Techie IT
×
गृहपृष्ठविचारत्रिभुवन विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह


काठमाडौं ।
देशकै सबैभन्दा पुरानो र जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आफ्नो ४६औँ दीक्षान्त समारोह प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता र पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु परिसरमा भएको छ ।

यो वर्ष कोभिड–१९ कारण थोरै मात्र विद्यार्थीहरूलाई समावेश गरी दीक्षान्त समारोह गर्नलागेको त्रिविले बताएको छ । उच्च शिक्षा प्रदान गर्ने नेपालमा ११ वटा विश्वविद्यालयहरू, चारवटा प्रतिष्ठान स्थापना भए पनि उच्च शिक्षामा करिब ८० प्रतिशत भार बोक्ने मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको स्थापना विसं २०१६ सालमा भएको हो । त्रिविका ५० वटा आंगिक क्याम्पस, एक हजार ६३ वटा सम्बन्धन प्राप्त क्याम्पस र चारवटा अनुसन्धान केन्द्र, चारवटा संकाय र पाँचवटा अध्ययन संस्थानहरू रहेका छन् ।

त्रिवि ऐन २०४९ बमोजिम नेपाल सरकारले केन्द्रीय विश्वविद्यालयको रूपमा मान्यता प्रदान गरेको संस्था त्रिभुवन विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह भव्यताका साथ पुस ६ गते मनाइयो । अन्तर्राष्ट्रिय जगतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल तथा विश्वका ठूला विश्वविद्यालयहरूमध्येको एक त्रिभुवन विश्वविद्यालयले पछिल्लो समय शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गर्नु राष्ट्रकै गौरवको विषय पनि हो । त्रिभुवन विश्वविद्यालयले शिक्षा जगतमा समयानुकूल परिवर्तन गर्दै आम नागरिकहरूलाई शिक्षित बनाउने मूल ध्येय बोक्दै शिक्षामा गुणस्तरीय, वैज्ञानिकीकरण गर्दै जाने अठोटका साथ उभिएको संस्था रहेकैले विद्यार्थीहरूको चाप बढ्नुलाई सकारात्मक मान्न सकिन्छ ।

सन् २००४ देखि विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको तह निर्धारण गर्दै आइरहेको बेलायतको टाइम्स हायर एजुकेसन संस्थाले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रिवि उत्कृष्ट एक हजार विश्वविद्यालयहरूमध्येको एकमा गनिएको छ । यसप्रकारको सफलताले नेपालमा त्रिविको साख बढेको अनुमान लगाउन सकिन्छ त्रिविले आगामी दिनहरूमा विश्वस्तरीय शिक्षा प्रदानका लागि आवश्यक पर्ने सुधारहरू गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । त्रिविले शिक्षाको गुणस्तर, वैज्ञानिकीकरण शिक्षा, गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि ठोस पहल गर्दै शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

अहिलेको वर्तमान अवस्थामा मुलुकमा बहुविश्वविद्यालयको अवधारणापछि पनि त्रिविले आफ्नो दायित्व बहन गर्दै आइरहेकै छ । अहिलेको वर्तमान समयमा त्रिविबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु चुनौतीपूर्ण कार्य रहेको हुँदा शिक्षालाई रोजगारीमूलक बनाउनुपर्ने आवश्यकता रहेको छ । नेपालको संविधानले शिक्षा र रोजगारलाई मौलिक हकको रूपमा सुनिश्चितता प्रदान गरेको ।

अहिलेको अवस्थामा शिक्षा क्षेत्रलाई राजनीतिक चुंगलबाट टाढा राख्दै उच्च शिक्षा क्षेत्रमा वैज्ञानिकीकरण र समयसापेक्ष परिमार्जन गर्दै अघि बढ्नुपर्ने र उत्पादित जनशक्तिलाई रोजगारीको व्यवस्था स्वदेशमै निर्माण गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय सामु चुनौती रहेको छ । त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक उपाधिलाई विश्वका अन्य विश्वविद्यालयहरूले समेत समकक्षता प्रदान गर्दै आइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय दक्षिण एसियाकै उत्कृष्ट विश्वविद्यालयको रूपमा रहेको छ । त्रिभुवन विश्वविद्यालयले समयानुकुल शिक्षा प्रदान गर्दै समग्रमा देश विकासको लागि आफ्नो दक्षता, सीप प्रस्तुत गर्दै अघि बढिरहेको छ । त्रिविबाट दिक्षित हुनेहरूको संख्या वर्षेनी बढ्ढै गइरहेको छ । दीक्षितहरूले गरेको अध्ययन, अनुसन्धान, खोजले देशमा विकराल समस्याको रूपमा रहेको बेरोजगारी, गरिबी, अन्त्यका लागि नेपालमै महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकतालाई राज्यले उचित स्थान दिनुपर्दछ ।

शिक्षा क्षेत्रमा सुधारका लागि कोभिड १९ महामारीका कारण बन्दाबन्दी, त्यसपछिको निषेधाज्ञा, त्यसपछि हालसम्म पनि त्रिविमा कार्यरत शिक्षक तथा कर्मचारीहरू कोभिडका कारण ग्रसित भएका छन् । कोभिड १९ को महामारीका कारण विश्वविद्यालयहरूका सम्पूर्ण शैक्षिक कार्यक्रमहरू पठनपाठन, परीक्षा, अनुसन्धान सबै नै अवरोध हुन गई शैक्षिक सत्र नै खेर जाने स्थितिलाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गरी शैक्षिक क्यालेण्डर बिग्रन दिइएन ।

त्रिविकोे २०७६ मंसिर १३ गते बसेको विश्वविद्यालय सभामा अगाडि सारेका १५ सूत्रीय त्रिवि सुधार योजनामा केन्द्रीकृत भई त्रिविको भौतिक पूर्वाधारमा सुधार, प्रविधिमैत्री विश्वविद्यालय, प्राध्यापकहरूको क्षमता अभिवृद्घि, क्याम्पसहरूको प्रभावकारी नियमन, सरकार तथा उपभोक्ताहरूसँग समन्वय गरी पाठ्यक्रम परिमार्जन, त्रिविलाई अन्तर्राष्ट्रियकरण गर्दै जाने, कानुनीरूपमा सबल त्रिवि, निश्चित शैक्षिक पात्रो, परीक्षा प्रणालीमा सुधार, बजारमुखी स्वरोजगारमूलक जनशक्ति उत्पादन, विद्यार्थी वर्गका लागि क्याम्पसमा खेलकुदको समुचित व्यवस्था तथा सम्बन्धन प्राप्त कलेजहरूमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था र सुशासनमा जोडजस्ता महत्वपूर्ण कार्य गर्नु सकारात्मक मान्न सकिन्छ ।

त्यसैगरी त्रिविले उच्च शिक्षामा सबैको समान पहुँच पुगोस् भन्ने उद्देश्यका साथ नेपालमा खुला तथा दूर शिक्षा कार्यक्रमलाई महत्वका साथ लागू गरिसकेको छ । त्यसैगरी त्रिविले शैक्षिक क्यालेण्डर निर्माण र प्रयोग गर्ने कार्यलाई व्यवस्थित गरिएको, त्रिवि केन्द्रीय परिसरमा आईटी सेन्टरको स्थापना, परीक्षासम्बन्धी कार्यहरूलाई अनलाइन सेवा प्रवाहको सुरुवात यसै दीक्षान्त समारोहको अनलाइन फाराम भर्ने कार्यबाट सुरु गरिएको, एक सय ६० वटाभन्दा बढी विश्वविद्यालयहरूसँग द्विपक्षीय सम्झौता गरिएको, डिजिटल कक्षाकोठा, पुस्तकालय, क्रेडिट ट्रान्सफर र डयुअल डिग्री कार्यक्रममार्फत त्रिविलाई विश्वस्तरमा उतार्ने महत्वपूर्ण प्रयास गरिएको, त्रिविमा गुनासा सुन्नका लागि अनलाइनको व्यवस्था गरिएको त्रिविका नौवटै डिन कार्यालयहरूलाई सशक्तीकरण गराई अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्ने, संयुक्त अनुसन्धान, प्रकाशन गर्ने/गराउने, स्वायत्त स्कुल र विभाग परिचालन गर्ने र उच्चस्तरका शैक्षिक संस्था जो आफैँमा स्वायत्त छन्, त्यस्ता संस्थालाई स्वायत्त संस्थाका रूपमा स्थापना गर्ने महत्वपूर्ण रणनीति बनाउँदै त्रिविलाई शिखरको बाटोतर्फ लम्काउने काम भैरहेकोले त्रिविका बारे प्रचारप्रसार गरिनु सकारात्मक मान्न सकिँदैन । त्रिविको प्रगति उन्नतिका लागि शिक्षक, कर्मचारी र विद्यार्थी वर्गको महत्वपूर्ण भूमिका रहन्छ ।

अतः त्रिविमा देखिएका विकृति, विसंगति हटाउनका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको छ । देश संघीयतामा गइसकेपछि नेपाल सरकारले सातवटै प्रदेशमा विश्वविद्यालयको स्थापना गरिसकेको छ । त्रिविले आफ्ना आंगिक र सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र पारदर्शी बनाउँदै अघि बढेकै कारण त्रिविमा अध्ययन गर्नेहरूको चाप अझै घट्न सकिरहेको छैन । नेपाल सरकारको समृद्घि र विकासलाई सार्थकता तुल्याउन समेत त्रिविको भूमिका महत्वपूर्ण हुनु आवश्यक रहेको छ ।

त्रिविमा समय समयमा विभिन्न राजनीतिक दल तथा संगठनहरूले विभिन्न मागहरू राखी गरिने बन्द, हड्तालका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित भई शैक्षिक क्यालेण्डर समेत प्रभावित हुन गई दुई वर्षे कोर्षलाई तीन वर्ष लाग्ने गरेको कटु यथार्थ छिप्न सक्दैन गुणस्तरीय शिक्षा र शिक्षामा वैज्ञानिकीकरण गर्ने र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्ने प्रतिबद्घताहरू सरकार र राजनीतिक दलहरूले गरेको वर्षौँ भइसक्दा पनि कार्यान्वयन हुन सकिरहेको छैन । अर्कातर्फ विश्वविद्यालयमा राजनीतिक भागवण्डाको आधारमा राजनीतिक नियुक्ति हुने गलत परम्पराको अन्त्य हुन सकिरहेको छैन ।

त्रिविले अबका दिनहरूमा आफ्ना पाइलाहरू शैक्षिक गतिविधिमा केन्द्रित गर्दै त्रिविमा हुने गरिएको राजनीतिक नियुक्ति अन्त्य गर्दै योग्य र वरिष्ठता क्रमअनुसार नियुक्ति गर्नुपर्ने आवश्यकता रहेको छ । त्रिविले अन्तर्राष्ट्रिय परिवेशअनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षाको विकास, विस्तार गर्दै अघि बढ्नुपर्दछ । त्रिविमा हुनेगरेको राजनीतिक नियुक्ति, सरुवा, बढुवालाई अन्त्य गर्दै योग्यता र क्षमतालाई प्राथमिकता दिँदै शिक्षामा व्यापक सुधार गर्दै त्रिवि अगाडि बढ्नसक्नु पर्दछ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया