Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोनासँगै आन्तरिक पर्यटनलाई चलायमान बनाउन सकिन्छ

कोरोनासँगै आन्तरिक पर्यटनलाई चलायमान बनाउन सकिन्छ


लक्ष्मण सिटौला
अहिले विश्वजगत् कोरोनाको संक्रमणबाट आक्रान्त छ । खास गरेर कोरोनाको भयावह सहरी क्षेत्रमा व्यापक फैलिँदै गइरहेको छ । अहिले विश्वका ठूला–ठूला सहरमा बसोबास गर्ने मानिसहरूलाई सहर अभिशाप साबित हुनथालेको छ र उनीहरू विस्तारै पहाडी जनजीवन नै उत्तम रहेछ भन्ने कुरामा सहमत हुनथालेका छन् । कोरोनाको विश्वव्यापी महामारीपछि विश्व सहरका केही मानिसहरू गाउँतर्फ आकर्षक भइरहेको खबर प्राप्त हुनथालेका छन् ।

जहाँ जनघनत्व बढी छ त्यही नै कोरोनालगायत अन्य सरुवा रोगहरु सबैभन्दा धेरै फैलिने पनि सम्भावना रहन्छ । सयौँ वर्षअगाडिको युरोपेली देशहरूमा फैलिएको प्लेग भन्ने रोगले युरोपेली सहरका लाखौँ मान्छेलाई सखाप पारेको कुरा इतिहासमा लेखिएका छन् । यस्ता रोगहरुका कारण कहिलेकाहीँ सहर अभिशाप बन्न जाँदो रहेछ र ग्राम्य जीवन र ग्रामीण बसोबासको महत्व झल्किँदो रहेछ ।

सहर आफैँ पनि मृत अवस्थामा बाँचेको हुन्छ किनकि त्यहाँ मानवता, बन्धुत्व, सहयोग, भाइचारा, आपसी सद्भावना र माया हुँदैन । सहरले आफ्नो चिन्दैन भने झन् पराइ चिन्ने त कुरै भएन । सहरले मानिसको आदिम लयलाई निलम्बित गरेको हुन्छ र त्यसलाइ भौतिकता र यौवनको जलपले छोपेको हुन्छ । सहर आफैँ कृत्रिम बाँच्छ । सहर आफैँ एकलास बाँच्छ । सहर आफैँ दरिद्र बाँच्छ । सहरमा पैसा बाँच्छ तर मानवता मरिसकेको हुन्छ । सहर आँखाको मात्रै झिलिमिली हो । यो झिलिमिलीभित्र आँशु र पीडाको नदी बगिरहेको हुन्छ । सहर तिनै व्यक्तिहरुको जमघट हो जहाँ धन बोल्छ मानवता मौन बस्छ । आदर्शले हार्छ अनि नौटंकीले जित्छ । सहर कृत्रिम अभिनय गर्न जान्नेका लागि मात्रै हो । सहरमा मृत्यु धेरै सस्तो छ । सहरमा तिनै रमाउँछन् जो कृत्रिम जिन्दगी ज्युन सिपालु हुन्छन् ।

यस्तै चरित्र बाँचेका मानिसलाई पनि कहिलेकाहीँ जीवनदेखि वाक्क लाग्छ र ऊ कतै पर हिमालको नजिक भएर पहाडको काखमा सुस्ताउन खोज्छ । मन बहलाउन खोज्छ । सहरको त्यो वीतराग बिर्सेर लाटो र अन्जान पहाडी भूभागमा रम्न खोज्छ । यतिबेला उसलाई ग्रामीण ग्राम्य जीवनको शान्त अनि सरल जीवनको प्यास लाग्छ ।

वास्तवमा तिनै कलाकारका लागि हो गाउँमा निर्माण हुने सामुदायिक तथा निजी होमस्टे । तिनीहरू त्यहाँ शान्ति खोज्न जान्छन् । तिनीहरू त्यहाँ ग्राम्यता खोज्न जान्छन् । तिनीहरू त्यहाँ सोझा मानिसहरूको आनन्दको सामाजिक जीवन हेर्न बुझ्न अनि आफैँलाई केही समय त्यही ग्राम्य लयमा मिसाउन जान्छन् । एक/दुई दिन भए पनि एक स्वस्थ मानिस भएर बाँचूँ भन्ने हेतुले जान्छन् । ग्रामीण पर्यटन हाम्रो नेपालमा मात्रै होइन ।

विश्वका पूर्ण विकसित देशहरुमा समेत यो व्यवसाय सुरु भइसकेको छ । संसारभरका मुलुकमा ग्रामीण जीवन छ । ग्रामीण जीवन भन्नासाथ हामी आधुनिक भौतिक सभ्यताको छिटो नपरेको एक सरल शान्त सामाजिक सनातनी सांस्कृतिक आदिम भूमिलाई सम्झन्छौँ जहाँका प्रायः सबै मानिसभित्र दया, माया, मानवता र पवित्र संस्कार हुन्छ । त्यहाँका मानिस अविकसित होइनन् त्यो स्थान पनि अविकसित होइन मात्रै त्यो स्थानलाई आधुनिकताले बलात्कार नगरेको एक शालीन इतिहास सदैव बाँचिरहेको पुण्यभूमि हो । त्यहाँको सरल जीवन हेर्न सधैँ केक पिज्जा बर्गर मासु र फास्ट फुड जन्क फुड खाएर सहरमा कृत्रिम बाँचेका अत्याधुनिक अर्धमनुष्यहरुका लागि ग्रामीण पर्यटन एक तीर्थ गएजस्तै आनन्दको एउटा यात्रा हो ।

अहिले आएर कोरोनाको भयावह अवस्थामा गाउँ र गाउँले परिवेशको झनै महत्व बढ्नथालेको छ । सहरमा कोरोनाको हाहाकार छ तर गाउँ आफ्नो पुरानै लयमा छ । गाउँमा सामाजिक दूरीका लागि विज्ञापन गर्नै पर्दैन । गाउँमा न मास्क चाहिन्छ न स्यानिटाइजर । गाउँमा कसैका घर जोडिएका छैनन् तर सहरमा मानिसका ओछ्यान जोडिएका छन् किनकि सहर महँगो छ । सहरमा जमिन छैन ।

सुविधाजन्य जीवन भोग्न सहर पसेको मान्छे आज आफैँ रोगी भएको छ । हिजो कसैको बिहेमा जन्त जाँदा मइन्टोल बालेर बारीको पाटामा लाइन बसेर धोतीपाटा फेरेर टपरीमा दालको झोल चुहाउँदै र एक चोक्टा काउली भातसँग मुछेर खाँदाको आत्मीय अपनत्व र स्वर्गीय आनन्दले आज होटेलमा बुफे आफ्नै हातले पस्केर खाँदाको कृत्रिम जिन्दगीलाई धिक्कारिरहेकोे छ । खोइ त्यो दिव्य आत्मसात् ? खोइ त्यो सरलता ? खोइ त्यो अभिन्न साथित्व र भाइचारा ? हिजो टपरीबाट दालको झोल चुहिएजस्तै आज आधुनिक मान्छेको आँखाको कोपराबाट आँशुको पिसाब चुहिन्छ । हो, यिनै आँखाको कोपराबाट आँशुको पिसाब चुहाउनेहरुलाई सरल जीवन र ग्रामीण संस्कार के हो भनेर चिनाउन पनि ग्रामीण पर्यटनको विकास गर्नु अत्यन्तै आवश्यक छ ।

ग्रामीण पर्यटनको विकास र विस्तारका लागि जनस्तरबाट मात्रै पहल भएर पुग्दैन । यसमा सरकारको तर्फबाट अनुदान, योजना, तालिम, सेमिनार, गोष्ठी, प्रचारप्रसार, ग्रामीण बाटोको सुधार, दक्ष जनशक्ति उत्पादन तथा विदेशस्थित नेपाली कूटनीतिक आयोगबाट पनि विशेष पहल गर्नु जरुरी छ । नेपालको अधिकांश कृषियोग्य भूमि ग्रामीण भेगमा नै भएकोले त्यहाँ उत्पादन भएका स्थानीय फलफूल, दूध, तरकारी, मासुजन्य पदार्थ अनि खाद्यान्न गाउँमा नै खपत र उपयोग गर्ने गरी ग्रामीण पर्यटनको योजना ल्याउनु अत्यन्तै आवश्यक छ । सहर विकास भइसकेको छ ।

अब गाउँको विकासको लागि ग्रामीण पर्यटन प्रवर्द्धन गर्नु अनिवार्य छ । नेपाल घुम्न आउने भविष्यका पर्यटकलाई ठमेल होइन गाउँ जाने वातावरण मिलाउनु राज्यस्तरबाट नै पहल हुनुपर्छ । ग्रामीण पर्यटनका लागि विदेशी नै आउनुपर्ने भन्ने जरुरी छैन । सहरमा बसेकाहरु सहरदेखि वाक्क भएर कहिलेकाहीँ हप्तान्त मनाउन पनि गाउँ जान थालेका छन् । नेपालको अर्थ व्यवस्थालाई चलायमान बनाउन ग्रामीण पर्यटनले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

कोरोनाको कारण विदेशीहरु अबको केही वर्ष नेपाल भ्रमणमा आउनसक्ने अवस्था रहनेछैन । नेपाल भ्रमणमा विदेशी नआए पनि हाम्रो आन्तरिक पर्यटनलाई चलायमान बनाउन सकिने एकमात्र आधार भनेको ग्रामीण पर्यटन नै हो । नेपाल सरकारले आफ्ना कर्मचारीहरुलाई वर्षको १५ दिन अनिवार्य विदा दिई नेपाल भ्रमणका लागि अभिप्रेरित गर्ने हो भने यस्तै सिको अन्य संघ/संस्था बैंकिङ क्षेत्र र निजी कम्पनीहरुले पनि गर्नेछन् अनि अवश्य पनि नेपालको आन्तरिक पर्यटन मौलाउनेछ ।

के हो आन्तरिक पर्यटन ? सामान्य अर्थमा भन्नुपर्दा आफ्नो देशका नागरिकले आफ्नै देशको भ्रमण गर्ने, आफ्नै देशको जनजाति, सामाजिक रीतिस्थिति, स्थान, धर्म, तीर्थ, विकास र भूगोलको बारेमा जानकारी राख्दै गरिने आन्तरिक परिभ्रमण नै आन्तरिक पर्यटन हो । आन्तरिक पर्यटन परिभ्रमणबाट स्थानीय स्तरका होटेल होमस्टे र स्थानीय उत्पादन बिक्रीवितरण भई समष्टिगत रूपमा एउटा आन्तरिक पर्यटनको पाटो अवश्य नै समृद्धितर्फ उन्मुख हुन्छ । अझ स्थानीयस्तरमा रहेका होटेल रेस्टुरेन्ट खाजा घर तथा होमस्टेमा कार्यरत कर्मचारीहरु पनि बेरोजगार भएर बस्नुको अन्त्य हुन्छ । अझै भन्नुपर्दा आर्थिक चलायमानसहितको स्थानीय भ्रमणलाई हामी आन्तरिक पर्यटन भनेर पनि भन्न सक्छौँ । आन्तरिक पर्यटनले लुकेर रहेको आफ्नै भूगोलको र स्थानको पनि प्रचारप्रसार हुन्छ ।

पर्यटन व्यवसायमा अहिले आइरहेको समस्या र चुनौतीलाई विस्तारै समृद्धितर्फ लैजाने हो भने नागरिकलाई आन्तरिक पर्यटनमा अभिप्रेरित गर्नुपर्छ । हामी केही प्रतिशत नेपालीहरुले थाइ एयर र नेपाल एयरलाइन्सको हवाइजहाजको टिकट खरिद गरेर बैंकक घुम्न जाने हैसियत बनाइसकेका छौँ अनि एकपटकको भ्रमणमा दुई चार लाख खर्च गर्नसक्ने अवस्थामा पुगेका छौँ भने किन आफ्नै देशको भ्रमण नगर्ने ? कोरोनाको भयका कारण अहिले सहरी क्षेत्रमा विदेशी पर्यटक नेपाल भ्रमणमा आउने सम्भावना नरहेकोले अब किन हामी कर्मचारी, व्यापारी, विद्यार्थी राजनीतिकर्मी सामाजिक अभियन्ता तथा समाजका विभिन्न व्यक्तिहरु फुर्सद मिलाएर आन्तरिक भ्रमणमा नजाने ? अबको इस्वी सम्वत् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा घोषणा गर्न र मनाउन नेपाल सरकारले नीति तथा कार्यक्रम ल्याउनु आवश्यक छ । कोरोनाबाट थलिएको पर्यटन व्यवसायलाई यो नीति तथा कार्यक्रमबाट अवश्य नै थप ऊर्जा मिल्नेछ ।

आन्तरिक पर्यटन पूर्वाधारको विकास : अब बनिने धरहरा जतिसुकै अग्लो होस् । हाल निर्माणसम्पन्न भएको रानी पोखरी जतिसुकै सुन्दर होस्, सहरमा गाडी गुड्ने बाटो जति नै कालोपत्रे होस्, जति नै बलुन बिजुली झिलीमिली अमेरिकाको न्युयोर्क सहर होस् कि वा नेपालको कान्तिपुर सहर । कोरोनाको त्रासदीले घर्लप्पै निले यी सहरहरुलाई । त्यसैले पनि सहर ठीक छैन भन्ने कुराको अभिबोध र डर अबको केही वर्षसम्म हामीसँगै बाँचिरहेको यो समस्त मानव समुदायलाई भइरहनेछ । अबको पर्यटन गन्तव्य गाउँ हुनेछ । अबको पर्यटन पाइला गाउँ र गाउँमा बाँचिरहेको सामाजिक सांस्कृतिक परम्परा रीतिरिवाज चाडपर्व र मौलिक ग्राम्य जीवनतर्फको आकर्षक सनातनी जीवन धारातर्फ हुनेछ । त्यसकारण पनि ग्रामीण पर्यटन पूर्वाधारको विकासका लागि राज्यले निम्न कामहरू गर्नुपर्ने हुन्छ ।

१. ग्रामीण तथा आन्तरिक पर्यटन विस्तारका लागि नीति बनाउने

२. पर्यटन व्यवसाय भनेको विदेशी आउनु र डलर कमाउनु मात्रै हो भन्ने भ्रमबाट नेपालका पर्यटन व्यवसायमा आबद्ध व्यक्तिहरु अब मुक्त हुनुपर्छ । अब ठमेल बजारको त्यो गुल्जार फर्किन धेरै समय लाग्छ र त्यो बेलासम्म पर्यटन व्यवसायको परिभाषामा नै परिवर्तन आइसकेको हुनेछ । त्यसैले पनि यो व्यवसायमा आएका थप चुनौती र आउनसक्ने चुनौतीका बारेमा राज्यस्तरबाट नै जिम्मेवारी अभिबोध हुनु आवश्यक छ ।

. हामी नै पर्यटक हौ कमसेकम फुर्सद मिलाएर आफ्नै देशको दर्शन गर्न सकियो भने नेपालीको मौलिकता बाँच्नसक्छ । यसका लागि राज्यले समस्त कर्मचारीलाई फोर्स लिभ (आन्तरिक पर्यटनका लागि कम्तीमा १५ दिन अनिवार्य छुट्टी) दिने र घुमेको स्थानका बारेमा रिपोर्ट लिने परम्परा बसाल्ने ।

. नेपालको इतिहास सहरमा मात्रै जीवित छैन । इतिहासमा नेपाली वीर सपुतहरुले बनाएका किल्ला काँगडा दरबार गढी गाउँमा नि जीवित छन् । चाहे गोर्खा जाऊँ चाहे नुवाकोट जाऊँ चाहे पश्चिम नेपालका सुदूर किल्लाहरुमा जाऊँ इतिहास त्यता पनि जीवित छन् । पाल्पाको रानी महल होस् नुवाकोटको साततले दरबार होस् इतिहास त गाउँतिरै पो बढी छन् भनेर हामीले बुझ्नु जरुरी छ र बुझाउने चेत राज्यस्तरबाट पनि हुनुपर्छ ।

५. आन्तरिक पर्यटनका लागि राज्यको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग भनेको गाउँ जहाँ पर्यटन व्यवसाय सञ्चालन गर्न सम्भावना छ, त्यहाँ नीति तथा कार्यक्रम ल्याइदिने । होटेल होमस्टे तथा साहसिक पर्यटकलाई बन्जी जम्प, प्यारा ग्लाइडिङ, ग्राम्य बाटोको सुधारजस्ता कार्यक्रमका लागि स्थानीय सरकार बजेट व्यवस्थापन गर्न लगाउने अबको हरेक वर्ष ।

हामी ज्यादै सहर केन्द्रित भयौँ । सहरले मात्रै मानिसको सपनाहरू पूरा गरिदिन सक्छ भन्ने भ्रम पालेर बाँचेका अहिलेका युवाहरूलाई गाउँ जाने वातावरण मिलाउनु राज्यको दायित्व पनि हो । सधैँ खाडी मुलुक जान प्रेरणा दिने सरकार ! अब नेपाली युवाहरूलाई आफ्नै गाउँमा बस्ने योजना ल्याऊँ !


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया