Techie IT
×
गृहपृष्ठविचारडिजिटल नेपाल र शिक्षा क्षेत्र

डिजिटल नेपाल र शिक्षा क्षेत्र


काठमाडौं ।
विकासको पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रले अन्य क्षेत्रको विकास, प्रवर्द्धन र नियमनमा विशेष योगदान पु-याउने स्पष्ट छ । नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन राष्ट्रिय अभीष्ट राखेको छ भने त्यसको एउटा पक्ष डिजिटल नेपाल हो । क्षेत्रगत क्रियाकलाप व्यवस्थापनका कार्यहरू डिजिटलाइज्ड गर्दा सुशासनलाई बल पुग्दछ भने यसले व्यवस्थापन लगात घटाउँछ, सेवा पहुँच विस्तार गर्दछ, जवाफदेहिता र प्रभावकारिता पनि विस्तार बढाउँछ । त्यसैले यो अन्तरसम्बन्धित क्षेत्रलाई नेपाल सरकारले पन्ध्रौँ आवधिक योजनामा रूपान्तरणकारी आयोजनामा पनि समावेश गरेको छ ।

शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रयोग र वैकल्पिक विधिबाट पठन पाठनका कार्यहरू केही पहिलादेखि नै हुँदै आएका थिए । सूचना व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग पनि हुँदै आएको थियो । तर गत वर्षदेखि सुरु भएको कोभिड–१९ को महामारीले जबर्जस्तरूपमा सूचना प्रणालीको उपयोग गर्नुपर्ने अवस्था सिर्जना भयो । महामारीका समयमा प्रविधिको उल्लेख्य प्रयोग भएको क्षेत्रमा शिक्षा क्षेत्र अग्रपङ्क्तिमा छ ।

पैतीस हजारभन्दा बढी विद्यालयहरू, ११ विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावासायिक तालिम परिषद्, राष्ट्रिय परीक्षा बोर्डलगायतका निकायहरूले आफ्ना कामहरू आक्रामकरूपमा प्रविधिको उपयोग गर्नुपर्ने बाध्यता रह्यो । करिब नब्बे लाख सर्वसाधारण शिक्षा क्षेत्रमा अप्रत्यक्ष आबद्ध छन्, त्यसैले अरुभन्दा यो आयतननको हिसाबमा पनि बृहत् क्षेत्र हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र नीति संरचना, मापदण्ड र कार्यक्रमिकरूपमा सहजीकरण गरिरहेका छन् । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम उत्पादन, प्रसारण र वेवमा आधारित अन्तरक्रियामा गतिशील छ । प्रदेशस्तरका शिक्षक तालिम केन्द्रहरू शिक्षक तालिम तथा क्षमता विकासमा अगुवाइ गरिरहेका छन् । यसर्थ शिक्षा क्षेत्रले डिजिटल नेपालको अवधारणालाई क्षेत्रगत विशिष्टीकरण गर्दै छ ।

शिक्षाले डिजिटल नेपालको अवधारणलाई कार्यरूपमा लैजाँदा यसले केही आयाम पक्डेको छ । पहिलो, डिजिटल स्रोत, साधन र विधि प्रयोग गरी पठन पाठनको पहुँच विस्तार गरेको छ । दोस्रो, स्तरीय शिक्षाका लागि शैक्षिक पूर्वाधारको अभिन्न भागको रूपमा डिजिटल प्लेटफर्मलाई उपयोगमा ल्याएको छ । यसले एकातर्फ औपचारीक शिक्षण विधिलाई परिपूरण गरी क्रमशः वैकल्पिक विधि उपयोग गर्दै समग्र शिक्षाको गुणस्तर बढाउन सघाएको छ । कोभिडजस्तै अन्य विपदका समयमा यसले शिक्षा क्षेत्रलाई सुरक्षित राख्नसक्ने आधार खडा गरेको छ ।

तेस्रो, डिजिटलमैत्री जनशक्ति विकासलाई बढावा दिई अन्य क्षेत्रलाई डिजिटल हुन सघाउँदै छ । शिक्षक तथा कर्मचारीको क्षमता विकास गरी प्रविधि अनुकूलित वातावरण बनाउदै गएको छ । यसले समग्र शासकीय प्रणाली र अर्थतन्त्रलाई किफायती बनाउने गरी प्रणालीको मूल्यवृद्धि गरेको छ । र चौथो, शैक्षिक सुशासनका लागि सूचना तथा डाटा उत्पादन, विश्लेषण, प्रतिवेदन र उपयोग गर्दै सुशासनमुखी प्रणाली विकासमा ध्यान दिएको छ । यसले नीति निर्माण र विश्लेषणमा सघाइ तथ्यमा आधारित नीतिको आधार खडा गर्दछ र अन्ततः प्रणालीप्रतिको विश्वास र वैधता बढ्ने छ ।

नेपालको शिक्षा लामो समयदेखि सुधारको पर्खाइमा छ । सुधारका सीमान्त प्रयासले यस क्षेत्रमा खासै उपलब्धि देखिएको छैन । विद्यालय पहुँचको विस्तार भए पनि उपयोग, गुणस्तर र अनुशासनका लागि थुप्रै प्रयासहरू अपेक्षित रहँदै आएका छन् । कोभिडको महामारीले आवश्यकता अरु क्षेत्र र थप अनुशासनको माग उजागर गरेको छ ।

शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वेबमा आधारित प्रणालीलाई विस्तारका साथ उपयोगमा ल्याएको छ । यसमा विद्यालय शिक्षासम्बन्धी समग्र विषयवस्तुहरू, जस्तो कि शिक्षक, विद्यार्थी, विद्यालयका आर्थिक तथा भौतिक सम्पत्ति तथा क्रियाकलापहरू समेटिएका छन् । यसमा निहित कतिपय कुराहरू स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)मा आवद्ध गरेर आर्थिक–शैक्षिक विवरण/प्रतिवेदन तयार गर्न सकिने बनाउँदै छ । केन्द्रले उपयोगमा ल्याएको लर्निङ पोर्टल (सिकाइ चौतारी) एउटा उदाहरणीय डिजिटल प्लेटफर्म हो, जहा कक्षा १ देखि १० सम्मका पाठ्क्रम, पाठ्सामग्री, अडियो–भिडियो कक्षा र सन्र्दभ सामग्रीहरू समेटिएका छन् ।

नेपाली तथा अंग्रेजी भाषामा रहेका यी पठनपाठन सामग्रीले सिकाइ प्रक्रियालाई निकै सहज बनाएको छ । दूरदराजमा रहेर पनि सिकाइ उपलब्धि विस्तार गर्न सकिने बनाएको छ । विशेषतः कोरोना महामारीका समयमा यसले सिकाई सहजीकरण र शैक्षिक सत्र क्षति हुन नदिनका लागि निकै सहयोग पुयाएको छ । हालसालै उपयोगमा ल्याइएको ‘ई–क्लास’ एपमा पनि सिकाइ चौतरीका सामग्रीहरू उपलब्ध छन् । यसले शिक्षक तथा विद्यार्थीलाई समय र स्थानको अवरोधविना नै सिक्न सिकाउन निरन्तर सहयोग पु-याएको छ ।

वार्षिक १२ हजारजति विद्यार्थीहरू प्रत्येक वर्ष उच्च शिक्षाका लागि मुलुकबाहिर जान आवेदन दिने गरेका छन् । उनीहरूको समकक्षता, विदेशी विनमिय सुविधा र शैक्षिक अभिलेख व्यवस्थापनका लागि उपलब्ध गराइने स्वीकृति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) को लागि यसै वर्षबाट सफ्टवेवर प्रणाली सञ्चालनमा ल्याइएको छ ।

अब विद्यार्थीहरूले घरमै रहेर आवेदन र राजस्व दाखिला गर्न सक्छन् । उनीहरूले दाखिला गरेको राजस्व सिधै महालेखा नियन्त्रक कार्याल्यले सञ्चालनमा ल्याएको राज व्यवस्थापन प्रणाली (रिम्स) मा जम्मा हुन्छ । तर कागजात भिडान र प्रिन्टका लागि मौजुदा अवस्थामा भौतिकरूपमै उपस्थित हुनुपर्ने बाध्यता अझै बाँकी छ । राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र, सम्बद्ध काउन्सिलहरू र विश्वविद्यालयसँगको डिजिटल प्रणालीसँग एनओसी प्रणाली इन्टरफेसिङ गरी स्वचालित बनाउने प्रयास भइरहेको छ । प्रवेशिका (एसईई) र कक्षा १२ को विद्यार्थी रजिष्ट्रेशन, राजस्व दाखिलाजस्ता कार्यहरू अनलाइनबाटै गरिँदै आएको छ ।

गत मंसिर ९ मा सुरु भई १६ मा सम्पन्न कक्षा १२ को परीक्षामा सूचना प्रविधिलाई अधिक मात्रामा उपयोग गरियो । प्रश्नपत्र प्रवाह, भिडान र केन्द्राध्यक्ष अभिमुखीकरणका कामहरू समेत अनलाइनबाटै सम्पादन भयो, जसले अन्य क्षेत्रमा पनि प्रविधिलाई उपयोग गर्ने वातावरण बनेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले पनि सूचना व्यवस्थापन र प्रमाणीकरणका कामहरू अनलाइनबाटै गर्न सुरुवात गरेको छ । खुला विश्वविद्यालय अनलाइन प्रविधिको उपयोगमा अघि बढिरहेको अवस्थामा कोभिड–१९ को महामारीपछि अन्य १० विश्वविद्यालयहरूले पनि अध्ययन, अध्ययपन, परीक्षण, मूल्यांकनका कार्यहरूमा अनलाइन प्रविधिसँग जोडिएका छन् ।

कोरोना महामारीको जोखिम घट्दै जाँदा भौतिकरूपमा नै स्वास्थ्य मापदण्ड र सावधानी अपनाउँदै कक्षा सञ्चालन हुन थाले पनि अनलाइन प्रविधिबाट अव विश्वविद्यालयहरू पूर्ण अलग रहन सक्दैनन् । चिकित्सा शिक्षा आयोगले विद्यार्थी आवेदन तथा एप्रैजलमा अनलाइन विधि अवलम्बन गरेको छ । शिक्षक सेवा आयोग परीक्षार्थी आवेदन र राजस्व दाखिला अनलाइनबाट गर्न सक्षम भएको छ भने परीक्षणमा ओएमआर विधिमार्फत डिजिटलमैत्री बन्दै छ । शिक्षण अनुमति पत्र व्यवस्थापनका काममा पनि सूचना प्रविधिलाई उपयोगमा ल्याउने तयारी भएको छ ।

डिजिटल नेपालको गन्तव्य प्रभावकारी प्रणाली निर्माण हो, जसले सुशासनलाई संस्थागत गर्न सकोस् । प्रणालीको डिजिटलाइज्डले सेवा व्यवस्थापनमा पहुँच बढ्छ, अवरोधहरू भत्किन्छन्, प्रणाली मितव्ययी बन्छ, कार्यप्रक्रिया सरलीकरण हुन्छ, समन्याकिता बढ्छ । सारमा भन्दा समग्र प्रणाली प्रभावकारी हुन्छ ।

शिक्षा क्षेत्र डिजिटल नेपाल वा प्रणालीलाई स्वचालनमा ल्याउने पहिलो ढोका हो । शिक्षा क्षेत्र तयार भएपछि मात्र प्रणाली निर्माणको तत्परता र सामथ्र्य विकास हुन्छ । शिक्षा क्षेत्र डिजिटल नेपालको कार्यान्वयनमा अग्रपंक्तिमा छ । साथै आउने दिनमा शिक्षा क्षेत्रका समग्र प्रणालीहरू एकै स्थानमा इन्टरफेसिङ हुनेगरी ‘क्लाउड सर्विस’मा जाँदै छ भने अबको परिदृश्यमा डिजिटल सिकाइमा कृत्रिम बौद्धिकताको उपयोगमा अग्रसर हुनुपर्छ । तर डिजिटल पूर्वाधारहरूको विस्तार र उपयोगलाई सुरक्षित बनाउन सुरक्षा खाकासहित साइबर इटीक्वीटी आवश्यकता पनि देखिँदै छ ।



तपाईको प्रतिक्रिया