Techie IT
×
गृहपृष्ठविचारमौद्रिक नीति : एक विश्लेषण

मौद्रिक नीति : एक विश्लेषण


काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको चार महिनाको समीक्षा गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा देशका आर्थिक क्रियाकलापहरूको स्थिति कस्तो रह्यो र अर्थतन्त्रका प्रमुख सूचकहरूको स्थिति के रह्यो भन्ने उक्त समीक्षाले प्रस्ट पार्दछ । सामान्यतया केन्द्रीय बैंकले नीति बनाउँदा आर्थिक सूचकहरूको वृद्धिलाई प्रोत्साहन गर्नेगरी बनाउँदछ । जसमा मूल्य स्थिरता, रोजगारी सिर्जना, आर्थिक वृद्धि र विदेशी विनिमय स्थिरता मुख्य उद्देश्य रहेका हुन्छन् ।

नेपाल राष्ट्र बैंकले वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव शून्य ५ प्रतिशत रहेको बताएको छ जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा १ दशमलव ७१ प्रतिशतले कम हो, जुन आम उपभोक्ताको लागि फाइदाजनक देखिन्छ । तर उपभोक्ताले उपभोग गर्ने खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ७३ प्रतिशत रहेको छ, जुन औसतभन्दा धेरै हो अझ भनौ तरकारी उपसमूहको मुद्रास्फीति २० दशमलव ८८ प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मुद्रास्फीति १३ दशमलव ७० प्रतिशत रहेको छ । जुन औसत मुद्रास्फीतिभन्दा क्रमशः पाँच गुना र तीन गुना धेरै हो ।

विदेशबाट आयात गर्नु नपर्ने भए यो तथ्यांकले त्यति धेरै असर गर्दैन । तर नेपालमा सबै सामग्री आयात हुने भएकोले उपभोक्ता तथा देशको अर्थतन्त्रमा गम्भीर असर पर्दछ । मुद्रास्फीति धेरैले बढ्ने तर तलब तथा ज्यालादर सूचकांक शून्य दशमलव ८५ प्रतिशतले मात्र बढ्दा त्यसको असर निश्चित आम्दानी भएकाहरूलाई प्रतक्ष्य पर्ने देखिन्छ ।

वैदेशिक व्यापारमा निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भएको छ जुन अघिल्लो सोही अवधिको तुलनामा १३ दशमलव १ प्रतिशतले कमी हो । सामान्यतया दुई कारणले निर्यात घट्छ एक, उत्पादन र उत्पादकत्व घट्नु अर्को समग्र अर्थतन्त्रको माग बढ्नगयो भने निर्यात घट्ने हो तर नेपालमा कोभिड १९ को महामारीबाट जोगिन गरिएको लकडाउनको असर उत्पादनमूलक क्षेत्रमा देखिँदा निर्यात घट्नगएको छ ।
नेपालमा यो चार महिनामा वस्तु आयात १० दशमलव ६ प्रतिशतले घटेको देखिन्छ तर यो हाम्रो अर्थन्त्रको उत्पादन र उत्पादकत्व बढेर नभई समग्र माग घट्नगई आयात घटेको हो । यसको अर्थ हाम्रो आम्दानी घट्नु पनि हो । यसै कारणले नेपालको वस्तु व्यापारघाटा १२ दशमलव ५ प्रतिशतले घटेको छ जुन नेपाली अर्थन्त्रको राम्रो पक्ष देखिन्छ ।

अघिल्लो वर्ष ५ दशमलव ९ प्रतिशितले बढेको व्यापार सर्त यो वर्ष अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ६ प्रतिशतले घटेको देखिन्छ । व्यापार सर्तको अर्थ हाम्रो निर्यातले कति आयात गर्न सकिन्छ भन्ने हो जुन घट्दा हाम्रो अर्थतन्त्रको आयात गर्ने क्षमता घटेको देखिन्छ ।
तेल उत्पादन गर्ने राष्ट्र र खाडी मुलुकको अर्थतन्त्रमा लकडाउनले अपेक्षितरूपले गिरावट नआएको, तुलनात्मकरूपमा ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिडको असर कम देखिएकाले नेपाल भित्रिने विप्रेषण न्यून प्रभावित भएको छ । त्यस्तै लकडाउनका कारण विदेशबाट जिन्सीभन्दा पनि नगद धेरै आएको कारणले गर्दा पनि विप्रेषणमा सकारात्मक प्रभाव परेको देखिन्छ । हाम्रो जस्तो विप्रेषण आम्दानीमा भर पर्नुपर्ने देशमा विप्रेषण आम्दानी गत वर्षको तुलनामा लगभग १४ प्रतिशतले वृद्धि हुँदा अर्थन्त्रका सूचकहरू चलायमान त हुन्छ्न तर दिगो भने हँुदैन ।

सकेसम्म देशमै रोजगारीका अवसरहरू सिर्जना गरी विदेश पलायन हुने श्रमशक्तिलाई देशमै परिचालन गर्न सकियो भने दिगो विकास हासिल गर्न सकिन्छ । श्रमशक्तिलाई विदेशिने वातावरण कसले बनायो भन्ने कुराको हेक्का राज्यले राख्न जरुरी छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनामा तीन अर्ब ७५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी लगानी करिब २४ प्रतिशत घटेको हो । कोरोनाका कारणले मात्र नभई राजनीतिक र नीतिगत अस्पष्टताको कारणले विदेशी लगानी कम भएको जानकारहरू बताउँछन् ।

आघिल्लो वर्ष घाटामा रहेको चालू खाता यो वर्ष बचतमा हुनुको मुख्य कारण आयात घट्नु नै हो । निर्यात बढ्ने र आयात घट्नाले सोधानान्तर स्थितिमा सकारात्मक असर परेको देखिन्छ । नेपालको चालू खाता अहिले २० अर्ब ४६ करोड बचतमा छ भने अघिल्लो वर्ष सोही अवधिमा चालू खाता ३४ अर्ब १२ करोडले घाटामा रहेको थियो । नेपालको कुल विनिमय सञ्चिति १२ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ जुन नेपालको लागि सन्तोषजनक अवस्था हो । विनिमय सञ्चिति बढ्ने भनेको निर्यात बढी आयात कम भएर नै हो । यसै अवधिमा विस्तृत मुद्राप्रदायक दर अघिल्लो वर्षको तुलनामा ६ दशमलव ४ प्रतिशतले बढेको छ, जुन वार्षिक बिन्दुगत आधारमा हेर्ने हो भने २१ दशमलव ९ प्रतिशतले बढेको छ । यसले के देखाउँछ भने देशमा बैंकिङ तथा आर्थिक क्रियाकलापहरू बढेका छन् ।

वाणिज्य बैंकहरूको औसत आधारदर १ दशमलव ९३ प्रतिशतले घटेको छ जसले अर्थतन्त्रमा अधिक तरलता छ भन्ने प्रमाणित गर्दछ । बैंकहरूसँग अधिक तरलता भयो भने लगानी पनि बढ्न प्रेरित गर्दछ । नेपाल राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरूले सात सय ५३ स्थानीय तहमध्ये सात सय ४८ स्थानीय तहमा शाखा विस्तार गरिसकेको छ । जसले धेरै मानिसहरू वित्तीय पहुँचमा रहेको प्रस्ट पर्दछ ।

देशको अर्थन्त्रको ऐनाको रूपमा रहेको पुँजीबजारमा पनि उलेख्य सुधारहरू भएका देखिन्छन् । नेप्से सूचक अहिलेसम्मकै एतिहासिक बिन्दु कायम गरेको छ । बजार पुँजीकरण बढेको छ भने दैनिक कारोबार संख्या र रकम पनि एतिहासिकरूपमा बढेको छ । लकडाउनको कारणले अन्य लगानीका क्षेत्रहरूमा लगानीको वातावरण नभएको र नेप्सेमा नीतिगत र प्राविधिक सुधार भएको कारणले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । अन्तमा, केन्द्रीय बैंकले अर्थतन्त्रका मौद्रिक तथा वास्तविक अवयवहरूलाई सन्तुलनमा राख्नको लागि नीतिगत तथा त्यसको कार्यान्यनमा जोड दिन जरुरी देखिन्छ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया