Techie IT
×
गृहपृष्ठविचारऔद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना

औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना


काठमाडौं
गहन आर्थिक विकासको प्रतिफलबाट निस्किने निकासले मात्र मुलुकको काँचुली फेर्न सहयोग पुग्ने तथ्यलाई बिर्सन मिल्दैन । परिणामतः उच्चस्तरको श्रम संस्कृतिको सुधार एवं विकासमार्फत सम्बद्ध समुदायको अतिरिक्त आर्थिक विकासका दीर्घकालीन खाकाहरू तयार गरी औद्योगिक विकासको सम्भावना रहने विश्वव्यापी औद्योगिकीकरणको अवधारणाबाट नेपाल पनि विमुख रहन सक्दैन । जसले निश्चितरूपमा औद्योगिक प्रतिष्ठानमा कार्यरत कामदार/कर्मचारी तथा व्यवस्थापन पक्षलाई औद्योगिक जिम्मेवारीको बोध गराई कार्यक्षेत्रमा लगनशील भई लाग्न प्रेरित गर्नेछ । साथै यस क्षेत्रमा सहसम्बन्धको स्थायित्व कायम राख्दै सेयरमा बराबरीको हिस्सेदारीको रूपमा प्रतिस्थापन गराउन सक्ने सफल औद्योगीक नीतिलाई अवलम्बन गर्दै समन्वयात्मक व्यावसायिक विकासको आधारशीला तयार पार्न यसप्रकारका कदम कोशेढुंगा साबित हुने देखिन्छ ।

प्रस्तुत गतिविधिको विकासबाट नेपालजस्तो औद्योगिक संस्कृतिलाई पछ्याउँदै निरन्तररूपमा आर्थिक विकास र समृद्धिको पथमा लाग्ने प्रण गर्ने मुलुकका लागि नयाँ रोजगारको सम्भावनाको सन्दर्भमा नौलो आयाम थप्नसक्ने वातावरणको विकास हुने थियो । जसका कारण वैदेशिक रोजगारको क्षेत्रमा हुनेगरेको आपराधिक क्रियाकलापमा कमी आई मुलुकभित्रै रोजगारको कार्ययोजना बनाउन सक्दो सहयोग पुग्ने देखिन्छ । जसको प्रत्यक्ष लाभ भनेको व्यावसायिक पुँजीलाई अत्यधिकरूपमा चलायमान बनाउँदै सोही दक्षताको आधारमा वैकल्पिक औद्योगिक विकासका लागि हौसिने वातावरण तयार हुने अवस्था प्रारम्भ हुने देखिन्छ । जसलाई समन्वयात्मक औद्योगिकीकरणको महत्वपूर्ण रूपरेखा समेत मान्न सकिन्छ । जसले निश्चितरूपमा औद्योगिक क्षेत्रको विविध विधाहरूमा अध्ययन गर्दै सोसँग सम्बन्धित अन्य व्यवसाय विस्तारको सम्भावनालाई विस्तृत औद्योगिक कार्ययोजनाभित्र समाहित गर्दै गुरुयोजना तयार पार्न सहयोग प्राप्त हुनेछ । जसका लागि व्यवसाय विस्तारको लागिको आवश्यक पर्ने संगठात्मक व्यवस्थापनको अवधारणालाई आत्मसाथ गर्नुपर्ने हुन्छ ।

जसमा विशेषगरी कामदार कर्मचारीको दक्षता अभिवृद्धिको लागि आवश्यक पर्ने प्रशिक्षण÷तालिम आदिको उपयोगबाट निपूर्ण गराउँदै सम्बद्ध पक्षको अनुभवबाट खारिएको रचनात्मक सुझाव र सल्लाहलाई औद्योगिक व्यवहारमा उतार्ने जमर्को गर्ने हो भने, मानवपुँजीको रूपमा रहेको श्रमलाई उनीहरूको अमूल्य सुझावको उच्चकदर भएको अनुभूति प्राप्त हुनेछ । परिणामतः कार्यमा निखारपनका साथै अब्बल दक्षता अभिवृद्धि गराउन सहयोग पुग्नेछ । तर यसका लागि अवस्थाअनुसार पुरस्कार र दण्डको कार्ययोजनालाई निरन्तरता दिँदै व्यवहारमा उतार्नु समयको माग हो ।

तदुपरान्त व्यवसाय विस्तारको क्षेत्रमा दक्षता, उत्पादकत्व र गुणस्तर अभिवृद्धिको अपेक्षाकृत सुधारको प्रबल सम्भावना रहन्छ । जसको सफल प्रयोगबाट जनशक्ति विकासको कार्ययोजनालाई व्यवहारमा परिणत गर्दै आयातीत वैदेशिक जनशक्ति न्यून गर्नुको साथै स्वदेशी श्रमलाई प्रोत्साहन गर्न सहयोग पुग्ने देखिन्छ । जसले श्रमका माध्यमबाट बैदेशिक मुद्रा बहिर्गमनको क्षेत्रमा रहँदै आएको अत्यधिकतालाई समेत न्यून गर्नेछ भन्न सकिन्छ ।

प्रस्तुत विषयमा सुधारको चाहना राख्ने हो भने निश्चितरूपमा श्रम तथा औद्योगिक घरानाहरूका बीचमा आवश्यक पर्ने अन्तरक्रियाको अवस्थालाई प्रारम्भ गर्न कुनै पनि हातलमा चुक्नु हुँदैन । जहाँ अन्तरक्रियाको अभाव रहने परीपाटीको विकास हुन्छ त्यहाँ कामदार–व्यवस्थापन पक्षको बीचमा संवादहीनताको अवस्था पैदा हुनेछ ।

जसलाई औद्योगिक वृत्ति विकासको प्रभावकारितामा अवरोधको मूर्तरूप मान्न सकिन्छ । किनकि आवश्यक पर्ने सूचनाको अभावमा औद्योगिक प्रतिष्ठानहरूले प्रगति हासिल गर्न नसक्ने ठोकुवा गर्न सकिन्छ । प्रस्तुत महत्वपूर्ण सूचना प्रवाहका संवाहक तत्व भनेकै औद्योगिक समूहमा कार्यरत मानव समूह हुन् । सम्पूर्ण तत्वगत समूहमा पूर्ण सुधार तथा सफलताको लागि एक्काइसौं शताब्दीअनुरूपको प्रविधिमैत्री अवधारणालाई हरेक पल समाहित गर्ने परम्पराको विकासले औद्योगिकीकरणलाई सफलताउन्मुख मार्गमा दिनप्रतिदिन अगाडि बढ्न मार्गदर्शन प्रदान गर्नेछ ।

साथै व्यावसायिक सम्बन्धको सफल अभिवृद्धि गर्दै व्यापार विविधीकरणको सम्भावनालाई भित्र्याउन सहयोग पुग्नेछ । जसले रुग्ण अर्थ व्यवस्थालाई क्रमशः सुदृढीकरण एवं सशक्तीकरणका माध्यमबाट औद्योगिक समूहलाई यसतर्फ पूर्णरूपले आकर्षण गर्नसक्ने वातावरण तयार पार्नेछ । अर्को महत्वपूर्ण पक्ष भनेको राज्यको राजस्व अभिवृद्धिको क्षेत्रमा उत्साहजनक प्रगति हासिल गर्दै राजस्व प्राप्तिका दरहरूमा लक्ष्यभन्दा अधिक सफलता प्राप्त हुने कुरामा हामी कसैको पनि दुईमत हुनेछैन ।

प्रस्तुत गतिविधिको पूर्णताको लागि उद्योगमैत्री रणनीतिलाई निसंकोचरूपमा राज्यले अवलम्बन गर्दै सफल औद्योगिक विकासको वातावरण तयार गर्नमा कुनै किसिमको कन्जुस्याइँ गर्नु हुँदैन । समन्वयात्मक आर्थिक विकासका पाठाहरूमा मूर्तरूप हासिल गर्न प्रस्तुत व्यवहारले सहयोग पु-याउने देखिन्छ । जुन निश्चितरूपमा सम्बद्ध मुलुकको कानुनको अधिनमा रही कार्य गर्नु यथार्थमा कानुनी राज्यको सफल औद्योगिक अवधारणा समेत हो ।

जसमा व्यवसायीवर्गलाई समावेश गरिनुपर्ने हुन्छ । किनकि उक्त समूह प्रमुख लगानीकर्ता हुनुको साथै राजस्व अभिवृद्धिका स्रोत समेत भएको हुँदा न्यून मूल्यांकन गर्न मिल्दैन । जुन निश्चितरूपमा लगानीको स्रोत, व्यावसायिक सम्भावनाको अवधारणा एवं तद्अनुरूपको कार्ययोजनालाई मूर्तरूपमा व्यवहारमा उतार्ने प्रमुख कारक तत्वको रूपमा रहेका हुन्छन् । समूहगत भावनामा आधारित आर्थिक विकास र समृद्धिको गति नै यथार्थमा आसलाग्दो आर्थिक समृद्धिको समुचित वास्तविकता समेत हो ।

यसदेखि बाहेक व्यावसायिक विस्तारका सम्बन्धमा रहने गरेको लगानीको न्यूनतालाई पूर्ति गर्ने प्रमुख साधनको रूपमा रहेको बाह्य एवं वैदेशिक लगानीकर्ताको सफल भूमिकालाई पृथक राखेर औद्योगिकीकरणको परिकल्पना गर्न सकिँदैन । त्यसो भएको हुँदा प्रस्तुत समूहको सहभागिताका आधारमा केही हदसम्म यसप्रकारको व्यवहारलाई चारखम्बे औद्योगिक कार्ययोजनाको सफल रणनीति मान्न सकिन्छ ।

यस सन्दर्भमा हरेक कर्पोरेट क्षेत्रसँग आबद्ध रहने प्रत्येक समूहलाई श्रमको रूपमा हेरिने संस्कृतिको विकासले सहअस्थित्वको क्षेत्रमा ऋणात्मक छाप छोड्न सक्नेछ । उक्त समूह श्रमको रूपमा विराजमान रहेको मानवपुँजीका अतिरिक्त औद्योगिक समृद्धिको लागि नभई नहुने अपरिहार्य तत्व हो भन्ने तथ्यलाई व्यवसायमा लाग्ने हरेक समुदाय बिर्सन मिल्दैन । किनकि रोजगारलाई निश्चित मापदण्डअनुरूपको मूल्यमा रूपान्तरण गर्ने प्रयोजनको लागि व्यक्तिविशेषले आ–आफ्नो सुविधाअनुकूलको सरकारी, गैरसरकारी वा निजी निकायमा रोजगारको लागि अनुबन्ध रहन चाहने क्रियाकलापलाई अध्ययन गर्दा सो पूर्वसम्बद्ध समूहले प्राप्त गरेको शैक्षिक गतिविधि, तालिम आदिमा भएको लगानीको प्रतिफललाई श्रममा रूपान्तरण गर्न खोज्ने हुँदा रुपैयाँ पैसामा मापन गरिनु स्वभाविक प्रक्रिया मान्न सकिन्छ ।

सामान्यतया राज्य, व्यवसायी, श्रम एवं वैदेशिक लगानीकर्ताको अनुन्याश्रिी सहसम्बन्ध विस्तारको संयजकत्वमा मुलुकको आर्थिक समृद्धि झल्कने तथ्यलाई अन्यथा लिन मिल्दैन । यसप्रकारको सम्बन्ध विकासको गतिमा कुनै एक पक्षबाट रहने असहयोगात्मक भावनाको विकासले मात्र पनि औद्योगिक दुर्घटनाको सम्भावनालाई निम्त्याउनेछ । तसर्थ सहयोगी भावनाको विस्तारलाई औद्योगिक समृद्धिको मार्गदर्शन मान्दा फरक नपर्ला ।

यसअन्तर्गत नयाँ औद्योगिक रणनीतिक योजना तयार पार्नुको साथै तिनको सुदूरभविष्यप्रति केन्द्रित रहँदै सकारात्मक कार्ययोजनाको आधारमा श्रमको सुविधासम्पन्न आधुनिक संगठनात्मक संरचनात्मक गठन प्रक्रियागत व्यवहार एवं सोसँग सम्बन्धित अन्य बजारीकरणको रणनीतिक कार्ययोजनालाई निरन्तता दिनुपर्ने हुन्छ । तथापि आजको युगमा राज्यद्वारा निर्धारण गरिने सफल औद्योगिक रणनीतिको प्रभावकारिताले नै यसको सफलता वा असफलताको भविष्य निर्धारण गर्नेछ । जसको लागि अनिवार्य तत्वको रूपमा रहेको सम्बद्ध क्षेत्रको भौतिक सम्पदाको साथै कार्यस्थलमा रहेको औद्योगिक मेसिनरीलगायतका अन्य आवश्यक सम्पदायको सुरक्षा तथा बीमासम्बन्धी अन्य व्यवस्थालार्ई सुनिश्चितता प्रदान गर्नु चारखम्बे औद्योगिक रणनीतिका अभिन्न अंग हुन् । जसमा मुलुकको समृद्धिको सम्भावना जीवन्त रहने विश्वास लिन सकिन्छ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया