Techie IT
×
गृहपृष्ठविचारअंग्रेजी नयाँ वर्ष र कोरोनाको जोखिम

अंग्रेजी नयाँ वर्ष र कोरोनाको जोखिम


काठमाडौं ।
विश्वमा गत शुक्रबारदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२१ सुरु भयो । मूलतः विभिन्न देशहरूमा आ–आफ्नै तरिकाले नयाँ वर्षको हार्दिक शुभकामना एकआपसमा बाँडियो । ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारेखमा इस्वी सन् २०२० बिदाइ र नयाँ वर्ष सन् २०२१ को हार्दिक स्वागत गरियो । त्यसैले उक्त दिन विश्वभर नयाँ वर्ष हर्षोल्लासका साथ मनाइयो । यसर्थ पश्चिमी देशहरूमा प्रचलनमा रहेका विभिन्न पात्रोमध्ये ग्रेगोरियन पात्रोअनुसार सन् सम्बत् प्रचलनमा ल्याइएको थियो ।

यशुख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो नामाकरण गरिएको थियो । न्यू एयरको रूपमा संसारभरि अंग्रेजी नयाँ वर्ष सन् २०२१ लाई नयाँ जोश र जाँगरलाई लिएर भव्यताका साथ मनाइयो । जब कि सन् २०२० एउटा विषम र कठिन वर्ष थियो । सारा विश्वलाई कोरोना कहरको माहमारीको कारणले गर्दा लकडाउनमा राखेर एक तिहाइ विश्व नै घरका छतमुनि धेरै महिनासम्म बस्नुपरेको यस वर्षलाई दोस्रो विश्वयुद्धपछिको सर्वाधिक ठूलो क्राइसिसका रूपमा लिइएको छ ।

विश्व अझै पनि भाइरसका विभिन्न नयाँ संस्करणहरूको प्रभावमा छ, कतिपय देशहरू अझै खुलेका छैनन् । कतिपय त खुलेर पनि बन्द भए अनि कतिपय देशहरू सुधारउन्मुख छन् । सेनाहरूभन्दा सेता कोटहरूले, हतियारगृहभन्दा अस्पतालले देशवासीको जीवन सुरक्षा हुन्छ भन्ने तथ्य यस वर्षले प्रमाणित गरिदिएको छ ।

यस वर्षले विश्वलाई डिजिटल थलोहरूतर्फ डोहो¥याएको छ, अब मानवीय अँगालोहरू च्याटबोर्डका इमोजिहरूले प्रतिस्थापन गरेको छ । भिडहरू अब डिजिटल थलोमा बढ्न थालेको छ अनि डिजिटल थलोमा मानवको प्रवेश यस वर्ष जति अन्य कुनै वर्षमा भएको थिएन । यद्यपि, सन् २०२० ले पछिल्ला शताबदीभरिमा हुननसकेका रूपान्तरणहरू एकै वर्षमा गरिदिएको छ । यस वर्षले नयाँ र नर्मल विश्वको परिकल्पना दिएर गएको छ । नर्मल वर्षहरूको प्रतीक्षाको व्यग्रता यस वर्षले झनै बढाएर गएको हो । अतः जिन्दगीलाई अनुभव र यादहरूको सँगालोको रूपमा लिन सकिन्छ ।

हरेक वर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो वर्ष बित्छ भने नयाँ वर्ष आउँदछ । हुन त हामी नेपालीहरूको क्यालेन्डरदेखि चाडवाड अनि कार्यलयगत कुराहरू धेरैजसो विक्रम संवतमा आधारित भएकाले यो इस्वी संवतलाई आगन्तुक र पराइ संवतका रूपमा लिने पनि गरिन्छ । हरेक नयाँ वर्षहरूमा हामी केही सोचाइ या परिवर्तन गर्ने चाहना राख्दछौँ तर ती धेरैजसो चाहना अनि वाचाहरू त्यतिकै तुहिएर जाने पनि गर्दछन् । यस वर्षको सकारात्मक सोच अनि प्रगतिका लावालस्करहरू तपाइँको पाइला अगाडि रहिरहून्, फर्केर हेर्नु नपरोस् अनि ताकेका चिताएका कुराहरूमै निशाना लागोस् । विश्वमा प्रायः गरी धेरैजसो मुलुकहरूमा जनवरी १ तारिखका दिन नव वर्ष भनेर मनाउने चलन बढी रहेको छ ।

हाम्रो देशमा भने यो झन्डै पुसको दोस्रो हप्तातिरबाट मात्रै नव वर्ष सुरु हुनेछ र हामी नेपालीहरूको भने प्रत्येक वैशाख १ गतेबाट नै नववर्ष सुरु हुन्छ । संयुक्त राष्ट्रसंघको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख भएको सम्बन्धित क्षेत्रले दावी गरेको छ । यसको साथसाथै राष्ट्रमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको बताएको पनि छ ।

यसरी अर्कोतिर हेर्ने हो भने इस्वी सन् २०२० पक्कै पनि विश्व इतिहासमा संकटमय वर्षका रूपमा याद रहनेछ । किनकि, यस वर्षको सुरुआत नै अष्ट्रेलियाको वन डढेलोको खबरबाट भएको थियो । जसमा मार्चसम्म चार करोड ६० एकड जमीन, झन्डै सिरियाबराबरको क्षेत्रफल आगलागीबाट क्षतिग्रस्त हुन पुगेको हो । यसले आठ सय स्तनधारी जीवजन्तुहरूको बासस्थान नष्ट गराएको छ भने धेरै मानिसको ज्यान लिनुका साथै घरहरूमा पनि नराम्ररी क्षति पु-याएको थियो । त्यसपछि चीनको वुहानमा पहिलोपटक देखापरेको कोरोनाभाइरसले विश्वव्यापी रूप लिँदा दुनियाँभर १८ लाख बढीको मृत्यु भइसकेको छ भने अझै संक्रमित संख्या आठ करोड पार गरेको छ ।

यो महामारी रोकिने संकेत देखिएको छैन । यो महामारी सुरु भएको एक वर्ष बितिसक्दा पनि बिरामीहरू दिनप्रतिदिन थपिने क्रम अझै रोकिएको छैन । यसरी अर्कोतिर हेर्ने हो भने कोरोना सन्त्रासले गर्दा फ्रान्समा भने सरकारले न्यू इयर इभका दिन पार्टी गर्न नदिन एक लाख पुलिस नै खटाएको थियो भने रातिको समयमा कफ्र्यु पनि जारी गरिएको थियो ।

त्यसैगरी नयाँ वर्ष सबैभन्दा पहिले मनाउने देश अष्ट्रेलियामा भने यसपटक कतै पनि भिडभाड गर्न अनुमति थिएन । त्यस्तै चीनमा पनि हरेक वर्ष राजधानी बेइजिङमा आयोजना गरिने लाइट शो यस पटक रद्द गरिएको थियो भने देशभरका सहरहरूमा एकदम सीमित स्तरमा उत्सव मनाउन भनिएको थियो ।

यता जापानले पनि परम्परागत नयाँ वर्षको कार्यक्रम यसपाली रद्द गराएको हो । जसमा शाही परिवारले सर्वसाधारणलाई सम्बोधन गर्ने गर्दथे । त्यसरी हाम्रो छिमेकी देश भारतमा चाहिँ दिल्लीलगायत विभिन्न सहरहरूमा रातिको कफ्र्यु जारी गरिएको थियो भने ठूलो भिडभाड रोक्न कडाइ अपनाइएको थियो । यसले संसारभर करोडौं मानिसहरूले रोजगारी गुमाउनुको साथसाथै हवाइ, यातायात, उद्योगधन्दा, कलकारखाना, पर्यटन व्यवसायबाट हात धुनु पर्ने स्थिति सिर्जना भएको छ । यसले गर्दा संसारभरिका रोजगारदाताहरूलाई नयाँ आर्थिक संकटको पनि जन्म दिएको छ ।

समग्रमा भन्नुपर्दा कोरोना महामारीका कारण यसपटकको नयाँ वर्षमा विश्वभरि नै पहिले जस्तो उल्लासमय माहोल छाएको छैन । अझै थुप्रै मुलुकहरू यतिबेला कोभिडविरुद्ध संघर्षरत अवस्थामा भएकाले नयाँ वर्षको उत्सव मनाउनेसम्बन्धी विश्वव्यापीरूपमा विभिन्न नियमहरू लागू गरिएका छन् । अतः आकाशमा झिलीमिली पटकाको प्रस्तुतिलगायत सबै किसिमका सार्वजनिक कार्यक्रमहरू सिड्नीदेखि र न्युयोर्कसम्मका शहरमा यसपाली रद्द गरिएको हो । उता युरोपमा त चाडपर्व मनाउने कार्य पूर्णरूपमा रोक्ने प्रयास जारी छ ।

कोरोनाको नयाँ भाइरस तीव्ररूपमा फैलिने डरले पनि त्यहाँ सबै योजनाहरू स्थागित गर्नुपरेको हो । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभुयशु)को सम्झनामा उनको मृत्युपछि अनुयायीहरूले सो संवत् प्रचलनमा ल्याएका थिए । यसरी यो पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुन जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । त्यसमा केही विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताए । यो विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो इस्वी सन् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो इस्वी सन् हाम्रो देशमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशी पाहुनाहरूले यसको प्रयोग गर्छन् ।

यसैगरी केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भिडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा न्यू इयर इभका नाममा यो संवत् मनाइन्छ । अतः यसरी आउने नव वर्षलाई स्वागत र पुरानो वर्षलाई बिदाइ गरिन्छ । यसरी स्वागत र बिदाइ गर्ने परम्परा आ–आफ्नो देशमा आ–आफ्नै प्रकारका हुन्छन् । यसरी आउने नव वर्षलाई हार्दिक शुभकामनाका साथ एकअर्कोमा शुभकामना सन्देशहरूलाई आदान–प्रदान गर्ने कार्य तदारुकका साथ गरिन्छ ।



तपाईको प्रतिक्रिया