Techie IT
×
गृहपृष्ठविचारकोभिड महामारी र जोखिममा अर्थतन्त्र

कोभिड महामारी र जोखिममा अर्थतन्त्र


काठमाडौं ।
मुलुकले गत आर्थिक वर्षदेखि व्यहोर्दै आएको आर्थिक तनाव चालू आर्थिक वर्ष अरु जेखिमतर्फ धकेलिने सम्भावनामा छ । दोस्रो लहरको कोरोना महामारीले जनजीवनका सबै क्षेत्रमा प्रभाव पारिरहेको छ । विश्व बैंक, एसियाली विकास बैंक, सरकारी निकाय तथा स्वतन्त्र विश्लेषकहरू कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण र अर्थतन्त्रलाई चलायमान बनाउन लिनुपर्ने स्मार्ट रणनीतिका विषयमा सुझाइरहेका छन् ।

हुन त नेपालको अर्थतन्त्र संक्रमणको मार लगातार व्यहोर्दै आइरहेको छ । राजनीतिक अस्थिरताबाट सिर्जित आर्थिक संक्रमण, १० वर्षे द्वन्द्वको प्रभाव, बाढी, पहिरो र टर्नेडोले भत्काएको आर्थिक संरचनाको प्रभाव, महाभूकम्पीय प्रभाव र त्यसपछि कोभिड १९ को प्रभाव ।

लामो समय लगातार संक्रमण व्यहोर्दा संक्रमणमा पनि अनुकूलित हुने क्षमता अर्थतन्त्रले हासिल गर्नुपर्ने भन्ने सवाल पनि उठ्न सक्छ तर त्यसो भएन, लगातार गैरआर्थिक कारकले प्रभाव पार्दै जाँदा अर्थतन्त्र संक्रमणबाट शिथिल छ । संविधान निर्माणपछि जनप्रतिनिधिमूलक संस्थाहरू क्रियाशील हुदै समृद्धिको गन्तव्यतर्फ जाने संकेत देखिएको थियो र अर्थतन्त्रले मनौवैज्ञानिक राहत पनि महसुस गरिरहेको थियो । मौसम र अन्य पक्षले पनि साथ दिएको थियो । परिणामतः सात प्रतिशतसम्म आर्थिक वृद्धि पनि हासिल भएको थियो । आम नेपालीहरूमा आशा पलाउँदै थियो ।

एसियालाी विकास वैंक, विश्व बैंकलगायतका संस्थाहरू नेपालको आर्थिक वृद्धिका विषयमा आ–आफ्नै खालको अनुमान गरिरहेका छन् । सबैको निष्कर्ष आर्थिक स्थिति उत्साहप्रदा नहुनेमा छ । साउथ एसिया इकोनोमिक फोकसका अनुसार चालू वर्ष आर्थिक वृद्धि शून्य दशमलव छ प्रतिशत मात्र रहनेछ । आधार वर्षको वास्तविक मूल्यका आधारमा यो चार प्रतिशतले नकारात्मक हुने अनुमान गरिँदै छ । कोभिडले जनजीवनका सबै क्षेत्रमा प्रभाव पारेकाले यो स्थिति आएको हो । कोभिडको चोटिलो प्रभाव पर्यटन क्षेत्रमा परेको छ । स्वाभावैले प्रचारबाट प्रभावित हुने यस क्षेत्र बन्दाबन्दीभन्दा अघि सन् २०२० को जनवरीदेखि नै त्रासमा पारेको थियो ।

बन्दाबन्दीले होटल, पर्वतारोहण, ट्रेकिङ, चलचित्र छायाङ्कन र तीर्थयात्रासम्मका गतिविधि प्राय ठप्प भए । यस क्षेत्रमा संलग्न १० लाख व्यक्तिले रोजगारी गुमाए, टुर, ट्रेकिङ अपरेटर र गाइडहरूले मात्र २० हजारले जागिर गुमाए । अर्थतन्त्रले करिब २४ अर्ब रुपैयाँ क्षति व्यहोरो । पर्यटन मात्र यस्तो व्यवसाय हो जसले होटेल, हवाई सञ्चालकजस्ता ठूला लगानीकर्ता र सामान्य व्यवसाय गर्ने भरियासम्मलाई एकैसाथ प्रभाव पार्दछ । पर्यटन व्यवसायको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव मात्र पर्दैन, यसले आन्तरिक अर्थतन्त्र र बाह्य वातावरण दुवैतर्फ प्रदर्शन प्रभाव पार्दछ, जुन कोभिड पछि प्रतिकूल रह्यो । विस्तारै सामान्यीकरणतर्फ जाने संकेत देखिएकोमा दोस्रो लहरसहित समुदायसम्म फैलिएको संक्रमणले स्थितिलाई पुनः पछिल्तिर धेकेलेको छ । कोभिड–१९ को प्रभाव कृषि सम्वद्ध व्यवसायमा पनि परेको छ ।

नेपालको अर्थतन्त्रमा उत्पादन र संलग्नता दुवै कोणमा कृषिको अहम् स्थान रहेकोले यस क्षेत्रमा पर्ने प्रभावले ठूलो अर्थ राख्दछ । गत वर्ष मौसम तथा अन्य अनुकूल कारणले कृषि उत्पादनमा वृद्धि भई खाद्य वासलात सकरात्मक देखिन लागेको थियो । त्यसलाई पनि कोभिडले धक्का दिएको छ । उत्पादनमा सामान्य असर परेको छ भने खाद्य आपूर्ति प्रणाली विच्छेद भएको छ । उत्पादक र उपभोक्ताबीच फौबन्जारको ठूलो उपस्थिति थियो, महामारीले त्यो झनै फराकिलो पारेको छ । फौवन्जारहरूविना पसिना ठूलो फायदा लिइरहेका छन् । मूल्य वृद्धि, कृत्रिम अभाव, सञ्चय, मिसावट र कमसल खाद्यावस्तुको प्रचलन समेत बढेको छ । बजार नियमनको अभावमा पनि खाद्य असुरक्षा बढ्दै छ ।

शिक्षा क्षेत्र जनस्वास्थ्यपछि प्रभावित हुनेमा पर्दछ । नेपालको सन्दर्भमा शिक्षा सामाजिक दायित्व र सेवा व्यवासाय दुवै हो । कोभिडका कारण अहिले विद्यालय तथा बालबालिका प्रतिकूल अवस्थामा छन् । करिब ९१ लाख विद्यार्थीहरू कक्षाकोठाबाट घरभित्र आइपुगेका छन् ।

गत वर्षबाट शिक्षा लिएर विद्यालय सञ्चालन र अन्य शैक्षिक गतिविधि भखैरै अघि बढाउन लागिएको अवस्थामा पुनः जोखिम बढेकोले शैक्षिक सत्र क्षति हुनबाट कसरी जोगाउने, विद्यार्थी भाइबहिनीमा पढ्ने तत्परता कसरी जगाउने र मानव पुँजी निर्माणको आधार कसरी खडा गर्ने भन्ने गम्भीर चिन्ता देखिएको छ । घर परिवार एउटा चिन्तामा छन्, विद्यार्थीको चिन्ता आफ्नै भविष्यप्रति छ, विद्यालय र विश्वविद्यालय झनै चिन्तामा छन् ।

बालविकासदेखि विश्वविद्यालयसम्मको शैक्षिक शृङ्खला टुट्न जाँदा समग्र समाज र अर्थतन्त्रले नै ठूलो मूल्य चुकाउनुपर्ने जोखिम देखिएको छ । गत वर्षको शैक्षिक सत्र र पाठ्यभार यस शैक्षिक वर्षमा समायोजन हुँदैथियो, कोरोनाको दोस्रो लहरले त्यसतर्फ गम्भीर प्रश्न ठड्याउँदै छ । जोखिम पनि हटाउने शैक्षिक गतिविधि पनि चलायमान बनाउने कार्य निकै सुझवुझ र सावधानीमा मात्र देखिन सक्छ ।

सेवा व्यवास्थापन प्रत्यक्षरूपमा आर्थिक क्रियाकलापसँग सम्बन्धित नदेखिए पनि यसले पार्ने अप्रत्यक्ष प्रभाव निकै ठूलो हुन्छ । सर्वसाधारणलाई आवश्यक सेवा व्यवस्थापनमा कठिनाइ छ । महामारीका कारण सेवा वितरणका काउन्टर र क्यूहरू बदलिएका छन् । सबैतिर प्रविधि र पहुँच छैन । जनस्वास्थ्य सावधानी साथ सेवा दिन सकिएको छैन । चेतनाको स्तर, मनोत्रासले सिर्जना गरेको आतुर मनस्थिति, सेवा व्यवस्थापनमा खटिने कर्मचारीको अपर्याप्तता, पहुँचजस्ता कारण प्रभावकारी सेवा पाउने नागरिक अधिकार र सेवा व्यवस्थापन गर्ने सार्वजनिक दायित्वबीच सन्तुलन नदेखिनु स्वाभाविक हो ।

जनस्वस्थ्य सेवा निकै कठिन अवस्थामा छ र सर्वत्र भयावह होलाका भन्ने चिन्ता छ । न्यू भेरिएन्टको कोभिड संक्रमण हुनासाथ आवश्यक हुने अक्सिजन सपोर्ट आवश्यक हुने विज्ञहरूको भनाइ छ, तर अक्सिजन अभाव हुन नदिन थप सावधानी अवलम्बन गर्नुपर्ने अवस्था छ । सहरी क्षेत्रका अस्पतालहरूमा स्वास्थ्यकर्मीहरू नै जोखिममा पर्नथालेका छन् । अस्पतालमा सैया र सामग्री व्यवस्थापन अर्को चुनौती हो । यसको प्रभाव आर्थिक सामाजिक पक्षमा परिरहेको छ ।

उदार लोकतन्त्रको साझेदारका रूपमा व्यावसायिकस्तर हासिल गरिसकेको आमसञ्चार कोरोनाबाट अरु क्षेत्रभन्दा बढी प्रभावित छ । यसका दुई पक्ष छन् । पहिलो समाचार संकलनमा जनस्वास्थ्य जोखिम र सुरक्षा चुनौती दुवै छ । दोस्रो धेरैजसो छापा सञ्चार खुम्चिएका छन् । श्रमजीवी पत्रकारले रोजागरी गुमाएका छन् । कतिपय छापाहरू अनलाइनतर्फ सिफ्ट हुँदै छन्, त्यहाँ पनि विज्ञापन, कार्यक्रम उत्पादन र प्रसारणमा जोखिमहरू देखिएका छन् ।

विपन्न, सीमान्तकृत, महिला तथा यौनिक अल्पसंख्यकहरू कोरोनाका कारण थप जोखिममा परेका छन् । पहिलो उनीहरूसँग रहेको आथिक उपार्जन टुटेको छ, रोजगारी गुमेको छ, कर्जा तथा सुवामाथि पहुँच कमजोर हुँदै छ, घरायसी कार्यभार र अमार्यादित श्रम शोषणहरू देखिएका छन् । सरकारी तवरबाट वितरित सामाजिक सुरक्षा सेवाहरू टुट्ला कि भन्ने चिन्ता छ, तर सबै वर्गमा यो सेवा हुने भएन । कोरोनाको विश्वव्यापी प्रभावको भार ९० प्रतिशत विपन्न र लैङ्गिकरूपमा केन्द्रित छ । हरेक प्रकारको विपत्तिको भार त्यही नै पर्दछ । गरिबी–लैङ्गिक खाडल फराकिलो बन्दै छ ।

मनोसामाजिक असरका कारण कतिपय किशोरी, महिला र अपाङ्गहरू डिप्रेसनमा समेत गएका छन् । अनौपचारिक क्षेत्रका कतिय समस्याहरू औपचारिक सतहमा आइपुग्दैनन् । त्यसकारण जोखिमको आँकलन गरिएभन्दा विकराल हुनसक्छ ।

कोभिड–१९ महामारीले ल्याएको अर्को मार महँगी हो । दिन प्रतिदिन दैनिक उपयोग्य वस्तुहरको मूल्य वृद्धि भइरहेको छ । अर्थशास्त्रीय भाषामा भन्दा ग्यालोपिङ् इन्फ्लेसनमा बजार दौडिरहेको छ र सर्वसाधारण, विशेषतः निश्चित आय वर्ग, आय नै नहुने वर्ग मूल्यमारमा छटपटिएका छन् । विपत्तिमा कमजोर वर्ग मूल्यमारमा पर्दै आएका छन्, तर कोरोना महामारीले अस्वाभाविकरूपमा मूल्यस्फिति ल्याएको छ । धनीहरू र गैरवित्तीय सम्पत्ति धेरै हुनेहरूको सम्पत्ति बढिरहेको छ । यसले आउने दिनमा असमानता अरु फराकिलने पार्नेछ ।

कोभिड महामारीको ठूलो असर सरकारी कोष व्यवस्थापनमा देखिएको छ । गत आर्थिक वर्ष रु १५ सय ३२ अर्बको बजेट कार्यक्रम ल्याइए पनि कोभिडको कारण आर्थिक वर्षको अन्त्यमा लक्ष्य संशोधन गर्नुप¥यो, चालू आवमा ११ सय ७४ अर्बको मात्र बजेट कार्यान्वयनमा छ ।

आर्थिक गतिविधि अवरुद्ध हुँदा स्वाभाविक रूपमा सरकारी कोषमा रकम जम्मा हुन सक्दैन, जसले कोष प्रवाह र वित्तीय व्यवस्थापनमा मात्र होइन, समष्टिगत अर्थतन्त्रलाई नै प्रभाव पार्दछ । घाटापूर्तिको स्रोतको रूपमा रहेको बाह्य साधनलाई पनि महामारीले असर गर्दछ भने आन्तरिक ऋण उठाउँदा पर्ने प्रभाव छुट्टै छन् । सरकारको प्रतिबद्ध खर्च घटाउन सकिने अवस्था रहँदैन भने कोरोना महामारी व्यवस्थापनमा ठूलो मात्रामा खर्च विनियोजन गर्नुपर्ने सम्भावना छ । गत वर्ष नै तीन तहको कोरोना कोष तथा संघीय बजेटबाट करिब २० अर्व रुपैयाँ प्रत्यक्ष विनियोजना भएको थियो ।

यसर्थ कोरोना महामारीले अर्थतन्त्रलाई प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पारी जोखिमतर्फ घकेलिरहेको छ । यसले रोजागरी, लगानी, उत्पादन, आपूर्ति शृङ्खला, विद्यालय र बालबालिका, अनौपचारिक क्षेत्रका व्यावसायिक क्रियाकलाप, महिला तथा विपन्न वर्ग सबैमा असर पारेको छ । यस अवस्थामा जीवन पहिला र त्यसपछि अरु भन्ने मान्यतामा रही आर्थिक सामाजिक गतिविधि बढाउने कार्यक्रमहरू सञ्चालनमा ल्याइनुपर्ने हुन्छ । यसका लागि प्रत्यक्ष सहयोग कार्यक्रम, घरपरिवार र समुदाय तहका व्यावसायिक क्षेत्रमा प्रोत्साहन, श्रममूलक कार्यलाई उत्प्रेरणा, अनौपचारिक क्षेत्रलाई चलायमन बनाउन प्रोत्साहन, रोजगारी गुमाएकालाई राहत र अन्य स्मार्ट कार्यक्रम सहयोगमार्फत जोखिम न्यूनीकरण गर्नु आवश्यक हुन आउँछ । 


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया