Techie IT
×
गृहपृष्ठविचारजलस्रोतको महत्व तथा यसको उपयोग

जलस्रोतको महत्व तथा यसको उपयोग


काठमाडौं ।
पृथ्वीको चार भागमा तीन भाग पानी र एक भाग मात्र जमीनले ढाकेको छ । पृथ्वीमा करिब एक सय ५० करोड घनकिलोमिटरभन्दा बढी पानी छ । जसमध्ये करिब तीन प्रतिशत मात्र हाम्रो जीवनका लागि उपयुक्त शुद्ध पानी छ । यसमा पनि लगभग ७५ प्रतिशत जति पानी पृथ्वीको ध्रुवीय क्षेत्रमा हिउँको रूपमा जम्मा भएर रहेको हुन्छ । पानीको बाँकी अंशमध्ये ठूला ताल र भूमिगत रूपमा रहेको पानीलाई कटाउँदा शुद्ध पानी शन्य दशमलव ०२७० प्रतिशत मात्र उपयोगमा आउँछ । प्राचीन सभ्यताको उत्थान र विकास पनि नदीकै किनारमा भएको कुरा हामी मिश्र, मेसोपोटामिया ह्वाङ्गो, सिन्धुघाँटी र नेपालका कोशी, गण्डकी, र कर्णालीका बेसीहरूको इतिहासबाट पनि थाहा पाउन सकिन्छ ।

सृष्टि र विकाससम्बन्धी पानी या नदीको यस्तै देन भएर होला वेदमा ‘आ पो ब्रम्ह’ भनिएको पनि छ । ‘जल’ यस्तो वस्तु हो जसले मानव, पशुपन्छी र वनस्पतिलाई समेत जीवनदान दिन्छ । नेपालको कलक्षेत्रफलमध्ये १८ प्रतिशत अंश पानी तथा हिउँले ढाकिएको छ । जसमध्ये २ दशमलव ७ प्रतिशतमा पानी रहेको छ भने १५ दशमलव ३ प्रतिशत हिउँले ढाकिएको जमीन पर्दछ । नेपालमा बगिरहेका नदीनालाहरूको सङ्ख्या छ नेपाल समुद्रबाट टाढा छ अर्थात् यो भूपरिवेष्ठित छ । समुद्रको किनारमा नभए पनि जल सम्पदाको दृष्टिले ब्राजिलपछिको संसारको दोस्रो धनी मुलुक नेपाल हो ।

नेपालका नदीनालाको जल भण्डार क्षमता दुई लाख दुई हजार मिलियन (दश लाख) क्यूबिक मिटर छ । कोशी, गण्डकी, र कर्णाली नदीहरूको मात्र जल भण्डार क्षमता एक लाख ४८ हजार मिलियन (दश लाख) क्यूबिक मिटर छ । नेपालको जलसम्पदाबाट ८३ हजार मेगाबाट बिजुली ८० लाख हेक्टरमा सिँचाइ र सम्पूर्ण नेपालीलाई प्रशस्त खानेपानी पुग्छ । बाह्रै महिना हिउँ जम्ने हिमाली क्षेत्र जल सम्पदाको महत्वपूर्ण स्रोत हो । नेपालमा विश्वको कलजल भण्डारको करिब २ दशमलव २७ प्रतिशत जल सम्पदा रहेको अनुमान गरिएको छ । जल सम्पदामा धनी मानिएको नेपालको क्षेत्रफलको कुल भूभागमध्ये १८ प्रतिशत अंश पानी तथा हिउँले ढाकिएको छ जसमध्ये २ दशमलव ७ प्रतिशतमा पानी रहेको छ भने १५ दशमलव ३ प्रतिशत हिउँले ढाकिएको छ ।

आँखाविनाको जीवन र पानी बिनाको संसारको कल्पना एउटै हो । पानी र वायुको अन्तरक्रियाबाट नै पृथ्वी जीवनयोग्य ग्रहको रूपमा रहेको वैज्ञानिक अध्ययनबाट प्रमाणित भइसकेको यथार्थ हो । पानीका प्रमुख स्रोतहरू वर्षाको पानी हिमनदीहरू, नदीहरू, ताल, पोखरी तथा जमीनमुनिको पानी छन् । नेपालको सन्दर्भमा छ हजारभन्दा बढी नदीहरू छन् भने यिनीहरूको जम्मा लम्बाइ ४५ हजार किमि रहेको अनुमान गरिएको छ । नेपालमा पानीको मुख्य स्रोतहरूमा वर्षात्, हिमनदी, नदी र भूमिगत जल हो । सम्पूर्ण नदीहरूको जलभण्डार क्षमतालाई हेर्दा यहाँ दुई लाख दुई हजार मिलियन क्यूबिक मिटरको जलभण्डार क्षमता रहेको छ । साथै कोशी, गण्डकी र कर्णालीजस्ता तीन ठूला नदीहरूको क्षमता एक लाख ४८ हजार क्यूबिक मिटर अर्थात् नेपालको कलजलस्रोत क्षमताको ७५ प्रतिशत रहेको छ ।

आर्थिक सर्वेक्षण आर्थिक वर्ष २०७६/७७ अनुसार २०७६ फागुनसम्म ९० प्रतिशत जनसंङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । २०७६ असारसम्म विद्युत्को पहुँच पुगेको जनसंङ्ख्या ८८ प्रतिशत थियो । आर्थिक वर्ष २०७६/७७ फागुनसम्म विद्युत् उपयोग गर्ने ग्राहकको संङ्ख्या ४१ लाख ५५ हजार छ सय ४० पुगेको छ । आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म कुल विद्युत् उत्पादन आर्थिक वर्ष २०७५/ ७६ सम्मको १२५१ मेगावाटको तुलनामा ८ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ सय ५५ मेगाबाट पुगेको छ । जसमध्ये जलविद्युत्बाट १२ सय ३३ मेगावाट, थर्मल पाल्ट उत्पादित विद्युत् ५४ मेगावाट तथा वैकल्पिक ऊर्जाबाट ६८ मेगावाट उत्पादन भएको छ ।

नेपालमा विद्युत् प्राधिकरणको स्वामित्वबाट सञ्चालित जलविद्युत् परियोजनावाट छ सय ३५ मेगावाट र नीजि क्षेत्रबाट सञ्चालित जलविद्युत् परियोजनाबाट ६५१ मेगाबाट विद्युत् राष्ट्रिय ग्रीडमा जडान भएको छ । आर्थिक वर्ष २०७६/७७ को फागुनसम्ममा नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीहरू तथा निजी क्षेत्रबाट सञ्चालित विभिन्न जलविद्युत् आयोजनाहरूबाट एक सय ९२ दशमलव नौ मेगाबाट विद्युत् उत्पादन भएको छ । आर्थिक वर्ष २०७६/७७ फागुनसम्म ४२ सय ५२ सर्किट किलोमिटर प्रसारण लाइन एक लाख ४७ हजार नौ सय ४५ किलोमिटर वितरण लाइन विस्तार भएको छ ।

गतवर्षको फागुन महिनासम्ममा प्रसारणलाइन ३९ सय आठ सर्किट किलोमिटर र वितरण लाइन एक लाख ४५ हजार दुई सय ५४ किलोमिटर पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा भारतबाट २८ सय १३ दशमलव शून्य सात गिगाबाट घन्टाबराबरको विद्युत् आयात भएकोमा चालू आर्थिक वर्षमा झण्डै आधाले घटी एक लाख ४६ हजार आठ सय ७७ गिगावाट घन्टाबराबरको विद्युत् आयात भएको छ । विद्युत्को आन्तरिक उत्पादनमा वृद्धि भएसँगै भारतबाट आयात हुने विद्युत्को मागमा कमी हुँदै गएको हो । चालू आर्थिक वर्ष विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम भएको छ ।

वर्तमान पन्ध्रौं योजना २०७६/८१ मा जलविद्युत् विकास कार्यक्रम
सोच
जलविद्युत्को दिगो र भरपर्दो विकासमार्फत मुलुकको समृद्धिमा योगदान
लक्ष्य
जलविद्युत्को तीव्र उत्पादन गरी ऊर्जा सुरक्षा सुनिश्चित गर्ने,
उद्देश्य
१. जलविद्युत्को उत्पादन वृद्धि गर्दै स्वच्छ ऊर्जाको उपलब्धता सुनिश्चित गर्नु
२. ऊर्जा दक्षता सहित गुणस्तरयुक्त, भरपर्दो र सुलभ रूपमा सबै घरपरिबार र उत्पादनशील क्षेत्रमा विद्युत् सेवाको पहुँचमा विस्तारगरी विद्युत् खपत वृद्धि गर्नु,
३. क्षेत्रीय ऊर्जा निर्यात व्यापार अभिवृद्धि र पेट्रोलियम पदार्थको आयात क्रमशः प्रतिस्थापन गर्दै भुक्तानी सन्तुलनलाई अनुकूल बनाउन योगदान पुरयाउनु,
रणनीति
१. जलविद्युत्मा आन्तरिक एवं बाह्य क्षेत्रको लगानी आकर्षण गरी विद्युत् उत्पादनमा वृद्धि गर्ने,
२. आन्तरिक र अन्तरप्रदेशीय विद्युत् प्रसारणलाई सुदृढ तथा विस्तार गरी विद्युत् आपूर्ति प्रणालीलाई प्रभावकारी र भरपर्दो बनाउने ।
३. ऊर्जा दक्षता बढाउन वितरण प्रणालीलाई प्रभावकारी एवम भरपर्दो बनाउने तथा विद्युत् पहुँच वृद्धि गरी खपत बढाउने,
४. जलविद्युत् उत्पादनसहित सबै प्रकारका ऊर्जाको समिश्रण र क्षेत्रीय ऊर्जा व्यापारको माध्यमबाट ऊर्जा सुरक्षा कायम गर्ने,
५.जनविद्युत् क्षेत्रको संस्थागत संरचनाको सुदृढीकरण गर्ने

कतिपय क्षेत्रमा मिटर रिडिङ गर्न नसक्नु र बक्यौता भएका ग्राहकहरूका लाइन काट्नु नसक्नु, कतिपय क्षेत्रमा चुहावट टोली पठाई चुहावट नियन्त्रण गर्न नसक्नु, कालोसूचीवाला ग्राहकहरूको पहिचान एवं ठेगाना पत्ता लाउन नसक्नु, सरकारी, अर्धसरकारी कार्यालय एवं सडकबत्ती इत्यादिको बाँकी बक्यौता असुलउपर गर्न नसक्नु, मर्मत सम्भार कार्य र चुहावट नियन्त्रण टोलीका लागि गाडीको अभाव हुनु, प्राविधिक एवं अप्राविधिक चुहावट घटाउन नसक्नु, ट्रान्सफर्मरहरू उपयुक्त लोड सेन्टरमा नहुनु, सिंगल फेज लाइन लामो दूरीसम्म कायम हुनु, ट्रान्सफर्मरहरूको लोड ब्यालेन्स नहुनु, वितरण प्रणालीमा पावर फ्याक्टर कम हुनु, विभिन्न कारणले लिकेज हुनु, गुणस्तरीय तवरले नयाँ लाइनहरू निर्माण नगरिनु, प्रशारण लाइन एवं वितरण लाइन सुदृढीकरण कार्य (जस्तैः पोल फेर्ने, कन्डक्टर क्षमता वृद्धि गर्ने, ट्रान्सफर्मर क्षमता वृद्धि गर्ने, ट्रान्सफर्मरहरू उपयुक्त ठाउँमा राख्ने, फेज ब्यालेन्सिङ गर्ने इत्यादि कार्यको लागि प्रत्येक आवमा बजेट विनियोजन हुनुपर्छ ।

आर्थिक सर्वेक्षण २०७६/२०७७ अनुसार २०७६ फागुनसम्म कुल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमीनमध्ये ६५ प्रतिशत अर्थात् १४ लाख ९७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म थप दुई हजार दुई सय ४३ हेक्टर संघबाट भएको सिँचाइ विस्तार मात्र क्षेत्रफलमा सतह सिँचाइ सुविधा विस्तार भएको छ । सिञ्चित क्षेत्रफलको करिब ३३ प्रतिशत जमीनमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा पुगेको अनुमान छ ।

नेपालको सम्पूर्ण कृषियोग्य भूमिमा उपयुक्त प्रविधिको छनोट गरी भरपर्दो वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने सिँचाइ प्रणाली निर्माण गर्नु, निर्माण सम्पन्न भएका प्रणालीहरूको मर्मत सम्भारका लागि प्रभावकारी व्यवस्थापन गर्नु, बाह्रै महिना सिँचाइ सेवा उपलब्ध गराउनका लागि साना र मझौला खालका नदीहरूको जल तथा भूमिगत जल उपयोग गर्न दीर्घकालीन रूपमा ठूला नदीहरूको जलस्थानान्तरणद्वारा जलाशययुक्त योजना निर्माण गर्नु, सिँचाइ सुविधा उपलब्ध भएका र हुने जमीन कृषिका लागि सुरक्षित राख्नु, जलवायु परिवर्तनबाट सिर्जित असरका कारण पानीको उपलब्धतामा आएको जोखिम व्यवस्थापन गर्नु सिँचाइ क्षेत्रका चुनौती हुन् ।

अवसर सतह र भूमिगत जलस्रोतको ठूलो भण्डार उपलब्ध हुनु, सिँचाइ विकास र विस्तारका लागि उपयुक्त प्रविधि र जनशक्ति स्वदेशमै उपलब्ध हुनु, सिँचाइ विकास र व्यवस्थापनमा कृषक उपभोक्ताको पहुँच बढ्दै जानु, नयाँ सङ्गठनात्मक परिवर्तनबाट सबै जिल्लामा सिँचाइ कार्यालयको स्थापना भई सेवा प्रवाहमा सुधार हुनु, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाई कृषि उपजमा आत्मनिर्भर बनाउन सिँचाइको भरपर्दो र दिगो व्यवस्था गर्नैपर्ने अवस्था सिर्जना हुनु यस क्षेत्रका अवसरका रूपमा रहेका छन् ।

जनताको स्वास्थ्य सुरक्षाको लागि सफा र स्वच्छ पिउने पानीको आवश्यकता पर्दछ । नेपाल अधिराज्य जल साधनमा धनी भए तापनी देशका अधिकांश जनता स्थानीय नदी, खोला, इनार र कुवाको पानी पिएर निर्वाह गर्दछन् । खास गरेर पहाडी क्षेत्रका वासिन्दाहरू नदी, खोलाका पानीमा भर पर्दछन् ।

नेपालका विभिन्न सहरहरू प्रदूषित हुँदै गएको अवस्थामा समानुपातिक ढंगले खानेपानीको समस्या पनि बढ्दै गएको छ । सबैभन्दा बढी खानेपानीको समस्या काठमाडौँमा छ । बाक्लो आवादी, व्यवस्थित सहरीकरणको अभाव तथा उद्योगधन्दाको जथाभावी विस्तार तथा फोहर मैलाहरूलाई नदीको किनारमा फ्याँक्नेजस्ता कुराहरूले गर्दा काठमाडौँको पानी अत्यन्तै प्रदूषित भएको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्तरभन्दा पनि बढी जीवाणु काठमाडौँको पानीमा पाइएको छ ।

आर्थिक वर्ष २०७६/ २०७७ का फागुनसम्ममा २१ सहरी तथा अर्धसहरी खानेपानी आयोजनाहरू सम्पन्न भई दुई लाख ६२ हजार छ सय ८१ सहरी जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभाम्भित भएका छन् । सबैलाई उच्च र मध्यमस्तरका खानेपानी सेवा पु-याउने चुनौती अझै कायमै छ ।

नेपालमा साना तथा ठूला गरी छ हजारभन्दा बढी नदीनालाहरू छन् यसबाट दुई सय अर्ब घनमिटर पानी बहन्छ । कालीगण्डकीको राम्दी घाटदेखि नारायणघाटसम्मको क्षेत्र, त्रिशुली, कणाली, अरुण र सुनकोशी नदीका केही क्षेत्रहरूमा आन्तरिक जल परिवहानका लागि सम्भावना भएको कुरा निकै पहिलेदेखि नै चर्चामा आइरहेको छ । वर्षको समयमा यी नदीहरूमा जल परिवाहन गर्ने प्रबन्ध मिल्न सकेको खण्डमा देशले नयाँ काचुली फेर्नेछ । गंगा नदीको जलप्रवाह सुख्खा याममा नेपालवाट बग्ने कर्णाली सप्तगण्डकी र सप्तकोशी नदीहरूबाट कुल जलप्रवाहको ७० प्रतिशतभन्दा बढी योगदान भइरहेको छ ।

नेपालजस्तो भूपेरिबेष्ठित राष्ट्रमा आन्तरिक सडकमार्गलाई पूर्ति गर्न जलमार्गहरूको प्रशस्त सम्भावना छ । सन १९८० को दशकमा पहिलो पटक नेपालमा आन्तरिक जलमार्गको बाटोमा विस्तृत अध्ययन गरी जलमार्गहरू सम्भावना रहेको पत्ता लगाइएको थियो । विद्युत् ऐन, २०४९ तथा जलविद्युत्सम्बन्धी अन्य नीतिहरू र आवधिक योजना समेतबाट जलविद्युत्को उत्पादन तथा वितरणमा निजी क्षेत्र र समुदाय समेतलाई संलग्न गराउन विभिन्न प्रवर्द्धनात्मक तथा प्रोत्साहनात्मक व्यवस्थाहरू अवलम्बन गरिएको छ ।

हालसम्मको जलविद्युत् विकासतर्फको प्रगति सन्तोषजनक छैन । नेपालमा विद्युत् ऊर्जा उत्पादन तथा खपत ज्यादै कम छ । ऊर्जाको प्रमुख स्रोत कृषि तथा वनजन्य स्रोत रहेका छन् । नवीकरणीय ऊर्जाको स्रोतको रूपमा जलविद्युत् उत्पादनको सम्भाव्यता प्रचुर मात्रामा रहे पनि यस स्रोतको वान्छित उपयोग हुन सकेको छैन । अधिकांश जनता अझै पनि विद्युत् ऊर्जाबाट वञ्चित छन् । विद्युत् ऊर्जाको अभावका कारण उद्योग व्यवसायको विकास वाञ्छित गतिमा हुन सकेको छैन । यस परिप्रेक्ष्यमा नेपालमा आफ्नै उपलब्ध स्रोतबाट उत्पादन हुनसक्ने जलविद्युत् ऊर्जाको विकास अपरिहार्य भएको छ ।



तपाईको प्रतिक्रिया