Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक विकासमा पर्यावरणीय चिन्ता

आर्थिक विकासमा पर्यावरणीय चिन्ता


प्रदीप उप्रेती
आर्थिक विकासको अभावमा विश्वका कुनै पनि मुलुकले सम्पन्नता हासिल गर्न सक्दैन । यस क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न तथ्यबाट नेपाल पनि पृथक रहन सक्दैन । किनकी यी दुवै पक्षको समन्वयात्मक भूमिकापश्चात् मात्र विश्व जगतमा आज देखिएको समृद्धिले सुनिश्चितता प्राप्त गर्न सम्भव रहेको हो । त्यसो भएको हुँदा समृद्ध मुलुकको आर्थिक अवस्थाअनुरूपको समृद्धिको मार्गचित्र कोर्नु यस क्षेत्रको विकासको लक्ष्य हो । जुन भौगोलिक एवं प्राकृतिक संसाधनको आधारमा निर्योल गरिनुपर्छ । निष्कृयरूपमा रहेको प्राकृतिक संसाधनलाई योजनाबद्ध ढङ्गबाट विकास समृद्धिको खातिर खर्चिनु पर्ने अवस्था तयार पार्नुपर्छ । जुन–जुन स्थानमा जे–जस्तो वस्तु तथा सेवा उत्पादनको लागि योग्य रहन्छ, सोही तथ्यलाई प्रमुख प्राथमिकतामा राखी कार्ययोजनालाई अगाडि बढाउने प्रण गर्ने हो भने लक्ष्यअनुसारको प्रगति प्राप्तिमा अवरोध सिर्जना हुनेछैन भन्दा फरक नपर्ला ।

किनकी आर्थिक विकास भन्ने कुरा आजको आजै वा भोलि नै हुने भन्नेचाहिँ पक्कै पनि होइन, यसका लागि समयाबद्धरूपमा सकारात्मक योजनासहितको दीर्घकालीन खाकाको आवश्यकता पर्दछ । विकासको नाममा आज जुनरूपमा पर्यावरणको क्षेत्रमा क्षति भइरहेको छ यदि त्यसलाई समयमा नै रोक्न नसक्ने हो भने अवस्था भयावह हुने देखिन्छ । पर्यावरण संरक्षणमा ध्यान नदिई प्राकृतिक संसाधनको अत्यधिकरूपमा दोहन मात्रै गर्ने प्रवृतिको विकास गर्ने हो भने यो ब्रम्माण्ड मानवबस्तीको लागि अनुपयुक्त हुने निश्चित छ । त्यसो भएको हुँदा आर्थिक विकासको साथसाथै पर्यावरण संरक्षण आजको प्रमुख चुनौतीको रूपमा विश्वसामु रहँदै आएको छ ।

नेपाललगायत विश्वमा आज कायम रहेको पर्यावरण क्षेत्रको विनाशको गतिमा कुनै प्रकारको सुधार नल्याउने हो भने भावि पुस्ताको जीवन अन्धकारतर्फ धकिलिने जाने तथ्यलाई यस क्षेत्रका जानकारहरूले औँल्याएका छन् । प्राकृतिक सम्पदाको संरक्षण नै मानवीय जीवनको आधार हो । तसर्थः आर्थिक विकासको लागि चाहिने अनुरूपको भौगोलिक सम्पदालाई आँकलन गर्दै समुचितरूपमा उत्खनन एवं उचित सदुपयोग गर्ने बानीको विकास गर्नुपर्ने हुन्छ ।

लाखौँ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको प्राकृतिक सम्पदामा आम नेपालीको चाहनाअनुसार आर्थिक समृद्धिको पथ प्रदर्शक बन्न सक्ने प्रर्याप्त आधारहरू देखिएको हुँदा उचित संरक्षणसहितको उल्लेख्य सदुपयोग आजको आवश्यकता हो । प्रस्तुत अवस्थापश्चात् आयातजन्य गतीविधिलाई क्रमशः प्रतिस्थापन गर्दै स्वदेशभित्रै स्वदेशी वस्तु तथा सेवा उत्पादन गर्ने वातावरण तयार हुनेछ । जसले नेपालको आर्थिक क्रान्तिको लागि चाहिने आधारस्तम्भ तयार पार्दै प्रस्तुत क्षेत्रमा आधुनिक प्रविधिलाई भित्र्याउन मार्ग प्रशस्त गर्नेछ । तर, यसका लागि सडकमैत्री वातावरणको आवश्यकतालाई अन्यथा लिन मिल्दैन । जुन आर्थिक विकासको भौतिक पूर्वाधार हुनुको साथै दुर्गमभन्दा दुर्गम क्षेत्रमा मानव बस्तीको सम्भावनालाई जीवन्त तुल्याउने अवसरसमेत हो । जसको सफल प्रयोग नै मानवीय पुँजीको अभिवृद्धि हो भन्न सकिन्छ ।

मानवीय पुँजीमा यस्तो पुँजीगत विशेषता रहेको हुन्छ, जसले आफ्नो आवश्यकताको अनुपातमा दक्षता अभिवृद्धि गर्दै नयाँ रोजगारीको सम्भावनालाई अंगीकार गर्नेछ । जसलाई आर्थिक विकासको लागि अपरिहार्य तत्व मान्न सकिन्छ । जसको सफल प्रयोगले मुलुकका दूरदराजको क्षेत्रमा समेत सामुदायिक भावनाको अभिवृद्धि गराई विकासको प्रतिफल गाउँ–गाउँसम्म पुग्न सक्ने अवस्था तयार पार्नेछ ।

प्रस्तुत कार्यको उद्देश्यअनुरूपको ठोस उपलब्धिमूलक नतिजा हासिल गर्न विकासका खातिर प्राथमिकता क्षेत्र एवं बजार विविधीकरणजस्ता आर्थिक विकाससँग प्रत्यक्ष सरोकार राख्ने तत्वको पहिचान गरी कार्ययोजनालाई अगाडि बढाउनु पर्ने हुन्छ । उत्पादनको हरेक क्षेत्रलाई बजारीकरणको आवश्यकता पर्ने भएको हुँदा प्रस्तुत तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन । यदि गरिन्छ भने त्यो विकासविरोधी हुनुको साथै लक्ष्यविनाको योजनाको रूपमा रूपान्तरण हुने प्रवल सम्भावना रहन्छ ।

यस क्षेत्रमा सकारात्मक नतिजा हासिल गर्न स्थानीय समूहको उलेख्य सभागितालाई परिचालन गराउनु पर्ने हुन्छ । जसले आर्थिक विकासको साथै बढ्दो गरिबीको दरलाई न्यून गर्दै लक्ष्यअनुसारको प्रगति प्राप्त गर्ने कार्यमा ठूलो सहयोग पु-याउनेछ । प्रस्तुत अवस्था त्यो बेला पूर्णरूपले सम्भव रहन्छ जब आर्थिक विकासले पर्यावरणलाई संरक्षण गर्दै समृद्धिलाई निम्त्याउनेछ । तर, यसका लागि निश्चितरूपमा पर्यावरण संरक्षणको क्षेत्रमा विशेष ध्यान पु-याउनु पर्ने हुन्छ ।

विकासको नाममा बढ्दो पर्यावरणीय विनाशको संस्कृति हावि भएको हुँदा यस क्षेत्रमा थप संकट उत्पन्न हुने देखिन्छ । दिनहुँ बढ्दै गएको पर्यावरण विनाशको संरक्षणको लागि सम्बद्ध क्षेत्रका बासिन्दालाई सकारात्मकरूपमै परिचालन गर्नुपर्ने हुन्छ । किनकी स्थानीय समूहले प्राकृतिक सम्पदालाई उनिहरूको सार्वजनिक सम्पत्तीको रूपमा लिने हँुदा बाह्य क्षेत्रका भन्दा स्थानीय पक्षले यसको संरक्षणमा विशेष अभिरुची देखाएर कार्य गर्न सक्षम रहनेछन्, भन्ने विश्वास लिन सकिन्छ ।

सम्पदा संरक्षणका हेतु आफ्नो देहभन्दा पनि बढी हेरचाह गर्ने भएको हुँदा संरक्षित हुनसक्ने कुरामा कुनै प्रकारको द्विविधा रहनेछैन । अनियन्त्रित गतिमा आधुनिक प्रविधिको उपयोग गर्ने प्रवृत्तिको विकासले एकातिर क्षेत्रीयस्तरमा कायम रहँदै आएको रोजगारीको दरमा न्यूनता छाएको छ भने अर्कोतर्फ प्राकृतिक संशाधनको अत्यधिक मात्रामा दोहन गर्ने बानीको विकासले भू–क्षयलगायतका पर्यावरण संरक्षणमा अवरोध उत्पन्न भएको छ ।

स्वस्थ्य पर्यावरण विकासले मात्र आर्थिक प्रगतिको दरमा तीव्रता ल्याउनेछ । किनकी केही हदसम्म पर्यावरणको सुनिश्चितता नै आर्थिक विकासको मेरुदण्ड हो । जसका लागि नयाँ र नौलो प्रविधिको प्रयोग गर्दा विशेष शतर्कता अपनाउनु पर्ने हुन्छ । प्रविधिको उपयोगको कारण यदि समयानुकूल संरक्षणमा हेक्का राख्न सकिएन भने वातावरण, ध्वनि, वायु एवं जल प्रदूषणको खतरा निम्तिनेछ । प्रस्तुत भयावह अवस्थालाई मध्यनजरमा राखी संयुक्त राष्ट्रसघले सन् २०२१ देखि २०३० को समयावधिलाई विविध कारणले गर्दा भएको पर्यावरण क्षेत्रको ह्रासलाई पुनर्स्थापित गर्ने दशकको रूपमा लिएको छ । जसका लागि आवश्यक पर्ने सचेतात्मक क्रियाकलापको उचित प्रचारप्रसार एवं रचनात्मक कार्यको थालनी गर्ने भएबाट नेपालका अतिरिक्त विश्व जगत पर्यावरण संरक्षणको क्षेत्रमा कति चिन्तित रहेछन् भन्ने तथ्यलाई पुष्टि गरेको छ ।

यसप्रकारको व्यवहारको अत्यधिकताले समृद्ध क्षेत्रमा बाढीजन्य प्रकोपको पीडा, पहाडी क्षेत्रमा भू–क्षयको सम्भावना एवं प्रकारले माटोको उर्वराशक्तिमा ह्रास आई पर्यावरणीय विनाशको सम्भावनाबारे आम जनमानसलाई सचेत रहँदै कार्य गर्न हौसला प्रदान गरेको अवस्थासमेत हो । मानवजातिको लागि उत्पन्न हुन सक्ने सम्भावित भयावहय अवस्थाबाट पृथक रहन निश्चितरूपमा पर्यावरण संरक्षणमा सर्वपक्षीय योगदानको आवश्यकता रहन्छ ।

स्वस्थ्य पर्यावरणको चाहना आर्थिक विकासको सम्भावना भन्ने मूल मन्त्रलाई आत्मसात गर्ने हो भने समृद्धि हाम्रै पालामा सम्भव रहन्छ । विपरीत अवस्था पैदा भए विकासको चाहनालाई विनासको विपत्तिले पिरोल्नेछ । तसर्थ आर्थिक विकासको साथसाथै पर्यावरण संरक्षणमा रमाउनु प्रकृतिप्रतिको प्रेम हो । आज जुन प्राकृतिक परिवेशमा हामी रमेका छौँ, त्यसमा कलिकति पनि विचलनको अवस्था पैदा भए प्राकृतिक विपत्तिको भयावह अवस्थाको सामना गर्नुपर्ने तथ्यलाई मनन गर्दै यसको उपादयतासहितको महत्वलाई केलाउँदै संरक्षण ध्यान दिनु समयको माग हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया