Techie IT
×
गृहपृष्ठविचारऐतिहासिक तथा पर्यटकीय स्थल लाहान नगरपालिका

ऐतिहासिक तथा पर्यटकीय स्थल लाहान नगरपालिका


काठमाडौं ।
नेपालको प्रदेश नं. २ को सिराहा जिल्लामा पर्ने लाहान नगरपालिका व्यापारिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रूपमा स्थापित छ । सिराह क्षेत्रमा पहिलेदेखि नै घना जंगल रहेको र स्थानीय भाषामा रुखका जरालाई ‘शिर’ भनिने भएकोले पछि यो ठाउँलाई सिराह भन्न थालिएको पाइन्छ । सिराह इलाका पहिले सप्तरी राज्यअन्तर्गत पर्दथ्यो । सिराह (सप्तरी) इलाका नेपालको पूर्वी क्षेत्रको चौदण्डी राज्यको मातहत रहेकोमा सुगौली सन्धिपछि सन् १७७३ देखि नेपालको एक भागको रूपमा गाभिएको देखिन्छ ।

सन् १०९७ तिर सिराहातिर हुत राज्यको एक भागको रूपमा रही सप्तरीसम्म फैलिएको थियो । यहाँ सन् १०९७ मा भारतबाट आएका कर्नाटकवंशी राजा (नान्यदेव)ले हालबाराको सिम्रौनगढमा बसी शासन चलाउँथे । सन् १३२४ मा भारत, दिल्लीका सुल्तान गयाशुद्धिन तुगलकबाट आक्रमण हुँदा तत्कालका शासक काठमाडौँतर्फ भागे र त्यसपछि सिराहा सप्तरीलगायत कोशी क्षेत्रको ठूलो भागलोहाङ सेन (पाल्पाली सेन वंशी शासक)को जिम्मा एवं अधिनमा रहन गएको पाइन्छ । तीनै सेन वंशका वंशज जगत सेनले कमला र कोशीको क्षेत्रमा हनुमान नगर इलाकाको राजाको रूपमा शासन गरेका थिए । सिराहा सप्तरी इलाकामा कर्ण सेनले राज्य चलाइरहेका बखत सन् १७७३ मा गोर्खाली फौजबाट चौदण्डी राज्य आक्रमणको क्रममा सिराहा सप्तरी समेत कब्जा गरी सो इलाका नेपाल राज्यमा मिलाइएको थियो ।

‘लहान’ नामाकरण विसं १९९० साल अघितिर पूर्वी पहाडका व्यापारीहरू आफ्ना कृषि उत्पादन बिक्री गर्न यस ठाउँतिर झरी व्यापारको क्रममा झैँ झगडा गर्दा ‘लौ हान’, लो हान’ भन्दा ठाउँको नाम नै लहान रहन गएको जानकारहरूको भनाइ छ । नेपालमा पाल्पाली सेन वंशी राजाको प्रभुत्व भएको बखतलोहाङ सेन नाम गरेका राजाले पूर्वतिर लडाइँ गर्दै अगाडि बढ्दै गर्दा हाल नगरपालिकाको ९ नं. वडाको वरिपरि गोठको बस्ती बसालेको र यही पहाड र तराईको बीचमा अवस्थित सो क्षेत्रलाई त्यसपछि लौहाङ सेन राजाको नामबाट अपभ्रंश हुँदै लहान भएको भन्ने पनि जानकारहरूको भनाइ छ ।

कुल भू–भागको ६१ दशमलव ५ प्रतिशत कृषियोग्य जमीनले ढाकेको यस जिल्लालाई पूर्व–पश्चिम लोकमार्ग यस नगरपालिकालाई छोएर जाने हुनाले आर्थिक सम्भावना पर्याप्त रहेको छ । साथै, सगरमाथा अञ्चलको पहाडी क्षेत्र र तराइलाई यस नगरपालिकाले जोड्ने भएकोले यसको आर्थिक महत्वझ नै वृद्धि भएको छ । यस नगरपालिकामा अधिकांश तराईको समथर भू–भाग साथै माथितिर शिवालिक पर्वत रहेको छ, जुन पर्वतले उदयपुर जिल्लासहितको सिमानाको पनि काम गर्दछ ।

सांस्कृतिक परम्परा र मान्यताहरू मानवीय आस्था, विश्वास, परम्परा, आदर्शता, साहित्य, भाषा, कला, धर्म, दर्शनादिको प्रतिबिम्ब र आध्यात्मिक जीवनको दर्पणको रूपमा यो जिल्ला रहेकोले अभ्यस्त एवं पारखी जिज्ञासुको निम्ति यी जिल्ला र नगरपालिका क्षेत्रसमेत खुला पुस्तकको रूपमा अध्ययनका लागि उपलब्ध रहेका छन् । प्रत्येक वस्तु र परम्परामा मूर्त एवं अमूर्त संस्कृति प्रतिविम्बित हुन्छ । एक्काईसौं शताब्दीको फुर्सदिलो एवं मनोरञ्जनमा रमाउन चाहने मानवले विश्वको कुनाकाप्चामा पुगी प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रसस्वादन गर्ने क्रममा यस्ता परम्पराहरू अत्यन्त आकर्षक एवं मनमोहक भएको तथ्य विशेष स्मरणीय छ । विसं २००७ सालसम्म नगन्यरूपमा मात्र बस्तीहरू भएको यस नगरमा खासगरी विसं २०१७ सालपछि बस्ती विकासको गतिमा तीव्रता आएको हो ।

लाहान नगरपालिकामा विभिन्न ऐतिहासिक एवं पर्यटकीय सम्पदाहरू जस्तैः सलहेश फूलबारी, पकडियागढ, देवीथान, ब्रह्मान गोर्छारी जंगल, वासुकीनाथ मन्दिर आदि छन् । प्रत्येक वर्ष वैशाख १ गते फूल फूल्ने तथा सौन्दर्यले भरिएको सलहेश फूलबारी बगैंचा पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ । यहाँ प्रत्येक साल वैशाख १ गते हारुनको बोटबाट फूल फूल्ने गर्दछ र यसबेला भव्य मेला समेत लाग्ने गर्दछ ।

प्राचीन कालदेखि नै बाक्लो जंगलको रूपमा चिनिएको यस लाहान नगरपालिकाको उत्तरतर्फ सालको रुख, चूरेतर्फ जामुन, सिमल, लामुपाते, सिंधुरे आदि र बलाननदी छेउछाउमा ठूला घाँसेमैदान रहेका र माटो जमेका ठाउँमा सिसौ र खयरका वन पाइन्छ । लहान आँप धेरै हुने स्थानमध्येमा एक पर्दछ । यहाँका बगैंचाहरूमा प्रशस्त आँपलगायत केरा, लिची, कटहर रोपिएका र सिजनअनुसार फलेका भेटिन्छन् । यहाँको मुख्य जनावरमा दुम्सी, नीलगाई, मृग, खरायो, चितुवा, बनेल आदिजस्ता लोपउन्मुख जनावरहरू पाइन्छन् भने चरामा मयुर, कालिज, लुँइचे, सुगा, मैना, ढुकुर आदि यत्रतत्र रमेका पाइन्छन् ।

विश्वमा सूचना र संचारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथाश्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै ऐतिहासिक तथा पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बद्लिदो आर्थिक परिवेशलाई आत्मसात गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशसील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ ।

यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदिबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन, कृषि, व्यापार तथा औद्योगिक व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोशाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन, कृषि, व्यापार तथा औद्योगिक व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मकरूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।

भगवान गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको संगमस्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्रामस्थलको रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मिहिनेती समुदायको साझा फूलबारी हो ।

यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीय स्थलहुँदा छुै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । व्यापारिक, औद्योगिक तथा सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण लाहान नगरपालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामाविशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिकस्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय, धार्मिक तथा ऐतिहासिक आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन एवं ऐतिहासिक धरोहरको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले लाहान नगरपालिका क्षेत्रको लागि पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलको सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट कामवा रोजगारी श्रृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस लाहान नगरपालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । कमलदहजस्ता पर्यटकीय स्थलमा पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुनेछ ।



तपाईको प्रतिक्रिया