Techie IT
×
गृहपृष्ठविचारलघुवित्त संस्थाहरूमा महिला सहभागिता

लघुवित्त संस्थाहरूमा महिला सहभागिता


काठमाडौं ।
विकास एक निरन्तर प्रक्रिया हो जसको प्रमुख उद्देश्य मानवीय सुखशान्तिको अभिवृद्धि गर्नु हो । वस्तुतः मानव भन्नाले महिला र पुरुष दुवैको प्रसङ्ग आउने हुनाले समानताअन्तर्गत लैंगिक समानता पनि पर्छ, जुनविना घरपरिवारमा कलह, द्वेष, इर्ष्या र आशन्तिबाहेक केही पनि हुँदैन र कुनै पनि देश विकासको गोरेटोमा अग्रसर हुन सक्दैन । वास्तवमा कुनै पनि देशको सर्वतोमुखी विकासका लागि महिला र पुरुष दुवैको समान सहभागिताको आवश्यकता पर्छ किनभने दुवै विकासरूपी रथका दुई पाङ्ग्रा हुन । यिनीहरूमध्ये कुनै एक पछाडि परेमा त्यसको प्रभाव अर्को पक्षको जीवनमा पनि पर्छ ।

आजसम्म पनि नेपालका अधिकांश महिलाहरू भोक, रोग, शोक, र विभिन्न किसिमका शोषणबाट पीडित छन् । यहाँको धेरैजसो काममा पुरुषको पहुँच ८९ प्रतिशत छ भने महिलाहरूको ११ प्रतिशत मात्र छ । यहाँ झण्डै ९४ प्रतिशत घरको स्वमित्व पुरुषको छ भने ६ प्रतिशत मात्र महिलाको छ । राजनीतिमा पुरुषको सहभागिता ९० देखि ९५ प्रतिशतसम्म छ भने महिलाहरूको ५ देखि १० प्रतिशतसम्म छ । यहाँका नीतिनियम निर्माण एवम् संवेदनशील क्षेत्रमा महिलाहरूको सहभागिता न्यून छ ।

जतिसुकै विकासको कुरा गरिए पनि यहाँको ग्रामीण विकासमा महिलाहरूको सहभगिता सोचेअनुरूप हुन सकेको छैन । अरु त के कुरा ग्रामीण विकासमा महिलाहरूको सहभागिता बढाउन गठन गरिएका समिति तथा उपसमितिमा समेत उनीहरूलाई प्रोत्साहन दिएको पाइदैन । तर लघुवित्त संस्थाहरूमा महिलाहरूको सहभागिता बढ्दो क्रममा छ ।

नेपालमा लघुवित्तको सुरुवात सन् १९९० मा भएको हो । यहाँ उदार अर्थनीति लागू भएपछि उक्त नीतिको फाइदा उठाउँदै निजी क्षेत्रको लगानीमा ‘घ’ श्रेणीका लघुवित्तहरू स्थापना गर्न थालियो । हाल यहाँ झण्डै ९० लघुवित्त संस्थाहरू छन् । यिनीहरूमध्ये केही मर्जरमा गइरहेका छन् भने केही थपिँदै पनि छन् । कुनै पनि लघुवित्तमा सबैभन्दा पहिले सदस्यहरू बनाइन्छ । त्यस पछि उनीहरूलाई उक्त संस्थाको नीति, ब्याजदर, किस्ता, समूह र बचत जस्ता विषयमा तालिम दिइन्छ । समान्यतः पाँचजना सदस्यको एक समूह र पाँचवटा समूहको एक सेन्टर बनाउने प्रचलन छ ।

नेपाल राष्ट्र बैंकले १५ लाखसम्म धितोमा र समूहमा प्रतिसदस्य तीन लाखसम्म कर्जा दिने सुविधा दिएको छ । परन्तु झण्डै ८० प्रतिशतभन्दा बढी ऋण विनाधितो समूह जमानीमा दिइन्छ । यसको मुख्य कारण सबैले थाहापाउँदा सामाजिक दबाब सिर्जना भई ढिलो या चाँडो कर्जा असुली हुन्छ भन्ने मान्यता छ । वाणिज्य तथा विकास बैंकहरूले विपन्नहरूमाथि विश्वास गर्दैनन् भनिन्छ । त्यसैले यी बैंकहरूको करिब ८० प्रतिशत कारोबार सम्पन्न परिवारहरूमा सीमित छ । तर लघुवित्तहरूको ग्राहक सबै निर्धन छन् ।

गरिबको भरोसा बन्दै गएको लघुवित्तहरूको पहुँच ६० प्रतिशतमा पुगेको अनुमान छ । यिनीहरूले खास गरी बचत, कर्जा, बीमा, विपे्रषणका अतिरिक्त गैरवित्तीय सेवाहरू, तालिम, सरसल्लाह र विभिन्न व्यवसाय सुरु गर्ने वातावरण बनाइदिने काम गरेका छन् । त्यसैले यिनीहरूको व्यापकता, निरन्तरता र दिगोपनमा ध्यान दिन आवश्यक छ ।

आथिक दृष्टिकोणबाट नेपालमा पुरुषहरूभन्दा महिलाहरू निकै कमजोर छन् । उनीहरूको आयआर्जन पुरुषहरूको भन्दा कम छ भने बचत पनि निकै नै न्यून छ ।
यहाँका सहरी क्षेत्रका भन्दा पनि ग्रमीण क्षेत्रका महिलाहरूको आयआर्जन धेरै कम छ । विगतमा सरकारले ग्रामीण महिलाहरूको उत्थानका लागि केही प्रयासहरू गरे पनि प्रभावकारी हुन सकेनन् । वास्तवमा सरकारले महिला विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरूभन्दा लघुवित्त कार्यक्रमहरूतुलानात्मक रूपमा बढी प्रभावकारी भइरहेका छन् ।

लघुवित्तहरूमा समावेश भएपछि ग्रामीण महिलाहरू आफ्ना विचार जनसमक्ष निर्धक्कसँग राख्न सक्ने भएका छन् । सम्बन्धित लघुवित्तहरूमा उनीहरूको केही रकम बचत गरिएको छ जुन सबै जोड्दा झण्डै कुल ६९ अर्ब ५९ करोड रुपैयाँ छ । आजकाल ग्रामीण महिलाहरू आफ्ना गर्जो टार्न लघुवित्तहरूका भर पर्न थालेका छन । उनीहरू आत्म निर्भर भएकाले आ–आफ्ना परिवारमा उनीहरूको सम्मान एवं हैसियत बढेको छ ।

लघुवित्तहरूका लक्ष्य नै कम आय भएका व्याक्तिलाई आत्मनिर्भर बनाउन कर्जा उपलब्ध गराउनु, बचत गर्न सिकाउनु र जोखिम न्यून गर्नु हो । यो लक्ष्य परिपूर्ति गर्न लघुवित्तहरूले मान्यता प्राप्त गरेका छन् । हाल ग्रामीण महिलाहरूको गरिबी निवारणकालागि लघुवित्तहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । हालसम्म यस सम्बन्धमा कुनै मूल्यांकन नगरिए पनि केही उपलब्धि भएको अनुमान छ ।

विगतका शताब्दी महिलाहरूको तुलनामा पुरुषहरूको लागि केही सुखद थियो । तर आज परिस्थिति बदलिइको छ । त्यसैले पुरुषहरूलाई जस्तै महिलाहरूलाई संरक्षण दिन वित्तीय संस्थाहरूसम्बन्धी साक्षरता, सुरक्षा, बचत र ऋणका लागि लघुवित्तहरूले केही योगदान पु-याएका छन् । लघुवित्तहरूले खासगरी ग्रामीण महिलाहरूलाई बचत, कर्जा, बीमा र विपे्रषणका अतिरिक्त गैरवित्तीय सेवाहरूलगायत तालिम, सरसल्लाह र विभिन्न व्यवसाय सुरु गर्न सहज वातावरण बानाइदिने काम गरेका छन् । यति मात्र होइन, यिनीहरूले महिला सशक्तीकरणका लागि केही काम गदै आएका छन् ।

नेपालका लघुवित्तहरूले लिने आधार ब्याजदर महँगो छ । वस्तवमा १३/१४ प्रतिशत ब्याजदरमा कर्जा लिई लगानी गर्दा महंगो भएको हो । त्यसैले उक्त ब्याजदर घटाउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ । जटिल भौगोलिक अवस्था र विपन्नताको सामना गर्दै नेपालमा सञ्चालित लघुवित्तहरू सामाजिक तथा वित्तीय अवधारणाबाट प्रेरित छन् । विषेशतः दुर्गम क्षेत्रका ग्रामीण महिलाहरूको जीवनस्तर उकास्न यनीहरूले खेलेको भूमिका सह्रनीय छ ।



तपाईको प्रतिक्रिया