Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगल्याब टेस्ट फेल भएका बिटुमिन कहाँ छन् ?

ल्याब टेस्ट फेल भएका बिटुमिन कहाँ छन् ?


हरेक दिन पत्रपत्रिका, अनलाइन समाचार च्यानल, रेडियो तथा टेलिभिजनमा सडकमा कालोपत्रे उक्केको, कालोपत्रे गर्नासाथ उडेको, कालोपत्रे नबसेको आदि समाचार प्रशासरण भइरहेका हुन्छन् । कतिपय कालोपत्रे सडक बिग्रिनुमा सडकको डिजाइन, प्रयोग विधि र प्रयोग भएका पदार्थहरूको गुणस्तर जिम्मेवार छन् । विदेशवाट पैठारी हुने कालोपत्रे (अलकत्रा अर्थात् बिटुमिन) विभिन्न गुणस्तरका हुन्छन् ।

विशेष गरेर मध्यपूर्वका खाडी देश इरान, इराकबाट विभिन्न माध्यमबाट (जस्तो दुवई, मलेसिया, सिङ्गापुरमा प्रतितपत्र खोलेर) सिधै नेपालमा पैठारी हुने बिटुमिन तथा त्यही पद्वतिबाट भारतमा पैठारी गरेर ड्रम फिलिङ गरी (कन्ट्री अफ ओरीजन इण्डिया बनाइएको) नेपालमा पैठारी हुने बिटुमिन न्यून गुणस्तरका हुन्छन् । भारत सरकारको स्वामित्व भएका रिफायनरीहरूबाट नेपालमा पैठारी हुने बिटुमिनको बजार मूल्य ६० देखि ७७ सम्म छ । तर गल्फबाट पैठारी हुने बिटुमिन तथा भारतमा पैठारी भइफिलिङ गरेर पुनः नेपालमा पैठारी भएका बिटुमिनको हालको बजार मूल्य ६० देखि ६५ प्रतिकेजीसम्म पर्दछ । यसरी पैठारी भएको बिटुमिनको मूल्य रिफायनरीहरूको मूल्यभन्दा करिब १० रुपैयाँ प्रतिकेजीले न्यून छ ।

हाल सडक कालोपत्रे गर्ने कार्यको बोलपत्रमा प्रतिस्पर्धा गर्दा ३५ देखि ४० प्रतिशतसम्म न्यूनतम घटेर बोलपत्र लिने चलन छ अर्थात इस्टिमेट एक सय रुपैयाँको छ भने निर्माण कम्पनीले ६० देखि ६५ रुपैयाँमा काम गर्न कबुल गर्दछन् । तसर्थ उच्च प्रतिस्पर्धामा बोलपत्र हात पार्ने निर्माण कम्पनीहरूको रोजाइमा सस्तो र न्यून गुणस्तरको बिटुमिन (गल्फ मुलुकबाट पैठारी भएका) पर्न जाने हुँदा त्यसको प्रयोगले सडकमा कालोपत्रे धेरै दिन टिक्दैन ।

नेपालमा ९९ दशमलव नौ प्रतिशत बिटुमिन सडक कालोपत्रे गर्ने काममा मात्र प्रयोग गरिन्छ । तर न्यून गुणस्तर भएका बिटुमिन कसरी ल्याब टेस्ट पास गरी सडकमा प्रयोग भइरहेका छन त ? आजसम्म ल्याबटेस्ट फेल भएर रिजेक्ट (रद्द) भएका बिटुमिन विदेश फिर्ता गएको अथवा फलानो ठाउँमा नष्ट गरिएको भन्ने सुनिएको तथा देखिएको छैन । यसको तात्पर्य जस्तोसुकै बिटुमिन नेपालमा पैठारी भएर ल्याबटेस्ट फेल भए पनि घुमिफिरी सडकमा नै प्रयोग भइरहेको छ र यसबाट न्यून गुणस्तरको बिटुमिनबाट सडक कालोपत्रे हुनजाँदा सडक टिकाउ हुँदैन र मर्मत सम्भारकानाममा करोडौंँ रूपैयाँ सडकमा पानीझैँ बगिरहेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया