Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाल रुपान्तरणका केही दृष्टिकोण

नेपाल रुपान्तरणका केही दृष्टिकोण


गोपीनाथ मैनाली
रुपान्तरणमा प्रमुख राजनैतिक क्षेत्रको दृष्टिकोण :- पछिल्लो समयमा नेपालका प्रमुख राजनैतिक दलहरुले मुलुक रुपान्तरणका लागि स्पष्ट धारणाहरु राख्दै आएका छन् । ती धारणाहरु चुनावी घोषणापत्र र राजनैतिक परिचालनका क्षेत्रहरुमा देखिँदै आएका छन् । संविधान निर्माणपछिको निर्वाचनमा जेठो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा प्रमुख तीन आयाममा रुपान्तरणको धारणा अघि सारेको थियो । पहिलो राजनैतिक आयाम, जसमा उसले वि.सं. २००७ देखि उठाउँदै आएको लोकतन्त्रको संस्थानीकरण, लोकतान्त्रिक संरचनाहरुको सबलीकरण, जवाफदेहिता र सुशासनका सवालहरुलाई जोड दिएको छ ।

दोस्रो सामाजिक आयाममा समावेशिता, सामाजिक सहभाव, विविधता व्यवस्थापनमार्फत राष्ट्रिय विकास समेटिएका छन् । तेस्रो आर्थिक आयाम हो, यसअन्तर्गत उसले जनआन्दोलन भाग एकदेखि अपनाउँदै आएको उदारीकरण, निजीकरण, विकासमा बहुपात्र प्रणालीको उपयोग, ठूला आयोजनाहरुमा सार्वजनिक क्षेत्रको संलग्नता, सामाजिक सुरक्षा आदि समेटिएका छन् । साथै यी तीन आयामलाई सुशासनका माध्यमबाट अनुवाद गर्ने उसको अभिव्यक्ति थियो । नेपाली कांग्रेसको सामाजिक तथा आर्थिक दृष्टिकोणहरु बीपी कोइरालाका समाजवादी दर्शनबाट निर्दिष्ट (र परिमार्जित) छन् । गतिशील बजार, सहभागितात्मक लोकतन्त्र र सन्तुलित सामाजिक सुरक्षा उसको लोकतान्त्रिक समाजवादको परिष्कृत व्याख्या हो ।

नेकपा (साविक नेकपा एमाले र माओवादी एकीकृत भएपछि)को धारणा समाजवादी आर्थिक दर्शनबाट निर्दिष्ट रहेको छ । साबिकमा अलग भए पनि साझा घोषणापत्रमा निर्वाचनमा भाग लिएका दल हाल वैधानिक रुपमा नै एकीकृत बनिसकेको छ र रुपान्तरणमा साझा दृष्टिकोण तयार गरेको छ । उसले समृद्धिको कार्ययोजनामार्फत नेपालको रुपान्तरणको मार्गचित्र अघि सारेको छ, जसमा समयबद्ध रुपमा सम्पादन गरिने अल्पकालीन तथा दीर्घकालीन कार्यहरु समाविष्ट छन् ।

प्रमुखतः गरिबी निवारण, रोजगारी सिर्जना, ऊर्जा विकास, सडक रेल र जलमार्गजस्ता पूर्वाधार, विमानस्थल, सिँचाइ, कृषि उत्पादन, पर्यटन, उद्योग कलकारखाना, शिक्षा स्वास्थ्य लगायत सामाजिक क्षेत्र, आधारभूत सेवा तथा वस्तुहरुको आपूर्ति, सामाजिक सुरक्षा, वित्तीय प्रणाली, सहकारी, तीनै तहको सरकारको क्षमता विकास, संस्थागत÷नीतिगत पुनर्संरचना, राष्ट्रिय सुरक्षा तथा सुशासनलगायतका क्षेत्रहरु नेपालको समृद्धिका संवाहकका रुपमा औँल्याएको छ । उसका यी दृष्टिकोण समाजवादउन्मुख अर्थतन्त्रको संवैधानिक भावनाबाट प्रेरित छ । नेकपाको समृद्धिको कार्ययोजना नै धेरै हदमा ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय दीर्घकालीन उद्देश्य हो भन्न सकिन्छ ।

अन्य राजनैतिक दलहरुले पनि यी ठूला राजनैतिक दलहरुले औँल्याएका कुराहरुको वरपर रहेर नेपाल विकासको दृष्टिकोण अघि सारेका छन् । राजनैतिक दलहरुले अघि सारेको दृष्टिकोण नेपालको संविधानले राज्यलाई निर्दिष्ट गरेका सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको विषयभन्दा फरक नभई त्यसैको वरिपरि छन्, केवल प्राथमिकता र भूमिका निर्वाहका पक्षमा मात्र धेरथोर सैद्धान्तिक पृथकता छ ।

निजी क्षेत्र र रुपान्तरणको दृष्टिकोण :- संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धिको युगमा प्रवेश गरेको सन्दर्भमा निजी क्षेत्र निकै उत्साहित देखिएको छ । उसले आफ्ना सम्भावना परिचालनका लागि विगतदेखि नै केही सुझावहरु सरकारसामु प्रस्तुत गर्दै आएको थियो । संविधान निर्माणको समयमा समाजवाद उन्मुख भन्ने विषयबाट ऊ निकै सशंकित थियो । तर अहिले सन्देहबाट पर छ । पुँजी र प्रविधिको स्रोत निजी क्षेत्र हो, जुन असुरक्षा र अस्थिरतासँग डराउँछ र त्यो राज्यले बुझोस् भन्ने उसको आग्रह छ ।

निजी क्षेत्रका प्रतिनिधि छाता संगठनहरु नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र आर्थिक बिटमा कलम चलाउने पत्रकारहरुको संगठन सेजनले नेपालको विकास र आर्थिक समृद्धिका सन्दर्भमा आआफ्ना दृष्टिकोण र सुझाव अघि सारेका छन् । निजी क्षेत्र औद्योगीकरणमार्फत मुलुकलाई रुपान्तरण गर्न सकिनेमा विश्वस्त छ । जसका लागि ‘विपन्नताको अन्त्य गरी वैभवपूर्ण सम्पन्नतासहितको समृद्धि’लाई आर्थिक समृद्धिको मार्गचित्रका रुपमा लिइएको छ ।

नेपाल उद्योग परिसंघले उच्च दरको आर्थिक वृद्धि, सम्मानित रोजगारीको सिर्जना, व्यापार सन्तुलन र पर्यावरणीय सन्तुलनलाई केन्द्रविन्दुमा राखी समृद्ध समाज निर्माण गर्न सकिने निष्कर्ष निकालेको छ । जसका ६ आधारस्तम्भ औँल्याइएको छ, (१) उच्च फराकिलो, समावेशी र दिगो आर्थिक बृद्धि, (२) मर्यादित रोजगारीका अवसर सिर्जना र सिर्जित अवसर र सुविधाहरुमा समन्यायिक पहुँच, (३) शासकीय स्थायित्व, (४) निजी र सरकारी निकायहरुमा उत्कृष्ट व्यावसायिक क्षमता, (५) ज्ञान पूर्वाधारको विकास तथा व्यापक प्रयोग र (७) शान्तिपूर्ण एवम् मर्यादित प्रतिवाद र प्रतिरोधको संस्कृति । निजी क्षेत्र आर्थिक समृद्धि र रुपान्तरणको प्रक्रियामा आक्रामक बन्न आतुर छ तर उसलाई उत्पादनशील ढंगले अर्थतन्त्रमा सक्रिय गराउन विधिको शासन, प्रभावकारी सुशासन र नीति स्थिरता आवश्यक छ ।

रुपान्तरणमा सहकारी क्षेत्रको दृष्टिकोण :- स्व. इन्दिरा गान्धीले भनेकी थिइन ‘सहकारी आन्दोलनजस्तो सम्पूर्ण रुपले सामाजिक उद्देश्यको शक्तिशाली औजार अरु कुनै छैन’ । किनकि स्वयंचालित भएर आफ्ना सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकतालाई पूरा गर्ने सामथ्र्य सहकारीमा छ । यो नभएकालाई हुने बनाउने सामाजिक अभियान भएकोले नेपालको समृद्धि र रुपान्तरणमा यसको महत्व स्वाभाविक रुपमा रणनीतिक हुनसक्छ ।

संविधानले सहकारीलाई अर्थतन्त्रका तीन भूमिकाकर्तामध्ये एक भनी उल्लेख गरेको छ भने समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको महत्वपूर्ण माध्यम मानेको छ । सहकारी अभियानले दिगो विकास लक्ष्यहरु पूरा गर्नमा आफू संलग्न रहने प्रतिबद्धता व्यक्त गरिसकेको छ । दिगो विकासको लक्ष्य प्राप्त गर्ने अभियानको विशेष संकल्पसहितको रणनीति छ । मुलुकभर छरिएर रहेका करिब ३४ हजार ७ सय सहकारी स्थानीय सम्भावना उपयोगमार्फत गरिबी न्यूनीकरणमा योगदान गरिरहेका छन् ।

सामाजिक समावेशिता र सहकारी संस्कृति विकासमार्फत र विविधता व्यवस्थापन र उत्पादनशील रोजगारी सिर्जना गर्न पनि यो ठूलो सामाजिक अभियान क्रियाशील छ । यसले आर्थिक र सामाजिक पुँजी निर्माण र परिचालन, वित्तीय शिक्षा र मध्यस्थतामार्फत विपन्न, श्रमिक र कृषक हित विस्तार गर्ने सामथ्र्य राख्दछ । नागरिक शिक्षामार्फत असल संस्कृति निर्माण, महिला सशक्तीकरण, सामाजिक उद्यमशीलता विकास गर्न सहकारीको क्रियाशीलता अतुलनीय हुनसक्छ । समाजमा गिर्दै गएको काम गर्ने बानी विकास गरी स्वरोजगार विस्तार गर्न सहकारी आफैँ परिचालन हुने रणनीतिमा छ । कृषिजस्तो अथाह सम्भावना भएको क्षेत्रमा सहकारी परिचालित भई खाद्य सुरक्षा विस्तार गर्नसक्छ । यति धेरै सम्भावना बोकेको र विस्तारको चरण पार गरेको सहकारी क्षेत्र समाजमा स्वावलम्बन संस्कृृतिको माध्यम, आर्थिक समृद्धि र सामाजिक मूल्यबत्ता संस्थागत गर्ने संयन्त्र हुन् तर यिनीहरुलाई सहकारी सिद्धान्त अनुरुप स्वयम् अनुशासित र सुशासित गराउने दृढता राज्यमा हुनुपर्दछ ।

रुपान्तरणको नेतृत्वदायी क्षेत्र :- हामीले चाहेजस्तो नेपाल बनाउन धेरै क्षेत्रमा परिवर्तन आवश्यक छ । राष्ट्रिय विकासका लागि कुनै एक क्षेत्रमात्रको प्रगति भएर पुग्दैन । तर केही विशिष्ट सम्भावनाका क्षेत्रहरु पहिचान गरेर राष्ट्रिय प्राथमिकता दिइनुपर्दछ । अन्यथा निर्वाहको स्तरबाट सीमान्त प्रगति मात्र हुनेछ । रुपान्तरणकारी परिवर्तन सम्भव छैन । तीन क्षेत्रलाई रुपान्तरणको नेतृत्वदायी क्षेत्रका रुपमा लिन उचित हुन्छ । पहिलो कृषिमार्फत खाद्य सुरक्षा । कृषि उत्पादन र उत्पादकत्वको सम्भावना यस अर्थमा पनि पर्याप्त छ कि प्रशस्त भूमि उपयोगविहीन छ । खोलानाला तथा भूगर्भको पानीबाट सिँचाइ गर्न सकिन्छ ।

भौगोलिक विविधताले विभिन्न कृषि फसल उत्पादन गर्न सकिन्छ । भूमि नीति र भूउपयोग ऐनमार्फत भूमिको उपयोेग गर्न सकिन्छ । दोस्रो क्षेत्र जलस्रोत हो । कृषिमार्फत खाद्य सुरक्षा प्राप्त गरेपछि समृद्धिको छलाङ मार्न जलश्रोतले महत्वपूर्ण योगदान गर्न सक्छ । ठाढो भूधरातल, प्रशस्त हिमनदी, यी हिमनदीबाट २ खर्ब २४ अर्ब ३१ करोड घनमिटर पानी प्रतिवर्ष बग्छ, त्यो पनि उच्च करेन्टका साथ । यसर्थ यी नदी वहावबाट करिब दुई लाख मेगावाट सफा विद्युत् उत्पादन गरी घरेलु तथा यस क्षेत्रकै विद्युत् आवश्यकता पूरा गर्न सकिन्छ । तेस्रो क्षत्रे पर्यटन हो । समृद्धिको दिगोपनका लागि पर्यटन महत्वपूर्ण आधार हो ।

पर्यटन पहिचान विस्तार, सम्बन्ध सुदृढीकरण र रोजागरी प्रवर्द्धनको माध्यम हो । सांस्कृतिक, जैविक र भौगोलिक विविधताले पर्यटनको पर्याप्त सम्भावना बोकेको छ । प्राकृतिक सुन्दरता, सभ्यता र संस्कृति समृद्धिलाई दिगो बनाउने आधार हुन् । हाम्रो वैदिक ज्ञान र पौराणिक संस्कृतिले हिन्दू र बौद्ध सम्प्रदायको ठूलो समुदायलाई तान्न सक्छ । जीवित देवी कुमारी, विश्वको सर्वोच्च शिखर, बुद्ध तथा सीताको जन्मभूमि हाम्रा एकाधिकारका वैभव हुन् । मुक्तिनाथ, पशुपतिनाथ र डोलेश्वर हाम्रा संस्कृतिका वैभव हुन् ।

मुलुक समृद्धिको यात्रामा हेलिएको छ । जनता अधिर छन् । फलामे अनुशासनसहित सार्वजनिक, सहकारी, निजी र सामुदायिक क्षेत्रको क्षमताको निरन्तर परिचालन नगरे समृद्धि र रुपान्तरणको राष्ट्रिय अभिष्ट पूरा हुनेछैन । ‘समृद्ध नेपाल सुखी नेपाल’ सबै नेपालीको मन्त्र हुनुपर्छ न कि प्रशासनिक, राजनैतिक सम्भाषण र सार्वजनिक उपयोगको अभिव्यक्ति । हाम्रा विगतबाट हामी शर्माएका छौँ र भविष्य निर्माणको यात्रामा वर्तमानको विनिर्माण पनि आवश्यक भएको छ ।

हाम्रा सोचवृत्ति, बानी र व्यवहार सबै बदल्नुपर्दछ । विश्वस्तरमा विकास भएको प्रविधि र विज्ञानले यसलाई सघाउन सक्छ, राजनैतिक स्थिरताले दिशाबोध दिनुपर्छ, जनताको जागरणले उत्साह भर्नुपर्छ, देशबाहिर रहेका नेपाली मनले शुभेच्छा दिनुपर्छ । त्यसो भएमा आवश्यक स्रोत जुट्ने वातावरण बन्नेछ, जनसांख्यिक एवम् भौगोलिक/जैविक/वातावरणीय विविधताको लाभ मुलुकले लिन सक्नेछ, छिमेकी उदीयमान अर्थतन्त्रको लाभ पनि हाम्रै पक्षमा पर्नेछ, अपार प्राकृतिक साधनले उपयोगिता सिर्जना गर्नेछ र यी उपलब्धिको गुणक प्रभाव नेपाली अर्थतन्त्रले पाइरहनेछ । पछिल्ला प्रयासहरु निकै सहज हुनेछन् । तर भुल्नु हुन्न– विकासको सूत्र सजिलो हुन्छ, अनुशासनचाहिँ गाह्रो । रुपान्तरणको यात्रा कठिन छ तर हाम्रासामु अब अर्को विकल्प छैन । किनकि राजनैतिक रुपान्तरणले आर्थिक र सामाजिक रुपान्तरण दिन नसके मुलुकले ठूलो मूल्य चुकाउनुपर्नेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया