Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली पर्यटनको उतारचढाव

नेपाली पर्यटनको उतारचढाव


काठमाडौं ।
सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी सहर वुहानबाट फैलिन सुरु भएको महामारी कोरोनाभाइरस (कोभिड–१९) का कारणले गर्दा यो वर्षको विश्वभरि नै हवाइ यात्रुको संख्या उल्लेख्य संख्यामा घटेका छन् भने विश्य पर्यटन उद्योग पनि एक किसिमले विश्वभरि नै रौनकविहीन भयो । कोरोनाभाइरसको महामारीकै कारण गत सेप्टेम्बरमा २७ का दिन पर्ने ४१औं ‘विश्व पर्यटन दिवस’ रौनकविहीन भएको थियो ।

अर्थात् विश्वका अधिकांश देशहरूले विगत वर्षहरूमा जस्तो विभिन्न कार्यक्रम र झाँकीसहित ‘विश्व पर्यटन दिवस’ मनाएनन्/मनाउन पाएनन् । हुन पनि नेपालको ठमेलजस्तो पर्यटकीय क्षेत्रमा समेत यो वर्षको ‘विश्व पर्यटन दिवस’ मा विदेशी पर्यटक देख्न दुर्लभ भएको थियो ! हुन त नेपालमा पर्यटन व्यवसायको इतिहास त्यति लामो छैन ।

विगतमा नेपालमा लामो समयदेखि चलेको जहानियाँ (१०४ वर्षे राणा शासन) राणा शासनकालमा विदेशीहरूलाई नेपालमा भ्रमण गर्न लगभग प्रतिवन्ध जस्तै थियो । किनभने, त्यो बेला जो पायो त्यो विदेशीले नेपालको भ्रमण गर्न पाउँदैन थिए, केही देशका कूटनीतिज्ञहरूले बाहेक । तर, राणा शासकहरूले आफूले रिझाउनुपर्ने देशका राजा, महाराजाहरू र कूटनीतिज्ञहरूलाई भने सिकार खेल्न, मनोरञ्जन गर्न आफैँ निम्ता गरेर पनि बोलाउने गर्थे । त्यस्तै ठूलै मिसनसहित नेपाल आउने विदेशीहरूले पनि आफ्नो देशको सरकारको विशेष सिफारिसमा मात्रै राणा शासकहरूबाट अनुमति पाउँथे भन्ने भनाइ छ ।

यसरी हेर्दा विसं २००७ सालमा आएको राजनीतिक परिवर्तनपछि विस्तारै विदेशीहरूका लागि नेपाल भ्रमण गर्न खुला गरियो । त्यो बेला विदेशीलाई नेपाल भ्रमण गर्न खुला गरिएको वा अनुमति दिन थालिएको भए पनि विदेशीहरूका लागि नेपालमा अस्थायीरूपमा खान र बस्नका लागि होटल, लज आदिको व्यवस्था थिएन । विस्तारै यस्तो व्यवस्था काठमाडौँ उपत्यका सुरु भयो । तर उपत्यका बाहिरका लागि केही व्यवस्था थिएन ।

त्यस्तै काठमाडौँ उपत्यका सहरबाहिर जानका लागि हवाइ तथा सडक यातायातलगायत पूर्वाधार विकासमा पनि नेपाल धेरै पछि नै थियो । त्यसैले विसं २००७ देखि विसं २०१५/०१६ साल (सन् १९४९–५० देखि १९५९/६०) बीचको संक्रमणकालीन अवस्थासम्म पनि नेपालमा अपेक्षित रूपमा विदेशीहरू पर्यटकको रूपमा भ्रमण गर्न खासै आएनन् ।

तथ्य–तथ्यांक नै हेर्ने हो भने, तत्कालीन श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ मा उल्लेख भएअनुसार नेपालमा विदेशीहरूलाई खुला गरे यता सन् १९६२ सम्ममा छ हजार एक सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने, सन् १९६२ देखि सन् १९६६ बीचको ४ वर्षमा १२ हजार पाँच सय ६७ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए ।

त्यस्तै १९६६ देखि १९७० सम्मको ४ वर्षे अवधिमा ४५ हजार नौ सय ७० जना, १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार आठ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा एक लाख ५६ हजार एक सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा एक लाख ७५ हजार चार सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा दुई लाख २३ हजार तीन सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा दुई लाख ५४ हजार आठ सय ८५ जना विदेशीहरूले नेपालमा पर्यटकको रूपमा भ्रमण गरेको तथ्यांक देखन्छ ।

त्यसो त तत्कालीन श्री ५ को सरकारले सन् १९९८ पहिलोपटक नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाउने, उनीहरूको नेपाल बसाइ अवधिको समय बढाउने, उनीहरूले नेपालमा रहँदा गर्ने दैनिक खर्च दर बढाउनेलगयात उद्देश्य राखेर पहिलो पटक ‘नेपाल भ्रमण वर्ष–१९९८’ मनाएको थियो ।

स्मरणीय छ, सो वर्ष पाँच लाख विदेशी पर्यटक नेपाल भित्र्याउने, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको दैनिक खर्च प्रतिव्यक्ति प्रतिदिन ४५ अमेरिकी डलर पु-याउने, नेपाल आउने विदेशी पर्यटकको बसाइ अवधि १२ दिन पु-याउनेलगायतका लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको भए पनि पनि सो वर्ष सरकारद्वारा घोषित कुनै पनि लक्ष्य पूरा भएन । तापनि सो वर्ष चार लाख ६३ हजार छ सय ८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । लगत्तै अर्थात् सन् १९९९ मा भने चार लाख ९१ हजार ५० सय चार जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । तर, सो संख्या बढोत्तरी हँदै जानुपर्नेमा सन् २००० मा घटेर चार लाख ६३ हजार छ सय ४६ जनामा झ¥यो ।

अझ सन् २००१ मा त नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या घट्ने क्रम बढेर तीन लाख ६१ हजार दुई सय ३७ जनामा झरेको थियो । त्यस्तै सन् २००२ मा त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् १९९९ को चार लाख ९१ हजार ५० सय ४ जना विदेशी पर्यटकको तुलनामा लगभग ४७/४८ प्रतिशत (झण्डै आधा) ले घटेर दुई लाख ७५ हजार चार सय ६८ जनामा झरेको थियो । (तथ्यांक स्रोतः श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामक किताब ।)

समग्रमा हेर्दा २०६२/०६३ को तेस्रो जनआन्दोलनपछि भने नेपाल आउने विदेशी पर्यटकहरूको संख्या लगातार बढिरहेको थियो/छ । यो हाम्रा लागि सुखद् समाचार नै हो । त्यसो भए पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरूको नेपाल बसाइ अवधि आदिमा बढोत्तरी हुन नसक्नु भने दुःखद नै मान्नुपर्ने हुन्छ । हुनसक्छ, त्यसो हुनुमा नेपाल सरकारको पर्यटन नीति अझै पनि विदेशी पर्यटकमैत्री नभएर पनि होला, त्यस्तै नेपालका पर्यटन व्यवसायीहरूले पनि कमी कमजोरी गरेका होलान् नै !

त्यसैले हामीले नेपाल आउने विदेशी पर्यटकहरूको टाउका (संख्या) पनि गन्ने, उनीहरूले नेपाल भ्रमण गर्न आउँदा गर्ने दैनिक खर्च र नेपाल बसाइमा पनि सुधार ल्याउनेतर्फ सोच्ने वा भनौं कदम चाल्दै जाने गर्नुपर्ने देखिन्छ । त्यसैले अब नेपाल सरकार, नेपालका निजी क्षेत्रका पर्यटन व्यवसायी, पर्यटन मजदरहरू लगायत सरोकारवालाहरूले यस विषयमा विषेश ध्यान दिनुपर्ने देखिन्छ ।

पछिल्लोपटक नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ मा घटेको भएता पनि सो वर्ष विदेशी पर्यटकहरूले आफ्नो नेपाल बसाइ अवधिमा गरेको दैनिक खर्च भने, हालसम्मकै सबैभन्दा धेरै रहेको थियो । स्मरणीय छ, सन् २०१५ मा विदेशी पर्यटकहरूले आफ्नो नेपाल बसाइ अवधिमा गरेको दैनिक खर्च लगभग ७१ अमेरिकी डलर थियो ।

जबकि सन् २०१७ मा औसतमा एकजना विदेशी पर्यटकले आफ्नो नेपाल बसाइको क्रममा ५५ अमेरिकी डलर दैनिक खर्च गरेका थिए भने् सन् २०१८ मा एकजना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेको देखिन्छ । सुन्दा तितो लागे पनि यो तथ्यांकले नेपाल वास्तवमै विश्वका ‘वेस्ट टुरिस्ट !’ (जताभावी फोहर गर्ने, प्राकृतिक वातावरण बिगार्ने, संस्कार, संस्कृति नस्ट गर्ने) हरूका लागि सधैँका लागि गन्तव्य अर्थात् स्वर्ग बन्दै जाने त हाइन ? भन्ने पनि देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया