Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफेसबुक कति घातक, कति सार्थक ?

फेसबुक कति घातक, कति सार्थक ?


काठमाडौं ।
फेसबुकले सबैभन्दा धेरै राष्ट्रको सिर्जनशील युवाशक्तिलाई ध्वस्त बनाउँदै लगेको छ । फेसबुकले चरित्रहीन बनाइरहेछ सिर्जनाका क्षेत्रका ऊर्जावान युवायुवतीलाई । यसमा नियमन र नियन्त्रण नभए यो समस्या झन् विकराल बनेर जाने निश्चित छ । दस/एघार वर्षका केटाकेटी डेटिङ जानलाई फेसबुकले सिकायो । अहिले साना–साना केटाकेटीहरू आफ्ना अभिभावकका, आफ्ना शिक्षकका र आफन्तका कुरा, अर्ति, उपदेश, नैतिक शिक्षा नसुन्ने भइसकेका छन् ।

विज्ञान र शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याई मुलुकलाई समृद्धितिर लैजानुपर्ने कुल जनसंख्याको ४० दशमलव ३ प्रतिशत हिस्सा ओगट्ने युवा युवतीलाई सामाजिक सञ्जालको डढेलोले बाल्दै छ । नेपालीको सामाजिक संस्कारमा नै नराम्रो परिवर्तन ल्याउँदै छ जुकरवर्गको फेसबुक र अन्य सामाजिक सञ्जालले ।

अस्ती एउटा साथीले रोएर फोन ग-यो । भर्खरै बिहे गरेको थियो । हनिमुन मनाउन पोखरा गाको नयाँ दुलही उतैबाट अर्कै केटोसँग भागिछन् । गहना झपक्कै लाकिथिन् रे । घुम्न लिएर गएको पचास/साठी हजार पैसा पनि लिएर गैछन् । बिहे गरेपछि पनि मोबाइलमा अत्यन्तै व्यस्त हुन्थिन् रे । फेसबुके प्रेमी पोखराकै परेछ । खर्च गरेर बिहे ग-यो । प्रेमीलाई पो सजिलो भो खर्च गर्न पनि परेन । आजकल ८० प्रतिशत प्रेमको तय फेसबुकले गरिदिन्छ । पहिला/पहिला केटाकेटीको बिहे गराइदिने लमी हुन्थे ।

आजकल लमीको स्थान फेसबुकले लिएको छ । यताबाट जाँदा दुईजना पोखरा बाट फर्किँदा एक्लै । प्रहरीलाई खबर गर्नु गएको रे ती नानीले पो पहिल्यै प्रहरीमा उजुरी गरिसकिछन् कि मलाई मेरो इच्छाविरुद्ध विहे गरेको र आफू खुसीअनुसार आफ्नो ब्वाइफ्रेन्डसँग भागी बिहे गरेँ भनेर । प्रहरी कार्यलय जाँदा त उल्टो उसैलाई पो जेल हाल्ने सुर कसे रे । बिचरो उम्किएर आएछ । धन्न बचेँ भन्दैथ्यो ।

आफ्नो अनलाइन पत्रिकालाई कसरी रातारात हिट बनाउने र धेरै विज्ञापन असुल्ने भन्ने ध्ययबाट ग्रसित मानसिकताका कारण समाजका प्रख्यात सेलिब्रेटीको नाममा भ्रामक समाचार लेख्ने र यसैलाई आधार बनाएर सामाजिक भ्रम फैलाउने काम समेत भइरहेको छ । नेपाली समाज वास्तविकता र यथार्थलाई वास्ता गर्दैन । ऊ भ्रमको पछि लाग्छ । कागले कान लग्यो भनेर आफ्नो कान छाम्दै नछामी कागको पछि लाग्छ । अहिले नेपाल सरकारले सिके राउतसँग गरेको सम्झौतालाई लिएर त्यही भ्रमको खेती गरिरहेछ सामाजिक सञ्जालले । सामाजिक सञ्जालले जति विकृति फैलाउँछ त्यति नै नेपाल कम्जोर हुँदै जान्छ ।

सामाजिक सञ्जाललाई छिटोभन्दा छिटो नियन्त्रण र नियमन गरिएन भने ठूलो भयावहको स्थित सिर्जना हुनसक्छ नेपालमा । बरु छिटोभन्दा छिटो यस्लाई नियन्त्रण गर्न सरकारले पाइला चाल्नुपर्ने देखिएको छ । हामीलाई अन्यत्रबाट भन्दा पनि हामी बाट नै खतरा देखिन्छ किनकि हामीलाई विरोध गर्न, कुरा काट्न र एकले आर्काको खिसीटिउरी उडाउन धेरै आउँछ । हामी आफ्नो गल्ती कहिले देख्दैनौँ तर अरुले पादेका कुरा गरेर समय व्यतित गर्छौ यो सबैभन्दा दुर्भाग्यपूर्ण कुरा हो ।

राष्ट्रका लागि केही गरौं भन्ने सोच भएकालाई सिध्याउने धन्दामा लागिपरेका मिडियाहरूलाई तुरुन्तै बन्द गर्नुपर्छ । अनियन्त्रितरूपमा राज्यको नियमविपरीत रहेको छाडा बन्दै गएको फेसबुकलाई तत्काल बन्द गर्नुपर्छ । फेसबुकको फेसनमा रत्यौली खेल्नेहरूलाई मर्का परे पनि देशलार्ईचाहिँ पक्कै फाइदा हुन्छ । फेसबुकले सामाजिक सद्भाव खल्बल्याएको छ, फेसबुकले आदिम समयदेखि मिलेर बाँचेका नेपाली नेपालीबीचको भाइचारालाई सिध्याउन सहयोग गरिरहेको छ । फेसबुकले छाडापन भित्र्याएको छ ।

फेसबुकले बिहेपूर्व नै युवायुवतीहरूलाई सेक्सका लागि बाटो खुला बनाइदिरहेको छ । फेसबुकले लोग्नेश्वास्नीबीच पारपाचुके गराइरहेको छ । फेसबुकले विदेश गएका हजारौँ पतिहरूका पत्नीहरूलाई पथभ्रष्ट र चरित्रहीन हुन सिकाइरहेको छ । फेसबुकले नांगिन सिकाइरहेको छ । फेसबुकले नाता र ममतालाई लत्याउन र मनुष्यलाई एक्ल्याउन सहयोग गरिरहेको छ । फेसबुकले पारिवारिक माया र स्नेहलाई जलाउने काम गरिरहेको छ । फेसबुकले मानिसलाई एकलकाटे र मनोरोगी बन्न सिकाइरहेको छ । फेसबुकले आमाको न्यानो र बाबाको सुरक्षालाई लत्याउन प्रेरित गरिरहेछ आजकालका युवालाई र बालकलाई । फेसबुकले भान्साको परिकारको बासना र पारिवारिक भेटघाट टुक्राटुक्रा पारिरहेको छ ।

आ–आफ्ना स्वार्थका लागि भ्रम पस्केर सामाजिक सञ्जालमा हल्ला र हुइयाँ फैलाउनु उचित होइन । यो त एकदम ठूलो विकृति हो । सामाजिक सञ्जालले मानिसका निद हराम गरिरहेको छ । कतिखेर को टार्गेटमा पर्छ टुंगो नै हुँदैन । सबैभन्दा सजिलो त उसैलाई भएको छ जसले यसबाट कमाउ धन्दा चलाइरहेका छन् ।

फेसबुक र सामाजिक सञ्जालले गर्दा बिचरा नेपालका नेतालाई पनि असाध्य गाह्रो भएको छ । तथानाम जथाभावी गाली गर्छन् सामाजिक सञ्जालका माध्यमबाट । अलिकति बचेखुचेको इज्जत पनि लिलामीमा परेको महसुस गर्दैछन् तिन्ले । भ्रष्टाचार गर्नेसँग त टन्न पैसा हुन्छ जसले जेसुकै भनोस् बाल छैन तर भ्रष्टाचार गर्न नपाएको नेतालाई त गाह्रो छ नि त्यतिकै मुछिन् । सामाजिक सञ्जालको यो आँधी हुरीबतास वेग र भेलका कारण नेपाली सञ्चार जगत यति धेरै बदनाम र दुर्गन्धित भइसकेको छ कि यसमा नियन्त्रण गर्नु अत्यन्तै आवश्यक भइसकेको छ । कसैलाई गाली नगरी वा कसैको बद्ख्वाइँ नगरी हामीलाई राती राम्रोसँग निद्रा नपर्ने भइसकेको छ ।

विज्ञानले दिएको यो नवीनतम उपलब्धि र आविस्कारलाई हामीले सदुपयोग होइन दुरूपयोग गरिरहेका छौँ । अनलाइन पत्रकारको एउटा जमात छ नेपालमा । अहिले विनामसी, विनाकागज, विनालेखाइको अनलाइन पत्रिका छ्यापछ्याप्ती छन् । अरुले तयार गरेको समाचार कपिपेस्ट ग-यो अनि महान् पत्रकारको हेल्मेट । एउटा पत्रिकालाई भनेर दुःख गरी लेख तयार ग-यो, दिइएको भोलिपल्ट छापा पत्रिकालाई दिएको लेख अरु दशवटा जति अनलाइनले कपिपेस्ट गरेर हालिसकेको हुन्छ ।

पारिश्रमिक दिनु पनि नपर्ने छाप्नुपूर्व एक वचन लेखकलाई सोधपुछ गर्न पनि नपर्नी । सजिलो कमाउ धन्दाको माध्यम पनि बनेको छ सामाजिक सञ्जाल । उपयोग गर्न जान्नेले कमाएका पनि छन् नजान्ने जति पुर्पुरोमा हात लाएर झोक्राएका पनि छन् ।
सामाजिक सञ्जालको यति धेरै दुरूपयोग भइरहेको छ कि कुकुरले मुतेको देखि ब्वाइफ्रेन्डसँग सुतेका समेत तस्बिर अपलोड भइरहेका छन् । कमसेकम लास त नदेखाउनु नि हो । मानिसका निजी जिन्दगीका गोप्य कुराहरू समेत सामाजिक सञ्जालमा आउन थालेका छन् ।

समाजलाई अग्रता दिने कुराहरूभन्दा विकृतिका कुराहरू छिटोभन्दा छिटो फैलिन्छन् । झगडा गरेको, भत्केको, विनाश भएको, मरेको, मारेको, युद्धको, कसैले कसैलाई तथानाम गाली गरेको, कसैलाई बदनियतपूर्वक धम्क्याएको र युवायुवतीका प्रायः अन्तरंगका कुराहरूले सामाजिक सञ्जालका भित्ताहरू सजिएका हुन्छन्् । यस्तो लाग्छ कि नेपालीको आधा जिन्दगी त कसैलाई गाली गर्न र बदनाम गर्नमै खर्चिएको हुन्छ । भ्रष्टाचारको विरोध र खबरदारी तथा समाज परिवर्तन र समृद्धिका राम्रा कुराहरूको प्रयोगलाई चासो दिइन्न ।

अहिले हामीलाई कसरी छिटो धनी हुने र कसरी रातारात भाइरल हुने भन्ने विचारले विचल्लित पारेको छ । युवतीहरू कसरी आफूलाई राम्री देखाऊँ भन्ने नाउँमा मिल्ने भए ब्रा र पेन्टी समेत फुकाल्न तयार छन् । जुन भेषमा जन्मियो त्यही भेषमा रमाउने र यसैलाई कमाउ धन्दा बनाउने हो भने लुगाको आविष्कार किन भएको त ? सोसल मिडियाले नेपाली समाजलाई मात्रै होइन संसारलाई नै असर पारिरहेको छ । खास गरेर यस्को फाइदा भन्दा बेफाइदामा मानिसहरू रम्न थाले ।

इतिहासको कालखण्डमा बितेर गएको मध्ययुगीन समाजलाई बर्बरयुगको समाज मानिन्छ । त्यतिबेला मानिसले मानिसमाथि अत्याचार गर्थे । मानिसको आफ्नो निजी सम्पत्तिको विकास पनि भएको थिएन र भविस्यका लागि सम्पत्ति सञ्चित गर्नुपर्छ भन्ने ज्ञान पनि थिएन । जब मनुष्य मगजमा सम्पत्ति र सञ्चितिको कुरा जन्मिए तब मात्रै यो सन्सारमा समृद्धिको घाम लाग्न थाल्यो । मनुष्यमा लोभ, इष्र्या, सञ्चिति श्रम साधना आदि भावनाको विकासको कारण नै आजको समाजको भौतिक सम्पन्नताले यो रूप धारणा गरेको हो । आज कमाएर मात्रै पनि हुँदैन यसको उपयोग भोलि पनि गर्नुपर्छ भन्ने चेतसँगै मनुष्य जीवनको बृहत्तर विकासको सभ्भावना बढ्न थाल्यो ।

इतिहासको कालखण्डमा जब मानिस आफैँ आफ्नो जातिको, समाजको वृद्धि विकासका लागि लाग्न थाल्यो अनि सेवा भावनाको पनि विकास भयो । सेवा भनेको उपकार हो । अरुको हितका लागि काम गरु भन्ने व्यक्तिगत वा सामूहिक चेतना नै सेवासँग सम्बन्धित छ । सेवा समाज वा समुदायसँग जोडिएको हुन्छ । हाम्रा पुर्वीय धार्मिक ग्रन्थमा सेवा र धर्मका बारेमा व्यापक लेखिएको छ । परम्परागत धार्मिक प्रवृत्तिको पछ्याइले पनि मानिसलाई सेवा गर्नुपर्छ भन्ने मनमा लागिरहेको हुन्छ । समाजसेवामा आज धेरै व्यक्ति संघ सस्था लागेका छन् । दिन प्रतिदिन समाजसेवाको रूप परिवर्तन हुँदै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले गरेका हरेक कुराको फेरिहस्त फेसबुक र टुइटरमा राखेका हुन्छन् ।

सोसल मिडियाको एउटा सबैभन्दा फाइदाको कुराचाहिँ यसले व्यक्तिले आफ्नो इच्छाका कुराहरू अरुको नजरसम्म सिधै पु-याउन सक्छ । सोसल मिडिया केही हदसम्म एउटा छल पनि हो । तपाईंले गरेको आफ्नो कामको प्रचार चाहनुहुन्छ भने फेसबुकमा हाल्नुहुन्छ । हिजोआज यस्तो देखिन्छ कि सोसल मिडियामा के पोस्ट गर्नुहुन्छ र के पोस्ट गर्न हुन्न भन्ने कुरालार्ई समेत मान्छेहरूले मतलब राख्न छोडिसकेका छन् ।

राम्रो काम गरेको कुरा त पोस्ट गरे गरे तर श्रीमतीलाई अगालो हालेको र म्वाइ खाएको तस्बिर समेत पोस्टयाएर दुनियाँलाई आफ्नो गोप्य कार्य समेतको प्रचारप्रसार गर्न थालेका छन् । नेपालीको फेसबुक मोह गज्जबको छ । सबलाई भाइरल हुने रोगले सताएको छ । भाइरल हुनु भनेको ठूलो मान्छे भएको जस्तो प्रतीत गर्छन् आजका युवाहरू । समाजसेवा गरेको भनेर आफूले सहयोग व्यक्तिहरूबीच फोटो खिचेर फेसबुकमा नपोस्ट्याई सामाजिक सेवा गरेको नठहरिने भइसक्यो । फेसबुकको लाइक र कमेन्ट नै एउटा सामाजिक अभियन्ताको ओखती भइसकेको छ ।

फेसबुक फेसन बनेको छ । जस्ता पनि पत्रकार बनेका छन् । माइक उचालेर अन्तरवार्ता लिने पत्रकार भयो र भैँसीले पादेको जस्तो बोल्ने महान् जानकार महान विद्वान भइगए । जे पनि बोल्न पाइने जे पनि भन्न पाइने जे पनि लेख्न पाउने जे पनि गर्न पाइने छुट ल्याइदिएको छ गणतन्त्रले नेपालमा । भान्सामा चामलको जोहो होस् कि नहोस् सबैलाई बोल्ने हक ल्याइदिएको छ गणतन्त्रले । हामी नेपालीले केरा पायौ भने बोक्रै समेत चपाउने बानी छ । एक जना मित्र छन् तिनी आधा आधा घन्टामा फेसबुकमा फोटो अप्लोड गर्छन् ।

आजकल टिभी हेर्नु पर्दैन । लाइभ प्रसारण हुन्छ । फेसबुक लाइभ । अनस्क्रिनमा घोक्रो फुलाउदै कोही कविता वाचन गर्दै हुन्छन् । कोही नाचिराका हुन्छन् । कोही छादिराका हुन्छन् । कोही हाँसिराका हुन्छन् । कोही नेतालाई गाली गरिराखेका हुन्छन् । कोही भुत्लाभुत्ली गरिराका हुन्छन् । पहिला गाउँघरतिर भाले जुधाएर तमासा हेरिन्थ्यो, अहिले फेसबुके फ्यानहरूको रणाको र रोदन हेर्न लायकको छ । सहरको शान्ति र सामाजिक जिन्दगी हराउँदै गएको छ । बाबु र हजुरबुबाहरू छोरानाति खेलाउन पाउँदैनन् । परिवारमा गफगाफ हुँदैनन् आजकल ।

सहर मात्रै होइन गाउँघरको पनि सामाजिक जिन्दगीलाई सामाजिक सञ्जालले धमिल्याइदिएको छ । मेलामा खेताला बोलाइयो खेताला मोबाइलमै व्यस्त देखिन्छन् । टेलिफोन कम्पनीले प्राय सबै डाडामा टावर राख्देको छ । नेपालीका कम्मरमा पहिले पहिले कोदाली र खुर्पा हुन्थे अहिले मोबाइल । गाउँघरको पधेरोमा पानी भर्न घल्चा बोकेर आउने दिदीबहिनीहरूको बोलचाल नै बन्द भएको छ । जतिसुकै बेला पनि फेसबुकमै मस्त । घल्चोबाट पानी भरिएर गैसकेको पनि थाहा हुन्न । सधैँ घर छिटो पुग्ने छोरीबुहारी एक घन्टा ढिलो फेसबुके फेसनले । रातको निद र दिनको भोक खोसेको छ फेसबुकले ।

अहिले लभ गर्न कलेज धाउन पर्दैन । फेसबुक खोल्यो या टुइटर खोल्यो राम्रा लागेकालाई फ्रेन्ड रिक्योस्ट पठायो अनि कुरो बिस्तारो अघि बढायो । अहिले बसमा चढ्दा वा टेम्पु चड्दा कोहिसँग कोही बोल्दैनन् । एकले अर्काको अनुहार पनि हेर्दैनन् ।

घोप्टो परेर आफ्नै मोबाइलमा च्याट ग-यो बस्यो । सँगै भएको साथीसँग एकबचन बोलचाल सन्चोबिसन्चोको सोधपुछ छैन मोबाइलभित्र भएको साथीसँगचाहिँ मस्त भलाकुसारी । कति प्यासेन्जरत आफू ओर्लिने स्थान पनि याद गर्दैनन् । डिल्लीबजार झर्नुपर्ने केटी गौशाला पुगेसी पो बल्ल थापाउँछिन् । उल्टो चालकलाई गाली दिन्छिन्, किन सम्झाइनस् तैँले भनेर ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया