Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगयुवा जनशक्तिमा लागुपदार्थ दुर्व्यसनको असर

युवा जनशक्तिमा लागुपदार्थ दुर्व्यसनको असर


काठमाडौं ।
मानव समुदायलाई चिन्तामा पारिरहेको सबभन्दा डरलाग्दो विषय लागुपदार्थ हो । लागुपदार्थ मद्यपान र धुम्रपान भन्दा हजारौं गुणा हानिकारक र खतरनाक छ । मद्यपान र धुम्रपानले त बरु केही वर्षमा गएर रोग जन्माउँछ भने लागुपदार्थले तुरुन्तै असर गर्दछ । यी पदार्थहरू यति खतराजनक छन् कि २/४ पटक प्रयोग गर्दैमा बानी बसिहाल्छ । यी पदार्थहरूले रगत र शरीरमा यस्ता असरहरू छाड्छन्, जसको अभावमा सेवनकर्ता सुखमय जीवन जिउन सक्दैन ।

यी पदार्थको प्रयोगकर्ताले जब यी वस्तुहरू पाउँदैनन्, उनीहरू प्रायः अचेत हुन्छन् । तब उनीहरू यी पदार्थ पाउन जे–जस्ता कार्य (अपराध) पनि गर्न तयार हुन्छन् । यिनीहरू यी वस्तुको सेवन गरेर मुर्दाको रूपमा सुतिरहेका हुन्छन् । जब उनीहरू निद्राबाट बिउँझिन्छन्, फेरि यही पदार्थ सेवन गर्न उद्यत हुन्छन् । स्म्याक, ब्राउन सुगर, एलएसडीजस्ता कैयौं नामका लागुपदार्थहरू आजकल प्रयोगमा ल्याइएका छन् । यस्ता पदार्थहरू तरल र इनजेक्सनका रूपमा पनि प्रयोगमा ल्याइएका छन् ।

१९६० को दशकमा व्यस्त जीवनबाट छुट्कारा पाउन चाहने पश्चिमी देशका युवायुवतीहरू पर्यटकको रूपमा नेपाल आउनु र साथमा विभिन्न किसिमका लागुपदार्थ भित्रिनु साथै पश्चिमी भन्नासाथ अन्धाधुन्ध अनुकरण गरिने परिपाटी केही नेपालीमा पनि देखिन थाल्यो । समाजमा चलेको मूल्य, मान्यता र व्यवहार आदिलाई वास्ता नगरी आनन्दी र बन्धनमुक्त हुने आसयले काठमाडौँको मन्दिर, गल्ली र रेष्टुराँ, होटेलमा लागुपदार्थ सेवन गरेर आफ्नै मोजमस्तीमा रम्ने गरेको व्यवहार नेपाली युवा जमातले पनि सिके । यसको नकारात्मक असरले गर्दा देशका युवापुस्तालाई समेत विस्तार विस्तार गाँज्न थाल्यो र उनीहरूको नैतिकता, धर्म संस्कृतिमाथि समेत ह्रास हुन थालको अनुभूति हुन थाल्यो ।

यसरी अर्काको देखासिकी गर्न वा तन्द्रामा रम्न, गाँजा चरेस हेरोइन आदि पदार्थ सेवनमा आकर्षित हुन थाल्नाले हाम्रो देशमा पनि दुर्व्यसनको समस्याले पिरोल्न थालेको देखिन्छ । यस्तै दुर्व्यसनका कारणले गर्दा एचआईभी/एड्स संक्रमण, चोरी, लुट, बलात्कार, हत्या, डकैती, यसको बेचबिखन, कालाबजारीजस्ता असामाजिक व्यवहार तथा अपराधले गर्दा आज आएर युवा जगत नै बदनामी र बरबाद भएको देखिन्छ ।

भारतको सीमा क्षेत्रबाट विभिन्न तरिकाबाट वीरगञ्ज, जनकपुर, काकडभिट्टा, भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज आदि क्षेत्रबाट ब्राउन सुगर तथा अन्य लागुपदार्थ भित्रिने गरेको छ । साथै नेपालमै पनि विभिन्न क्षेत्रमा यसको उत्पादन हुने गरेको छ । यसको रोकथामको लागि उचित व्यवस्था नभएको व्यापक गुनासो छ । हाम्रो देशमा पनि थाहा पाउँदा नपाउँदै लागुपदार्थ सेवन गर्नेहरूको संख्या लाखौँ पुगिसकेको अनुमान गरिएको छ । साथै कोभिड–१९ महामारीको कारण युवाहरूमा मानसिक तनाव बढ्न गई लागुपदार्थ दुर्व्यसनमा फस्न गइरहेका छन् ।

सोबाट युवा जनशक्तिलाई बचाउनुपर्ने समेत ठूलो चुनौतीको रूपमा खडा भएको छ । मानिस चेतनशील प्राणी हो । उसको चेतनाले शरीरका सम्पूर्ण गतिविधिलाई नियन्त्रण गर्दछ । मानिसको जीवनमा घटनाक्रम सधैँ एकनास रहँदैन । दुःखसुख, राम्रो नराम्रो, असल खराबजस्ता कुरादेखि लिएर सम्झने, बिर्सने, जाडो, गर्मी, खराब, तातो, चिसोजस्ता कुराले मानिसलाई सधैँ प्रभावित पार्दछ । यस्ता शारीरिक र मानसिक पीडा र कोभिड १९ समेतको तनावलाई भुल्न तथा मुक्त गर्न लागुपदार्थ सेवन गर्ने गरेको पाइन्छ, जसले शरीरको कार्यमा नकरात्मक प्रभाव पार्दछ ।

यसअन्तर्गत धेरै वस्तुहरू पर्दछन् । जस्तैः अफिम, हेरोइन (स्म्याक, ह्वाइट पाउडर), पेथेडिन, अफिम कोडिन, गाँजा, चरेस, कोकिन इत्यादि । यस्तै चेतना, मनस्थिति र व्यवहारलाई प्रभावित पार्ने अरु पनि धेरै औषधिहरू छन् । जो चक्की वा झोलमा हुन्छन् । तिनीहरूलाई ‘मनोद्धीपक औषधि’ भनिए पनि लागुपदार्थ नै हुन् । फरक यति मात्र हो कि यसको सेवन र कारोबार अवैध मानिँदैन तर यसमा हाल आएर गृह मन्त्रालय, औषधि व्यवस्था विभाग र अधिकार प्राप्त सम्बन्धित डाक्टरको सिफारिसविना क्रमशः आयात, बिक्रीको लागि राख्न तथा बिरामीले प्रयोग गर्न समेत निषेध गरिएको छ ।

त्यसकारण मानिसको स्नायु प्रणालीलाई प्रभावित पारी चेतना, अनुभूति र मनोभावलाई विकृति आउने कुनै पदार्थ वा त्यस्तो पदार्थबाट प्रशोधित औषधिलाई नै लागुपदार्थ भनिन्छ । यी तथ्यहरूलाई हेरेर निष्कर्षमा के भन्न सकिन्छ भने लागुपदार्थ त्यस्तो पदार्थ हो जसको सेवनले सेवनकर्ताले शारीरिक र मानसिक स्थितिमा प्रभाव पारेर प्रभावबाट सेवनकर्ता लठ्ठिने, उत्तेजित हुने, बर्बराउने, उन्मुक्त हुने, शिथिल हुनेजस्ता अवस्थामा पुग्छ । यदि यस्ता लागुपदार्थ सेवनकर्ताले सेवन गर्न नपाए छट्पटिने, रुने कराउने गर्दछन् ।

हाम्रो देशमा एकातिर आमाबाबुहरूलाई बच्चा जन्माएर लालनपालन गरेर हातखुट्टा लगाइदिन एउटा ठूलो समस्या भई दैनिक हजारौँ वैदेशिक रोजगारमा भासिएका छन् भने अर्कोतिर आफ्नो छोराछोरी लागुपदार्थको कुलतमा नफसून् भन्ने सबभन्दा ठूलो चिन्ता तेर्सिएको अवस्थामा कोभिड १९ को माहामारीले पनि मावन स्वास्थ्यमा नै कुप्रभाव परेको अवस्था छ । लागुपदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो । लागुऔषध दुव्र्यसनीमा परेकाहरूमा यो रोग संक्रमणबाट क्षति न्यूनीकरण कार्यक्रम नेपालले हाल ल्याएको पाइन्छ । यस्ता कार्यक्रम अझ प्रभावकारी बनाउनुपर्ने हुन्छ नकि कागजी घोडामात्रको कार्यक्रमले वास्तविकरूपमा समस्या हल नभई निहित स्वार्थमा परिणत हुन सक्दछ ।

अतः नागरिक समाज, शिक्षक, विद्यार्थी, युवा, राजनीतिक दल र तिनका भातृ संगठन, राष्ट्रसेवक, वास्तविक नेपाली जनता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आदिसँग नेपाल सरकारले समन्वय गरी कार्यक्रम सञ्चालन गर्न सके लागुऔषधीको सेवनले मानवलाई सामाजिक, आर्थिक एवं मानसिकरूपमा नै अपांग बनाइरहेको अवस्थामा लागुऔषधीको उत्पादनदेखि बिक्रीवितरण, ओसारपसार, दुरूपयोग र सेवनकर्ता सबै पक्षमा नियन्त्रणको प्रभावकारी नीति र संयन्त्र भई समस्या हल गर्न मदत पुग्नेछ । र नेपाललाई यसबाट बचाउनु आज हामी सबैको कर्तव्य हुन आएको छ ।

एकातिर कोभिड–१९ को माहामारी र कमजोर आर्थिक स्थितिको कारण प्राण धान्न धौधौ परेको बेलामा र मानव समाजलाई नै जनसंख्या र आर्थिक सन्तुलन कायम कायम गर्नुपर्ने जटिल परिस्थितिमा अर्कोतिर विध्वंशकारी धुम्रपान, मद्यपान र लागुपदार्थका असरहरू र तिनीहरूको परिणाम हामीले भोग्नुपरेको छ । हाम्रो प्रयास मानवलाई बचाउने र स्वस्थ्य समाजको श्रृजना गराउने दिशातिर उन्मुख हुनुपर्दछ । त्यसैले जनचेतना र सद्व्यवहारजस्ता हाम्रा संकल्प र प्रयासहरूले मात्र कोरोना माहामारीको व्यवस्थापनका साथै दुर्व्यसनमा रोक लगाउन सकिन्छ ।

खास गरेर कोरोना महामारी र लागुपदार्थ दुव्र्यसनको नियन्त्रणको लागि सरकारीस्तरबाट, व्यक्तिको आर्थिक अवस्था उठाउन राष्ट्रिय शिक्षालाई सैद्धान्तिक मात्र नभएर व्यावहारिक तथा व्यावसायिक बनाउनु पर्छ भने गैरसरकारी संघ संस्थाहरूले पनि आफ्नो क्षमताअनुसार कोरोना महामारी व्यवस्थापन गर्नसक्ने र लागुपदार्थ दुव्र्यसनीलाई हटाउन सक्ने किसिमको कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग गर्नुपर्दछ । कोरोना माहामारीसँगै यो लतका कारण हाम्रा देशका हजारौँ युवाहरूको स्वास्थ्यमा समस्या पु-याउनुको साथै विकराल स्थितिको सामना गर्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया