चाचालुङ बसेका र, हाल बुङमा बसाइ सरेर आएका रामकाजी सेन्च्युरी (विक) आफैँले तत्कालीन गुदेल गाविसको चाचालुङ गाउँमा एक मोरोखु थर (थरलाई कुलुङहरू पाछा भन्छन्)का मान्छेले बटुका बनाएको देखेको र फलाम, तामा आदि कुट्दा पाता अड्याउने (कुलुङ भाषामा लिङ/लिङ्खो/लिक्खो) देखेको बताउँछन् ।

यसरी हेर्दा जसरी रसुवा जिल्लाको ब्रिदिम, थोङमेन, तातोपानी आदि क्षेत्रलाई समेटेर तामा हेरिटेज ट्रेल बनाइएको थियो, त्यसरी नै छेस्काम, बुङ, गुदेल सत्तो (सोताङ), पावै आदि गाउँहरूलाई समेटेर ‘महाकुलुङ हेरिटेज ट्रेल’ बनाउनुपर्ने देखिन्छ । यसका लागि विभिन्न राजनीतिक दलमा लागेका स्थानीय र राष्ट्रियस्तरका कुलुङ समुदायका विभिन्न नेताहरू, कार्यकर्ताहरू र कुलुङ समुदायका बुद्धीजीवीहरू र कुलुङ समुदायका सामाजिक अभियन्ता आदि लागि पर्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया