Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअनुशासन नै सुशासनको मार्गचित्र

अनुशासन नै सुशासनको मार्गचित्र


काठमाडौं ।
अनुशासन यस्तो कडी हो, जसले मानव समाजलाई सत्मार्गमा लाग्न प्रेरित गर्दछ । यो सबै कुरा त्यो बेला पूर्णरूपले सम्भव रहन्छ जुनबेला मानव मात्रले आफूलाई आत्मानुशासनमा राख्ने चेष्टा गर्नेछ । प्रस्तुत तथ्यगत व्यवहारलाई अन्य क्षेत्रमा कायम राखेझैँ नोकरशाहीतन्त्रमा आबद्ध रहेका सम्पूर्ण समुदाय विशेषले मन, वचन र कर्मले आम जनसमुदायलाई सुशासनको आभाष गराउने कार्यमा सबल रहनेछु भन्ने आत्मकेन्द्रित प्रतिबद्धताले मात्र मुलुकको प्रशासनयन्त्रमा आमुल परिवर्तनको सुधारको अपेक्षा राख्न सकिनेछ । जसको सफल परिणिती भन्नु नै मुलुकबाट भ्रष्टाचारको अन्त्य भई सुशासन कायम रहने कुरामा हामी कसैको पनि दुईमत हुन सक्दैन । जसमा विशेषगरी व्यक्तित्व विकासको साथै स्वघोषित आत्ममूंल्याकनले प्रमुख प्राथमिकता हासिल गर्ने देखिन्छ । विपरित अवस्था तयार भए अनुशासनहीनताको उच्चताका कारण सुशासन कायम राख्ने राज्यको सदिच्छामा अवरोध सिर्जना हुनेबाहेक अन्य कुनै ठोस उपलब्धिमूलक नतिजा हासिल गर्न सकिँदैन ।

प्रस्तुत तथ्यको केही हदसम्म अभाव रहेकै कारण आम जनसमुदायको विश्वासको मत सहजरूपमा हासिल गर्न असहजता उत्पन्न भई नागरिक समाज एवं नोकरशाहीतन्त्रबीच द्वन्द्वगत मनोदशा तयार हुने देखिन्छ । जनविश्वासलाई साथ लिई कार्य गर्नुभन्दा पनि राजनीतिक प्रभावको कार्यशैलीमा आधारित रहेर कार्य गर्ने संस्कृतिको विकासले राज्यको प्रशासनयन्त्र बेलाबखत विवादको घेरामुक्त रहन नसकेको मात्र हो । जसको खराब परिसूचकको रूपमा राज्यको प्रशासनिक खम्बाप्रति यदाकदा प्रश्न उठ्ने अवस्था तयार हुनुलाई पदीय अनुशासनको अभावका कारण समस्या सिर्जना भएको हो कि भन्ने मानसिकता नागरिक समाज रहने हुँदा द्विविधाजन्य वातावरण तयार हुन थप मदत पुग्ने देखिन्छ । जसका कारण नागरिक जनविश्वास गुम्नुको साथै प्रशासनयन्त्रको गुणस्तर सुधारमा ह्रास आउनेछ ।

यस प्रवृत्तिको व्यवहारमा राज्यको ध्यान सही अर्थमा पुग्न नसकेकै कारण समस्या खडा भएको मान्दा त्यति अत्युक्ति नहोला । जसको नकारात्मक असर यतिसम्म अभिवृद्धि भएको पाइन्छ कि राज्यद्वारा प्रदान गरिने सेवाको अतिरिक्त निजीक्षेत्रलगायत अन्य नागरिक सेवा प्रवाही क्षेत्र समेत यस रोगबाट अछुतो रहन नसक्ने हो भने कुनै पनि क्षेत्रको प्रसासनिक संरचना सुधारमा सुशासन कायम रहन सक्दैन भनी ठोकुवा गर्न सकिनेछ । चुनौतीपूर्ण यस अवस्थाबाट पार पाउन इमानदारीता, दक्षता एवं नैतिकतामा सुधार ल्याउनु जरुरी भइसकेको छ ।

प्रशासन सुधारको अहम् बिन्दु मानिएको अब्बल प्रशासकीय शिक्षाले नागरिक समाजलाई अनुशासनको पाठ सिकाउन मदत पु-याउनेछ । वर्तमान परिप्रेक्षमा नोकरशाहीतन्त्रमा लोकतान्त्रिक विधिअनुरूपको आचरणलाई पूर्णरूपले पालना गर्ने प्रतिबद्धतासहितको कार्यशैलीमा परिवर्तन ल्याउनु जरुरी भइसकेको छ । जसले निश्चितरूपमा प्रशासनयन्त्रमा रहेको विकृतिमूलक व्यवहारलाई क्रमशः न्यून गर्दै मुलुक सुहाउँदो लोकतान्त्रिक नोकरशाहीतन्त्रको विकासमा टेवा पु-याउनुको साथै आम जनमानसलाई सहयोगीको हितभावले कार्य गर्ने प्रशासनयन्त्रको अनुभूति दिलाउन यसप्रकारको कार्यगत व्यवहार कोशेढुङ्गा साबित हुनेछ । जसका कारण प्रशासनिक संरचनामा विशेषगरी अन्य अनुशासनको तुलनामा आर्थिक अनुशासनसहितको मुल मर्मलाई आत्मसात् गरी मन, वचन र कर्मले आफ्नो कामप्रतिको जिम्मेवारीलाई स्वयम् उच्च मूल्यांकन गर्दै जनउत्तरदायी बन्न हरपल सहयोगीको भूमिका निर्वाह गर्ने सुमधुर वातावरण पैदा हुने देखिन्छ । जसले अनुशासन र सुशासनको बीचमा सेतुको कार्य गर्दै जनअपेक्षाअनुसारको सुशासनको मार्गचित्र प्रशस्त गर्नेछ भन्दा फरक नपर्ला ।

प्रशासनिक यात्राको कार्यशैलीगत प्रविधि विकासमा यसप्रकारका व्यवहारले निश्चितरूपमा नयाँपनको आभाष दिलाउनेछ । जसले मुलुकमा विद्यमान अवस्थामा रहेका प्रशासनिक निकायलाई नागरिक समाजको तर्फबाट पर्ख र हेरको अवस्थामा राख्ने हुँदा नागरिक हितप्रति गैरजिम्मेवारी बन्ने प्रवृत्तिमा कमी आई सम्बद्ध समाजप्रति बफादारी बन्न हौसिने अवस्था तयार हुनेछ ।

जुन अनुशासनको मूल धर्मले निम्त्याएको सुशासनप्रतिको पूर्ण प्रतिबद्धताको बृहत्तर परिणामको अनेकन रूपमध्येको एक रूप मान्न सकिनेछ । जसको विकासले प्रशासनिक अराजकताको त्रासमा हस आउने देखिन्छ । यसप्रकारका क्रियाकलापले राज्यको प्रशासनिक निकाय र नागरिक समाजमा उपलब्धिमूलक अनुन्याश्रित सम्बन्ध विकास भई उच्च अनुशासनको दरले पारदर्शितायुक्त प्रशासनिक संरचना निर्माण गर्न सहयोग पुग्ने अवस्था प्रारम्भ हुनेछ  । तदुपरान्त मनोवैज्ञानिकरूपमा रही आएको प्रशासनिक असमानताका बीचमा पनि समानता कायम राख्ने प्रयासमा दुवै पक्ष अभ्यस्त रहने दरिलो सम्भावना रहन्छ ।

जसको सफलताले नोकरशाहीतन्त्रमा नागरिक समाजप्रति हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको अपेक्षा गर्न सकिनेछ । निश्चय पनि प्रशासनिक निर्णयबाट प्रभावित नागरिक समाजलाई त्यसको निर्णय र प्रक्रियाको बारेमा सूचनामूलक जानकारी प्राप्त गर्न पाउनु नेपाल राज्यको संविधान ०७२ मा निर्देशित संवैधानिक अधिकार क्षेत्रको विषयवस्तु समेत हुन् । परिणामतः राज्यमा सुशासनको अनुभूति रहन गई कार्यगत प्रभावकारिता सम्भव रहने देखिन्छ । विपरीत अवस्था तयार भए प्रशासनिक अराजकताको आरम्भ हुनगई सुशासन कायम रहन सक्दैन  । तसर्थ अवरोयुक्त प्रशासनयन्त्रबाट पार पाउनको लागि स्पष्ट र पारदर्शिताले अभिप्रेरित नीति निर्माणमा सहजीकरणको अवस्था तयार पार्नु चुनौतीबीचको आजको आवश्यकता समेत हो ।

तत्पश्चात् प्रशासनिक शुद्धता कायम रहन गई सुशासनयुक्त प्रशासनिक संरचना निर्माणमा अभूतपूर्व सफलता प्राप्त हुनेछ । यो त्योबेला पूर्णरूपले सफल रहन्छ, जतिबेला नोकरशाहीतन्त्रमा क्रियाशील समूहलाई सम्बद्ध पक्षको क्षमता, योग्यता र दक्षताले भ्याएसम्म उत्तरदायित्व वहनको साथै अधिकार र निर्णय क्षमतालाई स्वतन्त्ररूपले परिचालन गर्ने अधिकार प्रत्यायोजन गर्न राज्यले कुनै प्रकारको कसर बाँकी राख्नु हुँदैन । किनकि अन्य क्षेत्रको तुलनामा यस समूहमा आबद्ध रहने समूह बौद्धिक दक्षताको आधारमा निखार रहने हुँदा केही हदसम्म सुशासन कायम राख्न सहयोग पुग्नेछ । जसका लागि सम्बद्ध पक्षलगायत अन्य पक्षले प्रलोभनरहित प्रशासनिक संरचना निर्माण गर्नेतर्फ विशेष सजकता अपनाउनुपर्ने हुन्छ ।

तसर्थ प्रशासनिक सुधारको क्षेत्रमा रहेका कर्मचारीवर्गको आचरणलगायतका विषयमा आमुल सुधारको सदैव खाँचो रहन्छ । अक्षरंश कानुनको पालना गर्ने गराउने तथ्यले केही हदसम्म व्यावहारिक पक्षलाई समाहित गर्न नसक्ने हो भने समस्या खडा हुने देखिन्छ । त्यसो हुँदा सुशासन प्रत्यायोजन गर्ने सिलसिला हुनसक्ने सम्भावित नकारात्मक जालोबाट मुक्त रहन निष्पक्षरूपमा कार्य गर्ने शैलीको विकासलाई विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । जसका लागि आफ्नो मातहतमा रहेको सूचनामूलक जानकारीलाई गोप्य राख्ने प्रबन्ध मिलाउनु पर्नेछ ।

राजनीतिक समूहको प्रभावमुक्त रहन स्वतन्त्ररूपमा निर्णय गर्न सक्ने संवैधानिक अधिकार राज्यले निश्चितरूपमा अख्तियार गर्नुपर्ने हुन्छ । किनकि राजनीति एवं प्रशासनयन्त्र फरक–फरक समूह हुन् भन्ने तथ्यलाई निश्चितरूपमा मनन गर्नुपर्नेछ । जसलाई अनुशासनसहितको सुशासन कायम राख्ने प्रमुख कारक तत्वको रूपमा लिन सकिन्छ । राजनीतिक प्रभावको जालोबाट पृथक रहँदै कार्य गर्ने सफल वातावरण बनाउने हो भने पक्कै पनि प्रशासनिक क्षेत्रमा सुधार आई अनुशासनसहितको सुशासन कायम रहने कुरामा हामी कसैको पनि मत भिन्नता रहन सक्दैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया