Techie IT
×
गृहपृष्ठविचारनेपालका पर्वतः आम्दानीको मेरुदण्ड

नेपालका पर्वतः आम्दानीको मेरुदण्ड


काठमाडौं ।
सन् २०२० नेपाललगायत विश्वका धेरै देशमा कोरोनाको कहरका कारण पर्यटनले खासै गति लिएन । पर्यटनबाट आम्दानी पनि भएन । खासमा सन् २०२१ पछि क्रमशः अलि कम हुँदै जाला कि भनेको कोभिड–१९ को असर अझै बाँकी रहेको मात्रै होइन अझ बढ्ने क्रममा र नयाँ कोभिडमा अर्को जन्मने क्रममा रहेको हल्ला व्याप्त छ ।

कोभिड–१९ को असर खासै घटेको छैन । तापनि हाम्रो देश नेपालमा भने यो वर्षको हिउँद याममा केही हिमाल आरोहणका लागि विदेशी तथा स्वदेशी पर्वतारोहीहरू आरोहणका लागि गएका छन् । जुन कुरोलाई सुखद् नै मान्नुपर्ने हुन्छ । हुन पनि हाम्रो देश नेपालमा हिमरेखाभन्दा माथिका हिमाल (पाँच हजार पाँच सय मिटरभन्दा माथिका) १७ सयभन्दा बढी रहेको छ भन्ने भनाइ छ । तापनि हालसम्म नेपाल सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि चार सय १४ वटा हिमाल मात्रै आरोहणका लागि खुल्ला गरेको छ ।

यसरी सरकारले पटक–पटक गरेर चार सय १४ वटा हिमालहरू स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि खुल्ला गरेको भए पनि विश्वकै अग्लो चोमोलुङमा अर्थात् सगरमाथा/माउन्ट एभरेस्ट, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौँ अग्लो मकालु, छैटौं अग्लो चो–ओयु, सातौँ अग्लो धौलागिरि, आठौँ अग्लो मनास्लु, १०औँ अग्लो अन्नपूर्ण जेठो (प्रथम) हिमालमा नै पर्वतारोहीहरूको बढी आकर्षण देखिन्छ ।

त्यस्तै सात हजार मिटर र त्योभन्दा कम उचाइ भए पनि आमाडाब्लाम, पुमोरी, बरुणत्से, कम्भकर्ण (फक्ताङलुङ), किराँत चुली, हिमलुङ, गौ–गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनिको चुली, धाम्पुस पिक, नीलगिरी, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, हिउँचलीलगायत हिमाल चढ्न विदेशी पर्वतारोहीहरू नेपाल आउने गरेका छन् । त्यसबाहेक ३३ वटा ट्रेकिङ पनि खुल्ला गरेको छ, नेपाल सरकारले । जुन पिकहरूको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाएको छ ।

हिमाल किन चढिन्छ ? वा विदेशीहरू किन हिमालयमा आउँछन् ? भन्ने सम्बन्धमा स्वर्गीय डाक्टर हर्क गुरुङले लेखेका छन् ‘पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्दछ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईष्या लाग्छ भनेपछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो ।’

‘पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् ।

युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ । (सन्दर्भ स्रोतः स्वर्गीय डाक्टर हर्क गुरुङद्धारा लिखित, विषय विविध नामक किताबको पाना नम्बर –६१ मा रहेको ‘पर्वतारोहण’ शीर्षकको लेख ।) हुन पनि स्वर्गीय डाक्टर हर्क गुरुङले भनेझैं नेपालमा प्रत्येक वर्ष हजारौँ विदेशी पर्वतारोहीहरू नेपालमा पर्वतारोहणका लागि आइरहेका छन् ।

हुन पनि हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि नेपाली पर्वतारोहीभन्दा हजारौँ गुणा बढी विदेशी पर्वतारोहीहरू आउने गरेका छन् । अझ नेपालीहरू पेसेवररूपमा पर्वतारोही हुन् धेरै समय लाग्ने देखिन्छ । त्यसो त विदेशी पर्वतारोहीहरू नेपालमा रहेका विभिन्न हिमाल चढ्न आउने क्रममा वर्षेनी लाखौँ अमेरिकी डलर नेपालका हिमाल चढेबापत नेपाल सरकारलाई सलामी दस्तुर अर्थात् रोयल्टी पनि तिर्नेगरेका छन् ।

खासगरी विश्वकै अग्लो चोमोलुङमा अर्थात् सगरमाथा/एभरेस्टलगायत विश्वका आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये १० वटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीहरूका लागि अहोभाग्य मात्रै नभएर प्रकृतिले सित्तैमा दिएको अमूल्य उपहार पनि हो ।

स्वर्गीय डाक्टर हर्क गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीहरूलाई एक जनाबराबर छ हजार रुपैयाँ लाग्थ्यो । अहिले त उनीहरूले चोमोलुङ्मा अर्थात् सगरमाथा/एभरेस्ट चढ्नका लागि मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी मात्रै तिर्छन् । अन्य खर्च त कति हो कति !

हालसम्म विश्वले मान्यता दिएका विश्वका आठ हजार मिटरभन्दा माथिका अग्ला १४ वटा हिमालमध्ये आठ हजार आठ सय ४८ मिटर अग्लो चोमोलुङ्मा अर्थात् सगरमाथा/एभरेस्ट आठ हजार पाँच सय ८६ मिटर अग्लो कञ्चनजंघा (सेन्छेलुङ/सेवालुङ), आठ हजार पाँच सय १६ मिटर अग्लो ल्होत्चे, आठ हजार चार सय ९६ मिटर अग्लो यालुङकाङ, आठ हजार चार सय ६३ मिटर अग्लो मकालु (सेसेलुङ), आठ हजार दुई सय एक मिटर अग्लो चोओ–यु, आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरी, आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु, आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण–प्रथम गरी नौवटा (६० प्रतिशतभन्दा बढी) नेपालमै छन् । जुन कुरो हामी नेपालीहरूका लागि सौभाग्य र गर्वको कुरो हो ।

अझ आठ हजार मिटरभन्दा माथिका हिमालको कुरो गर्दा अरु छवटा थपिँदै छन् भनी गत दुई/तीन वर्षअघिदेखि चर्चामा रहेको छ । तर, ती हिमालले हालसम्म औपचारिकरूपमा मान्यता भने पाइसकेको छैन । जे भए पनि अब थपिने ती आठ हजार मिटरभन्दा माथिका छवटै हिमाल नेपाल सरहदभित्र रहेका छन् ।

खासमा चीन र पाकिस्तानमा पर्वतारोहीहरूले कुनै पनि हिमाल चढ्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर नेपालको दाँजोमा ज्यादै कम छ । त्यसैले नेपाल सरकारले पनि रोयल्टी दर घटाउनेतर्फ अझै पनि सोच्ने हो कि ? किनभने, हालै नेपाल सरकार र चीन सरकारले सगरमाथाको उचाइलाई समानरूपमा आठ हजार आठ सय ४८ दशमलव ८६ मिटरलाई आधार मानेका छन् ।

त्यसअघि चीन सरकारले सगरमाथाको उचाइ आठ हजार आठ सय ४४ दशमलव ४३ मिटर मात्रै मान्दै आएको थियो । जसले गर्दा नेपालतर्फबाट सरगमाथा चढ्दा सलामी दस्तुर महँगो भए पनि धेरैजसो सगरमाथा आरोहीहरू नेपालतर्फबाट सगरमाथा चढ्न आउने गर्थे । हुन पनि पर्वतारोहण एक साहसिक खेल हुनुका साथै आर्थिकरूपमा ज्यादै खर्चिलो पनि हो । साथै पर्वतारोहणका लागि मानिसहरूमा धैर्यता, साहस, एकाग्रता, निडरता, उच्च मनोबल, स्वस्थ्य शरीरका साथसाथै मौसम र भाग्यले पनि साथ दिनै पर्छ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया