Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवातावरण विनाशले निम्त्याएको समस्या

वातावरण विनाशले निम्त्याएको समस्या


काठमाडौं ।
नेपाल हाल एसियाकै २० सहरमध्ये वातावरण प्रदूषित प्रमुख सहर हुन पुगेको छ । वातावरण संरक्षणको समस्यामा सुधार नेपालका निम्ति अत्यन्तै जरुरी छ । सहरीकरणको विस्तार, जनसंख्याको वृद्धिको साथै पानीको प्रदूषण, वायुको प्रदूषण र खासगरी सवारी साधनबाट हुने प्रदूषण व्यापक भइरहेको छ । जस्तो ध्वनि, दुर्गन्धसम्बन्धी प्रदूषण, पानीसम्बन्धी प्रदूषण, हावासम्बन्धी प्रदूषण अरु फोहोर मैला इत्यादिबाट जथाभावी हुने प्रदूषण नियन्त्रण भएका छैनन् । जथाभावी टायर जलाउने, फोहरमैला यत्रतत्र फाल्ने, प्लास्टिक जलाउने कार्य यथावत छन् ।

यस्तो प्रदूषणलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा कमन ल पद्धतिका मुलुकमा जस्तै राष्ट्रहरूउपर दुष्कृतिको दायित्वको कानुन छ । तर त्यस्तो कानुन हामीकहाँ छैन, भएको कानुन पनि कागजमा मात्रै सीमित छ । यस्तो कानुनको कार्यान्वयन गर्ने न त नागरिक चेतना छ, न त राज्यको कुनै प्रतिबद्धता छ । यसको मुख्य कारण सरकारको उदासिनता र जनचेतनाको अभाव हो ।

पृथ्वीमा भएका अनेकौँ तत्वहरूमध्ये एकको घटी वा बढीले अरुलाई समेत असर पार्दछ । अन्य प्राणी, वनस्पति तथा समग्रमा जीवित प्राणी र मानव जातिको अस्तित्वमा समेत प्रश्न चिह्न गर्न सक्दछ । यसको उदाहरणको रूपमा लोकतान्त्रिक जनताको सरकार, सिंहदरबारको अधिकार गाउँ तथा घरघरमा आइसकेपछि पनि देशको आर्थिक, भौतिक, सामाजिक, नैतिक तथा पर्यावरणको विनाश रोक्न खासै कदम चालेको पाइँदैन । पृथ्वीमा भएका विविध तत्वको कारणले वातावरणको नियन्त्रणमा भएको उदासिनताले वातावरणको क्षेत्रमा चिन्तित हुनुपर्ने अवस्था छ ।

वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनीतिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित भएको वातावरण विनाश मानव बाँच्ने आधार संख्याहरू नष्ट हुँदै गएर पग्लिँदो हिमशृङ्खला जल्दोबल्दो समस्यामा परिणत भएकोले वर्तमान समयमा वातावरणलाई वातावरणप्रेमीले अति महत्वका साथ हेर्न थाल्नु स्वभाविकै हो । यसै सन्दर्भमा बझाङ जिल्लाको सात हजार ३१ मिटर अग्लो साइपल हिमाललाई लिन सकिन्छ । २०७५ कात्तिकसम्म हिउँले सेताम्मे साइपल हिमाल २०७६ सालमा २५ वर्षयताकै ठूलो हिमपात हुँदा पनि अन्यभन्दा कम हिउँ जमेर यस वर्ष नाङ्गै भएको छ ।

साइपालभन्दा होचा टाकुरामा टन्न हिउँ छ तर साइपालमा छैन । करिब दुई वर्षको अवधिमै साइपालमा हिउँ कसरी हरायो भन्नेबारे कुनै अनुसन्धान भएको छैन । हिउँले टम्म भरिएको सेताम्मे साइपालको आकर्षणले सबैलाई मोहनी लगाउँथ्यो । नजिक पुगेपछि अर्कै खालको आनन्द आउँथ्यो । दिनभरि हेरिराख्दा पनि मन अघाउँदैनथ्यो । साइपालमा छिटोछिटो बदलिदो मौसमको लुकामारी चित्ताकर्षण हुन्थ्यो । साइपालको चुचुरो लजालु बेहुलीजस्तै छिनमै बादलको घुम्टोभित्र लुक्थ्यो । हावाको गतिसँगै विस्तारै बादल हट्थ्यो । अनि हिउँको सिरकले गमक्क छोपिएको साइपाल खुल्दा वरिपरिको वातावरण पनि उज्यालिन्थ्यो । अहिले साइपालको हिउँ गाएब भएको छ ।

यो हिमाल साइपाल हो कि होइन, अनौठो के भने साइपालभन्दा होचो तर साइपालको आसपासको साना टाकुरामा टन्नै हिउँ छ । साइपालमा मात्र हिउँ छैन । बझाङमा गत वर्ष हिउँदमा २५ वर्षयताकै ठूलो हिमपात भएको थियो । मंसिर अन्तिम सातादेखि सुरु भएको हिमपात चैत्र मध्यमसम्म जारी थियो । गत वर्ष जिल्लाकै सबैभन्दा होचो भू–भाग देउरामा पनि २५ वर्षपछि हिउँ जमेको थियो । सबैभन्द बढी हिउँ परेको वर्ष साइपालमा भने हिउँ नै नहुनुको एकिन कारण कसैले बताउन सकेका छैनन् । स्थानीय जानकारहरू हिउँ बढी भएर पहिरो गएको हो कि भन्ने अनुमान मात्र गर्दछन् । भौगोलिकरूपमा विकट बझाङको साइपाल गाउँपालिकाका झण्डै छ सय १० घरपरिवार भोकमारीको चपेटामा परेको समचार प्रकाशित भएको छ ।

यो गाउँपालिकामा गत २०७७ कात्तिक महिनामा एक दिन मात्र पानी प-यो । पानी नभएपछि अन्नबाली फलेन । साइपालमा खेती भनेको गहँु, जौ, कोदो र मकै हो तर खडेरीले केही उम्रेन । उम्रेको केही बाली पनि सुक्यो । गत पुस माघबाटै खाद्यान्न अभाव भईसकेको पाईन्छ । गाउँपालिकामा पाँचवटा वडा छन् । यो क्षेत्र चिनको सीमासँग जोडिएको छ । आवश्यक वस्तु गाउँलेले चीनबाट किन्थे तर पछिल्लो समय नाका बन्द छ । जसले गर्दा साइपालवासी समस्यामा परेका छन् । त्यहाँको कमाइ जडीबुटी हो । यसपाली पानी अभावको कारण जडीबुटी पनि भएन, बाली पनि फलेन । त्यसकारणले साइपालवासी थप समस्यामा परेको समाचार प्रकाशमा आएको छ । साइपल गाउँपालिकाको जनप्रतिनिधिले खाद्यान्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ज्ञापनपत्र बुझाएका छन् । साइपालवासी दैनिक उपभोग्य सामग्रीको लागि दुई दिन पैदल हिँडेर सदरमुकाम चैनपुर आउनुपर्ने बाध्यता छ । यो एउटा प्रतिनिधि पात्र मात्र हो । सम्बन्धित पक्षले आफ्नो दायित्व पूरा गरेको छ छैन त्यो सम्बन्धित पक्षलाई नै थाहा होला ।

उल्टो सरकारवरिपरि घुम्नेले प्राकृतिक स्रोतको दोहन गरी विपत् निम्त्याएका छन् । साथै योजनाकार र नीति निर्माणहरू वातावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा नपुगेको कारण यो वातावरणीय दुर्दशा भएको हो । यो परिणाम विगतमा मानिसले वातावरणप्रति गरेको परिणाम तथा त्यसले मानिसलाई पारेको नोक्सानीलाई हेर्दा वातावरणको यथोचित संरक्षणविना दिगो विकास दीर्घजीवी हुन नसक्ने प्रस्ट छ ।

मानव जातिको समुन्नति एवं अस्तित्वकै लागि पनि वातावरणको महत्व प्रस्ट हुँदै गएको छ । तसर्थ, मानवजातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जति महत्व छ त्यतिकै मात्रामा वातावरणको संरक्षण पनि अपरिहार्य छ । वातावरणीय विनाशले नेपाल र नेपालीहरूको वातावरणीय परिवेशमा नकारात्मक परिणाम ल्याएको छ । राष्ट्रमा विकास आयोजना सञ्चालन गर्दा वातावरणप्रति उदासिन भई वातावरण विनासले ठूला दुर्घटना निम्त्याउँछ ।

मुख्यतः वातावरण विनाशबाट जलवायु परिवर्तन भएको छ । सोकारण जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्याको रूपमा देखिएको छ । हरितगृह ग्यास उत्सर्जनमा न्यूनीकरण नहुनाले तापमान वृद्धि भएको छ । नेपालमा पनि राजधानी काठमाडौँमा बेलाबखत ३६ डिग्रीसम्म तापक्रम मापन गरिएको छ । यो जलवायु परिवर्तनको असर हो । नेपालको हिमाली क्षेत्रमा शून्य दशमलव छ डिग्री सेल्सियसको दरले तापक्रम बढ्नगई हिमशृङ्खला पग्लनु, डढेलो लाग्नु, पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टिजस्ता समस्यादेखि खाद्य संकट पर्नु, दुई हजार मिटरको उचाइसम्म लामखुट्टे देखा पर्नु, वन्यजन्तु लोप हुनु, कोभिड–१९ महामारीलगायत, हैजाजस्ता रोग फैलनु, विनाशकारी आँधी र बाढी आउनु, नदीनालाको सतह घट्दै जानु आदि वातावरण विनाशबाट उत्पन्न परिणाम हुन् ।

छ दशकअगाडि नेपालको जनसंख्या करिब ५० लाख थियो भने हाल करिब तीन करोड पुगेको अनुमान छ तर वन, जङ्गल र जमीनको क्षेत्र बढेको छैन, जमीनको उत्पादकत्व बढेको छैन । कृषि आकासे पानीमा निर्भर, आयातीत बीउ, रासायनिक मल र कीटनाशक विषादीको प्रयोगबाट उत्पादन केही मात्रामा बढेको भए पनि गुणस्तरीय र स्वस्थ खाद्यान्न पाउनु चुनौती भएको छ । सन् १९७०÷८० को दशकतिर अम्लीय वर्षाको समस्या चर्चामा थियो भने अहिले जलवायु परिवर्तनको चर्चा विश्वभर व्यापक छ ।

नेपालजस्तो कम विकसित देशमा औद्योगिक तथा सहरी विकासको क्रममा जल तथा वायु प्रदूषण र फोहरमैलाको समस्या र ग्रामीण भेगमा वन विनाश चुनौती बन्दै गएको छ । प्राकृतिक स्रोतको उच्च प्रयोगबाट सिर्जना भएको भू–क्षय, बाढी, पहिरो, कृषि उत्पादन र वनको उत्पादकत्वमा कमीजस्ता समस्याहरू वृद्धि भएका छन् । यी समस्याहरूले जनस्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । वन विनाश, भू–क्षय, बाढी, पहिरोका साथै प्रदूषण एवं जलवायुको असरजस्ता वातावरणीय समस्या ठूलो चुनौतीको रूपमा बढिरहेको छ ।

वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत्रूपमा प्रभाव पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ । मानिसको अस्तित्वको लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरू ग्रहण गर्दछ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ नकि वातावरणीय विनाशबाट ।

अनियन्त्रितरूपमा डोजर चलाई प्राकृतिक स्रोत साधनको दोहन, होहल्ला, आवाज तथा हर्न, कारखानाको ध्वनि, सिमेन्ट, गिटी उद्योग, इँटा उद्योग आदिले वातावरण विनाश भई सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । फोहोरमैला व्यवस्थापनको लागि उचित ल्यान्डफिल्ड साइड नहुनु पनि वर्तमान वातावरणको विनाशको एक प्रमुख तत्वको रूपमा लिन सकिन्छ । घरायसी प्रयोजनबाट, कारखानाबाट, अस्पतालबाट, सडेगलेका वस्तुहरूबाट, वायु जल, माटो आदिमा हानिकारक तथा घातक फोहोरमैला निस्कन्छ । यसको उचित व्यवस्थापनको अभावले पनि वातावरणमा तीव्र हानि पु-याउँछ ।

यस्तै भू–क्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्ल वर्षा, वन विनाश, सवारी साधन तीव्र वृद्धि अनियोजित सहरीकरण, अनियोजित औद्योगिकीकरण जनसंख्या वृद्धि, जनचेतनामा कमी आदि कारक तत्वबाट वातावरण विनाश भई पग्लिँदो हिमशृङ्खला जल्दोबल्दो समस्या आदि वातावरण विनाशको कारक तत्वको उपज होइन र ? वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई वर्षायाममा वर्षा नभई धान, मकै, आलुजस्ता कृषि उत्पादनमा ठूलो असर परेको छ । जनचेनतनामा वृद्धि, वन संरक्षण, बढ्दो सवारीसाधनको नियन्त्रण, भू तथा जलाधारको संरक्षण, जनसहभागितामा वृद्धि, विद्यार्थीहरूको भूमिका, गैरसरकारी संस्थालाई उचित प्रयोग, नैतिक शिक्षा, आमसञ्चार दिगो योजनाकार, संरक्षणको मुख्य संरक्षक तत्वहरू हुन् । हामी सबै यसतर्फ लाग्नु जरुरी छ नत्र नेपाल आमाले सराप्नेछिन् । हामी र हाम्रा सन्तति सबैको साझा फूलबारी हो ।

नयाँ नेपाल निर्माणका लागि व्यवस्थित सहरीकरण प्रमुख आवश्यकता हो । सन्तुलित र दिगो विकासका लागि वातावरण सुधारको आवश्यकता छ, तर गाउँबाट सहरतर्फ सुविधा रोजगारीको लागि आउने क्रम व्यापक छ । यसले गर्दा गाउँमा युवा जनशक्तिको खाँचो भई कृषि क्षेत्रमा समस्या आएको छ । जनआन्दोलन दुईपछि नयाँ संविधान बनाउने जनताको अभिलासा पूरा भई नेपालको संविधान आएको छ । अहिले सो संविधान कार्यान्वयनको कसरतमा छ । तर राजनितिक दलहरूकको निहित स्वार्थको कारणले गर्दा नेपाली जनताले दुःख पाई देशको आर्थिक स्थिति गिरेका छ ।

विश्वकै दोस्रो जलस्रोतको धनी राष्ट्र भनी उपाधि पाएको नेपालमा पाँच वर्षको कार्य तीस वर्षमा सम्पन्न गर्दा पनि गौरव मान्ने स्थिति छ जस्तै उदाहरणको रूपमा मेलाम्ची खानेपानी आयोजना । यसको लागि छ गुणा बढी समय लाग्यो । बजेट पनि त्यही तुलनामा खर्च भयो । यसको असर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वातावरण तथा नेपाली जनता दुवैमा परेको छ ।

अतः हामी सबैले वातावरण संरक्षण गरी बिहानीको सुनौलो सगरमाथा, शीतल फेवातालमा परावर्तित माछापुच्छ«ेको छायाँ, लालीगुराँसको फूलबीच लुकामारी खेल्ने डाँफे, मुनाल, कालिजजस्ता चराचुरुङ्गी, चारकोषे झाडीले प्रसिद्धी कमाएका हाम्रा जङल अनि त्यसमा छुनुमुनु गर्ने हरिण र मृग, सावकहरू, गैडाका केटाहरू, हात्तीका छावाहरू र कोइलीका मधुर स्वरहरू, कृषि तथा वनपैदावार, हिमशृङ्खला आदि संरक्षण गर्नु आजको आवश्यकता हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया