Techie IT
×
गृहपृष्ठविचारसरकार खोइ ?

सरकार खोइ ?


काठमाडौं ।
निश्चित जनसंख्या र भूगोलमा आबद्ध संरचना एउटा देश हो । निर्धारित सिमानामा आबद्ध भएर मानिसहरूले बसोबास गरेको भूगोल हो देश । देशमा बसोवास गर्ने मानिसलाई देशवासी, जनता, नागरिक भनेर सम्बोधन गरिन्छ । एउटा देश सच्चा देश बन्न सरकारको दायित्व र नागरिकको कर्तव्य मुखरित गरिएको हुन्छ । विश्वको महामारी कोभिड–१९ ले प्रत्येक नागरिकलाई आफ्नो देशको अनुभूति गराएको छ । अझ सिमानासम्बन्धी नक्सा पारित तर कार्यान्वयन हुन नसक्नुले भूगोल निश्चित छैन यो अनिश्चितताले देश र सरकारको भूमिका खोजिरहेको छ ।

विश्वका प्रत्येक नागरिक एउटा न एउटा देशका नागरिक हुन् । कुनै पनि नागरिक देशविहीन छैनन् । हरेक नागरिकको आफ्नो देश छ पहिचान छ । जुन भूगोलले मानिसलाई जन्माएको छ, नागरिक पहिचान दिएको छ, आफ्नो धर्म र संस्कृति सिकाएको छ त्यो निश्चित भूगोललाई नागरिकले मेरो देश भन्छ । जसले मलाई हुर्कायो, बढायो, भाषा, संस्कृति सहित मेरो चिनारी दियो– त्यो मेरो देश । आम नागरिकको बुझाइ नै त्यही हो । जुन देशले जन्मायो, हुर्कायो, सिकायो र आज मेरो नागरिक भनेर किटानी ग-यो वास्तवमा त्यो देश जननी हुन् । आफ्ना सन्तानले आफ्नी जननीको खोजी गर्न पाउनुपर्छ । जननीले संरक्षण, पालनपोषण गर्नुपर्छ ।

यो पृथ्वी आमा र आकास बुबाको संयोगबाट हरेक मानव प्राणीको जन्म हुन्छ । वास्तवमा बुबा र आमा त निमित्त मात्र हुन् । हरेक नागरिकलाई प्रकृतिले आफ्नो सन्तानप्रतिको दायित्व निर्वाह गर्न खटाएको मात्र हो । त्यसैले त भनिन्छ– ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ विश्वमा कतै प्रेम भन्ने वस्तु छ भने– त्यो आफ्नो धर्ती र आकाससँग मात्र छ । यानेकि बाबु र आमा । अरु जति बाहिर देखिन्छ ती सब स्वार्थका प्रेम हुन् ।

निस्वार्थ प्रेम केवल आफ्नो जन्मभूमिमा हुन्छ । ‘मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि, बचेरा गुण छाडेर टाढाटाढा ‘गए पनि’ वास्तवमा यी कवि भगवानका एक अंश नै रहेछन् जसले नागरिकलाई यो आत्मा बोध गराए । प्राकृतिक प्रकोप कोरोना भाइरस रोगले पनि हरेक मानिसलाई आफ्नो देशको बोध गरायो, सुखमा प्रायः कमैले सम्झन्छन् आफ्ना माता पिता तर दुःखमा हरेक मानिसले भन्छ ऐया/आमा मरेनी आमा दुःख पीडामा आफ्नै धर्तिमाताको खोजिहुनु सत्य हो । आज त्यही सत्य गुञ्जिरहेको छ, बोलिरहेको छ अनुभूति भैरहेको छ बाबु आमा मौन छन् । हरेक बाबुआमामा आफ्ना सन्तानका सयौं गल्ती माफ दिने गुण हुन्छ । आज त्यति धेरै सन्तान तिमीलाई बोलाइरहेका छन् हे आमा तिमी कहाँ छौ ।

निश्चित भूगोलमा बसोबास गर्ने मानिसहरूको सामूहिक भावना हुन्छ त्यो नै राष्ट्रियता हो । राष्ट्र र राष्ट्रियताबीचको अन्यान्योश्रित सम्बन्ध हुन्छ जसले मेरो देश भन्ने भावना जागृत गर्दछ । राष्ट्रियताले राष्ट्र खोज्छ । राष्ट्र र राष्ट्रियताबीचको सम्बन्ध नङ र मासुको जस्तो रहेमा हरेक राष्ट्र आत्मनिर्भर हुन्छ । देशलाई अगाढ प्रेम गर्छ, आफ्नो कर्तव्य खोजी–खोजी खुसीले पूरा गर्छ । आफ्नो राष्ट्र प्रमुखलाई देवता मान्छ, आफ्नो दैनिक क्रियाकलापलाई सेवा ठान्छ, सार्वजनिक धरोहरलाई आफ्नो गहना मान्छ र सधैँ आफ्नो कर्तव्यप्रति निष्ठा र इमान्दारिता राख्छ । त्यस्तो राष्ट्रभक्तलाई दुःख पर्दा सहयोग गर्ने देवता राष्ट्र प्रमुख हो ।

आजसम्म पनि विश्व महामारीकै चपेटामा छ । यस स्थितिमा आफ्ना निश्चित लक्ष्य र उद्देश्य पूरा गर्न देशबाहिर गएका सन्तान आफ्नो घर फिर्न खाजिरहेछन् । सरकारले आफ्नो घर ल्याइदिने संयन्त्र निर्माण गरिदिएन, हरेक व्यक्ति, परिवार, घर विचलित बन्यो, त्रसित बन्यो, हारगुहार ग-यो तर यसको आवाज सुनिदिनु पर्नेले सुनिदिएन, मर्म बुझिदिनु पर्नेले बुझिदिएन । अखिर तिनको अभिभावक खोई? नागरिकको अभिभावक सरकार हुन्छ, आखिर तिनका लागि सरकार खोई ? सरकार म मेरो देश फर्किन्छु, भन्नेलाई फर्काउने सरकार खोई ? राजधानीबाट भोको पेट लिएर पैदल हिँडेर घर जानेको बियोग भयो ती निःस्वार्थ नागरिकको सरकार खोई ? राहत पाउन भोट दिनुपर्ने, भोट नदिनेका लागि सरकार खोर्ई ? पहुँच, चिनजान, लाठी मुङग्री गर्नेले राहत पाए पहुँचविहीनका लागि सरकार खोइ ? सरकारमा बस्नेहरूको बिलासी जीवन, आत्मा रक्षाका लागि एक पेट गरिबलाई खुवाउने सरकार खोई ? जनताको कर लिएर खाने आज ती करदाताको संरक्षण गर्ने सरकार खोइ ? सरकार ! नागरिक तिम्रा भक्त हुन्, भक्त नभएको देवता पुजित हुँदैन । नागरिकले दुःखमा सरकार पुकार्छ अरु समयमा आफ्नो दुःख जिलो गरेर जिएको हुन्छ ।

जीउन मुस्किल भएरै सरकारलाई गुहार मागेका हुन् । हिजो तिनलाई घर–घरमा खाना पु¥याउनु परेको थिएन तर आज दुःखमा रोइरहेछन् तीनको उदार त गर सरकार ⁄ राणा, राजा, पञ्चे, कांग्रेस भन्ने शब्द छोड, भ्रष्टाचार अनियमितता छोड, तिमी एउटा व्यक्ति होइनौ । समान राहत वितरण गर, धेरै सुविधाबाट विलासी नबन, आर्यघाट त सबैको एउटै हो । तसर्थ नागरिकमाथिको दायित्व पूरा गर ।

नागरिकले दायित्व पूरा नगर्दा बल प्रयोग गरेर पूरा गराउँछौं । जनताले यत्रो विश्वास दिएर पठाएको दुईतिहाईको सरकार ढालेर जनमतको अपमान ग-यौ । आज तिमी दायित्व विमुख किन ? सरकार ⁄ तिमीलाई जनता चाहिँदा भाँडो नत्र ठाँडो हो ? भोलि ती चाहिन्नन् कि त अर्कोपल्ट चाहिनन् भनेर मौन हो ? यदि त्यसो हो भने नागरिकलाई भनिदेउ तिमीहरूको जिम्मेवारी सरकारले लिँदैन, अब तिमीहरूको आवश्यकता छैन ।

यदि भन्न सक्दैनौ भने आफ्नो दायित्व पूरा गर, दायित्वको बोध गर, नागरिक अभिभावकत्व पूरा गर । यसैमा तिम्रो कल्याण छ । धर्ती माताले आशिर्वाद दिन्छिन । नागरिक मेरो देश खोई ? सरकार खोई ? खोजिरहेछन् देश भए सरकार हुन्थ्यो भन्ने बुझाइ फैलँदै गइरहेको छ । उनीहरूलाई देश प्रदान गर । देश चिनाइदेऊ, देश देखाइदेऊ । कम्तीमा नागरिकमाथिको यति दायित्व त पूरा गर सरकार ⁄ यदि यी नागरिक मेरो देश खोई भनेर बाहिर हिँड्न थाले भने त्यसले ल्याउने भयावह स्थितिको सामना कसले गर्ने ? सरकार जिम्मेवार बन्नुपर्छ यसमा दुईमत छैन ।

यदि मातृत्व र भ्रातृत्व सकियो भने अपनत्व हराउँछ । यसले नागरिकलाई कर्तव्य विमुख बनाउँछ भने सरकारलाई दायित्व विमुख बनाउँछ । सरकार र नागरिकबीचको सम्बन्ध अभिभावक र छोराछोरीसरह हुन्छ । सरकार सुविधा प्रदायक, अवसरको मूल, सामाजिक न्याय मूर्ति, न्याय र अनुशासनको खानी हो । यसर्थ, सरकार आफ्नो दायित्व र नागरिक आफ्नो कर्तव्य निस्वार्थरूपमा निर्वाह गर्न तत्पर रहनु पर्दछ । जसले कल्याणकारी राज्यको परिकल्पना यथार्तमा परिणत गर्न मदत गर्दछ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया