Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगउखु किसान र उधारो सम्झौता

उखु किसान र उधारो सम्झौता


लक्ष्मण सिटौला
पुग्नु कतै छैन
भेट्नु कसैलाई नि छैन
स्वार्थ केही छैन
कसैको आशिर्वाद चाहिएको पनि छैन
कसैलाई जागीर लाइदे भन्नु नि छैन
कसैसँग झुक्नु नि छैन
कहिँ कतै चुक्नु नि छैन
स्वाभिमानका हिमाल
हाम्रा किसान ! जय किसान !

एक ईश्वरजस्तै चुपचापले
खेतसँग खेलिरहन्छन् अहोरात्र
चुनाव आएको नेताले जस्तो
बकम्फुस बकबक यिनलाई गर्नु पनि छैन
चुनाव नजिकिएपछि कुख्यात नेताले जस्तो
झूठो योजनाको सपना बाँडेर
जनताको इच्छामाथि बलात्कार गर्नु पनि छैन
भोट माग्नु पनि छैन
चोट दिनु पनि छैन
स्वाभिमानी मान्छे
हाम्रा किसान ! जय किसान !

शिवपुरीको शिवजस्तै
एक निःस्वार्थ पर्वतजस्तै
इतिहासदेखि यही बाटोमा हिँडिरहेछन्
सहरका बज्रस्वाँठ
अल्छी ठगहरूले बिहानै योगा गरेको भनेर
पाहाडजत्रो भाते भुँडी फेसबुकमा हल्लाउँदा
हाम्रा किसान सबेरै
अर्खौले र महादेव डाँडामा निगालो काट्दै हुन्छन्
सहरका सिल्लीहरू मर्निङवाकमा निस्कँदा
हाम्रा किसान जङ्गलमा गाईवस्तुलाई पत्कर सोहोर्दै हुन्छन्
सिर्जनाका स्वयम्भू
श्रमका राजदूत र नभएका उज्याला
हाम्रा किसान ! जय किसान !

भात खान नपुगेर
ऋणमा डुबेर वा
नेपालमा केही गर्न नसकेर
नेपाल यस्तै हो यहाँ केही हुन्न भन्दै
विदेशमा शरणार्थीको थाल थापेर
पराजित कोपरा माझ्ने
लम्पसार नेपाली हुनुभन्दा
चोयाको डोको बुनेर दिनको पन्ध्र सय कमाउने
श्रमका सिन्धु
अविरल हिमाली उज्याला
हाम्रा किसान ! जय किसान !

नेपालको असीम अस्मिता
यदि कसैले जोगाएको छ भने
स्वाभिमानी किसानले जोगाएको छ
सन्तोष र आनन्दका बिहानी
गणेश हिमालका प्रसुन दिपक
हाम्रा किसान ! जय किसान !

बाबाजीहरू धर्मान्दका नाउँमा बलात्कारी छन्
मिल मालिकहरू किसानका उधारो उखुमा रजाइँ गर्छन्
नेताहरू अन्धा अनि भ्रष्टाचारी छन्
व्यापारीहरू ठग धन्दामा छन
सबैलाई बाच्न सिकाउने
हाँस्न सिकाउने त मात्रै किसान हुन्
शीतले भिजेको घास काटेर हेर
बादल दौडने पहाड नाघेर हेर
सोझा नीर्मल हिर्दय भएका गाउँले किसानसँग बोलेर हेर
सहरको किरा परेको चाउचाऊ होइन
हाडिमा भुटेको मकै भटमास र जुनेलो खाएर हेर
त्यस्तै खाने यो युगका बलभ
सबको कल्याण सोच्ने एउटा अभिनव बुद्ध
हाम्रा किसान जय किसान

आखिर सम्भावना र सभ्यता त पहाड र तराईमै पो छ त
किन मानिसहरू गाउँबाट सहर
र सहरबाट विदेश पलायन हुन्छन् ?
के खोज्न ? के तिनका वंश उतैका थिएः र ?
आजसम्म किसानले नबुझेको कुरो रे यो !
पहाडमै छ जिन्दगी
तराईमै छ सभ्यताको आरम्भ
पहाडमै छ सेवा, तराईमै छ सार्दुल सत्कार
त्यहीँ छ जीवनको मधुसूदन
एउटा चोखो पारिजातको फूलजस्तै
निर्मल निसृत स्निग्ध, नित्य नवीन उज्याला
हाम्रा किसान ! जय किसान !

हामीले आजसम्म किसानले उत्पादन गरेको उधारो चिनी खाइरहेका रहेछौँ । हामीले पिउने चियाको हरेक घुट्कोमा चिनी होइन किसानका अविरल आँसु रगत र पसिना मिसाइरहेका रहेछौँ । विगत केही वर्षदेखि नेपालमा चिनीको राजनीति चुलिएकै हो चर्किएकै हो । उखु किसानसँग उधारो उखु लिएर आफू धनी हुँदै आएका मिल मालिकहरूलाई नेपालका राजनीतिक पार्टीहरूको आशिर्वाद मिलिरहेकै छ । नेपालमा जति पनि ज्यादतीहरू इतिहासमा भएः र वर्तमानमा भैरहेका छन् । त्यसको मूल जरो खोज्दै जाँदा राजनीतिक पार्टी नै हो । भ्रष्टाचार गर्ने कर्मचारीले थुपारेको कालो धनको संरक्षकदेखि किसानलाई उधारो उखुको पैसा नतिर्ने कालाबजारीया मिल मालिकहरूलाई छायाँ दिनेसम्म राजनीतिक पार्टी नै हुन् ।

तराईका मै हुँ भन्ने राजनीतिका हस्तीहरूले ठूलो कुरा गर्ने तर आफ्नै क्षेत्रमा भैरहेको उखु किसानको कन्तबिजोकको बारेमा एक शब्द बोल्न नचाहने । किसानको चरित्र बडो विचित्रको छ । उनीहरूमा धैर्यता, क्षम्यशीलता, कर्तव्यबोधिता, सहनशीलताजस्ता गुणहरू हुन्छन् । किसानले कसैलाई लल्कारदैन कसैलाई पनि भनी बिजाउँदैन अति भएः पनि ऊ सकेसम्म कसैलाई दुखाउँदैन । उसको मिहेनेतको पसिना नै कसैले खोस्छ भने पनि ऊ राजनीतिक पार्टीले जस्तो नेपाल बन्द गर्दैन । देशमा आगजनी गर्दैन, मान्छे मार्दैन । ऊ केवल गहका डिलबाट आँसु मात्रै झार्न सक्छ । किसानहरू हतियारविहीन लडाकु हुन् यो देशको समृद्धिका लागि खेतबारी हावाहुरी असिनापानी र खडेरीसँग अहोरात्र लडाइँ लडिरहने बहादुर ।

नेपालका राजनीतिक पार्टीहरूले कहिले पनि किसानका हितमा योजना ल्याउनु आवश्यकता महसुस गरेनन् । किनभने सिमाना जोडिएको देश भारतको चिनी र चामल नेपालमा बिकाउनु छ । हाम्रा अर्गानिक उत्पादनहरू सडकमा फलिन्छन् भारतका बिषादीजन्य खाद्यपदार्थ ब्ल्याकमा बिक्री हुन्छन् । नेपाल मात्रै एउटा त्यस्तो देश हो, जहाँको ६० प्रतिशत भूमि खेतीयोग्य छन् । तर, हामी खेती गर्न सक्ने युवाहरूलाई देशबाट भगाउँछौ र भारतबाट दालचामल मगाउछौँ । यो मुलुक युवाविहीन बन्दै छ । हामी आफूलाई कृषिप्रधान देश भन्छौँ तर कृषिसँग सम्बन्धित कुनै पनि उत्पादनमा हामी आत्मनिर्भर छैनौँ । नेपालका प्रायः सबै दूग्ध डेरीहरूले दुध उत्पादन गरिरहेका छैनन् । तिनले भारतबाट आयात गरिएको सेतो केमिकलमा भारतबाटै आयातित चिनी घोलेर नेपाली उपभोक्तालाई ठगिरहेका छन् । नेपालमा डीडीसीबाहेकका सबै दूग्धशाला जीवाणु र हैजा उत्पादन गर्ने कारखाना हुन् । नेपाली उपभोक्ता सोझा छन् कतै मुद्दामामिला गर्दैनन् र पो यी काला उद्योगहरू बचिरहेका छन् ।

न यहाँ उपभोक्ताका हकहितमा कुनै नियम कानुनको व्यवस्था छ न त्यस्ता हैजाका जीवाणु उत्पादन गर्ने कारखानालाई कारबाही नै हुन्छ । न उपभोक्ता नै त्यस्ता उत्पादकसँग लड्न नै जान्छन् । नेपालमा गुणस्तरको चिह्न दिने गुणस्तर कार्यालय आफैँ घुस लिएर गुणस्तरहीन उत्पादनलाई गुणस्तर चिह्न दिन्छ । गुणस्तर कार्यालयका कर्मचारीहरूको सम्पत्ती छानबिनको दायरामा ल्याउने कसले ?

उखु किसानले आफू मर्कामा परेको कुरा व्यक्त गरेको आज वर्षौं भैसकेको छ र पनि तिनका आवाज कसैबाट पनि सुनुवाइ हुँदैन । उनीहरूलाई उधारो सम्झौता गर्न बाध्य बनाइन्छ । मिल मालिक उत्पादन गरेको चिनी नगदमा बिक्री गर्छ । धरतीबाट आफ्नो रगत पसिनाले सिचाइ गरेर उत्पादन गरेको उखु उत्पादन गर्ने किसान भने उधारोमा उखु बेचेर आफू भीख मागेर हिँड्न पर्ने अवस्थामा छ । किन नेपाल सरकारको ध्यानाकर्षण यो विषयप्रति गम्भीरतापूर्वक गएको छैन ? के सरकारलाई समेत मिल मालिकहरूले किनेकै हुन त ? किसानलाई माया गर्ने सरकार नेपाली जनताले कहिले पाउने ? अबका दिनमा मिल मालिकबाट मिल खोसेर किसानलाई दिनुपर्छ । जसले उखु उत्पादन गर्छ चिनी मिल पनि उसकै अधीनमा हुनुपर्छ । मिल मालिकलाई धपाउनु पर्छ, किनभने उत्पादनको पहिलो हकदार त उत्पादक हो । आगामी दिनमा चिनी कारखाना मालिकको नाउँमा नभएर सामूहिक किसानका नाउँमा हुनु जरुरी छ ।

किसानले उत्पादन गरेको चिनी राज्यले सिधा नगदमा किनोस र उपभोक्तालाई बिक्रीवितरण गरोस् । उखु र चिनीमा कुनै दोस्रो बिचौलीया नघुसोस् । मिल मालिकहरू कतै न कतै नेपालका राजनीतिक पार्टीसँग आबद्ध देखियो । ती पार्टीको सुरक्षा पाएर मिल मालिकहरूले उखु किसानको उखु मात्रै होइन रगत र आँसुसमेत पिइरहेको पाइयो । त्यस्ता पापीहरूलाई ओत दिने राजनीतिक पार्टीलाई सम्पूर्ण नेपालीले बहिष्कार मात्रै होइन धारे हात लाएर धिक्कार भन्नुपर्छ । नेपालमा मौलाएको अनैतिकताको बनमारासँग प्रत्यक्षरूपमा नेपालका राजनीतिक पार्टीहरूको आबद्धता छ। यो बनमारा यसरी झाँगिदै गएको छ कि अष्ट्रेलियाको जङ्लमा लागेको आगोले पनि यसलाई डढाउन सक्तैन । यो सिध्याउन त धरतीले अन्तगर्भबाट लाभा नै ओकल्नु पर्छ अनि मात्रै सम्भव छ ।

किसानका बारेमा साहित्य सिर्जना गर्नु वा केही लेख्नुको मजा नै असिम ससिम हुँदोरहेछ ! हिजोआज म हिमाल, पहाड र तराईको काखमा पुलकित ग्राम्य जीवनको सुरम्य गीतहरूको खोजीमा छु । ती गीतहरू खोज्ने क्रममा मैले माटोसँग अहोरात्र मिल्ने धरतीका पूजारी किसानहरूको ओठमा सुस्केरा र आखामा आँसुसिवाय केही देखिन । हिमाल गयो हिमाल दुख्छ । पहाड झ¥यो पहाड रुन्छ । तराई हिँड्यो तराई च-याउँछ । आखिर हामी सबै किसान । हामी सबै माटो र श्रमका पूजारी । हामीले उमारेको उत्पादनको मूल्य मागेका हौँ राज्यसँग तर सरकार सुतेको जस्तो निदाएको जस्तो बहाना गर्छ । केही सोधपुछ गरुँ भने पनि जान्ने न हो भन्छ । विचारमा अङ्कुश लगाउछ । जे पायो त्यही नबोल्नु नलेख्नु भन्छ । मोलको मूल्य माग्दा गल्ती हुन्छ भने भैगो सरकार म किसान बन्दिन खाडी मुलुक नै जान्छु मलाई भिसा मगाइदेऊ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया