Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसशक्तीकरण र समृद्धिको आधार साक्षरता

सशक्तीकरण र समृद्धिको आधार साक्षरता


काठमाडौं ।
साक्षरताले मानवको अन्तरनिहित प्रतिभा प्रस्फुटन गरेर सक्षमता ल्याउँछ । सक्षमताले पौरखी हातहरूलाई परिमार्जन र परिस्कार गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मबल र आत्मविश्वासमा बढोत्तरी भई एक सफल र सबल नागरिकका रूपमा जीवनयापन गर्न अहम् भूमिका खेल्दछ । साथै साक्षरता सहज आधुनिक जीवनको अपरिहार्य कुञ्जी हो । आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो सर्त हो ।

मानव विकास सूचकांकलाई उच्च राख्न आवश्यक सर्तहरू स्वास्थ्य शिक्षा, विद्यालय भर्नादर, मातृशिशु मृत्युदर, पोषण आदिको आधारशीला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा प्रतिबद्ध सबैखाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य सर्त हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्यक्रम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एकअर्काको परिपूरक हुन् । सहज र सफल जीवन जिउन कम्तीमा साक्षरताको विकल्प छैन ।

विज्ञान र प्रविधिको द्रुत गतिमा विकास र विस्तार भइराखेको वर्तमान एक्काइसौं शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर पौढ छन् । जसमा करिब हरेक तीन निरक्षरमध्ये दुईजना महिला पर्छन् । विसं २०६८ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ६५ दशमलव नौ प्रतिशत छ जसमध्ये पुरुष ७५ दशमलव एक र महिला ५७ दशमलव चार प्रतिशत साक्षर छन् । महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १८ प्रतिशत रहेको देखिन्छ । निरक्षरताको कारण महिलाहरू नै बढी शोषित, पीडित र दमनमा परेका छन् । न्यून आयआर्जनका कारण परालम्बी बन्न विवश छन् महिला । महिला साक्षरतालाई विशेष प्राथमिकताका साथ सञ्चालन गरेर मात्र सशक्तीकरण र समृद्धिको यात्रा सार्थक हुन सक्छ ।

साक्षरता दर वृद्धिका लागि विगतमा सहस्राब्दि विकास लक्ष्य र सबैका लागि शिक्षा कार्यक्रमहरू सञ्चालन गरिएका थिए । सन् २०१६ देखि आगामी १५ वर्षसम्म दिगो विकासका लक्ष्यअन्तर्गत नागरिकको जीवनसँग जोडिएका योग्यतामुखी जीवनपर्यन्त शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने लक्ष्य पूरा गर्न आवश्यक नीति तथा रणनीति सरकारले अबलम्बन गरिसकेको छ । आगामी दुई वर्षभित्र सबै जिल्लालाई निरक्षरतामुक्त घोषणा गर्ने क्रममा हालसम्म ६६ जिल्ला ‘साक्षर जिल्ला’ घोषण भइसकेको सरकारी आँकडा छ ।

साक्षरता अभियान काम हो बखान होइन । साक्षर नेपाल अभियानलाई सार्थक लक्ष्यमा पु-याउन अहिले पनि निरक्षर कहाँ छन् ? एकिन गर्नु पहिलो प्राथमिकतामा पर्नुपर्दछ । तिनीहरूलाई पढ्न कक्षाकेन्द्रमा कसरी ल्याउने ? उत्प्रेरणा गर्ने उपायहरूको पहिचान गरी कार्यान्वयन गर्नुपरेको छ । कक्षा केन्द्रमा आइसकेका निरक्षरहरूलाई कार्यक्रम अवधिभर कसरी टिकाइराख्ने ? रोचक व्यवस्थापनको लागि ध्यान दिन विलम्ब भइसकेको छ । पढ्ने पढाउने विषयवस्तु विधि र व्यवस्थापन सहभागीहरूको रुचि क्षमता र आवश्यकताअनुसार छ कि छैन ? अध्ययन अनुसन्धानबाट निष्कर्षमा पुग्नु बुद्धिमत्तापूर्ण काम हुन्छ ।

साक्षरताका विषयवस्तु सहभागीहरूको जीवन र जगतलाई सम्बोधन गर्ने र आफूले अपनाएको वा अपनाउने पेसागत दक्षतालाई उन्नत बनाउने खालको भएमा रोचक सहभागिता हुने यथार्तता हो । पढ्नको लागि सुगमता प्रदान गर्न पर्याप्त साधनस्रोत सर्वसुलभ व्यवस्थापनको खाँचो पर्दछ । साक्षरता कक्षाको व्यवस्थापन तथा पाठ्यपुस्तक, मसलन्द, तथा पारिश्रमिकलगायतका आधारभूत सहुलियत र स्रोतसाधानको उचित व्यवस्था गर्न कन्जुस्याँयी गरिनुहुन्न ।

अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परावलम्बी तथा कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृत्तिले महिलालाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिन्न तबसम्म विकासको गति तीव्र नहुने यथार्थता हो । त्यसमा पनि यो दूरी पिछडिएको जातजाति, सो दुर्गम तथा निर्धनहरूको बसोबास क्षेत्रमा अधिक छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यस्तो विषम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँचभित्र ल्याउन निश्चय नै ठूलै अठोट चाहिन्छ । महिला जनसङ्ख्या बढी भएको हाम्रोजस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यक्रम ल्याउनुपर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तीकरण नगरिकन समृद्ध समाजको अपेक्षा गर्न सकिन्न ।

युनेस्कोलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले महिला र सशक्तीकरणका लागि साक्षरतामा केन्द्रित अनेकौं कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सशक्तीकरण भन्नाले प्राप्त सूचनाहरूको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउँदिनन् तबसम्म दिगो विकासको कल्पना पानीको फोकाजस्तै हुन्छ ।

भनिन्छ, एकजना पुरुष शिक्षित भए आफूमा मात्रै सीमित हुन्छ तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्मनिर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नतातिर लम्कनु हो । आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेत भई स्वाभिमानिपूर्वक आत्मनिर्भर जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन । नेपालमा पनि महिला साक्षर र सशक्तीकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघ संस्था छन् ।

सरकारी निकायको रूपमा तत्कालीन अनौपचारिक शिक्षा केन्द्रले महिला सशक्तीकरणका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । उदाहरणार्थः महिला साक्षरता प्रथम द्वितीय, आयआर्जन समूहमार्फत आफूले अँगालेका र सम्भाव्य पेसाहरूलाई परिस्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता प्रदान गर्न नीति लिएको छ ।

त्यसैगरी आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरू निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भई हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरू सामुदायिक अध्ययन केन्द्रमार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गरेको छ । त्यस्तै स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । विगत केही वर्षदेखि राष्ट्रव्यापी साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । अभियानमा महिला सहभागितालाई प्रोत्साहित गरेको छ ।

साक्षरता कक्षा केन्द्र तोक्ने स्वयमसेवक एवं स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागीको सुनिश्चित गरेको छ जसको फलस्वरूप महिला सहभागिता ८० प्रतिशतभन्दा बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । आधारभूत साक्षरता सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरू विकास र विस्तार हुने क्रममा छन् । जहाँ महिलाले एसईईसम्म पढ्न पाउने अवसर पाउछन् । त्यस्तै सामुदायिक अध्ययन केन्द्रमार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामूहिकरूपमा बचत गर्ने अभ्यास गराउँदै आएको छ ।

सामाजिक रूपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका महिलाहरूको सशक्तीकरणको विकल्प छैन । साक्षरता सशक्तीकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई आत्मसात गरेर अनौपचारिक शिक्षा केन्द्रले महिलालाई विशेष ध्यान दिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

साक्षरता अभियानका स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षर समेतमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान राखेको छ । जसको फलस्वरूप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्यु दर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यक्रममा महिलाको पहुँच क्रमिकरूपमा बढेको छ । साक्षरता शिक्षित एवं सचेत महिला आमा भएको परिवारको बालबालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ । उल्लिखित कार्यक्रमहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ ।

कार्यक्रमको सफलताको लागि पर्याप्त साधन स्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवं सेवाग्राहीको अनुगमन निरीक्षण कार्यप्रगतिको आधारमा पुरस्कारको र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चय नै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौँ । त्यसकारण महिला साक्षरतालाई प्रत्येक नेपालीले घर घरबाट सुरु गरेर पारिवारिक साक्षरतालाई प्रोत्साहित गर्नुपर्दछ । अरुले के ग-यो भन्दा पनि मैले के गरेँ भन्ने कुराले महत्व राख्छ । त्यसकारण यो संसारलाई बदल्नु छ भने आफैँबाट सुरु गरौँ ।

यही वास्तविकतालाई मध्यनजर राखेर भविष्यमा पनि महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने खालका कार्यक्रमलाई प्रोत्साहित गर्नु भनेको समृद्ध नयाँ नेपाल बनाउन होस्टेमा हैँसे गर्नु हो भन्दा अन्यथा नहोला । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया