Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकिन घटेन रेमिट्यान्स आय ?

किन घटेन रेमिट्यान्स आय ?


काठमाडौं ।
सिङ्गो विश्व कोरोना महामारीसँग जुध्न थालेको एक वर्ष पूरा भएको छ । यसले मानव स्वास्थ्यमाथि सोझो हमला गर्नुका अतिरिक्त हालसम्म विश्वव्यापी रूपमा करिब २० लाख मानिसहरू यहीकारण मृत्युवरण गर्नपुगेका छन् । एक वर्षभन्दा बढी अवधिदेखि चलिरहेको कोरोना कहरले विश्व अर्थतन्त्र सँगसँगै नेपाली अर्थतन्त्रमा समेत बहुआयामिक असरहरू देखापरिरहेका छन् । तथापि यसकिसिमको चौतर्फी निराशाजनक स्थितिमा नेपाली अर्थतन्त्रको टेकोका रूपमा रहेको रेमिट्यान्स आयको स्थिति भने पूर्वानुमान गरिएभन्दा सन्तोषजनक अवस्थामा रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महिने अवधिमा नेपालमा चार खर्ब १६ अर्ब ८१ करोड रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा परिणत गरेर हेर्दा उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १० दशमलव ९ प्रतिशतले बढी हुनआउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ नेपालमा आठ खर्ब ७५ अर्ब करोड रेमिट्यान्स भित्रिएको थियो । यसरी हेर्दा, यस आर्थिक वर्षको पहिलो ५ महिनाभित्रै गत आर्थिक वर्षको पूरा अवधिको आधा हिस्सा रेमिट्यान्स देशमा भित्रिसकेको छ । कोरोना महामारीको पछिल्लो सन्दर्भमा नेपालमा भित्रिएको रेमिट्यान्सको यो हिस्सा आफैँमा सन्तोषजनक रहेको छ । यसअघि, विश्व बैंक र अक्सफोर्ड विश्वविद्यालयले संयुक्तरूपमा गरेको अध्ययन प्रतिवेदनले गएको वर्ष सन् २०२० मा रेमिट्यान्स आयमा २० प्रतिशतले गिरावट आउनसक्ने अनुमान गरेको थियो ।

यसैगरी, एसियाली विकास बैंकले नेपाल भित्रने रेमिट्यान्स आय करिब २९ प्रतिशतसम्म ओरालो लाग्नसक्ने आंकलन सार्वजनिक गरेको थियो । यता केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकले क्रमशः १८ प्रतिशत र १५ प्रतिशतले नेपाल भित्रिने रेमिट्यान्समा गिरावट हुने प्रक्षेपण सार्वजनिक गरेका थिए । कोरोना भाइरस महामारीको प्रभाव स्वरूप नेपालमा भित्रिने रेमिट्यान्स आयमा भारी गिरावट हुनसक्ने यसखालका पूर्वानुमानलाई नेपाल राष्ट्र बैंकद्वारा केही दिनअघि प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनको तथ्यांकले गलत साबित गरिदिएको छ ।

रेमिट्यान्सको अंक विगत वर्षहरूमा जस्तो तीव्र गतिमा उकालो नलागेको भए पनि मध्यम गतिमा उकालो नै लागिरहेको देखिन्छ । अर्थात्, रोजगारीका लागि विदेशिने नेपालीहरूको संख्यामा उल्लेख्य गिरावट आए पनि तत्कालै रेमिट्यान्स आयमा भने गिरावट आएको छैन । विश्वव्यापीरूपमा देखिएको महामारीका कारण धेरै रोजगारदाताले रोजगारी कटौती गर्ने, कामदारहरूको तलव, ज्याला घट्नेलगायतका कारण रेमिट्यान्स आयमा ठूलै गिरावट आउने अनुमान गरिएको थियो ।

चीनबाट कोरोना भाइरसको महामारी सुरु भएको केही समयमा नै विश्व तेल बजारमा ठूलै गिरावट आउनसक्ने र यसबाट नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्यका रूपमा रहेका खाडी मुलुकहरू आर्थिक मन्दीमा फस्नसक्ने भएकोले नेपालमा रेमिट्यान्स आप्रवाहमा स्वतः कमी आउनसक्ने प्रक्षेपण गरिएका थिए । तथापि, पछिल्लो तथ्यांकले रेमिट्यान्स आयमा अनुमान गरिएअनुसारको भारी गिरावट नआएको तथ्यलाई उजागर गर्नुका साथै भविष्यमा समेत अपेक्षित गिरावट हुन नसक्नेतर्फ बलियो संकेत समेत गरेको छ ।

कोभिड महामारीकै बीचमा पनि रेमिट्यान्स आयमा भारी गिरावट आउन नदिनुमा केही बलिया कारणहरू जिम्मेवार रहेका देखिन्छन् । सुरुवाती चरणमा नै चीनलाई कोरोना महामारीले शिथिल बनाउने र यसबाट विश्व तेल बजारमा ठूलो गिरावट आउने अनुमान रहे पनि चीनमा तुलनात्मकरूपमा समयमै महामारी नियन्त्रणमा आएको र यसबाट खाडी देशका अर्थतन्त्रले अपेक्षाकृत ठूलो क्षति बेहोर्नुनपरेको स्थिति रह्यो ।

कोरोना महामारीका कारण सन् २०२० को सुरुवातबाटै खाडी मुलुकलगायत अन्य श्रम गन्तव्य मुलुकहरूमा आर्थिक गतिविधि ठप्प हुने अनुमान पनि पूरापुर सही साबित हुन सकेन । ती मुलुकहरूमा कोरोना कहरकै बीचमा पनि उत्पादनमूलक उद्योगहरू सञ्चालनमा रहेसँगै श्रमिकहरूले निरन्तर काम पाइरहने स्थिति देखियो ।

चीनमा आर्थिक वृद्धिदरमा संकुचन आउने आंकलनविपरीत सन् २०२० मा चिनियाँ अर्थतन्त्रमा एक प्रतिशतको वृद्धिदर कायम भएको तथ्यांक छ । चीनको आर्थिक वृद्धिदर सकारात्मक देखिएसँगै तेलमा मागमा कमी नआउनुका साथै तेल उत्पादक देशहरूमा श्रमिकको माग समेत यथावत रहन पुग्यो । यसबाट नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुकहरूका रूपमा रहेका खाडी देशहरूमा कामदार कटौती कम हुनपुगेको देखिन्छ ।

यसका साथै, कोभिड महामारी देखापरेसँगै विदेशमा रहेका नेपालीहरू जुन संख्यामा नेपाल फर्किन्छन् भन्ने अनुमान थियो, त्यति धेरै संख्यामा फर्केनन् वा फर्कन पाएनन् । सुरुवाती चरणमा नेपालमा कोरोनाको ग्राफ केही कम भए पनि पछि संक्रमणमा बढोत्तरी भएसँगै श्रमिकहरू जसोतसो गन्तव्य मुलुकमा नै अडिन चाहेका देखिन्छन् । विदेशमा बसिसकेपछि कामविहीन भएर बस्न नसक्ने भएकाले काममा संलग्न रहेका कारण रेमिट्यान्स आयमा पनि गिरावट हुन पाएन ।

अहिलेकै तथ्यांकमा पनि ठूलो संख्यामा नेपाली श्रमिकहरू विदेशमा रहेका छन् । यसैगरी, रोजगारीका लागि विदेशिएका अधिकांश नेपाली कामदारहरू सुरक्षा गार्ड, सरसफाइ, आपूर्ति, खेतीपातीजस्ता अत्यावश्यक क्षेत्रहरूमा कार्यरत पाइन्छन् । यसबाट महामारीको उच्चतम अवस्थामा पनि यी सेवाहरूको अपरिहार्यता रहेका कारण पनि नेपाली श्रमिकहरूको रोजगारी सुरक्षित भइरहेको पाइन्छ । रेमिट्यान्स आयको ग्राफ ओरालो नलाग्नुमा यसक्षेत्रका कतिपय जानकारहरूले विदेशमा थुपारिएको कालो धन रेमिट्यान्सका रूपमा सेतो धन बनेर स्वदेश भित्रिएको हुनसक्ने आंकलन पनि सार्वजनिक गरिरहेका छन् । तथापि, यसको ठोस प्रमाण भने सार्वजनिक भएको छैन ।

यसबाहेक, महामारीको असहज अवस्थाका कारण रोजगारी नै गुमाएर घर फर्किएका कामदारहरूले आफूले सञ्चित गरेको सम्पूर्ण रकम स्वदेशमा लिएर फर्किनु, स्वदेशमा रहेका परिवारहरूलाई निरन्तरको लकडाउन र कोरोना कहरले असहजता निम्त्याएका कारण विदेशमा रहेका कामदारहरूले परिवारमा सकेसम्म बढी रकम पठाउनु, हालको विषम परिस्थितिमा हुण्डी, तस्करीजस्ता अवैधानिक माध्यमबाट रेमिट्यान्स आयको कारोबार गर्न असहज भई बैंकिङ माध्यमबाट मात्रै रेमिट्यान्स रकम भित्रिनुजस्ता कारणहरू पनि विप्रेषण आप्रवाहमा कमी आउन नदिने कारकहरू हुन् ।

हुन त यो महामारी कहिलेसम्म, कसरी र कुन स्वरूपमा पूर्णरूपमा नियन्त्रणमा आउने हो भन्ने ठोस पूर्वानुमान हालसम्म हुनसकेको छैन । कतिपय अर्थविद्हरूले कोरोना महामारीले हाल पु-याइरहेको मानवीय क्षतिभन्दा भविष्यमा पु-याउनसक्ने आर्थिक क्षति अझ कठोर र भयावह हुनसक्ने आंकलन गरिरहेका छन् । यो स्थितिमा हाल सार्वजनिक भएको गत मंसिर मसान्तसम्मको तथ्यांककै आधारमा त्यसयताका दिनहरूमा समेत रेमिट्यान्स आयमा धेरै गिरावट आउनै नसक्ने निष्कर्षमा पुग्न भने सकिन्न । तथापि, पछिल्लो समयसम्म आइपुग्दा विश्वव्यापी रूपमा कोभिडविरुद्धको भ्याक्सिनहरूको विकास हुने र कतिपय देशहरूले आपतकालीन प्रयोगका रूपमा आफ्ना नागरिकहरूलाई भ्याक्सिन दिने सिलसिला चलिरहेको छ ।

भाइरसको रफ्तार समेत विगतका तुलनामा निकै कम भइरहेको देखिन्छ । यसबाट, स्वदेशका अतिरिक्त प्रमुख गन्तव्य मुलुकहरूका अर्थतन्त्र समेत निकै चलायमान भइसकेका छन् । गन्तव्य मुलुकहरूमा महामारीको कठिन चरण पार गरेर विस्तारै तंग्रिनुका साथै आर्थिक गतिविधिहरू सुरुवात भइसकेका छन् । नेपालबाट रोजगारीका लागि विदेशिने सिलसिला समेत छिटपुटरूपमा सुरुवात भइसकेको छ । यी तथ्यहरूले नेपालको रेमिट्यान्स आयको आयतनमा भविष्यमा पनि धेरै प्रभाव पर्न नसक्ने आशाको सञ्चार गरिरहेका छन् ।

गत वर्ष कोभिड महामारीको सुरुवातसँगै रेमिट्यान्स आयमा भारी गिरावट आउनसक्ने प्रक्षेपण महामारीको एक वर्षपछि फर्केर हेर्दा गलत साबित हुनु नेपालजस्तो अर्थतन्त्र भएको मुलुकका लागि निकै खुशीको विषय हो । देशको कुल गार्हस्थ्य उत्पादनमा एक चौथाइ हिस्सा ओगटिरहेको र नेपाली अर्थतन्त्रको प्राणवायु एवं टेकोका रूपमा रहेको रेमिट्यान्स आयमा महामारीजन्य अवस्थाले समेत धेरै प्रभाव नपार्नु मुलुकी अर्थतन्त्रका लागि महामारीपछिको आर्थिक पुनरुत्थानका दृष्टिले समेत सकारात्मक रहेको छ ।

यस्तो अवस्थाले महामारीको मारबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा पर्नजाने क्षतिलाई न्यूनीकरण गर्ने सन्दर्भमा सकारात्मक भविष्यको आशालाग्दो सञ्चार गरिरहेको छ । यो स्थितिमा तत्कालै विकल्प नदेखिएको वैदेशिक रोजगारी र त्यसबाट सिर्जित रेमिट्यान्स आयमा गिरावट आउन नदिने तथा हालको कठिन परिस्थितिमा प्राप्त आयको उत्पादनशील उपयोग गर्नेतर्फ सबै सरोकारवाहरू एकजुट हुनसकेमा भविष्यको बाटो थप सहज बन्नसक्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया