Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगट्रम्प बहिर्गमनको रहस्य

ट्रम्प बहिर्गमनको रहस्य


काठमाडौं ।
पैसा र शक्तिमा विश्व हल्लाउन चाहने अनौठो राष्ट्रवाद बोकेका डोनाल्ड ट्रम्प पक्कै पनि गरिबमारा, स्वार्थी र आत्मकेन्द्रित व्यक्ति हुन् । उनको चारवर्षे कार्यकाल अन्य शक्ति राष्ट्रहरूलाई धारे हात बनाउँदैमा बित्यो । कुनै सिद्धान्त तथा योजनाविहीन रूपमा प्रस्तुत हुने ट्रम्पले आफ्नो कार्यकालभरि नैतिकता प्रस्तुत गर्न सकेनन् जुन उनको बहिर्गमनको प्रमुख कारण बन्यो । उनी सधैँभरि व्यक्तिगत फाइदा हुने किसिमको अमेरिकी नीति बनाउन नै व्यस्त भए ।

जे गर्दा आफूलाई फाइदा हुन्छ उनले राष्ट्रप्रतिको कुर्सी त्यतै घुमाए जसको कारण उनले न त अमेरिकीहरूकै मन जित्न सके नत अमेरिकालाई विश्वले हेर्ने सकारात्मक नजर नै बनाउन सके । उनले रंगभेदलाई बढावा दिँदै काला जातिलाई सिध्याउने खेलमा सधैभरि लागि परे र स्वेत सर्वोच्चता स्थापित गर्न तल्लीन रहे । काला भएकै कारण पूर्वराष्ट्रपति बाराक ओबामालाई कुनै कुरामा जस दिन चाहेनन् जसको कारण अन्दाधुन्धरूपमा ओबामाका निर्णयहरू उल्ट्याउँदै गए । उनले ओबामाका त्यस्ता निर्णयहरू उल्ट्याए जसले स्वयम् अमेरिकालाई नै १० वर्षपछाडि धकेलिदियो ।

किन परे ट्रम्प बहिर्गमनमा ?
१. अमेरिकालाई हेर्ने विश्वको नजर बदलियो : चार वर्षअघि राष्ट्रपति बन्दै गर्दा ट्रम्पले अमेरिकालाई विश्वको सबैभन्दा महान मुलुक बनाउँछु भन्थे तर उनको बहिर्गमनसम्म आइपुग्दा अमेरिका १० वर्ष पछाडि धकेलिएको उनले पत्तै पाएनन् । अमेरिकालाई हेर्ने विश्वको नजर नकारात्मक बनेको छ जसको कारण अमेरिकाको साख विश्वसामु खस्किएको एक अध्यययनले देखाएको छ । बेलायत, फ्रान्स, जर्मनीलगायतका देशका जनताहरूले अमेरिकालाई नकारात्मक नजरले हेर्नथाल्नु पक्कै पनि अमेरिकाको लागि चुनौतीको विषय हो, जसको कारण ट्रम पदच्युत हुनपुगे ।

२. आप्रवासी नीतिमा कडाइ : ट्रम्पको कार्यकालमा अमेरिकामा आउने आप्रवासीमा कडाइ गरिएको थियो । पदको शपथ लिएको केही सातामा नै ट्रम्पले सात मुस्लिम मुलुकबाट अमेरिका भ्रमणका लागि आउने मानिसहरूमा कडाइ गरेका थिए । जसको व्यापक आलोचना मात्र भएन उनको पदच्युतको कारण पनि बन्यो ।

३. जलवायु परिवर्तनको मुद्दाबाट बाहिरिनु : सन् २०१५ मा फ्रान्सको पेरिसमा जलवायु परिवर्तन न्यूनीकरणका लागि भएको सम्झौताबाट ट्रम्पले बाहिरिने निर्णय गर्नु उनको कार्यकालको गम्भीर ठूलो कमजोरी हो जुन निर्णयले विश्व राजनीतिमा तरंग ल्याएको थियो । ट्रम्पले जलवायु परिवर्तनको मुद्दालाई सधैँ बेवास्ता गरे । उनले यो जलवायु परिवर्तन भनेको केही होइन, केवल गफ हो भन्ने धारणा राख्नुले उनको क्षमतामाथि प्रश्न चिह्न खडा भएको छ । उनले जलवायु परिवर्तनको न्यूनीकरणको लागि चालिएको कदमले अमेरिकालाई ठूलो नोक्सानी हुने भन्दै यसबाट बाहिरिने निर्णय गरे तर सोही निर्णय उनको अस्तित्वको संकट बन्यो ।

४. इरानसँग युद्ध नजिकको सम्बन्ध : उनको कार्यकालमा अमेरिकाको इरानसँगको सम्बन्ध बिग्रिनु र उनले इरानसँगको आणविक सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गर्नु र इरानका सबैभन्दा शक्तिशाली अधिकारी कासिम सुलेमानीको इराकमा हत्या गर्नु र जसको कारण सयौं अमेरिकी सैनिकहरू गुमाउनु उनको ओरालो यात्राको महत्वपूर्ण कारण हो ।

५. व्यापार सम्झौताबाट बाहिरिने निर्णय : ट्रम्पले आफ्नो कार्यकाल सुरु गरेको केही समयमा नै १२ मुलुकहरूसँगको ट्रान्स प्यासिफिक पार्टनरसीप सम्झौताबाट बाहिरिने निर्णय गरे जसको प्रत्यक्ष फाइदा चीनलाई भयो जसको कारण ट्रम्पले पपुलारिटी गुमाउँदै गए । ट्रम्पले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई पनि अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता भन्दै पुनः वार्ता गरे जुन नीतिको कारण अमेरिकाको चीनसँग व्यापारयुद्ध सुरु भयो र अप्रत्यक्ष रूपमा अमेरिकाले नै घाटा बेहोर्नु प¥यो जसको कारण उनको कुर्सी कमजोर भयो ।

६. चीनसँगको बढ्दो तनाव : ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएसँगै चीनप्रति अनुदार नीति लिँदै चीनसँग नकारात्मक सम्बन्ध बनाउँदै गए । जसको कारण अमेरिकाको चीनसँग तनावपूर्ण सम्बन्ध सुरु भयो । विनाकारण चाइनिज एपमाथि अमेरिकामा प्रतिबन्ध लगाउने र अमेरिकामा कोरोना महामारी नियन्त्रण गर्न पहल गर्नुपर्नेमा उल्टो चीनलाई आरोप लगाउँदैमा व्यस्त भए जसको कारण उनले पराजयको सामना गर्नुप-यो ।

७. नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई छोड्ने निर्णय लिनु र डब्लूएचओलाई दिइँदै आएको सहयोग रोक्दा अमेरिका स्वयंलाई समेत हानि पुग्न गयो जुन ट्रम्पको एकदमै ठूलो मूर्खतापूर्ण स्वार्थीपन र पदीय असफलता हो ।

८. आफूलाई महाशक्ति दाबी गर्ने अमेरिकाले संसारको मानवअधिकार रक्षाको नेतृत्व समेत गर्न सकेन त्यसमाथि संयुक्त राष्ट्र संघको मानवअधिकार काउन्सिलबाट अमेरिकालाई झिक्ने लज्जास्पद निर्णय गर्नु अमेरिकालाई मात्र होइन समग्र विश्वकै लागि नराम्रो कुरा हो जसको कारण ट्रम्पको साख खस्कियो ।

९. संसारलाई एकीकृत गर्नुको सट्टा चीन, फ्रान्स, क्यानडा, जर्मनीलगायत उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा आबद्व लोकतान्त्रिक देशहरूसँग पनि सम्बन्ध बिगारेर संसारलाई विभाजित बनाउने प्रयास गर्नु ट्रम्प बहिर्गमनको महत्वपूर्ण करण हो ।

१०. आफू लोकतान्त्रिक देशको राष्ट्रपति भएर उत्तर कोरिया, टर्की, ब्राजिलजस्ता देशका स्वेच्छाचारी, सर्वसत्तावादी तानाशाहहरूसँग राम्रो सम्बन्ध बनाउँदै लोकतन्त्रमाथि नै धावा बोल्ने प्रयास गर्नु उनको ठूलो कमजोरी हो । कहिल्यै अरुलाई सम्मान गर्न नजान्नु र आफ्नै बोलिको टुंगो नहुनुले उनी असफलताको बाटो लाग्न बाध्य भए ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया