Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगयसकारण बालमैत्री विद्यालय

यसकारण बालमैत्री विद्यालय


बाबुकाजी कार्की
गुणस्तरीय शिक्षाको लागि लगानीमा विकास र विस्तार गरिए पनि आशातित सफलता हासिल नभएको गुनासो सर्वत्र सुन्न पाइन्छ । शिक्षामा देखिएका विकृति, विसंगति र क्षतिलाइ सम्बोधन गर्न अझ धैरै साधन/स्रोत र समय खर्चिनुपर्ने टड्कारो देखिन्छ । वर्तमानमा विद्यालय उमेरका बालबालिका सबैलाई विद्यालयभित्र ल्याउन नसक्नुु, विद्यालयभित्र आइसकेका बालबालिका सबैलाई निरन्तर टिकाइराख्न नसक्नु, विद्यार्थीको उपलब्धिस्तर सन्तोषजनक रुपमा प्रगति नहुनु, सार्वजनिक शिक्षाले सेवाग्राहीको विश्वास जित्न नसक्नु आदिलाई शैक्षिक चुनौतीका रुपमा लिन सकिन्छ । शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना भएको आक्षेप निरर्थक भएको खण्डन गर्ने पर्याप्त आधार नहुनु पनि आजको शैक्षिक नीतिका लागि एक सशक्त चुनौती हो ।

विद्यालयप्रति सरोकारवाला तथा समुदाय उदासीन भइदिनाले साधन/स्रोत जुटाउन र परिचालन गरेर गुणस्तरीय शिक्षाको प्रत्याभूति दिन सरकारको एक्लो प्रयास पर्याप्त नहुनु स्वाभाविक हो । विद्यालय बालबालिकाको अन्तर्निहित प्रतिभाको आविष्कार गरी चौतर्फी विकास गर्ने ऊर्जाशील बालमैत्री संस्था बन्नुपर्दछ । बालमैत्री विद्यालय हुनका लागि के–के कुराको आवश्यकता पर्दछ, त्यसको पहिचान गर्ने बेला आएको छ । विद्यालय बालमैत्री बनाउन कस कसले के–के भूमिका निर्वाह गर्नुपर्ने हो ? एकीन गरी जवाफदेही बनाउन विलम्ब भइसकेको छ । तसर्थ विद्यालयलाई जीवनोपयोगी गुणस्तरीय शिक्षा आर्जन गर्ने उत्कृष्ट थलोको रुपमा स्थापित गराएर सेवाग्राहीको आस्था र विश्वास जित्न अब के गर्नुपर्ला ? सरोकारवाला सबैको चिन्ता र चासोको विषय बन्नुपर्दछ ।

गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार शिक्षा आर्जन गर्ने बालमैत्री वातावरण सिर्जना गर्नु पहिलो शर्त हो । विद्यार्थीको सिकाइ उपलब्धिलाई उच्च बनाउन घरपरिवार, समुदाय तथा विद्यालयको वातावरण बालमैत्री हुनुको विकल्प छैन । विद्यालयमा सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक तथा जातजाति आदि विविध पृष्ठभूमि भएका बालबालिकाको प्रतिनिधित्व हुन्छ । यसप्रकारको विविधतामा बालमैत्री विद्यालयको व्यवस्थापन निश्चय नै चुनौतीको विषय हो । तर असम्भवचाहिँ होइन । बालमैत्री विद्यालय बनाउन निम्न पक्षहरुलाई समेट्न बिर्सिन हुँदैन —

भौतिक पूर्वाधार : विद्यालयको भौतिक पूर्वाधार बालमैत्री विद्यालयका लागि आधारस्तम्भ हो । विद्यालय भौतिक रुपमा स्वच्छ, स्वस्थ र साधनस्रोत सम्पन्न चित्ताकर्षक भएमा स्वतः गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्दछ । विद्यालय भवन, कक्षाकोठा, पुस्तकालय, फर्निचर, खेल्ने चउर, खानेपानी, शौचालय, प्रयोगशाला, छात्रावास, चमेना गृहलगायतका सामग्रीहरु विद्यार्थीको उमेर क्षमताअनुसार आकर्षक एवं लैंगिक र अपांगमैत्री हुनुपर्दछ ।

शिक्षण विषय र विधि तथा मूल्यांकन ः पाठ्यक्रम, पाठ्यपुस्तक विद्यार्थीको मानसिक तथा शारीरिक उमेर एवं उनीहरुको चाहना र दैनिक दिनचर्यासँग सरोकार राख्ने आधारमा चयन गरिनुपर्दछ । शिक्षण विधि बालबालिकाको पारिवारिक मातृभाषाको पृष्ठभूमि समेतलाई अध्ययन गरेर एकीन गरिनुपर्छ । अतः शिक्षकले पाठ्यक्रम पाठ्यपुस्तकका साथै विद्यार्थीको पृष्ठभूमिलाई पनि पढ्नुपर्दछ । जसले विद्यार्थीको वैयक्तिक विभिन्नताअनुसार शिक्षण सिकाइ क्रियाकलापको तर्जुमा गर्न सहज बनाउँछ । शैक्षिक सामग्रीको यथोचित प्रयोगले शिक्षण सिकाइमा जीवन्तता ल्याउँछ । शिक्षकले आफूले पढाउने विषयको विषयगत लक्ष्य निर्धारण गरी पठनपाठन सञ्चालन गर्दा उपलब्धिस्तरमा वृद्धि गर्न सकिन्छ ।

कतिपय अवस्थामा विद्यार्थी समेतलाई शैक्षिक सामग्री संकलन र संरक्षणमा प्रयोग गर्नाले उनीहरुमा अपनत्व र आत्मविश्वासको विकास हुन्छ । बालबालिकाले केही जान्दैन्न भन्ने पुरातनवादी सोचलाई निरुत्साहित गर्दै उनीहरुबाट पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने सकारात्मक सोच राखेर उनीहरुको अनुभवलाई समेत समेटर शिक्षण सिकाइ क्रियाकलाप तर्जुमा गर्नु पनि बालमैत्री विद्यालयको पूर्वशर्त हो । शिक्षण सिकाइ क्रियाकलापमा विधि र विषयलाई निरन्तर परिमार्जन र परिष्कृत गर्दा थप रोचकता प्रदान गर्दछ । अनि वास्तवमा बालमैत्री विद्यालय बनाउनका लागि पहिला विद्यालय शिक्षकमैत्री हुनुपर्छ भन्ने कुराको हेक्का राख्नुपर्छ ।

विद्यार्थीको योग्यता क्षमता र उपलब्धिस्तरको प्रगति एकीन गरी सोहीअनुसार भावी योजना बनाउन परीक्षा र मूल्यांकनको अहं भूमिका हुन्छ । परीक्षालाई वस्तुनिष्ठ पारदर्शी र निष्पक्ष बनाउन कुनै कसर बाँकी राख्नुहुँदैन । प्रत्येक विद्यार्थीको उपलब्धिस्तरको विश्लेषण गरी आवश्यक सल्लाह/सुझाव स्वयं विद्यार्थी र अभिभावकलाई दिन चुक्नुहुँदैन । त्यस्तै विद्यार्थी उपलब्धिलाई प्रमुखता दिएर शिक्षक, प्रधानाध्यापक, व्यवस्थापनलगायतका सरोकार पक्षको कार्यदक्षताको मूल्यांकन गरिनाले बालमैत्री विद्यालय बनाउन अझ सचेत गराउँछ। किनकि विद्यार्थीको उपलब्धिस्तर र बालमैत्री विद्यालय एक अर्काका परिपूरक हुन् ।

बालबालिका, अभिभावक र समुदायको सहभागिता : विद्यालयलाई बालमैत्री बनाउन बालबालिकाको सक्रिय सहभागिता पहिलो प्राथमिकतामा पर्नुपर्दछ । विद्यार्थी वर्तमानका साझेदार र भविष्यका कर्णधार हुन् भन्ने यथार्थलाई बिर्सिनुहुँदैन । विद्यालयलाई साधनस्रोत सम्पन्न बनाउन अभिभावक र समुदाय तथा सरकारी गैरसरकारी संघ/संस्थाको सद्भाव, सहयोग, सहकार्यको विकल्प छैन । अतः विद्यालय बालमैत्री बनाउनका लागि शिक्षक, अभिभावक, समुदाय समेतको सुमधुर, सौहार्द, दिगो, मैत्री सम्बन्ध हुनु पूर्वशर्त हो । बालबालिका छ घण्टा मात्र विद्यालयमा बस्छन् । बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ त्यहाँको वातावरण पनि बालमैत्री हुनु नितान्त आवश्यक पर्दछ । पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, विकेन्द्रित जिम्मेवारी आदिले विद्यालयप्रति अपनत्व भावनाको विकास भई मैत्रीपूर्ण वातावरण सिर्जना गर्न टेवा पुग्छ ।

स्वस्थ र अनुशासित वातावरण : स्वस्थ, स्वच्छ वातावरणमा मात्र बालबालिकाको शारीरिक तथा मानसिक विकास सन्तुलित रुपमा हुन्छ । कक्षाकोठा, धारा, शौचालय, खेल्ने चउर, बाटो नियमित सरसफाइ तथा फोहोरमैलाको उचित व्यवस्थापन गरिनुपर्दछ । शिक्षक स्टाफको स्वस्थकर बानी व्यहोराले बालबालिकाको बानी व्यहोरामा पनि सकारात्मक प्रभाव पार्दछ । सामाजिक, धार्मिक संस्कार, संस्कृति, मानवीय सद्भाव र सहयोग तथा भ्रातृत्वको भावनालाई उच्च प्राथमिकता दिएर नवीनतम ज्ञान र सीपबाट सुसज्जित भई सफल जीवनयापन गर्न सक्षम नागरिक उत्पादनका लागि अनुशासित शैक्षिक वातावरण अपरिहार्य हुन्छ । विद्यालयमा अनुशासित वातावरण कायम राख्न व्यावहारिक आचरसंहिता तथा त्यसको सहजरुपमा परिपालन गर्ने निष्पक्ष परिपाटी अवलम्बन गरिनुपर्दछ ।

अनुशासनको नाममा गरिने मानसिक तथा शारीरिक यातनालाई पूर्णरुपमा वर्जित गर्दै लोकतान्त्रिक मूल्यमान्यताअनुरुप कक्षा तथा विद्यालय सञ्चालन गर्ने संस्कारको विकास गरिनुपर्दछ । शिष्ट, सदाचार, सौहार्द एवं नम्र बानी/व्यहोरालाई प्रोत्साहित गर्ने मानवीय वातावरण हुनुपर्दछ । बन्चरोले भन्दा बचनले चिरेको घाउ गहिरो हुन्छ भन्ने यथार्थलाई बिर्सिनुहुँदैन । विद्यार्थीको आत्मसम्मानमा ठेस पुग्ने व्यवहार गरिनुहुन्न । विद्यालयले अख्तियार गरेका नीति र रणनीति कतिको प्रभावकारी भए, भविष्यमा कस्तो सुधार ल्याउनुपर्ला भन्ने उपायहरु खुट्याउन निरन्तर अनुगमन निरीक्षण गरिनुपर्दछ । यसले अनुशासनमा देखिएका कमी कमजोरी सच्याउने र सच्चिने मौका प्रदान गर्दछ ।

शिक्षाका नीति नियम र योजना विद्यार्थीलाई सर्वोपरी मानी उनीहरुको हितलाई केन्द्रविन्दुमा राखेर बनाउनुपर्दछ । परम्परागत प्रविधि र प्रवृत्तिमा परिमार्जन परिष्कृत गर्दै बासी विषयवस्तुको सट्टा समयको माग तथा विद्यार्थीको रुचि क्षमता र आवश्यकता एवं चाहनाअनुसार नवीनतम ताजा विषयवस्तु तथा शिक्षण सिकाइ क्रियाकलाप तर्जुमा र प्रयोग सौहार्द वातावरण भएमा बालबालिका विद्यालयबाट भागेर घरमा होइन घरबाट भागेर विद्यालयमा जान्छन् । जसलाई बालमैत्री विद्यालयको महत्वपूर्ण सूचकको रुपमा लिन सकिन्छ । सचेत अभिभावक, समर्पित शिक्षक, कुशल व्यवस्थापक तथा अनुशासित विद्यार्थी एवं शिरमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी बोकेका सरोकारवालाबाट मात्र बालमैत्री विद्यालय फष्टाउन सक्ने यथार्थता हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया