Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअनियन्त्रित बन्दै गरिबी वृद्धिदर

अनियन्त्रित बन्दै गरिबी वृद्धिदर


बाबुकाजी कार्की
कोरोना महामारीको बहुआयमिक असर पारिराखेको जगजाहेर नै छ । मानवीय क्षतिको साथसाथै विश्व अर्थतन्त्रलाई नै कोरोनाले अक्रान्त बनाउँदै लगेको छ । काोरोना संक्रमण नियन्त्रणको समय अनिश्चित भएसँगै विश्व अर्थतन्त्र नै शिथिल पार्दै लगेको छ । कोरोना त्राशका बन्दाबन्दीका कारण आर्थिक क्रियाकलाप प्राय ठप्प नै भयो । असंगठित क्षेत्रमा कार्यरत मजदुरहरूको रोजगारी तीव्र गतिमा गुम्दै गएको छ । विश्व श्रम संगठनको प्रारम्भिक अध्ययनअनुसार विश्वभर एक अर्ब ७० करोड मजदुरलाई प्रत्यक्ष असर पारेको छ ।

नेपालमा पनि बन्दाबन्दीका कारण २० लाखभन्दा बढी मजदुरको रोजगारी गुमेको छ । विश्व बैंकका अनुसार कोरोना कहरका कारण रोजगारी गुम्दा १० करोडभन्दा बढी मानिस अति गरिब बन्ने आंकलन गरेको छ । विश्वका एक सय ६६ देशमा गरिएको अध्ययनमा सबभन्दा बढी सबसहारा अफ्रिकामा २२ दशमलव ६, दक्षिण एसियामा १५ दशमलव ६, ल्याटिन र क्यारेबियन क्षेत्रमा २ दशमलव ७ प्रतिशत गरिबी बढ्ने बैंकको प्रक्षेपण छ । गरिबी वृद्धिदर अनियन्त्रित बन्दै जानु समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकंक्षा हासिलको लागि शुभसंकेत होइन ।

कोरोना भाइरसको संक्रमण नेपालको आर्थिक क्षेत्रमा नकरात्मक संकेतहरू देखिन थालेका छन् । नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ मानिए पनि कोरोनाको कारण यो बढेर २२ प्रतिशत पुगिसकेको छ । नेपालको अर्थतन्त्रमा यसको अल्पकालीन र दीर्घकालीन कस्तो असर पर्ला ? सबैको चिन्ता र चिन्तन विषय बन्नुपर्दछ । आउँदो दिनहरूमा यसको नतिजा कस्तो होला ? अध्ययन र अनुसन्धानबाट निकास खोज्न विलम्व गरिनु हुन्न । विश्वका उदीयमान अर्थतन्त्र भएका विशाल छिमेकी देशहरू चीन र भारतबाट कोरोना नियन्त्रण तथा अर्थव्यवस्थालाई सुदृढ पार्न आवश्यक सदभाव र सहयोग जुटाउने कौशल सरकारले देखाउन चुक्नु हुन्न ।

नेपालको कुल ग्रार्हस्थ्य उत्पादन शून्य दशमलव ४ प्रतिशत अर्थात् १२ दशमलव १२ मिलियन अमेरिकी डलरमा खुम्चिने आंकलन गरिएको छ । नेपालको अर्थतन्त्र मूलतः पर्यटन उद्योग र वैदेशिक रोजगारले धानेको छ । यी दुवै क्षेत्र कोरोना संक्रमणले धराशायी हुँदै गएको जगजाहेर नै छ । अन्य देशहरूसँग प्रत्यक्ष सरोकार र निर्भर रहने यी दुवै क्षेत्र अस्थिर र जोखिमपूर्ण मानिन्छन् । नेपालको पर्यटन र वैदेशिक रोजगार क्षेत्रमा कोरोनाको निर्मम प्रभाव पर्दै गएको छ । पर्यटन मन्दीको असर नाङ्लले पसलेदेखि, ठूला डिपार्टमेन्टल स्टोर, चिया पसलदेखि पाँचतारे होटल, ट्याक्सी चालकदेखि विस्तारै नकारात्मक असर पार्दै छ । अझ यसको गम्भिर असर क्रमशः बढ्दै जाने निश्चित नै छ ।

विश्वभरि नै पर्यटन क्षेत्र कोरोनाको चपेटामा नराम्रोसँग थल्लिएको छ । कोरोना संक्रमणको गति हेर्दा पर्यटन व्यवसाय तंग्रिन लामै समय लाग्ने निश्चत छ । विश्वभर चलेको लकडाउनको निरन्तरताले आन्तरिक तथा बाह्य पर्यटकको आवगमनका प्राय ठप्प छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सपना पनि अधुरै रह्यो । पर्यटन उद्योगसँग सम्बन्धित व्यवसाय होटल रेस्टुराँ, यातायात, टुर गाइड आदीमा मन्दी आउने तीव्रता बढ्दै छ । राष्ट्रिय, अन्तर्राष्ट्रि उडानहरू विश्वभर रद्द तथा स्थगित हुँदै छन् । देशको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पु-याउँदै आएको वैदेशिक रोजगारीमा पनि कटौती वा बन्द नै भइराखेको छ ।

कतिपय रोजगारदाता देशहरूले कामदारको संख्या कटौती या धमाधम फिर्ता पठाउँदै गरेका छन् । यसरी रोजगारी गुमाउनेमा पर्यटन उद्योग र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू नै पहिलो निसानामा परेका छन् । वैदेशिक रोजगार बाट आएको पैसामा सहर बजारमा बसाइ सरेका कतिपय परिवारको बिचल्ली नै नहोला भन्न सकिन्न । कोरोना भाइरसको जोखिममा सबभन्दा बढी अनौपचारिक क्षेत्रमा कार्यरत जनसमुदायलाई परेको टड्कारो देखिन्छ । यस वर्गमा रहेका जनसमुदायमा पर्याप्त स्वास्थ्य जनचेतनाको अभाव मात्र नभएर आर्थिक रूपमा पनि कमजोर भएकाले संक्रमणबाट जोगिन आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गर्न सक्दैनन् । सुरक्षित पेसाको अभावमा दिनभरि कमाएर बिहान बेलुकाको छाक टार्ने श्रमिकको लागि यो महामारीले सबभन्दा बढी ग्रसित पारेको छ र पार्नेछ ।

सरकारले यस्ता विपन्न र निमुखा जनसमुदायको पहिचान गरी सरकारले राहतको सुविधा प्रदान गर्ने नीति लिनु लोककल्याणकारी राज्यको प्रमुख दायित्व हो । अन्यथा रोजिरोटीको गर्जो टार्न यो वा त्यो ठाउँमा भौतारिन विवश यो वर्ग नै जान अन्जानमा भाइरस फैलाउने प्रमुख एजेन्ट नबन्लान् भन्न सकिन्न । पिछडिएका क्षेत्रमा बसोबास गर्ने अधिकाँशको दिगो र सुरक्षित रोजगारी नभएका मानिसको स्वस्थ एवम् स्वच्छ गाँस, बास र कपासको न्यूनतम व्यवस्था गर्न सकेदेखि कोरोना संक्रमण फैलिन केही हदसम्म रोक्न टेवा पुग्नेतर्फ हेक्का राख्न बिर्सनु भुल हुनसक्छ । राज्यले अभिभावकत्व लिएको महसुस सबै जनताले गर्न पाउने परिस्थिति सिर्जना गर्न सरकार चुक्नु हुन्न ।

कोरोेना भाइरसको महामारीले ल्याएको विसम परिस्थितिसँग सावधानीपूर्वक जुध्नुको विकल्प हाम्रोसामु छैन । आत्तिनुभन्दा पनि संयमतापूर्वक सामना गर्दै अन्य देशहरूबाट पाठ सिकेर कोरोना प्रतिरोधका आक्रमक रणनीति बनाउनु बुद्धिमानी ठहर्छ । साथसाथै देश आत्मनिर्भर बन्ने उपाय र क्षेत्रहरू प्हिचान गरेर विदेशिएका युवा जनशक्तिलाई स्वदेशमा नै पसिना बगाउने अवसर खोजिनु पर्दछ ।

नेपाल कृषिप्रधान देश भनिए तापनि अहिले घट्दै गएर ६५ प्रतिशत जनसंख्या मात्र कृषिमा निर्भर छन् । त्यस्तै उद्योगधन्दाहरू धमाधम बन्द भएका छन् । सूचना र प्रविधिसँग सरोकार राख्ने पेशा व्यवसाय त्यति फस्टाएका छैनन् । रोजगार सिर्जना गर्ने खालका व्यवसायहरू संचालनमा स्पष्ट र दिगो नीति नभएको सरोकार पक्षको गुनासाको रौँचिरा विश्लेषणबाट निष्कर्षमा पुग्न विलम्ब गरिनु हुन्न । जनता र सरकारको परस्पर सहकार्य भरपर्दो भएमा पक्कै पनि कोरोना आक्रमणलाई निस्तेज पार्न सकिने चीनको सफलताबाट हामीले पनि सिक्नु पर्दछ ।

कोरोना संक्रमण विश्वभर तीव्ररूपमा सल्किदै गएको कारण बाट विश्व स्वास्थ्य संगठनले मार्च १३ तारिखमा महामारी नै घोषणा गरेको थियो । रोग फैलिने तीव्रताको कारण नेपाल लगायत दक्षिणपूर्वी एसियालाई उच्च जोखिम रहेको घोषणा समेत गरेको छ । कोरोना संक्रमणको जोखिम मानव स्वास्थ्यको साथसाथै आर्थिक क्षेत्र पनि गम्भीर हुँदै गएको छ । कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा पहिरो जाने क्रम बढ्दो छ । यस प्रकोपको कारणबाट ठूलै आर्थिक र मानवीय मूल्य चुकाउनुपर्ने देखिन्छ । विश्वको अर्थव्यवस्था धराशायी हुँदै गएको मा सर्वत्र चिन्ता र चासो सार्वजनिक भइराखेका छन् । कोरोनाले व्यक्ति, परिवार र देशलाई कंगाल बनाउँदै छ ।

चीन, दक्षिण कोरिया, जापान, अमेरिका तथा युरोपलगायतका औद्योगिक देशहरूमा उद्योगधन्दामा आएको मन्दीका कारण तेलको मूल्यमा ६८ प्रतिशतले गिरावट आएको छ । विश्वका सेयर बजार निरन्तर ओरालो लागेको छ । पर्यटन व्यवसाय धराशायीको अवस्थामा पुग्दै छ । मुलुकहरूमा कोरोना नियन्त्रणका लागि लकडाउनको लहर नै चलेको छ । हवाइ यातायात ठप्पको अवस्थामा पुग्दै छ । यात्रु आवगमनको अवस्था घटेको कारणबाट आर्थिक गतिविधिमा शिथिलता आउनु स्वभाविकै हो । जसको कारणबाट कैयौं श्रमिकको रोजगारी गुम्दै छ । यसले व्यक्तिको दैनिक जीवनयापनका लागि खर्च जुटाउन पनि धौधौ पर्ने चुनौती थपिने नै छ ।

आर्थिक गतिविधिमा हुने मन्दीको कारण राज्यको ढुकुटीमा नकारात्मक असर नपर्ने कुरै भएन । यसले विश्व अर्थतन्त्रमा गर्ने क्षति सन् २००३ मा फैलिएको सार्स संक्रमणको क्षतिभन्दा कैयौं गुणा बढी हुने अर्थविदले प्रक्षेपण गरिरहेका छन् । कोरोनाले अहिले सम्मन विश्व अर्थतन्त्रमा करिब आठ खर्ब अमेरिकी डलरभन्दा बढी क्षति पुगेको अनुमान एसियाली विकास बैंकले गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले पनि कोरोनाको कारण विश्व आर्थिक वृद्धिदर शून्य दशमलव ५ प्रतिशतले खुम्चिएर २ दशमलव ४ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । अझ यो क्रमको तीव्रता आगामी दिनहरूमा अझ बढ्ने आंकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत गरिब र विपन्न वर्गका समुदायलक्षित कार्यक्रम बेलैमा ल्याउन सुझाव दिएको छ । महामारीको कारण गरिबीको चपेटामा परेका कतिपय परिवारलाई बिहान बेलुकाको छाक टार्न नै हम्मेहम्मे परेको छ । समाजमा आत्महत्या, चोरी लुटपाटका अपराध क्रमशः बढ्दै छ । सरकारले बेलैमा अल्पकालीन र दीर्घकालीन राहतमुखी नीति ल्याउन बिलम्ब गरिनु हुन्न । अन्यथा सामाजिक अपराध अनियन्त्रित नहोला भन्न सकिन्न । सरकारी र गैरसरकारी क्षेत्रको सहकार्यमा रोजगार सिर्जना तथा न्यायोचित वितरण प्रणालीतर्फ सरकार र सरोकार पक्षको तत्काल ध्यान जानु दूरदर्शिता ठहर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया