Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसरकारी अस्पतालको कमजोर व्यवस्थापन

सरकारी अस्पतालको कमजोर व्यवस्थापन


डा. माधव अधिकारी
सरकारी अस्पतालहरूमा सेवाप्रवाहको गुणस्तर र सेवाग्राहीहरूको विचारलाई समेत विश्लेषण गर्नु आजको आवश्यकता हो । वर्तमान सन्दर्भमा सेवाग्राहीहरू आफू सम्पर्कमा रहेका सेवाप्रदायकद्वारा कुन किसिमबाट व्यवहार गरिएको छ । प्रवाहित सेवा र तत्कालको वातावरणले पनि ग्राहक सन्तुष्टिमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । यिनीहरूबारे पनि अत्यन्त होशियारीपूर्वक सोच्नुपर्ने हुन्छ । अस्पतालमा सेवा प्रवाह र सेवा प्रवाहको वातावरणलाई पनि महत्वका साथ लिइनुपर्दछ । स्वास्थ्य सेवाबाट एक पटक सन्तुष्ट देखिएको बिरामी तथा सेवाग्राही सधैं सन्तुष्ट भइरहन्छ भन्ने होइन । बिरामीप्रति अस्पतालका स्वास्थ्यकर्मीहरूद्वारा प्रदर्शन हुने मित्रवत व्यवहार र बोलीचाली नै बिरामी सन्तुष्टिको प्रमुख कडी हो ।

राजधानी काठमाडौँमै रहेको सरकारी अस्पतालमा समेत शौचालय पस्नै नसक्ने गरी दुर्गन्धित हुँदा पनि सरकारले सो समस्या स्थायीरूपमा हल गर्ने खासै योजना नल्याई अस्पतालको अस्तित्व र पहिचान संकटमा परेको छ । सो कारणले अस्पतालमा सेवा लिन आउने सर्वसाधारण जनताको जीवन थप कष्टकर बनाएका छन् । ठूलो धनराशि लगानी हुँदा पनि सहजरूपमा अस्पताल नै शौचालयको उचित व्यवस्थापन गर्न नसक्नु कसको कमजोरी हो । सरकार, कर्मचारी, सम्बन्धित निकायहरू या स्थानीय बासिन्दा आदि कुराको निक्र्यौल गरी त्यसको जवाफ नेपाली जनतालाई दिने बेला आएको छ । किनभने जनस्वास्थ्यमा यो ठूलो खेलवाड हो । यस्तो समस्या आउनु ज्यादै दुःखको कुरा हो । अतः राजधानी र देशका अन्य स्थानमा सर्वसाधारणको जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी छिटोभन्दा छिटो शौचालयको उचित व्यवस्थापन हनु समयको माग हो ।

यसै सन्दर्भमा सरकारी अस्पतालमा शौचालयको कन्तबिजोक भनी प्रकाशित समचारलाई यहाँ जोड्न सान्दर्भिक होला । कुनै पनि अस्पतालमा संक्रमण रोग फैलिन नदिन अस्पतालमा व्यवस्थित शौचालयको सबैभन्दा ठूलो भूमिका हुन्छ । धरैजसो सरकारी तथा अन्य अस्पतालमा शौचालयको अवस्था नाजुक भई बिरामीलाई शौचालयबाट विभिन्न रोगहरू सरी झन् पीडा दिएको छ । अस्पतालको शौचालयको अव्यवस्थाले गर्दा शौच गर्ने अवस्था नै छैन । विभिन्न सार्वजनिक ठाँउमा राखेको शौचालयको पनि अवस्था त्यस्तै छ । सार्वजनिक शौचालयमा पिसाब फेरेको रू. ५ र दिशा गरेको रू. १० लिने गर्दछ । त्यसले गर्दा पनि कम आय भएका महानुभावहरू बाध्य भएर बाहिरी ठाउँमा शौच गरी नगरलाई नै दुर्गन्ध पारी विभिन्न रोगबाट संक्रमण भइरहेका छन् । उदाहरणको रूपमा काठमाडौँको कोटेश्वर र जडीबुटी क्षेत्र पनि प्रमुख हुन् । तर, सरकारी स्तरबाट उक्त क्षेत्रहरू खुला दिशामुक्त भइसकेका छन् । यस्तो समस्याबाट सेवाग्राहीहरू पीडित छन् ।

प्रत्यक्ष जनसरोकारका लागि जिम्मेवारी पाएका अस्पताल सेवाप्रदायकको रवैयामा अस्पतालको छवि निर्भर गर्दछ । अतः तिनीहरू नम्र र मित्रवत हुनु जरुरी छ । बिरामीको सन्तुष्टिले सेवा उत्पादन, सेवा प्रवाह र सेवा प्रवाहको वातावरणमा सकारात्मक सम्बन्ध राख्दछ । नेतृत्व तहमा यस विषयको गम्भीरताबारे विचार हुन जरुरी छ । प्राय सेवा प्रदायकमा मुख्य तीन कुराले प्रभावित भएका हुन्छन् । अविस्वासको वातावरण एकले अर्कोलाई विश्वास नगर्नु र आफूबाहेक अरु सबै ठग, चोर र असक्षम छन् भनी ठान्नु ठूलो गलत सोचाइ हुन पुगेको छ । यस्तो वातावरणले गर्दा काम गर्ने मानिसको मनमा पनि अन्ततः काम नगर्ने भावना श्रृजना हुन गई सेवाप्रवाहमा ठूलो असर पर्न गएको देखिन्छ ।

सर्वप्रथम काम गर्ने बानी नहुनुको साथै काम गरिहाल्यो भने पनि आफ्नो स्वार्थ पूर्तिमा नै बढी तल्लीन हुने प्रायः सबैमा आइसकेको छ । यसले गर्दा समन्वयात्मकरूपमा सेवा प्रवाहमा ठूलो असर परेको छ । मूल्याङ्कनकर्ताले आफ्नै सोचाइबाट भरसक कसैको भनाइ सुनेर मूल्याङ्कन गर्ने परिपाटी बसालिएको छ । जसले गर्दा काम गर्ने मानिसमा नैराश्यको भावना जागरण गराई काम नगरे पनि हुने हो कि भन्ने सोचाइमा अभिवृद्घि हुँदै गएको पाइएको छ । उपरोक्त तीन बुँदाहरू एवं कमीकमजोरी अस्पताल सेवामा क्यान्सर नै हो । यो क्यान्सर रोगलाई निर्मूल गर्न धेरै कठिन भए पनि समयमा रोगको पहिचान गरिएमा धेरै हदसम्म कमचाहिँ अवश्य गर्न सकिन्छ । यसको लागि सेवाग्राही र सेवाप्रदायकको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

बिरामी तथा सेवाग्राहीलाई सम्पर्कमा राख्न नजान्ने स्वास्थ्यकर्मी तथा सेवाप्रदायकहरूलाई बेग्लै जिम्मेवारी दिई तालिम प्रदान गर्न जरुरी छ । अहिलेको भौतिक सुविधाहरूको मर्मत सम्भार गरी सेवाग्राहीअनुकूल हुनेगरी सुधार गर्न जरुरी छ । अस्पतालले जनचाहनाअनुरूप विश्वास संग्रह गर्नुपर्छ । असल सेवाग्राही सबै कार्यालयका लागि सधैं जरुरत छ र असल सेवाग्राहीले नयाँ सेवाग्राहीलाई पनि अभिप्रेरणा दिन्छ । अत्यन्त सन्तुष्ट ग्राहक वा सेवाग्राहीले कार्यालयको कामकुराबारे प्रचारप्रसार गर्छ । उसको बोली नै कार्यालयबारे विज्ञापन हुन जान्छ र नयाँ ग्राहकहरूलाई आकर्षित गर्न सजिलो हुन्छ । शिष्ट र नम्र व्यवहार सेवाग्राहीको अधिकार एवं अस्पताल सेवामा सेवाप्रदायकको गहना हो । यसै सन्दर्भमा सरकारी अस्तपालमा शौचालयको कन्तबिजोक शीर्षकमा पुस २६ गतेको सरकारी पत्रिका गोरखापत्रमा प्रकाशित समचार नेपालको ठूलो अस्पताल वीर अस्पतालको आधिकारिक पदाधिकारीको “शौचालयजस्तो विषयमा आफूले हेर्न नभ्याएको” भनाइले वातावरणीय सेवा प्रवाहमा सरकारी अस्तपताल कस्तो छ भन्ने कुरा स्वतः प्रमाणित हुन्छ ।

निष्कर्षमा भन्नुपर्दा सबै सरकारी अस्पतालका प्रमुखहरूले सबैभन्दा पहिले अस्पतालको वातवरण नै स्वस्थ राख्नु पर्दछ । वातावरणयोग्य अस्पताल बनाई शिष्ट र नम्र व्यवहार सेवाग्राहीको अधिकार हो । कम खर्चमा अस्पतालको छवि उजागर गर्न योभन्दा राम्रो माध्यम अर्को छैन । तोकिएको सेवा प्रदान गर्दा गुणस्तरलाई ध्यानमा राख्नु र सेवाग्राहीहरूको विश्वास सधैं प्राप्त गरी राख्नु भनेको अस्पतालहरूका लागि आफ्नो दीर्घकालीन स्वच्छ वातावणीय सोच र गन्तव्यमा पुग्ने स्वास्थ्य सेवाको मूख्य बाटोलाई सहज बनाउनु हो ।

स्वास्थ्य सेवामा थपिएका नौला आयामहरूमा आफूले प्रवाह गरेको सेवाबारे सरोकारवाला बिरामी समूहको के–कस्तो अवधारणा छ, लक्षित समुदायले कसरी सेवा लिइरहेको छ भनी समय–समयमा अनुगमन र मूल्याङ्कन गर्न अत्यन्त जरुरी छ । सो अनुगमन र मूल्याङ्कनको आधारमा सुधार गरी स्वास्थ्य सेवा निहित स्वार्थरहित बनाउन सक्नु पर्दछ । यसो भएमा मात्र सरकारी अस्पतालप्रति जनतामा रहेको नकरात्मक धारणामा परिवर्तन हुन सक्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया