Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसाहसिक पदयात्राको उत्कृष्ट नमूना : शेर्पेनी कोल

साहसिक पदयात्राको उत्कृष्ट नमूना : शेर्पेनी कोल


काठमाडौं ।
विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने पदयात्रा मार्गहरूमध्ये एकमा पर्ने शेर्पेनी कोल मार्ग भएर पदयात्रा कम मात्रै संख्यामा हुनेगरेका छन् । अझ सन् २०१९ को अन्त्यमा चीनको दक्षिण–पूर्वी प्रान्त वुहानबाट सुरु भएको कोरोनाभाइरसका कारण अबका केही वर्षसम्म यो पदमार्गमा ट्रेकिङ कोही पदयात्रीहरू प्नि नआउने वा भनौँ चहलपहल नहुने पक्का छ ।

कुनै बेला सुनसरीको धरान, धनकुटा भेडेटार, हिले, पाख्रीबास हुँदै पैदल यात्रा सुरु गर्नुपर्ने यो पदयात्रा मार्गमा अहिले भने हिउँद याममा संखुवासभा जिल्लाको चिचिला–नुमसम्म नै गाडी चल्नेगरेको छ । त्यसैले आजभोलि पदयात्रीहरू पनि हिउँद याममा नुमसम्मै गाडीमा जाने गर्छन् भने त्यहाँबाट पैदल यात्रा थाल्छन् । यसरी संखुवासभा जिल्लाको चिचिला–नुमसम्म गाडीमा र त्यहाँबाट पैदल यात्रा टाशी गाउँ, याङले खर्क, खोङमाला, मकालु बेस क्याम्प, बरुत्से बेस क्याम्प हुँदै शेर्पेनी–कोल पास गरेर सोलुखुम्बु जिल्लाको मेराला, खारे, ठाङना, क्षेत्र हुँदै लुक्ला पुगेर पदयात्रा सक्ने गर्छन् भने, केही पदयात्रीहरूले मेराला वा बरुत्चेबाट आम्फु लाप्चा हुँदै छुकुङ निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे हुँदै लुक्लामा आएर पदयात्रा समाप्त गर्छन् ।

स्मरणीय छ तुम्लिङटार विश्वकै होचो उपत्यका पनि हो । खासगरी यो पदयात्रा मार्गमा पदयात्रा गर्न विदेशी पर्यटकहरू अधिकांश जहाजबाटै तुम्लिङटारसम्म जान्छन् । तुम्लिङटारबाट पैदलयात्रा सुरु हुन्छ । मानेभञ्ज्याङ, चिचिला–नुम, टासी गाउँ, खोङ्मा डाँडा, तुम्बुक, याङले, हिलारी बेस क्याम्प हुँदै शेर्पेनी कोल पास गरिन्छ । तुम्लिङटारको बारेमा सामान्य नागरिकरुलाई पनि थाहा हुनुपर्छ कि, यसलाई अरुण उपत्यका भनेर पनि चिनिन्छ भने यो संसारकै होचो उपत्यका पनि हो भन्ने त माथि नै पनि उल्लेख गरियो ।

सभाया खोला र अरुण नदीको डिलमा अवस्थित तुम्लिङटारमा मिश्रित जातिको बसोबास रहेको छ । जस्तो किराती (राई), लिम्बु, नेवार, गुरुङ, क्षेत्री, बाहुन, कामी, कुमाल, दमाइ, माझी आदि । अरुण उपत्यका केवल विश्वको होचो उपत्यकाको रूपमा मात्रै सीमित नरहेर करिब छ सय प्रजातिका रंगीविरंगी चरा–चुरुंगीको बासस्थानको रूपमा पनि रहेकोे छ । त्यस्तै कतिपय नेपालमा मात्रै पाइने रैथाने जातका चराहरू पनि यो उपत्यकामा पाइन्छ । त्यसबाहेक लोखर्के, मुसा, न्याउरी, बाँदर, ढेडु, मलसाप्रो, पाण्डा, कस्तुरी, मृग, थार, घोरल, स्याल, फ्याउरो, चितुवालगायत आदि जंगली जनावरहरू पनि बाटामा प्रशस्तै देख्न/भेट्न सकिन्छ ।

यो पदयात्रा मार्गमा पनि विभिन्न उपमार्गहरू छन् । तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, हिलारीबेस क्याम्प हुँदै शेर्पेनी कोल (६,१२५ मिटर) मा क्याम्प गर्नुपर्छ भने यहाँ सिधा भिरालो (पर्वतारोहण/पदयात्राको भाषामा भन्नुपर्दा ‘स्टिभ–डाउन’ छ । यहाँको बाटो पूरा हिउँ नै हिउँले ढाकेको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ भने भोलिपल्ट, छ हजार दुई सय मिटरको हाराहारीमा बरुणत्चे हिमालको क्याम्प–१ मा बास बस्नुपर्छ । यो मार्गमा टासी गाउँसम्म मान्छेको बसोबास रहेको छ । यहाँ २०/२५ घर भोटिया (शेर्पा) हरू छन् । त्यसपछिको प्रायः सबै क्याम्पहरू खर्कचउरमा गरिन्छ भने हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न सुरु गर्नुपर्छ । हिलारी बेस क्याम्प ४२ सय मिटर उचाइमा अवस्थित छ भने एक दिन नाक ठोक्किने गरी उकालो हिँड्नु पर्छ ।

जब शेर्पेनी कोल र बरुणत्चे–१ बीचको ६२ सय मिटरको सेरोफेरोमा पदयात्रीहरू यात्रा गरिरहेका हुन्छन्, त्यतिबेला उनीहरूले खुबै सास्ती खेपिरहेका हुन्छन् । किनभने, उच्च हिमाली भेगमा अक्सिजन कम हुन्छ, त्यसमाथि हिउँमाथि यात्रा गरिरहेका हुन्छन्, थाकेको बेला बिसाउन र आराम गर्न पदयात्रीहरूका लागि सजिलोसँग बस्ने ठाउँ हुँदैन । त्यसैले हिँड्दाहिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् । बिचराहरू त्यो बेला उनीहरूको हालत हेरिनसक्नुकै हुन्छ ।

प्रायः सबैको हालत त्यस्तै हुन्छ । तापनि भरियाहरूको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय पदयात्री तथा भरियाहरू उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) को कारणले गर्दा सिकिस्तै हुन्छन् भने केहीको हिँड्दाहिँड्दै ज्यानै जान सक्छ । कोहीकोहीले त असावधानीका कारण डोरीबाट चिप्लिएर पनि सिलटिम्बुर खान्छन् ।

स्मरणीय छ, शेर्पेनी कोल पास गरेर बरुणत्चे बेसक्याम्प आउने दिन लगभग पाँच सय मिटरजति त डोरी मात्रै टाँग्नु पर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङ प्रायः सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कतिपय भरियाहरूले भारी बोक्न नसकेर खानाको भारी बाटोमै छाडेर हिंँड्छन् । त्यसरी छाडेको खानाहरू हिमबाटोहरूमा प्रशस्तै देखिछ, भेटिन्छ । कतैकतै त हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेहरूको लास पनि भेटिन्छ । ती लासहरू प्रायः नेपाली भरियाहरूको हुन्छ ।

त्यस्तो अप्ठ्यारो र कठिन बाटो भए पनि छ पटकसम्म ओहोरदोहोर गरेका संखुवासभा जिल्ला, पाङ्माका युद्धवीर लोहोरुङ आफ्नो अनुभव पूर्वेली लवजमा यसरी सुनाउँछन्– ‘अरे सोल्टी, शेर्पेनी कोल त नेपालको सबैभन्दा अप्ठ्यारो र खतरापूर्ण पास हो नि ! तगडा शेर्पां (पदीय हिसाबले गाइड गर्ने मान्छे) भएन भने त खत्तमै हुन्छ नि ! डोरी कसले टाग्ने ? भरियालाई कसले सहयोग गर्ने ? गु्रपलाई कसले डो-याउने ? त्यसमाथि तिर्खा लाग्दा पानी पिउनसमेत पाइँदैन ।

दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ नि हौ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ ।’ त्यसैले त यो मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा गर्दैनन् । जसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्, उनीहरू आफूलाई गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । किनभने, यो पदयात्रा मार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकहरूले विश्वकै उच्च हिमाली भेगको पास एवं खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् ।

त्यस्तै कम उमेरमा सगरमाथा चढ्ने कान्छो सगरमाथा आरोही एवं हिमालयज एक्टिभिज नामक ट्रेकिङ एजेन्सीका अध्यक्ष शम्भु तामाङ जसले दुई पटक यस रुटमा ट्रेकिङ गरिसक्नुभएको छ, भन्नुहुन्छ, ‘यो रुटमा पदयात्रा गर्न वास्तवमै विश्वका साहसिक पदयात्रीहरूले मात्रै आँट गर्न सक्छन् । किनभने, तीन/चार दिनसम्म हिउँ नै हिउँमा हिँड्नु पर्छ । त्यसमाथि शेर्र्पेनी कोल पास गर्नका लागि हिमाल चढ्ने सामान्य प्राविधिक ज्ञानको पनि जरुरी हुन्छ । कतिपय पदयात्रीहरू एक्युपमेन्ट तयार गरेर शरीरमा फिट गरी पठाउँदा समेत बीचमा पुगेपछि आत्तिन थाल्छन् । त्यसैले निडर र साहसी हुनुपर्छ, शेर्पेनी कोल पास गर्ने पदयात्रीहरू ।’

हुन पनि विगतमा सूचना र सञ्चारको अभाव तथा मानव बस्तीविहीनताका कारण बीचबाटोमा केही गरी विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भइहालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन पनि हत्तपत्त सम्भव हुन्थेन । बिरामीलाई बचाउन सके वा बिरामी बाँचेमा मान्छेले सकीनसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो । नेपालीहरू मरेमा त्यतै छाडिन्थ्यो । किनभने, त्यो बेला चेतना थिएन, बीमा गरिन्थेन । अर्को भनेको त्यस्तो अन्नकन्टार हिउँ नै हिउँको बाटोमा कोही बिरामी भइहालेमा बिरामीका तीन/चार जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो ।

बिरामी एक्लै फर्किन पनि सम्भव नै हुँंदैनथ्यो । बाटोमा खाने खाना, बास बस्ने पाल र साथीविना बिरामी मात्रै पठाउने कुरो पनि भएन । हुन पनि बिरामी एक्लै फर्केमा बाटोमा मर्ने/बाँच्ने केही ठेगान हुँदैनथ्यो । यसरी विश्वको अप्ठेरो र उच्च हिमाली मार्ग भएर पास गर्नुपर्ने टासीलाप्चा पास (रोल्वालिङ क्षेत्र) लाई पनि माथ गर्ने पदयात्रा मार्ग हो शेर्पेनी कोल । यस मार्गको खतरापूर्ण र साहसिक पदयात्रा गर्न पाउँदा वास्तवमै विदेशी पर्यटकहरू गौरवान्तित र हर्षविभोर हुनेगरेका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया