Techie IT
×
गृहपृष्ठविचारतरलता उतारचढाव र वित्तीय संस्थाहरू

तरलता उतारचढाव र वित्तीय संस्थाहरू


काठमाडौं ।
करिब दुई–अढाई महिना पहिलेको तथ्याङ्क हेर्दा दुई खर्बभन्दा बढी निक्षेप रहेको बैंकहरूले एक हप्ताअघिसम्म ३५ अर्ब पनि रकम नरहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । हिजोआज पुनः करिब ५० अर्ब रकम तरलता रहेको भनी सार्वजनिक गर्दै आएको छ । बैंकहरूले आ–आफ्नो चैत मसान्तसम्मको कर्जा पुँजी निक्षेप अनुपात ७८ दशमलव ५४ देखि ८४ दशमलव ६२ प्रतिशत पुगेको तथ्य पनि सार्वजनिक गर्दै आएका छन् ।

किन हुँदै छ तरलतामा उतारचढाव ? बैंकहरूले कर्जा पुँजी निक्षेपलाई मात्र आधार मानी तथा आफूले त्यसको ८५ प्रतिशतसम्म पु-याउने लक्ष्य र बैंकिङ लाभ लिने मात्र उद्देश्यका साथ बैंकहरू लागिपरेकाले यस्तो स्थिति सिर्जना भएको मान्न सकिन्छ । जुन बैंकहरूले ७८ प्रतिशत मात्र कर्जा पुँजी निक्षेप अनुपात पुराएको छन् ती बैंकहरू अबको दुई/तीन महिनामा ऋण दिने हतारो गर्दै छन् भने जुन बैंकहरूले राष्ट्र बैंकको नीतिअनुसार ८५ प्रतिशतको हाराहारीमा पु-याएका छन् ती बैंकहरूले फेरि कर्जा प्रवाह गर्न निक्षेप उठाउनु (जम्मा) पर्ने आवश्यकता मान्दै आएका छन् ।

यसलाई सामान्य अर्थमा बुझ्दा यदि ऋण निक्षेप अनुपात बढी छ भने बजारमा तरलता कम हुन्छ र बैंकहरूलाई निक्षेप आवश्यक पर्दछ । यदि अनुपात कम छ भने ठीक उल्टो ऋण दिनुपर्ने हुँदा यस्तो स्थिति आएको बुझ्न सकिन्छ ।

१. पहिलो कारण : बैंकहरूको स्पष्ट नीति नहुनु
वास्तविक तरलतामा अभाव वा बढी भनी जुन प्रश्न खडा भएको छ त्यसका लागि बैंकहरूसँगै राष्ट्र बैंकले अनुमान गर्न नसकेको बजारमा रहेको रकम हो । बैंकहरूले निक्षेप सङ्कलन हुँदा हौसिएर तथा केही समय रकम होल्ड गर्न नसकी ब्याजका लागि ऋण प्रभाव गर्नु बजारमा तरलतामा उतारचढाव हुनुको मुख्य कारण हो भने संकलन गरेको निक्षेपको ब्याज सङ्कलनकर्तालाई दिनुपर्ने भएकाले बैंकहरूले हतार हतारमा तथा जथाभावी लगानी गर्नाले बजारमा तरलतामा उतारचढाव भइरहेको अवस्था रहेको छ । यसमा बैंकहरूको स्प्रष्ट नीति प्रमुख कारण रहेको छ । बैंक निक्षेप रकम र ऋणबीच तालमेलको ठूलो कमी रहेको प्रमुख कारण हो ।

२. दोस्रो कारण : सही आंकलनको कमी – वित्तीय संस्थाहरू मात्र नभई नेपाली बजारमा विभिन्न किसिमले तरलता घट्ने÷बढ्ने गरेको पाइन्छ । राष्ट्र बैंकको मातहतमा रहेको वित्तीय संस्थाहरू मात्र नभई ३५ हजारको हाराहारीमा रहेको सहकारी संस्थाहरू पनि छन् । १४ हजारको हाराहारीमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरू पनि बजारमा तरलता उतारचढाव गर्न ठूलो भूमिका खेल्दछन् ।

देखावटीरूपको मात्र गणना गर्ने हो भने बजारको १० प्रतिशतभन्दा बढी तरलतामा सहकारीहरूले भूमिका खेल्दछन् । योसँगै विभिन्न वित्तसँग जोडिएका कारोबारहरू (कानुनी÷गैरकानुनी)ले तरलतामा उतरचढाव ल्याइरहेको छ ।

३. तेस्रो कारण : राष्ट्र बैंकको आंकलनमा कमी – बजारमा तरलता कमी आउने भएको कुरा देख्दादेख्दै राष्ट्र बैंकले तरलतामा कमी आएको छैन भनी प्रतिक्रिया दिइरहेको छ । तरलताको कमी पूरा गर्न सरकारले बढी खर्च गर्नेछ र हामीलाई तरलताको अभाव हुनेछैन भनी प्रतिक्रिया दिँदा त्यति राम्रो नभएको मात्र सकिन्छ सरकारी खर्च अन्तिम २/३ महिना बढी भए पनि राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई सरकारले यसरी खर्च गर्छ र तिमीहरू यसरी खर्च गर्नू भनी भन्ने होइन । हाल बन्दाबन्दी गर्ने अवस्था आउने बेला राष्ट्र बैंकले एक किसिमको नीति तथा तरलताप्रति पूर्ण उत्तरदायित्व लिनुपर्ने तथा वित्तीय संस्थाहरूमा अङ्कुश कस्नुपर्ने हुन्छ ।

४. चौथो कारण : सल्लाहकारको कमी – वित्तीय संस्थाहरूले निक्षेप संकलन गर्ने तथा बढी लगानी गर्ने होडमा बजारमा तरलतामा घटीबढी हुने गर्दछ । बैंकहरूलाई बजारको तरलतासम्बन्धी ज्ञानको कमी भए पनि उचित समयमा उचित निर्णय लिन नसक्नाले यस्तो स्थिति आएको हो । सम्पूर्ण निर्धारकहरूको विश्लेषण गर्ने वित्तविद् वा अर्थविद् नराख्नाले देशलाई तरलताको यस्तो समस्या देखापरेको छ ।

बैंकहरूमा कर्मचारीको मात्र आँखाले नहेरी अर्थविद् वा वित्तविद्हरूसँग परामर्श वा सल्लाह नै गरी बचत लगानी गर्ने नियम राष्ट्र बैंकबाट लागू गर्नुपर्ने अवस्था देखिन्छ । जतिसुकै राम्रो ज्ञान भएको व्यक्ति कर्मचारी भई बैंकमा जागिरे भएपश्चात् बैंकहरूले मुनाफा कमाउने तथा बैंकिङ कारोबारतर्फ मात्र ध्यान दिन्छन् । त्यसकारण बैंकहरूलाई सल्लाह दिनेसँग नियमन गर्नुपर्ने जरुरी देखिन्छ ।

अन्त्यमा, राष्ट्र बैंकले बैंकहरूलाई छोटो समयका लागि निक्षेप ब्याजदर परिवर्तन गर्न नदिने नीति अपनाउनुपर्ने देखिन्छ । यदि कुनै बैंकले छोटो समयका लागि ब्याजदर परिवर्तन गर्छ भने यस्तो व्यवस्थामा रोक लगाउनुपर्ने हुन्छ ।

बैंकहरूले आवश्यकता परेको बेला निक्षेपमा ब्याज बढी दिने र आवश्यकता कम परेको बेला कम ब्याज दिन छिटो–छिटो ब्याजदर परिवर्तन गर्ने नीति अविलम्ब रोक्नुपर्ने आवश्यकता देखिन्छ । निक्षेपकर्ता बढी जानकार छैनन् र हुँदैनन् पनि । हाल बैंकले बचत गर्नुपर्दछ, बचतले भविष्य सुनिश्चित गर्न पाइन्छ, भविष्यमा बचत प्रयोग गर्न पाइन्छ, लुटिने चोरिने खतरा हुँदैन भने निक्षेपकर्तालाई सिकाउनु राम्रो पक्ष हो ।

जनताले यसबाट बैंक जति लाभ लिन नसके पनि केही मात्रामा लाभ लिनेगरेका छन् । यदि यति मात्र गर्नका लागि बैंक गाँउ–गाँउमा लगिएको हो भने त्यो केही हदसम्म गलत हो तर पनि बैंकहरूले यही गरिरहेका छन् । निक्षेप सङ्कलन गरी ऋण प्रभाव मात्र बैंकको काम होइन भनी राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई बुझाइराख्न जरुरी छ । (लेखक अर्थविद् हुन् ।)


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया