Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटनको पर्खाइमा धनगढी देवहरिया क्षेत्र

पर्यटनको पर्खाइमा धनगढी देवहरिया क्षेत्र


काठमाडौं ।
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको राजमार्गबाट चटकपुर–दशरथचन्द्र सहिदगेट चोकबाट करिब चार किलोमिटर पूर्वतर्फ देवहरिया वनस्पति उद्यानकै बगलमा जखैर ताल (बोलीचालीको भाषामा जोखर ताल) अवस्थित छ । स्थानीयका अनुसार सो ताल करिब १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल सो ताल जलकुम्भीले भरिएको छ । पानीको मात्रा छिपछिपे मात्र छ । तालसँगै जोडिएको देवहरिया वनस्पति उद्यान एक सय एक हेक्टरमा फैलिएर रहेको छ ।

सो वन देवहरिया वनस्पति उद्यानमा अम्बा, विजयसाल, सर्पगन्धा, गुलाब, श्रीखण्ड, रिठ्ठा, अशोक, कुसुम, भलायो, साल, कुकुर डाइनो, गुजर गानो/बाटुलोपाते, कुचिला, जामुन, सयपत्री, इमली, साज/अस्ना, अर्जुन, बर्राे, हर्राे, अम्रिसो, गुर्जाे, टनी, गुटेल, कुश, सिमाली, अश्वगन्धा, टिमुर, बयेर, कपास, काँगियो, अनन्तमुल, जपा कुमुम (घण्टी फूल), इन्द्र जौ, सतिवन, असुरो, मौवा, राहिणी/सिन्दुरे, बकेनु, पुदिना, लज्जावती, सितलचिनि, किम्बु, करिपत्ता, कामिनि फुल, करविर, पारीजात, तुलसी, निशोध, टटेलो, जंगली धान, खजुर, अमला, खाटे सल्लो, पिपला, चितु, रुदिलो, पयौँ, घाडताप्रे, कपुर, सुगन्धकोकिला, तेजपात, कागती, बतलौरी, कालो मुस्ली, कालो हल्दी, वन हलेदो, कचुर, जग्गर, लेमनग्रास, सतिसाल, सिसौ, कालो धतुरो, गुलहोहर, बिँडिपात, रुद्राक्ष, आँबे झार, लालुपाते, सिउँडि, बर, समी, काभ्रो, पिपल, ईन्द्रकमल, दबदबे, खमारी, लता कस्तुरी, रातीगेडी, खयर, बबुल, सिकाकाई, दतिवन, बोझो, हल्दु, बेल, चिउरी, रामबाँस, रातो शिरिष, घिउकुमारी, छतिवन, काँडे सल्लो, तितेपाती, कुरीलो, गानेगुर्जाे, निम, भोर्ला, सिन्दर, समल, कागजेफुल, रक्तकुसुम, पलाँस, कल्की फुल, आँक, सेता आँक, राज वृक्ष आदि अमृतमय वनस्पति छन् । देवहरिया तथा जखैर ताल क्षेत्र वरिपरि, अवस्थित गाउँमा राना चौधरी, ठकुरी, ब्राह्मण, दलित आदिको बसोबास भएको पाइन्छ ।

हाल देवहरिया वनस्पति उद्यान र जखैर तालको अवस्था नाजुक छ । स्थानीयको अनुसार अमृतको खानी देवहरिया वनस्पति उद्यान कोरोना महामारीको कारण एक वर्षदेखि बन्द रहेको छ । जखैर तालको स्थिति पनि त्यतिकै नाजुक छ । हाल सो ताल धनगढी उपमहानगरपालिकाको जिम्मामा रहेको स्थानीयहरूले बताए । देवहरिया वनस्पति उद्यानमा औषधिको प्रशोधन केन्द्रसमेत छ । सो त्यत्तिकै अव्यवस्थित भई मिल्किरहेको छ । आयुर्वेदका विद्यार्धीको लागि देवहरिया वनस्पति उद्यान प्रयोगमात्मक सिकाइकेन्द्र हुन सक्नेछ ।

स्थानीयका अनुसार देवहरिया वनस्पति उद्यानको दयानीय अवस्था हुनुको कारण उक्त वनस्पतिलाई सिँचाइ नहुनु हो । यहाँ पानीको अभाव छ । विद्युत् नपुगेको होइन, विद्युत् पनि छ । उचित क्षमता भएको एउटा ट्रान्समिटरको अभावमा यसको दुर्दशा भएको बुझिन्छ । सो कारण अर्बौँको सम्पत्ति लथालिङ्ग अवस्थामा छ । सम्बन्धित निकायको यतातिर ध्यान अविलम्ब जानु आवश्यक छ । यस नजिकै जखैर तालबाहेक अन्य दुई तालहरू पनि रहेका छन् । यी तालहरू पनि त्यत्तिकै लथालिङ्ग अवस्थामा भएको स्थानीयको भनाइ छ ।

यहाँका तालहरूलाई आवश्यक व्यवस्था गरी डुङ्गा सयर आदिको व्यवस्था मिलाउन सकेमा धनगढी राजमार्गबाट तीन/चार किलोमिटरभित्र रहेकोले सुदूरपश्मि प्रदेशकै पर्यटन केन्द्र बन्ने सम्भावना छ । यो क्षेत्र इतिहास बोकेको कैलाली बहुमुखी क्याम्पसबाट करिब दुई किलोमिटरमा नै पर्दछ । त्यस्तै धार्मिक स्थान श्री नैनादेवी भगवती मन्दिर, श्री शिवपुरी उत्तरामेश्वर ज्योतिर्लिङ्ग धामबाट पनि दुई/तीन किलोमिटरको दूरीमा नै पर्दछ । स्मरण रहोस् श्री शिवपुरी उत्तरामेश्वर ज्योतिर्लिङ्ग सबैभन्दा ठूलो ज्योतिर्लिङग भएको स्थानीयको भनाइ छ ।

यस क्षेत्रको मार्गबाट हरियाली, वनजङ्गल, ताल पोखरी, तराइको सौन्दर्यले जोकोही पनि मुग्ध हुनु स्वभाविक नै हो । देवहरिया क्षेत्र अत्यन्त सुन्दरमय छ । राष्ट्रिय संस्कृतिको स्वरूप लिन यहाँको लोकसांस्कृतिक एकतामा समाहित भएर देवहरिया तथा जखैर ताल क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आफ्नै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ ।

तराईको प्रायः सबै जातजातिमा प्रसिद्ध संस्कृति यस समाजको पृष्ठभूमिमा सिर्जित लोक संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ । यस्तै बहु–रीतिरिवाज, चालचलन, रहनसहन, भेष–भूषा, बोलीवचन, साहिनो–अभिवादन, धर्मकर्म, लोकपरम्परा, कला–कौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको तराईको जीवनशैली यहाँका जनताको आफ्नै निजी सम्पति हुन् ।

विश्वमा सूचना र सञ्चारको जगतमा एक्काइसौँ शताब्दीमा देखिएको द्रुत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ ।

यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ । आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ ।

विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदिबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध गाउँ तथा नगरको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाको केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै स्थानीय पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक, संस्कृतिक र पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मकरूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । अमृतमय जडीबुटीको सिकाइकेन्द्र समयमै संरक्षण हुनु अतिआवश्यक छ ।

हाम्रो देश भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई वीर गोर्खाली, पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको संगमस्थल रहेको क्षेत्र हिन्दु तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्रामस्थलको रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौँदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मिहिनेती समुदायको साझा फूलबारी हो ।

यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय, जडीबुटीले भरिपूर्ण भएपनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक, जडीबुटी एवं पर्यटकीयस्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन ।

सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण यस क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । तराई पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, जडीबुटी, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा उपमहानगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरू, जडीबुटी क्षेत्रको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था अझै कमी छ ।

कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खासरूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, यस क्षेत्रको लागि पर्यटकीय तथा आयुर्वेदिक सिकाइ केन्द्रको सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, धार्मिक, सांस्कृतिक, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । सोबाट यस क्षेत्रको आर्थिक समृद्धि हुनेछ ।

यस क्षेत्रको समग्र आम्दानीमा कृषि, व्यापार, पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तर उपमहानगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । धनगढी उपमहानगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ ।

उपमहानगरपालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्ति, जडीबुटी, तालतलैयाको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । प्राकृतिक, आयुर्वेदिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ ।

नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस जखैर ताल तथा देवहरिया वन उद्यान क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । जसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमूनाको रूपमा यस क्षेत्रलाई विकास गर्न सकिन्छ ।

हाल यातायातको विकाससँगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्ने थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया