Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपग्लिँदो हिमश्रृङ्खला र वातावरण संरक्षण

पग्लिँदो हिमश्रृङ्खला र वातावरण संरक्षण


डा. माधव अधिकारी
आज मुलुकको राजनीतिले अन्य क्षेत्रहरू गौण भएका छन् । दुई तिहाइको सरकार भए पनि रहेक पाइलामा मुख्य राजनितिक दल सर्वसाधारणको समस्याहरू हल गरी देश विकासतिर नलागी निहित स्वास्र्थमा नै अलमलिएका छन् । दुई तिहाइको सरकार हुँदा पनि राजनीतिलाई मात्र मुख्य मुद्दा बनाउँदै जाने हो भने मुलुक अगाडि बढ्न कठिन छ । वातावरण तथा पर्यावरणसम्बन्धी उल्लेख गर्नु वान्छनीय ठानिन्छ ।

नेपाल हाल एसियाकै २० सहरमध्ये वातावरण प्रदुषित प्रमुख सहर हुन पुगेको छ । वातावरण संरक्षणको समस्यामा सुधार नेपालका निम्ति अत्यन्तै जरुरी छ । सहरीकरणको विस्तार, जनसंख्याको वृद्धिको साथै पानीको प्रदूषण, वायुको प्रदूषण र खासगरी सवारी साधनबाट हुने प्रदूषण व्यापक भइरहेको छ । जस्तो ध्वनि, दुर्गन्धसम्बन्धी प्रदूषण, पानीसम्बन्धी प्रदूषण, हावासम्बन्धी प्रदूषण अरु फोहोरमैला इत्यादिबाट जथाभावी हुने प्रदूषण नियन्त्रण भएका छैनन् ।

जथाभावी टायर जलाउने, फोहरमैला यत्रतत्र फाल्ने, प्लास्टिक जलाउने कार्य यथावत छन् । यस्तो प्रदूषणलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा कमन ल पद्धतिका मुलुकमा जस्तै राष्ट्रहरूउपर दुष्कृतिको दायित्वको कानुन छ । तर त्यस्तो कानुन हामीकहाँ छैन, भएको कानुन पनि कागजमा मात्रै सीमित छ । यस्तो कानुनको कार्यन्वयन गर्ने न त नागरिक चेतना छ, न त राज्यको कुनै प्रतिबद्धता छ । यसको मुख्य कारण सरकारको उदासिनता र जनचेतनाको अभाव हो ।

पृथ्वीमा भएका अनेकौँ तत्वहरूमध्ये एकको घटी वा बढीले अरुलाई समेत असर पार्दछ । अन्य प्राणी, वनस्पति तथा समग्रमा जीवित प्राणी र मानव जातिको अस्तित्वमा समेत प्रश्न गर्न सक्दछ । यसको उदाहरणको रूपमा लोकतान्त्रिक जनताको सरकार, सिंहदर्बारको अधिकार गाउँ तथा घर–घरमा आइसकेपछि पनि देशको आर्थिक, भौतिक, सामाजिक, नैतिक तथा पर्यावरणको विनाश रोक्न खासै कदम चालेको पाइँदैन ।

पृथ्वीमा भएका विविध तत्वको कारणले वातावरणको नियन्त्रणमा भएको उदासिनताले वातावरणको क्षेत्रमा चिन्तित हुनुपर्ने अवस्था छ । वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनीतिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित भएको वातावरण विनाश मानव बाँच्ने आधार संख्याहरू नष्ट हुँदै गएर पग्लिँदो हिमश्रृंखला जल्दो बल्दो समस्यामा परिणत भएकोले वर्तमान समयमा वातावरणलाई वातावरणप्रेमीले अति महत्वका साथ हेर्न थाल्नु स्वभाविकै हो ।

यसै सन्दर्भमा बझाङ जिल्लाको ७०३१ मिटर अग्लो साइपल हिमाललाई लिन सकिन्छ । २०७५ कात्तिकसम्म हिउँले सेताम्मे साइपल हिमाल २०७६ सालमा २५ वर्षयताकै ठूलो हिमपात हुँदा पनि अन्यभन्दा कम हिउँ जमेर यस वर्ष नाङ्गै भएको छ । साइपालभन्दा होचा टाकुरामा टन्न हिउँ छ तर साइपालमा छैन । करिब दुई वर्षको अवधिमै साइपालमा हिउँ कसरी हरायो भन्ने बारे कुनै अनुसन्धान भएको छैन् । हिउँले टम्म भरिएको सेताम्मे साइपालको आकर्षणले सबैलाई मोहनी लगाउँथ्यो । नजिक पुगेपछि अर्कै खालको आनन्द आउँथ्यो । दिनभरि हेरिराख्दा पनि मन अघाउँदैनथ्यो ।

साइपालमा छिटोछिटो बदलिँदो मौसमको लुकामारी चित्ताकर्षण हुन्थ्यो । साइपालको चुचुरो लजालु बेहुलीजस्तै छिनमै बादलको घुम्टोभित्र लुक्थ्यो । हावाको गतिसँगै विस्तारै बादल हट्थ्यो । अनि हिउँको सिरकले गमक्क छोपिएको साइपाल खुल्दा वरिपरिको वातावरण पनि उज्यालिन्थ्यो । अहिले साइपालको हिउँ गाएब भएको छ । यो हिमाल साइपाल हो कि होइन, अनौठो के भने साइपालभन्दा होचो तर साइपालको आसपासको साना टाकुरामा टन्नै हिउँ छ । साइपालमा मात्र हिउँ छैन । बझाङमा गत वर्ष हिउँदमा २५ वर्षयताकै ठूलो हिमपात भएको थियो । मंसिर अन्तिम सातादेखि सुरु भएको हिमपात चैत्र मध्यमसम्म जारी थियो ।

गत वर्ष जिल्लाकै सबैभन्दा होचो भू–भाग देउरामा पनि २५ वर्षपछि हिउँ जमेको थियो । सबैभन्द बढी हिउँ परेको वर्ष साइपालमा भने हिउँ नै नहुनुको एकिन कारण कसैले बताउन सकेका छैनन् । स्थानिय जानकारहरू हिउँ बढी भएर पहिरो गएको हो कि भन्ने अनुमान मात्र गर्दछन् । यसबारे वैज्ञानिक अध्ययन हुन सकेको छैन । यो एउटा प्रतिनिधि पात्र मात्र हुन सक्छ यस्तो धरै भएको हुन सक्छ । जसको अध्ययन हुन जरुरी छ । सरकारी पक्ष आफ्नो दायित्व पूरा गरेको देखिँदैन । उल्टो सरकार वरिपरि घुम्नेले प्राकृतिक स्रोतको दोहन गरी विपत् निम्त्याएका छन् । साथै योजनाकार र नीति निर्माणहरू वातावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा नपुगेको कारण यो वातावरणीय दुर्दशा भएको हो ।

यो परिणाम विगतमा मानिसले वातावरणप्रति गरेको परिणाम तथा त्यसले मानिसलाई पारेको नोक्सानीलाई हेर्दा वातावरणको यथोचित संरक्षणबिना दिगो विकास दीर्घजीवी हुन नसक्ने प्रस्ट छ । मानव जातिको समुन्नति एवं अस्तित्वकै लागि पनि वातावरणको महत्व प्रस्ट हुँदै गएको छ । तसर्थ, मानवजातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जति महत्व छ त्यतिकै मात्रामा वातावरणको संरक्षण पनि अपरिहार्य छ । वातावरणीय विनाशले नेपाल र नेपालीहरूको वातावरणीय परिवेशमा नकारात्मक परिणाम ल्याएको छ । राष्ट्रमा विकास आयोजना सञ्चालन गर्दा वातावरणप्रति उदासिन भई वातावरण विनासले ठूला दुर्घटना निम्त्याउँछ ।

मुख्यतः वातावरण विनाशबाट जलवायु परिवर्तन भएको छ । जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्याको रूपमा देखिएको छ । हरितगृह ग्यास उत्सर्जनमा न्यूनीकरण नहुनाले तापमान वृद्धि भएको छ । नेपालमा पनि राजधानी काठमाडौँमा ३६ डिग्रीसम्म तापक्रम मापन गरिएको छ । यो जलवायु परिवर्तनको असर हो । नेपालको हिमाली क्षेत्रमा शून्य दशमलव छ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न गई हिम श्रृंखला पग्लनु, पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टिजस्ता समस्या देखा पर्नु, दुई हजार मिटरको उचाइसम्म लामखुट्टे देखा पर्नु, वन्यजन्तु लोप हुनु, कोभिड–१९ महामारीलगायत हैजाजस्ता रोग फैलनु, विनाशकारी आँधी र बाढी आउनु, नदीनालाको सतह घट्दै जानु आदि वातावरण विनाशबाट उत्पन्न परिणाम हुन् ।

६ दशक अगाडि नेपालको जनसंख्या करिब ५० लाख थियो भने हाल करिब तीन करोड पुगेको अनुमान छ तर वन, जङ्गल र जमीनको क्षेत्र बढेको छैन, जमीनको उत्पादकत्व बढेको छैन । कृषि आकाशे पानीमा निर्भरता, आयातीत बीउ, रासायनिक मल र कीटनाटक विषादीको प्रयोगबाट उत्पादन केही मात्रामा बढेको भए पनि गुणस्तरीय र स्वस्थ खाद्यान्न पाउनु चुनौती भएको छ । सन् १९७०/८० को दशकतिर अम्लीय वर्षाको समस्या चर्चामा थियो भने अहिले जलवायु परिवर्तनको चर्चा विश्वभर व्यापक छ ।

नेपालजस्तो कम विकसित देशमा औद्योगिक तथा सहरी विकासको क्रममा जल तथा वायु प्रदूषण र फोहरमैलाको समस्या र ग्रामीण भेगमा वनविनास चुनौती बन्दै गएको छ । प्राकृतिक स्रोतको उच्च प्रयोगबाट सृजना भएको भू–क्षय, बाढी, पहिरो, कृषि उत्पादन र वनको उत्पादकत्वमा कमीजस्ता समस्याहरू वृद्धि भएका छन् । यी समस्याहरूले जनस्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । वन विनाश, भू–क्षय, बाढी, पहिरोका साथै प्रदूषण एवं जलवायुको असरजस्ता वातावरणीय समस्या ठूलो चुनौतीको रूपमा बढिरहेको छ ।

वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत रूपमा प्रभाव पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ । मानिसको अस्तित्वको लागि वन जंगल जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वन जंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो ।

मानिसको आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरू ग्रहण गर्दछ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ नकी वातावरणीय विनाशबाट । अनियन्त्रित रूपमा डोजर चलाई प्राकृतिक स्रोत साधनको दोहन, होहल्ला, आवाज तथा हर्न, कारखानाको ध्वनि, सिमेन्ट, गिटी उद्योग, इँटा उद्योग आदिले वातावरण विनाश भई सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । फोहोरमैला व्यवस्थापनको लागि उचित ल्यान्डफिल्ड साइड नहुनु पनि वर्तमान वातावरणको विनाशको एक प्रमुख तत्वको रूपमा लिन सकिन्छ ।

घरायसी प्रयोजनबाट, कारखानाबाट, अस्पतालबाट, सडेगलेका वस्तुहरूबाट, वायु जल, माटो आदिमा हानीकारक तथा घातक फोहोर मैला निस्कन्छ । यसको उचित व्यवस्थापनको अभावले पनि वातावरणमा तीव्र हानि पु-याउछ । यस्तै भू–क्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्ल वर्षा, वन विनाश, सवारी साधन तीव्र वृद्धि अनियोजित सहरीकरण, अनियोजित औद्योगिकीकरण जनसंख्या वृद्धि, जनचेतनामा कमी आदि कारक तत्वबाट वातावरण विनाश भई पग्लिँदो हिमश्रृंखला जल्दो बल्दो समस्या आदि वातावरण विनाशको कारक तत्वको उपज होइन र ? वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई वर्षा याममा वर्षा नभई धान, मकै, आलुजस्ता कृषि उत्पादनमा ठूलो असर परेको छ ।

जनचेनतनामा वृद्धि, वन संरक्षण, बढ्दो सवारी साधनको नियन्त्रण, भू तथा जलाधारको संरक्षण, जनसहभागितामा वृद्धि, विद्यार्थीहरूको भूमिका, गैरसरकारी संस्थालाई उचित प्रयोग, नैतिक शिक्षा, आम सञ्चार दिगो योजनाकार, संरक्षणको मुख्य संरक्षक तत्वहरू हुन् । हामी सबै यसतर्फ लाग्नु जरुरी छ नत्र नेपाल आमाले सराप्ने छिन् । हामी र हाम्रा सन्तति सबैको साझा फूलबारी हो ।

नयाँ नेपाल निर्माणका लागि व्यवस्थित सहरीकरण प्रमुख आवश्यकता हो । सन्तुलीत र दिगो विकासका लागि वातावरण सुधारको आवश्यकता छ, तर गांउबाट सहरतर्फ सुविधा रोजगारीको लागि आउने क्रम व्यापक छ । यसले गर्दा गाउँमा युवा जनशक्तिको खाचो भई कृषि क्षेत्रमा समस्या आएको छ । जनआन्दोलन दुईपछि नयाँ संविधान बनाउने जनताको अभिलासा पूरा भई नेपालको संविधान आएको छ । अहिले सो संविधान कार्यान्वयनको कसरतमा छ । तर राजनितिक दलहरूकको निहित स्वार्थको कारणले गर्दा नेपाली जनताले दुःख पाई देशको आर्थिक स्थिति गिरेका छ । यसको असर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वातावरणमा परेको छ । सो समस्या निराकरण गर्नु आजको आवश्यकता हो ।

अतः विश्वकै दोस्रो जलस्रोतको धनी राष्ट्र भनि उपाधि पाएको लोकतान्त्रिक गणतन्त्र नेपालमा वातावरण संरक्षण गरी बिहानीको सुनौलो सगरमाथा, शितल फेवातालमा परावर्तित माछापुच्छ्र्र्रेको छायाँ, लालीगुराँसको फूलबीच लुकामारी खेल्ने डाँफे चरी, मुनाल, कालिजजस्ता चराचुरुंगी, चारकोसे झाडीले प्रसिद्धि कमाएका हाम्रा जंगल अनि त्यसमा छुनुमुनु गर्ने हरिण र मृग, शावकहरू, गैडाका केटाहरू, हात्तीका छावाहरू र कोइलीका मधुर स्वरहरू संरक्षण गर्नु हाम्रो दायित्व मात्र नभई कर्तव्य पनि हो ।

विश्वसामु सगरमाथा, बुद्ध, र पशुपतिनाथ भएको नेपालमा पूर्ण शान्तिमय वातावरणको सृजना गरी नेपालीमा आपसी मेल गरी हिंसा त्यागी सभ्यता, संस्कृति र शान्तिमय वातावरणको विगुल फुक्ने दिवसको मुस्कुराउँदै बुद्धको शान्ति लागू हुने, पशुपतिनाथ नेपालमा विराजमान गरेको सार्थकता भई नेपाल र नेपालीको वातावरण सुधार भई हिलोबीच पनि कमल फक्रन्छ, वीर नेपालीहरू राष्ट्रकै हित हुने वातावरणमा लागौँ, हिंसा त्यागौँ, सविधानको सफल कार्यान्वयन गरौँ, मुख्य राजनितिक दलहरू निहित स्वार्थमा नलागी देश विकासमा लागौँ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया